काठमाडौं । तपाईं हामी राम्रो अंकको डिग्रीका लागि कति मेहेनत गर्छौं । घरबाट बिदा लिएर शहर बस्छौँ, भएको घरखेत राखेर पनि शहरमा पढ्न आउंछौं । पढे राम्रो नम्बर आउँछ, राम्रो नम्बर आए राम्रो जागिर पाइन्छ । राम्रो जागिर पाए, राम्रो करियर राम्रो हुन्छ । करियर राम्रो भए धेरै पैसा कमाइन्छ । पैसा कमाए जीवन बदलिन्छ । यस्तै सोचका साथ धेरै विद्यार्थीहरु शहर पढ्नकै लागि भनेर पसेका छन् । बा-आमासँग टाढीएर धेरै विद्यार्थीहरु शहरमा बिरानो भएर बस् पढ्नका लागि बसेका छन् । पढ्नकै लागि काठमाडौँमा बस्दै गर्दाका दुखान्तहरुको कथा फेरी बेग्लै छ । र पनि राम्रो जागिरका लागि राम्रो अंक भएको सर्टिफिकेट पाउने विद्यार्थीहरुको मेहेनत ठुलै छ ।
पढाईमा सिरियस हुनेहरु त बर्षभरी पढ्छन्, पढाईमा सिरियस नहुनेहरुको पनि पास हुन गरिने मेहेनत ठुलै हुन्छ । बर्षभरी पढ्न नभ्याउने वा मन नलाग्नेहरु बर्षभरी नभए, जाँचको अघिल्लो दिन त अफिसमा बिदा लिएरै भए पनि पढ्छौं । वर्षमा एक दिन पढ्न बस्दा पनि अल्छी लाग्यो भने पनि परिक्षाको दिन विहानै उठेर त पढ्छौं, पढ्छौं । विहान पनि छिटो उठ्न बिर्सिएछ भने सार्है पढनदासजसरी परिक्षा हलसम्म जाँदा गाडी पनि पनि पढेजसो गर्छौं । यतिले नपुगेर परिक्षा केन्द्रसम्म पुगेपछि पनि हामी भित्र नपसुन्जेल पढेजस्तो गर्छौं । त्यहाँ पनि नपढे अरुले पढेको भए पनि सुन्छौँ । यतिले पनि नभएर परिक्षा हलभित्र आफ्नो उत्तरपुस्तिकामा कम अरुकोमा धेरै ध्यान दिन्छौं । चोरचार गरेर भएपनि हामीलाई पास हुनु नै छ ।
पढ्नेलाई पनि, नपढ्नेलाई पनि परिक्षामा राम्रो अंकको आश हुने नै भयो । राम्रो ग्रेड वा डिभिजनको सर्टिफिकेटका लागि विद्यार्थीको मेहेनत खास परेको हुन्छ । तर आज हामी तपाईंलाई जुन तथ्यबारे बोल्दैछौं, त्यसले नेपालको शिक्षा प्रणाली कुन हदसम्म झुर छ भन्ने त देखाउंछ नै, तपाईं हामीले गरेको मेहेनत भन्दा फरक कसरी बजारमा सर्टिफिकेटको व्यापार हुन्छ र बजारमा कसरी नक्कली सर्टिफिकेटको धन्दा चल्छ भन्ने तथ्यसमेत देखाउंछ ।
एउटा घटनाबाट प्रसङ्गको इतिश्री गरौँ
केहि दिन अघि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट एकाएक धेरै कर्मचारीले राजिनामा दिए । यसको कारण थियो नियामक नेपाल राष्ट्र बैंकले उनीहरुको सर्टिफिकेटमाथि अनुसन्धान गर्दै थियो । यो कम्पनीमा धेरै कर्मचारीले नक्कली सर्टिफिकेट देखाएर जागिरमा बढुवा भएको भनी अख्तियारमा परेको उजुरीपछि अख्तियारले यस विषयमा छानविन गरी प्रतिवेदन पठाउनु भनेर नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो र राष्ट्र बैंकले पनि सोहि अनुसार कम्पनीमा कार्यरत कर्मचारीहरुको सर्टिफिकेटसम्बन्धि कागजातहरु नियन्त्रणमा लिएको थियो । त्यसपछि त धेरै कर्मचारीको भागाभाग हुने भैहाल्यो । राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा धेरैले भारतीय सर्टिफिकेट देखाएर जागिरमा बढुवा भएको र उनीहरुको सर्टिफिकेट नेपालका कुनै पनि विश्वविद्यालयले समकक्षता नदिने खालको भएको तथ्य खुलेको थियो । अर्थात धेरैले किनेको सर्टिफिकेट देखाएर जागिरमा बढुवा भएको जुन आरोप लागेको थियो, त्यो तथ्य नजिक थियो ।
