काठमाडौं । सुरुमै एउटा नमिठो तथ्य । सुन्दा धेरैलाई तीतो लाग्न सक्छ। तर यतार्थ यहि हो, नेपालका आधाजसो सहकारी डुबिसके । एउटा गीत थियो नि, ‘जिन्दगीमा मलाई दुई कुराले ठग्यो, एउटा आफ्नो रुपले हो अर्को मायाले ।’ अव कुन दिन यो गीत परिमार्जन भएर यस्तो भएर आउन सक्छ, ‘जिन्दगीमा मलाई तीन कुराले ठग्यो, एउटा आफ्नो रुपले, अर्को मायाले, अर्को पैसा राखेको सहकारीले ।’ अनि अर्को सदावाहार गीत त छ, ‘उडायो सपना सबै हुरीले ।’ अव यो गीत कुन दिन कुनचाहिं सहकारी पीडीतले रिमिक्स गरेर बनाईदेला भन्ने पीर भो- ‘उडायो सपना सबै हुरीले, डुबायो पैसा सबै सहकारीले ।’
लाज, शर्म भन्ने चीज खोलैमा बगाएका यस्ता सहकारीले खुलेआम बचतकर्तालाई भन्न थालेका छन्, पैसा डुब्यो । घरजग्गामा डुब्यो, साहुले कता सकेर डुबायो । कसरी डुब्यो भन्नेचाहिं खोज्नुपर्छ तर डुब्नचाहिं डुब्यो । अव उठाएर सबैले आआफ्नो पैसा लिनुपर्छ । बिचरा बचतकर्ताहरुलाई, केहि पैसा बढी ब्याज पाइन्छ भनेर नजिकैको बैंकको साखा छोडेर सहकारीलाई पैसा बुझाएकाहरु अव सहकारीको पैसा कसले खायो भनेर खोज्नु, सहकारीमा धर्ना दिनु वा सावाँ ब्याज सबैको माया मारेर जोगी बनेर हिड्नुबाहेक विकल्प छैन । हाम्रो पैसा डुब्यो भन्दा सहकारीहरुको रेडिमेड जवाफ छ- ‘हाम्रो मात्र होइन फलानो सहकारी पनि डुब्यो, ढिस्कानो सहकारी पनि डुब्यो । सबै डुबेका बेला हामी पनि डूब्यौ ।’
अहिले नेपालका अधिकांस सहकारीमा समस्या छ । मै हुँ भन्ने सहकारीले बचतकर्ताको ५ हजार रुपैयाँ पनि एकैपटक फिर्ता गर्न नसक्ने अवस्थामा छ । हाम्रो सहकारी समस्यामा छैन भनेर कसैले भन्नु र मलाई डेंगीचाहिं लाग्यो तर फिटिक्कै ज्वरो आएन भन्नु उस्तै उस्तै भएको छ । कोहि सहकारी उठ्नै नसक्नेगरी डुबिसके । केहिले पैसा दिन सकेनौं अव जग्गा दिन्छौँ भन्न थालिसके । कुनै सहकारीको अत्तोपत्तो छैन । कति सहकारीका संचालक भागेको भाग्यै छन् । केहि खुलेका सहकारीहरु पैसा फिर्ता गर्न सक्ने अवस्थामा छैनन् । समग्रमा भन्दा सहकारीमा पैसा राख्नेहरु पीडीत बनेका छन् । जोसँग पैसा उठाउने विकल्प छैन ।
सहकारीको पैसा डुब्नुको मुख्य कारण भनेकै संचालकको बदमासी हो । बचतकर्ताबाट पैसा उठायो, जग्गामा लगायो, आफैं उडायो, सिध्यायो । अनि बचतकर्ताले पैसा माग्न थालेपछि सहकारीको सटरमा ताला मार्यो र भाग्यो । बचतकर्ताले पैसा बरु पछि देउ अनुहार त देखाउ न, नभाग न भनेपछि बल्ल अनुहार देखाउने । घुर्क्याएर पैसा आउंदैन क्यार भनेर उल्टै ठुला कुरा गर्ने, प्रहरीसमक्ष सुरक्षा माग्ने र आफु मज्जाले बस्ने । अनि यहि बेला बचतकर्ताको नियति यस्तो छ, घरमा चामल सिद्धिएको छ, केटाकेटीको फीस तिर्नुपर्ने बेला भएको छ, तर सहकारीमा राखेको पैसा छैन । आफैंले खुन पसिना बगाएर कमाएको र सहकारीमा राखेको पैसा सहकारीका संचालकले खाईदिएपछि अहिले धेरै बचतकर्ताको बिल्लीबाठ भएको छ ।
अहिले त स्थिति यस्तो आईसक्यो सहकारीहरु दिनमा ५ हजार माग्दा ५ दिन पछि आउनु भन्छन् । कतिपय राम्रै भनिएका सहकारीहरु पनि दिनमा ५ हजार मात्र दिन सक्ने अवस्थामा छन् । अनि यस्तो सहकारीमा कतिपयले एक करोड भन्दा बढी पैसा राखेका छन् । अव त्यो १ करोड रुपैयाँ निकाल्न दिनको ५ हजारका दरले २००० दिन लाग्दो रहेछ । यो भनेको झन्डै साँढे ५ बर्ष हो । साँढे ५ बर्षसम्ममा त नेपालमा सहकारी पनि थिए भन्ने स्थिति आउलाजस्तो देखिएको छ । अनि भएन त पैसा स्वाहा ?
