×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार ! आइपीओ भनेर सेयर भर्दा यसरी फसिएला है ! नबिलको म्युचुअल फण्डमा ‘कन्फर्म घाटा’ (भिडियो रिपोर्ट)

काठमाडौं । तपाईंलाई कसैले एक तोला सुन तोलाको १ लाख १० हजारमा बेच्छु भन्यो भने तपाईं किन्न तयार हुनुहुन्छ ? पक्कै हुनुहुन्न । किनकि तपाईंलाई थाहा छ, आजको भाउमा एक तोला सुनको मूल्य १ लाख रुपैयाँ पनि पर्दैन । म फेरी फकाउन खोज्ला, बजारमा सुन सर्टेज छ म ५ तोलासम्म बेच्छु, तपाईंले फेरी भन्नुहुन्छ, कहाँ सर्टेज हुनु, सुन त मज्जाले विक्री भईनै रहेको छ नि, त्यसमाथि सर्टेज भयो भनेर १ लाख पनि नपर्ने सुनलाई म किन १ लाख १० हजार हाल्छु । म किन यस्तो मुर्खता गरौँला र ? हो, तपाईंले सुनलाई त सुनको भाऊ त्यति छैन भनेर १ लाख नपर्ने सुनलाई १ लाख १० हजार हाल्न तयार हुनुहुन्न भने बजारमा ७ रुपैयाँ, ८ रुपैयाँमा पाइने म्युचुअल फन्डलाई किन १० रुपैयाँ हाल्नुहुन्छ त ? यो कुरा नबुझेर हो, वा बुझाउनुपर्नेले नबुझाएर हो, वा आफ्नो म्युचुअल फन्ड बेचनेपर्ने सभएकाले निश्चित समूहले चलाएको गलत हल्लाका कारण हो, बजारमा म्युचुअल फण्ड बिकिरहेका छन् । जसको पछिल्लो उदाहरण हो नबिल इन्भेष्टमेन्ट बैंकिले ल्याएको म्युचुअल फन्ड ।

नबिलका अघिल्ला म्युचुअल फन्डनै १० रुपैयाँभन्दा सस्तोमा पाइन्छ । वा भनौं त्यहि कम्पनीले अघिल्लो पटक १० रुपैयाँमै भिडाएका म्युचुअल फन्डहरुको न भाउ छ, न ब्राण्ड छ । बरु कहिले के लफडामा कारोबार नै बन्द हुन्छ, कहिले के झमेला परिरहेको हुन्छ । अनि त्यहि कम्पनीले बिक्री खुला गरेको म्युचुअल फण्डमा भने सोझा लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ तिरिरहेका छन् । यो म्युचुअल फन्डमा बुझेका लगानीकर्ताहरुले लगानी नै गर्दैनन् । गर्छन् त कि नयाँ र सोझा लगानीकर्ताले, कि त आफुले अघिल्लो पटक सार्वजनिक गरेको यस्तै घाटा लाग्ने प्रोडक्टमा जनताको पैसा दुरुपयोग गरेर लगानी गरेका क्यापिटलहरुले । सबैलाई थाहा छ, यस्ता म्युचुअल फण्डमा यो समयमा पैसा हाल्ने पनि फसेका छन्, हाल्न लगाउने क्यापिटलहरुले पनि जनताको पैसामाथि बेइमानी गरिरहेका छन् । र पनि म्युचुअल फण्डहरुले करोडौं रुपैयाँ उठाईरहेका छन् ।

यसअघिको बुलमा खेलाईएका, चलाईएका, उचालिएका, पछार्न ठिक्क पारिएका कम्पनीहरुमा थुप्रै सोझा लगानीकर्ताहरु फसे । केहि पनि रिटर्न दिन नसक्ने कम्पनीको भाउ १५०० सम्म पुर्याइयो, बर्षदिनमै करोडौं घोटाला हुने सिन्धु बिकास बैंक र सीइओलेनै सत्यानास पार्न खोजेको सप्तकोशी डेभलपमेन्ट बैंकजस्ता बैंकहरुको मूल्यमा चलखेल गरियो । टाठाबाठाहरु महँगोमा सेयर भिडाएर निस्किए, सोझाहरु फसे । हुन त सेयर बजार यस्तै रहेछ, टाठाहरुले कमाईरहने, नयाँ र सोझा फसिरहने । बस् तरिका फरक छ पचिल्लो समय आएका म्युचुअल फन्डहरुमा पनि लगानीकर्ताहरुफसिरहेका छन् । हाल्नै नपर्ने मूल्य हालेर म्युचुअल फण्डका नाममा नयाँ लगानीकर्ताहरुलाई वेवकुफ बनाउने धन्दा बजारमा चलिरहेको छ । र त म्युचुअल फन्डको इकाईहरुलाई अरु कम्पनीको आईपीओजस्तै मानेर महँगो मूल्य हालिरहेका छन् धेरै लगानीकर्ताहरु ।

हुन त धेरैले म्युचुअल फन्डमा कसरी सोझा लगानीकर्ताहरु फसिरहेका छन् भन्ने बुझिसकेका छन् । र त सचेत लगानीकर्ताहरु अहिले यस्तो म्युचुअल फन्डमा लगानी नै गर्दैनन् । आम लगानीकर्ताहरु वा भनौं थोरै मात्र बुझ्ने लगानीकर्ता ले पनि यस्ता फन्डमा लगानी गर्न छोडेपछि अहिले क्यापिटलहरु आफ्नो फन्ड भिडाउन जनताको पैसामाथि बेइमानी गरिरहेका छन् । उदाहरणका लागि अहिले नबिल इन्भेष्टमेन्ट बैंकिङले ल्याएको म्युचुअल फन्डले सुरुमै हावा खायो । अर्थात तोकिएको समयभित्र नबिलले आफ्नो प्रोडक्ट ‘नबिल फ्लेक्सी क्याप फण्ड’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला त गर्यो तर बेच्न सकेन । यत्रो ठुलो बजारमा जाबो ५० करोड रुपैयाँ फण्ड उठाउन पनि नबिलले सकेन । कसैले नपत्याईदिएपछी कम्पनीले पुनस् लामो समय थप्यो र अहिले पनि सो फन्ड पूरै बिक्री भएको छैन । यहाँनेर म त यो मर्चेन्ट बैंकिङ क्षेत्रमा २७ बर्ष भयो काम गरेको भन्ने मनोहर कंडेलजस्ता हाकिम र आफ्नो लापरवाहीले म्युचुअल फन्डका इकाईको कारोबार नै बन्द हुँदा पनि आफ्नो दम्भ देखाउन नछोड्ने मनिष जोशीजस्ता सीइओहरु पनि फेल भए ।

आफ्नो म्युचुअल फन्ड दोश्रो पटक समय थप्दा पनि बिक्ने छाँटकाँट नदेखेपछि अहिले नबिलले गर्न मिल्ने, नमिल्ने वा भोलिका दिनमा प्रश्न उठ्ने सबैखालका हतकण्डा अपनाएको छ । कम्पनीले अन्य क्यापिटलहरुलाई, अस्ती तिम्रो घाटा लाग्ने फन्डमा हामीले पनि त पैसा हालिदिएकै हो नि, हाम्रोमा पनि हाल भनेर पैंचो तिर्न क्यापिटलहरुलाई भनिरहेको छ । क्यापिटलहरु पनि हो क्यार, हाम्रो पनि घाटा हुने फन्डमा उसले लगानी गरेकै छ, उसकोमा पनि हामी गरौँ, पैसा जनताको हो क्यार, के मतलब भन्ने शैलीमा नबिलको घाटाको व्यापारमा जनताको पैसा खन्याईरहेका छन् । बेच्ने र किन्ने दुवै पक्षलाई थाहा छ, फन्ड घाटामा जानेछ । बेच्ने र किन्ने दुबैलाई थाहा छ, अहिले यो फन्डमा पैसा हाल्नु आर्थिक मुर्खता हो, जनताप्रतिको बेइमानी हो, पैसा प्रति नै अपमान हो । र पनि कतिले जागिर टिकाउन, कतिले इज्जत जोगाउन, म्युचुअल फन्डमा पैसा माग्ने र पैसा हाल्ने गरिरहेका छन् । र यस्तो बदमासी हुँदा पनि धितोपत्र बोर्ड इट्स नन अफ आवर बिजनेश भन्ने शैलीमा कानमा तेल हालेर बसेको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रति इकाइ मूल्य १० रुपैयाँ दरको कुल ७५ करोड रुपैयाँको ७ करोड ५० लाख इकाइ म्युचुअल फण्ड निष्कासन बिक्री खुला गरेको छ । ७५ करोड रुपैयाँ मध्ये बीज पूँजी वापत ११ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार इकाई वा कुल निष्कासन गरिने इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ मध्ये कोष प्रवद्धक नबिल बैंक र व्यवस्थापक नेपाल इन्भेष्टमेन्ट बैंकिङलाई सुरक्षित राखिएको छ । सुरक्षित राखिएको छ पनि के भन्नु, नबिक्ने म्युचुअल फन्डलाई आफ्नैले किनेर दया गरिदिएका छन् । जसमध्ये १४ प्रतिशत अर्थात् १० करोड ५० लाख रुपैयाँले हुन आउने १ करोड ५ लाख इकाइ कोष प्रबर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई १ प्रतिशत अर्थात् ७५ लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाइ सुरक्षित राखिएको जनाएको छ । बाँकी ६३ करोड ७५ लाख रुपैयाँ बराबरको ६३ लाख ७५ हजार इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा ५० करोड रुपैयाँ बराबरको ५ करोड करोड इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको जनाएको छ । र यहि ५० करोड रुपैयाँ उठाउन नबिलले सकेको छैन । सकोस पनि कसरी, जनता सचेत भईसके, ठुलाहरुसँग  पनि पैसा छैन ।

हुन त साना र नयाँ लगानीकर्ताहरु पनि यस्ता म्युचुअल फन्डमा फसिरहेका छन् । तपाईं पनि यो म्युचुअल फन्डमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने एक पटक केहि तथ्यहरुबारे जानकार हुनैपर्छ । जस्तै, पहिलो कुरा त यसलाई अरु कम्पनीको आइपीओजस्तो सोचेर भर्दैहुनुहुन्छ भने तपाईं नझुक्कीनुहोस् । यो आइपीओ कुनै कम्पनीको आइपीओ नभई म्युचुअल फन्डको आइपीओ हो । बजारमा १० रुपैयाँका दरले यो भन्दा राम्रो म्युचुअल फन्ड किन्न पाइन्छ । अहिले जताततै पैसाको हाहाकार भएको खण्डमा अनि सेयर बजार पनि तल्लो बिन्दु भएका बेला यस्ता म्युचुअल फन्डमा पैसा हाल्नु घाटाको काम हो । अझ खुलेर भन्दा यो म्युचुअल फण्डमा पैसा हाल्नु र फिर्ता नदिने साथीलाई पैसा सापटी दिनु उस्तै नभए पनि उस्तै उस्तै हो । १० रुपैयाँ सापटी दिएको, ८ रुपैयाँ फिर्ता दिएर अव यहाँभन्दा बढी दिन सक्दिन भन्ने साथीहरु हुन्छन् नि, नबिल इन्भेष्टमेन्ट बैंकिङको म्युचुअल फन्ड पनि यस्तै हो ।

दोश्रो, यो फन्ड निकाल्ने कम्पनी र कम्पनीको नेतृत्व हेर्न आवश्यक छ । यो कम्पनीले यसअघि निकालेको म्युचुअल फन्डमा पनि उसले भने अनुसारको रिटर्न दिन सकेको छैन । अहिले तपाईं १० रुपैयाँ प्रति इकाई तिरेर यो फन्ड किन्दै हुनुहुन्छ । तर त्यहाँ भन्दा पनि सस्तोमा सोहि कम्पनीले निकालेको अघिल्लो फन्ड मज्जाले बजारमा १० रुपैयाँ प्रति इकाईभन्दा सस्तोमा किन्न पाइन्छ । यो फन्डले अपेक्षा गरेको न्याभको उद्देश्य पूरा नहुने पनि निश्चित प्राय छ । त्यसैले यस्ता फन्डमा लगानी गर्नु गलतमात्र होइन, मुर्खता हुनसक्छ ।