यसो त नेपालमा निर्धन उत्थानमा मात्र होइन, धेरै बैंक तथा वित्तीय संस्थाहरुमा यसरी किनुवा सर्टिफिकेट देखाएर सानाले मात्र होइन ठुलालेसमेत जागिर खाएका छन् । बैंक तथा वित्तीय संस्थामात्र होइन, इन्स्योरेन्स कम्पनीमा काम गरेका धेरैको सर्टिफिकेट नक्कली छ । पढ्ने बेलामा कोहि घुस खानमै व्यस्त, कोहि रक्सी खानमै व्यस्त भएपछि पढाई छुटेका धेरैले भएका नभएका, अनेक नामधारी विश्वविद्यालयका सर्टिफिकेट बनाएर नेपालमा जागिर खानु धेरैका लागि अपराधिक बाध्यता हो । र त नेपालका बैंकहरु, इन्स्योरेन्स कम्पनीहरुमा अपरेशन चलाउने हो भने नसोचिएको प्रतिशतमा नक्कली सर्टिफिकेट भेटिन्छन् । सम्बन्धित निकायले छानविन गर्ने र राष्ट्र बैंक, बीमा समितिजस्ता नियामक निकायले साथ दिने हो भने कतिपय बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीका प्रमुखकै सर्टिफिकेट नक्कली भेटिन्छ ।
अझ दुखलाग्दो कुरा त के छ भने, नेपालका कतिपय मै हुँ भन्ने बैंकका संचालकको सर्टिफिकेटसमेत नक्कली भएको तथ्य स्वयम् राष्ट्र बैंकलाई थाहा छ । तर ती संचालकहरु राष्ट्र बैंक नजिकका परेपछि तर तैं चुप, मै चुप शैलीमा राष्ट्र बैंक यसको खोजिनिधि गर्दैन । बीमा समितितिर पनि यस्तै हरिबिजोग छ । फलानोको सर्टिफिकेट नक्कली हो भन्ने पनि थाहा छ, फलानोले पढेकै छैन, उसको सर्टिफिकेट किनुवा हो भन्ने पनि थाहा छ, तर आफ्नै साथी छ, उसैको राजनीतिक पावर छ, अनि कसरी बोलोस् नियामकरु र त नक्कलीहरुको बिगबिगी खुब छ नेपालको बैंकिङ क्षेत्रमा । अझ विदेश जान नक्कली सर्टिफिकेट बनाउनेहरु, सरकारी जागिर खान नक्कली सर्टिफिकेट बनाउनेहरुको लर्को लामै छ । अझ प्राइभेट संस्थामा जागिर खान नक्कली सर्टिफिकेट बनाउनेहरु त कति हुन् कति । अझ अहिले त कम भएको हो, केहि समयअघि सम्म त बागबजार तिर खुलेआम विभिन्न डिजाइन हाउसहरुले नक्कली सर्टिफिकेट बनाईदिन्थे । आज त्यहि काम विभिन्न गिरोहले घरमै गर्छ ।
हुन त लालपूर्जासमेत आफैं बनाएर बैंकबाट करोडौंको ऋणसमेत लिन पछि नपर्ने फटाहाहरुको राज भएको देशमा सर्टिफिकेट नक्कली हुनु कुनै नौलो कुरा होइन, तर नक्कलीहरुको राज हुनुचाहिं पक्कै गम्भीर विषय हो । भलै यस्तो गम्भीर विषयमा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । बजारमा तेलको भाउ यहि भएर बढेको हो कि १ व्यंग्य पनि के मार्नु रु नक्कलीहरुको कानमा यस्ता सक्कली कुराले विझे पो !
कुरा ओपन सेक्रेटजस्तै छ, बजारमा खुलेआम नक्कली सर्टिफिकेटहरुको विक्री वितरण हुन्छ । नेपालमा यस्तो धन्दा चलाउनेहरु अहिले विदेशबाट यस्तो धन्दा चलाईरहेका छन् । जे होस्, तपाईंले चाहेकोजस्तै सर्टिफिकेट चाहेकैजस्तो डिभिजनको सर्टिफिकेट पाइन्छ यो देशमा । र उनीहरुकै जागीर ठुला, उनीहरुकै घर ठुला, उनीहरुकै गाडी चिल्ला, उनीहरुको पावर बढी । मरी मरी मेहेनत गर्नेहरुको त उही नाम बैकल्पिकमा पर्छ, करियर त्यहि बैकल्पिकमा पनि पर्दैन ।
यो त नक्कली सर्टिफिकेटको कुरा भयो, अव बजारमा अर्को ओपन सेक्रेट अरुका नाममा परिक्षा दिने नक्कली परीक्षार्थीका बारेमा कुरा गरौँ । पढाईमा राम्रो भएकाहरुको एउटा नक्कली धन्दा छ अहिले बजारमा, परिक्षामा फेल भईरहनेहरुसँग टन्न पैसा लिने, अनि परिक्षामा सामेल हुने । प्रवेश पत्रमा आफ्नो फोटो मिलाएर टाँस्ने अनि परिक्षा हलमा गएर परिक्षा दिने। अझ कोभिडले त झन् कति सजिलो भईरहेको छ, मास्क लगायो परिक्षा दियो आनन्द । परिक्षा हलमा परिक्षा दिनेहरुको मुख हेर्ने खासै चलन छैन । यस्तो धन्दा चल्छ भन्ने थाहा हुनेहरुलाई थाहा भईनै हाल्यो, थाहा नहुनेहरुले शंका गर्ने कुरै भएन । तर दुखको कुराचाहिं के छ भने १२००० देखि १५००० सम्म तिर्यो भने यस्तो परिक्षा दिनेहरु अझै पनि पाइन्छन् बजारमा । परिक्षा सकिएपछि पैसा बुझायो, रिजल्ट आउँदा पास ।
यसो त यस्ता घटना यस अघि थुप्रै भेटिएका पनि हुन् । फलानो नामको मान्छेले फलानो मितिमा फलानोको परिक्षा यसरी नक्कली परीक्षार्थी भएर दिएको हो भन्ने उजुरी पनि सम्बन्धित संस्थामा परेको हो । तर कुनै पनि कारवाही भएन । कारवाही भए पनि त्यो कारवाही बाहिर आएन । र त यस्तो धन्दा चलिरहेको छ बर्षौंदेखि ।
यसरी अरुको परिक्षा दिएर काठमाडौँमा जिविको चलाउनेहरुको संख्या ठुलै छ यो शहरमा । स्रोतका अनुसार यसरी अरुको परिक्षा दिंदा १० हजारदेखि ५० हजारसम्मको ’डिल’ हुने गरेको छ । ’व्यवस्थापन संकाय अन्तर्गत बिबिएस र एमबिएसको रेट महँगो छ भने एलएलबी, बिए र बीएडको रेट केहि सस्तो छ ।’ बिबिएसको परिक्षा दिनेले एकाउन्ट्स । फाइनान्स, जस्ता विषयको परिक्षा दिंदा प्रति परिक्षा ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छन् । यता बिएतर्फको परिक्षा दिँदा भने प्रति परिक्षा १० हजारदेखि २० हजारसम्मको ’डिल’ हुने गरेको छ ।
यसरी अरुको परिक्षा दिने र दिलाउने दलाली क्याम्पसकै विद्यार्थीहरुले गर्ने गरेका छन् । विशेषगरी काठमाडौँको आरआर, मिनभवन क्याम्पस, शंकरदेव क्याम्पस, र नेपाल ल क्याम्पसमा यस्ता दलालीहरु भेटिने गरेका छन् । दलालीहरुले केहि रकम लिएर परिक्षा दिने र दिलाउनेबीच संयोजन गरिदिन्छन्। पहिलो पटक डराएपनि केहि नभएपछि दोश्रो पटकदेखि निस्फिक्री यस्तो धन्दा गर्नेहरु बढेका छन् ।
नक्कली परिक्षा दिन एकदमै सजिलो छ । केटाको परिक्षा भए केटा नै नक्कली परीक्षार्थी छानिन्छ भने केटिको परिक्षा भए केटि नै नक्कली परीक्षार्थी छानिने गरेको छ ।फोटोमा मिलाएर होलोग्राम उक्काउने र त्यसमा आफ्नो फोटो टाँसेर परिक्षा हलमा बस्ने । त्यसो भएपछि कसैले पनि केहि गर्न सक्दैन । खुरुखुरु परिक्षा दिने, बाहिर आउने । पैसा पहिला नै लिइसकेको हुन्छ । यसरी आफ्नो फोटो राख्न, होलोग्राम उक्काउन लगायतका किर्ते काम गर्न अरुको परिक्षा दिइरहेकाहरुलाई गाह्रो छैन ।
यता त्रिभुवन विश्वविद्यालयका केहि कर्मचारीले समेत यस्ता दलालहरुबाट कमिसन लिने गरेको आरोप केहि विद्यार्थीको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने विभिन्न परिक्षामा नक्कली परीक्षार्थी सामेल भएको र त्यसमा केन्द्राध्यक्षकै मिलेमतो हुने गरेको उजुरी विश्वविद्यालयमा दिन जाँदा, त्यहाँका कर्मचारीले उजुरी दर्ता नगरी उल्टै थर्काएर पठाएकोगुनासो यसअघि पनि सार्वजनिक भएको थियो । र त सबैले आँखा चिम्लिदिदा बर्षौंदेखि यस्तो धन्दा चलिरहेको छ । यसो त प्रश्नपत्र नै बिक्री हुने देशमा एउटाको परिक्षा अर्कोले दिनुपनि नौलो भएन । र पनि नेपालमा चलिरहेको यो मनपरी धन्दा कुनै दिन बिष्फोट हुनेगरी बाहिरियो भने अन्तराष्ट्रिय स्तरमै टियु लगायतका विश्वविद्यालयको छवि धमिलिने कन्फर्म छ ।
राजनीतिमा गतिलो शिक्षा हुनुपर्ने हो । तर नेपालमा शिक्षामा फोहोरी राजनीति छिरेको छ । अरुका नाममा परिक्षा दिएर पास गर्ने, चिट चोराउने ठेक्का लिने, चिट चोराएर पास गराउने, प्रश्नपत्र नै लिक हुने, शिक्षकहरुले पनि उत्तरपुस्तिका जाँच गर्दा फेसबुकमा लाइभ गर्ने लगायतका घटना यस अघि थुप्रै पटक सार्वजनिक भईसकेका छन् । विदेशबाट मगाईएका वा बागबजारतिर बनाइएका नक्कली सर्टिफिकेटका काण्ड त झन् बेहिसाब छन् । र त नक्कलीहरुले जागिर पाईरहेका छन्, पढेर परिक्षा दिएर पास भएर जागिर खोज्नेहरुको चप्पल आधा दर्जन फाट्दा पनि जागिरको अत्तोपत्तो छैन ।
टियुले सोचोस्, सम्बन्धित निकायले यस्ता शिक्षाका दलेहरुलाई खोजोस्, प्रमाण भेटिंदा यो फलानो नेताको आफ्नो मान्छे भनेर कसैले नभनोस्, यतिमात्र हुने हो भने नेपालमा नक्कली सर्टिफिकेटको धन्दा कम हुनेछ । अहिलेकैजस्तो हुने हो भने त अव पैसाले सर्टिफिकेट किन्न नै पाइन्छ भने किन पढ्नु भन्ने तथ्य नजिर बन्यो भने भोलि विद्यार्थीको मात्र होइन, देशकै भविष्य अन्धकार हुनेछ । भिडियोः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्