एक होइन, दुई होइन, १० होइन, १०० होइन, ५०० होइन, १००० पनि होइन, हजारौं सहकारीहरु समस्याग्रस्त भईसकेका छन् । अव त बचतकर्तालाईसमेत सहकारीमा पैसा राख्नुभन्दा त माग्नेलाई चन्दा दिनु ठिक, बरु त्यसले धन्यवाद त भनेर जान्छ, आशिर्वाद त दिन्छ भन्ने भईसक्यो । सहकारीमा १० लाख भन्दा बढी पैसा राख्नेहरुलाई त डेंगी लागेका बेला हिमाल चढ्न आँट गर्ने मान्छेजस्तै बलवान देख्न थालिसके धेरैले । टोल-टोलमा, बस्ती बस्तीमा, चिया पसलहरुमा सहकारीमा पैसा राखेका तर पीडीत नबनेकाहरु न गन्यमात्रामा छन् ।
उही कृष्णहरी बरालको गजल थियो नि,
माया हुनु मन नहुनु यस्तो पनि कहीं हुन्छ ?स्वास हुनु, जीवन नहुनु, यस्तो पनि कहीं हुन्छ ?
भनेजस्तै अव त सहकारी पीडीत र तिनको पीडामा केहि गर्न नसक्नेहरुले भन्न थालेका छन्-
सहकारी हुनु, पैसा नहुनु यस्तो त यहाँ सधैं हुन्छधर्ना हुनु, संचालक नहुनु यस्तो त यहाँ सधैं हुन्छ।
केहि समय अगाडी विज्ञापन बोर्डले सहकारीमा पैसा राख्दा ख्याल गरौँ भन्ने सूचना छाप्दा तीनै सहकारीका संचालकहरुलाई हुनसम्म पीर भयो । पछि चर्को दबाबपछि बोर्डले सो बिज्ञापन फिर्ता लियो । तर सत्यचाहिं के थियो भने, त्यतिबेलासम्म नेपालका धेरै सहकारीहरु डुबीसकेका थिए । पैसा राखेकाहरु, सहकारी भाग्यो रे भन्ने खबरले रुनुको विकल्पमा थिएनन् । अझ सहकारीमा पैसा डुबेर कतिले आत्महत्या गरे भन्ने तथ्य बेहिसाब छ । यस्ता नलेखिएका, नसुनाईएका खबरहरु कति छन् कति । र पनि सहकारीले ठग्न छोडेका छैनन्, बचतकर्ताको पैसा समयमा फिर्ता गर्न अधिकांस सहकारीले सकेका छैनन् ।
अहिले दिनमा औसत सहकारी डुबेको खबर आउँछ । दिनमा एउटा सहकारी समस्यामा पर्यो भन्ने खबर आउँछ । अनि बचतकर्ताले कसलाई भन्ने ? कसलाई सुनाउने । केहि समयअघि सम्म सहकारीकर्मीहरुको तर्क हुने गर्थ्यो- केहि राम्रा सहकारी पनि त छन् । तर तीनै राम्रा सहकारी भनिएकाहरुमा बचतकर्ताको यस्तो भीड छ आजकल, मानौं त्यो पैसा झिक्ने लाइन होइन, बरु लाइसेन्स बनाउनेहरु लाइन हो ।
अव पनि सरकारले, सम्बन्धित निकायले भन्न अफ्ट्यारो मान्नु हुँदैन- सहकारीको बचत जोखिममा छ । अव त खुलेरै सरकारले सहकारीबाट पैसा निकाल सबै सहकारी खारेज गरिदिन्छौं भन्दा पनि हुन्छ । अव त खुलेरै विज्ञापन बोर्डले पहिलाको सूचना झनै परिमार्जन गरेर सहकारीको पैसा डुब्ने चान्स ५० प्रतिशतभन्दा बढी छ, होसियार भनेर विज्ञापन छपाईदिए हुन्छ । स्थानीय निकायले सहकारीका लाइसेन्स खारेज गरिदिए हुन्छ । र तपाईं हामीले सहकारीले बचत गर्यो भने नो, नो नट अगेन भन्दा केहि फरक पर्दैन। किनकि सहकारी पीडीतहरुको क्रन्दन, आँशु र पीडाको कुनै मूल्य छैन । सहकारी ठग्नेहरु त अझै पनि ल्याण्ड क्रुजर चढेर मुसुमुसु हाँस्दै, नेतालाई हलो हलो भन्दै फोन गर्दै हिंडेकै छन् क्यार ! होइन र ?