तेश्रो कुरा, अहिले तरलताको समस्या बिकराल छ । तपाईंले राम्रो बैंकमा मुद्दतीमा पैसा राख्दा जति रिटर्न पाउनुहुन्छ, यो म्युचुअल फण्डले त्यति रिटर्न दिंने आश गर्नु भनेको आकाशको फल, आँखा तरी मर भनेजस्तै हो । अनि आफुसँग भएको पैसा त बरु मुद्दतीमै राख्दा राम्रो होला नि । होइन र रु यदी तपाईंलाई म्युचुअलमै लगानी गर्नुपर्ने छ भने त यो भन्दा पनि कति राम्रा राम्रा इकाईहरु यहाँ भन्दा सस्तोमा पाईराखिएका छन् । चौथो कुरा, अहिले सेयर बजारमा थोरै मूल्यमा सार्है राम्रा कम्पनी किन्न पाइन्छ । अझ फण्डामेन्टल रुपमा बलिया कम्पनी किन्ने हो भने अवको डेढ बर्षमा दुई पटक रिटर्न खान पनि पाइन्छ । तर यो कम्पनीले निकालेको म्युचुअल फन्डमा त्यति फाइदा हुँदैन ।

पाचौं कुरा यो फन्ड नबिल इन्भेष्टमेन्ट बैंकिङ अन्तर्गतको फन्ड भएकाले यसले नबिल बैंकको सेयरमा लगानी गर्न पाउँदैन । बैंकिङ क्षेत्रमा  राम्रो पर्फर्मेन्स गर्ने नबिलमै लगानी गर्न नपाइने भएपछी यो म्युचुअल फन्डको रिटर्न यसै पनि राम्रो हुने छैन । र छैटौं र सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो कम्पनीको नेतृत्व सार्है विवादित छ यतिबेला । धितोपत्र बजार सम्बन्धि नियमको उल्लङ्घन गरेकाले यो कम्पनीले संचालन गरेका म्युचुअल फण्डको कारोबार नै केहि समय अगाडी नेप्सेले बन्द गरिदिएको थियो ।

म्युचुअल फन्ड सेफ लगानी त हो, तर सेफ भन्दैमा रिटर्न नै नदिने कम्पनीको इकाईमा लगानी गरेर भएको पैसा किन खेर फाल्ने ? यो प्रश्नको उत्तर तपाईंले आफैंलाई सोध्न जरुरी छ ।  र त कम्पनीले इकाईहरु नबिक्ने डरले सामान्य प्रक्रियासमेत पूरा नगरी, तपाईंले यो फन्डमा लगानी गर्नुभएको खण्डमा तपाईंलाई नै खर्च भार पर्ने गरी प्रचार प्रसारमा लागि परेको छ । सामान्य प्रक्रियासमेत पूरा नगरी, चन्दा बाँडेजसरी गरिएको प्रचारको तुक छैन । र पनि कम्पनीका हाकिमहरु आफ्ना मान्छे पोस्ने र जनताले लगानी गरेको पैसा सोस्ने धन्दामा छन् । कम्पनीका सीइओले कम्पनी नै छोड्न लागेको चर्चा छ बजारमा । कम्पनीका दोश्रो बरियताका हाकिम मनोहर कंडेल स्वयम पनि आफुले पनि यस्तो हल्ला सुनेको बताउँछन् । २७ बर्ष यो क्षेत्रमा काम गरेको बताउने कंडेलले त यस कारण यो फण्ड ठिक छ भनेर कन्भिन्स गर्न हामीलाई सकेनन् भने यो फन्ड कस्तो हो, बुझिहालिन्छ ।

यति बुझ्दा पनि ‘होइन, म त लगानी गर्ने नै हो’ भन्नुहुन्छ भने तपाईंले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नुहुनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिने सकिनेछ। बाँकी त हामी के भनौं र रु भीरबाट खस्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन । होइन र ?

अँ साच्चै, बजारमा आएको सानिमाको म्युचुअल फन्डचाहिं कस्तो हो भनेर सोध्नुहोला रु नबिलको जति नेतृत्व विवादित नभए पनि सानिमाको म्युचुअल फण्ड पनि कन्फर्म घाटामा जाने फन्ड नै हो । उसको पनि बिगत, हेर्ने हो भने सबै कुरा छर्लंग बुझिन्छ । अव म्युचुअल फन्डका बारेमा यति धेरै भनिसकेपछि फेरी नाम फेरेर सानिमाको केसमा पनि उही कुरा कति दोहोर्याउने भन्ने मात्र हो । नबिल जस्तै सानिमाको फन्डमा गरेको लगानी पनि त्यस्तै २० प्रतिशत स्वाहा नै हो । रिटर्न हुने, नाफा हुने कुरा त कि अर्को बुल आउनु पर्यो, होइन भने सम्झिने पानी छाम्किने मात्र हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: