×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुलिस मन्त्री क्याबिनेटमा, बजार बुलमा जाने संकेत यस्ता…तर, ख्याल गरौँ यी कुरा ! (भिडियो)

PRIME CA
GLOBAL IME BANK

बुलिस मन्त्री क्याबिनेटमा, बजार बुलमा जाने संकेत यस्ता…तर, ख्याल गरौँ यी कुरा ! (भिडियो)

१३ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौं । गत विहीबार र गत सोमबारमा देशको आर्थिक स्थितिमा केहि खास फरक थिएन । तरलतामा कुनै चमत्कार थिएन, सेयर बजार बढ्न वा घट्नलाई जे–जे हुनुपथ्र्यो, केहि फरक थिएन । फेरिएका फगत एक मन्त्री थिए, तर मन्त्रीसँगै सेयर लगानीकर्तामा देखिएको आशामा यति फरक थियो कि त्यसको लेखाजोखा सेयर बजारले गर्न थालिसकेको छ । सेयर बजारलाई भरिएको बेलुन भन्ने मान्छेको सत्ता बहिर्गमनमात्र होइन, सेयरबजारमैत्री अर्थमन्त्री पाएको छ देशले । र त लगानीकर्तामा उल्लास देखिएको छ, क्षितिजसम्म आशा देखिन थालेको छ ।

इतिहास साक्षी छ, जव जव विष्णु पौडेल अर्थमन्त्री भए, सेयर बजारले नयाँ नयाँ उचाईं चुमेको थियो । २०७२ सालमा, र २०७४ सालको चुनावपछि देश कोरोना कहरमा रहँदासमेत उनकै नेतृत्वमा अर्थ मन्त्रालय रहंदा नेपाली सेयर बजारले अल टाइम हाई चुमेको थियो । २०७२ सालमा देश भुकम्पले थिलथिलो हुँदा होस् वा कोरोनाले देशको अर्थतन्त्र बिरामी परेको बेला होस्, उनकै नेतृत्वमा सेयर बजारले अलटाइम हाई चुमेको थियो । सेयर बजारका लागि लक्की च्याम्प मानिएका उनै विष्णु पौडेल फेरी अर्थमन्त्री हुँदा नेपालको सेयर बजारका लगानीकर्ता थप आशावान बनेका छन् । उनी मन्त्री भएपछि खुलेको बजारले उनीप्रतिको विश्वास प्रष्ट पारिसकेको छ ।

विष्णु पौडेल र सेयर बजार, यो संयोग मात्र होइन । नेतृत्वमा बसेको व्यक्ति सेयर बजारप्रति सकारात्मक हुनु भनेकै सेयर बजारले नीजलाई पनि सकारात्मक रुपमा हेर्नु हो । विष्णु पौडेल अर्थमन्त्री भएपछि अव अर्थतन्त्रका धेरै आयामहरुमा बिकास हुनेछ र त्यसको असर सेयर बजारमा प्रतिविम्बित हुन्छ भन्ने विश्वासमा सेयर लगानीकर्ता छन् ।

विष्णु पौडेललाई अर्थमन्त्रीका रुपमा पाईरहंदा उनको नेतृत्वमा हुने केहि गज्जबका कामको संकेत देखिएकाले पनि सेयर बजारले उनलाई सकारात्मक तरिकाले हेरेको छ । नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबीचको चीसोपन अव उनकै नेतृत्वमा ईतिश्री हुनेछ भन्ने विश्वास धेरैले गरेका छन् भने अव उनको नेतृवमा अर्थ मन्त्रालय हुँदा सेयर बजार विरोधी नीति कतै बाट पनि आउंदैनन भन्ने कुरामा पनि सेयर लगानीकर्ता विश्वस्त छन् ।

विष्णु पौडेल बुझ्ने र बुझाउने मामलामा अब्बल छन् । राष्ट्र बैंकसँग यसअघिका अर्थमन्त्री जनार्दन शर्माको जस्तो ‘इगो’ छैन बिष्णु पौडेलको । जनतालाई के चाहिएको छ ? र सेयर बजारमा लगानीकर्ताले के खोजेका छन् ? भन्ने तथ्य उनले बुझेका छन् । र राष्ट्र बैंकलाई सेयरबजार विरोधी नीति नल्याउन उनले कन्भिन्स गर्न सक्छन् । अन्य राजनीतिक कनेक्सन यहाँ उल्लेख गर्नै परेन । नेपाल राष्ट्र बैंक अव सरकारप्रति देखिनेगरी नै पोजेटिभ हुन्छ भन्ने तथ्य अव आउने मौद्रिक नीति र तिनका समिक्षामा देखिनेनै छ ।

मन्त्री कराईरहने, लगानीकर्ता डराईरहने अवस्था अव हुँदैन । अर्थ मन्त्रालय र राष्ट्र बैंक बिच समन्वयकारी भूमिका रहँदा अर्थतन्त्रलाई सकारात्मक र चलायमान बनाउने औजारहरु उचित रुपमा प्रयोगमा त आउने छन् नै, विष्णु पौडेलले बजार विरोधी कुरा कहीं कतै पनि बोल्ने छैनन् । कहीँ कतै चिप्लियो भने पनि उनले त्यसलाई सुधार्नेछन् । उनको पार्टी नेकपा एमाले र तीनका अध्यक्ष केपी शर्मा ओली स्वयम् पनि सेयर बजारप्रति सार्है सकारात्मक भएका हुनाले सेयर लगानीकर्ता आत्तिनुपर्ने अवस्था रहँदैन र छैन ।

नयाँ क्याबिनेटको पहिलो बैठककै निर्णयमा पूँजी बजारको बिकासलाई प्राथमिकता दिईनुलाई, नयाँ युगको गज्जब सुरुवातकै रुपमा लिन सकिन्छ । क्याबिनेटमा बसेकाहरु पूँजी बजारप्रति कति सकारात्मक छन् भन्ने तथ्यको ज्वलन्त उदाहारण हो यो । यसअघि पूँजीबजारलाई सट्टेबजार भन्दा झन्डै करियर नै सत्यानास भएको तीतो अनुभव भएका प्रचण्डले अव झुक्किएर, सपनामा पनि पूँजीबजारबारे नकारात्मक धारणा व्यक्त गर्ने छैनन् । यसले पनि सेयर बजारलाई बल नै पुर्याउने कुरामा कुनै पनि शंका छैन ।

विष्णु पौडेल कसैलाई नाचिढ्याउने प्रवृतिका मन्त्री हुन् । त्यसैले उनी अर्थतन्त्रसँग सरोकार राख्ने जो कोहिलाई पनि सँगै लिएर हिड्नेछन् । यसको सकारात्मक प्रभाव पनि सेयर बजारमा देखिनेछ ।

विष्णु पौडेलकै नेतृत्वमा सेयर बजारले अर्को बुल समात्ने अपेक्षाका केहि आधारहरु पनि छन् । एक त सरकार नै पूँजीबजारप्रति सकारात्मक देखिएको छ, यो नै अवको बजार निकै माथि जान्छ वा जान सक्छ भन्ने आशालाई पुष्टी गर्ने आधार हो । अझ, बजारमा तरलता समस्या दूर हुँदैछ । अन्यथा नभएमा सेयर बजार बिकासका थुप्रै आयामहरु बिष्णु पौडेलकै नेतृत्वमा सार्वजनिक हुनेछ । नयाँ ब्रोकरहरु आउनेछन्, नयाँ स्टक आउनेछ । व्यापार गर्नेहरुलाई थप सहजता हुनेगरी नीति बन्नेछ, राष्ट्र बैंकले सरकारलाई सकारात्मक सहयोग गर्नेछ । यहि कारण पनि नयाँ इतिहास बनाउन विष्णु पौडेल नेतृत्वको अर्थ मन्त्रालय उद्दत छ ।

यसो त सेयर बजार घट्नु घटिसकेको छ । चरम बियरिसबाट उठेर सेयर बजार उकालो गतिमा छ । सरकार नै सकारात्मक हुनु, तरलता अभावको समस्या समाधान हुँदै जानु र सबैभन्दा महत्वपूर्ण कुरा सेयर लगानीकर्ताहरु नै अव बजार बढ्छ भनेर ढुक्क हुनुले पनि बजारलाई माथि लैजान्छ भन्ने विश्वास गर्न सकिन्छ । सकेसम्म राम्रो हुन्छ, राम्रो नभएपनि नराम्रो हुँदैन भन्ने विश्वास लगानीकर्तामा भएपछि सेयर बजार माथि जानुको विकल्प छैन ।

यसो त अर्थतन्त्र लयमा ल्याउनु अर्थमन्त्रीको मात्र होइन पूरै सरकारको उद्देश्य बनेका बेला सेयर बजार माथि जान्छ भन्ने विश्वास गर्नु वा गरिनु स्वाभाविक हो । कहीं कतै बिग्रेछ भने यसै पनि विष्णु पौडेलले सुधार्नेछन्, विष्णु पौडेलले कथम कदाजित गलत गरे भने, सेयर बजारविरोधी काम गरे भने उनलाई ठिक पार्ने उनकै क्याबिनेटमा रवि लामिछाने छन्, रविले नजानेको सेयर बजारका कुरा बुझाउने हरि ढकाल छन् । हरि ढकालजस्तै सेयर बजारबारे बुझेका झन्डै ११ सांसद छन् यसपालीको संसदमा । त्यसैले नराम्रो बोल्ने त परे जाओस्, कसैले नराम्रो चिताउनेसमेत हुन धेरै गाह्रो छ यसपाली । त्यसैले पनि सेयर बजार माथि जाने कुरामा विश्वास गर्न सकिन्छ ।

अव फेरी यस्तो भन्दैमा ओहो ! अस्ती किन्नुपर्ने किन्नै बिर्सिएछ वा किनिएनछ चाहिं नभन्नुहोला । सेयर बजारले हरेक पटक किन्न र बेच्न दिन्छ, त्यसैले आत्तिनुपर्ने कुरै केहि छैन । यसको अर्थ बजार बढ्ने आधार छन् भनेको हो, आजै भएभरका पैसाले हुने नहुने खालका सेयर किन्नु भनेकोचाहिं कदाचित होइन ।

तर यतिचाहीँ जरुर हो, एक प्लेट मम र एक ग्लास कोक खाने पैसाले एक कित्ता त गज्जबको सेयर आउँछ । दुई साथीभाई एक ठाउँ बसेर खाजा खाँदा खर्च हुने १००० रुपैयाँमा राम्रा कम्पनी ३ कित्ता आउँछ । राम्रा–राम्रा कम्पनी किनेर राखे विष्णु पौडेलले अर्थमन्त्रालय छोड्दै गर्दा तपाईंको पैसा कम्तीमा पनि डबल हुने छाँटकाँटचाहिं छ है । फेरी छाँटकाँट भनेको हो, कन्फर्म भनेकोचाहिं नसोच्नुहोला । अझ यतिचाहिं फेरी पनि जरुर भनेको हो, घट्दै गरेको बजारमा हाम फाल्नुहोस भनेको पनि होइन, घट्नु घटिसकेर बजार बढ्न थालेपछि, अझै राम्रोसँग बढ्न थालेपछि सेयर किन्दा हुन्छ है भनेको हो । बाँकी त तपाईंकै पैसा, तपाईंकै इक्षा ।

योसँगै सेयर किनेपछि बेच्न पनि जान्नुपर्छ । बेच्न नजान्दा फाइदा हुने कुरै भएन । सेयर किन्दा कम्तीमा पनि प्रतिफल दिने सेयर किन्नुपर्छ । एउटा टार्गेट सेट पर्छ र टार्गेट पूरा भएपछि थप लोभ गर्नुहुँदैन । गलत सेयर किनिएछ भन्ने लागेको दिन स्टप लसको हतियार प्रयोग गर्न नभुल्नुहोला । बस् यति बुझे, सेयर बजारमा अलिअलि होइन, राम्रै पैसा कमाइन्छ । भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: