×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दिनभरिलाई पुग्ने काम नभएपछि नेपाल टेलिकमका कर्मचारी सेयर बजारमा व्यस्त, १०१७ कर्मचारी ‘अर्ध-बेरोजगार’ !

काठमाडौं । कतिपय सरकारी कार्यालयमा काम नै कामको चाङ छ । कर्मचारीलाई खाजा खाने फुर्सदसमेत नभएका कार्यालयहरु पनि छन् । तर, लामो समयदेखि राजनीतिक किचलोको सिकार भएका त्यस्ता केहि कार्यालयहरु छन्, जहाँ कर्मचारीहरु हुनुपर्नेभन्दा धेरै छन् । जसले एकातर्फ संस्थाको खर्च बढाईरहेको छ भने अर्कोतर्फ काम गर्छु भन्ने कर्मचारीहरु पनि निरुत्साहित बनेका छन् । नेपाल टेलिकम एउटा त्यस्तै संस्था हो, जहाँ दिनभर काम गर्छु भन्दा धेरै कर्मचारीका लागि काम नै छैन । भएको थोरै काम पनि धेरै कर्मचारीहरुलाई बाँडिएको छ । काम नभएपछि धेरै कर्मचारी दिक्क छन्, कोहि संस्थाभित्रैबाट अरु ‘पार्ट टाइम’ काम गरिरहेका छन् । यसले समग्र संस्थाको पर्फर्मेन्सलाई असर गरेको छ ।

२०६९ साल पुष १८ गतेको तथ्यांक हेर्ने हो भने टेलिकममा पूराना कुल ३७५६ कर्मचारीहरु छन् भने नयाँ विज्ञापनबाट कुल २७० थपिएका छन् । अर्थात जम्मा कर्मचारी संख्या ४०२६ छ नेपाल टेलिकममा । बोर्डबाट पारित आवश्यक कर्मचारीको संख्या नै ३००९ छ । अर्थात बोर्डकै तथ्यांकलाई आधार बनाउने हो भने पनि टेलिकमभित्र १०१७ कर्मचारीहरु आवश्यक भन्दा बढी छन् ।

एक्टिभ कर्मचारी खुसी छैनन्, ‘काम गर्न नपाएर तनाव छ’
यसो त अल्छी कर्मचारीहरुलाई काम नहुनु भनेको दशैं आए बराबर नै हो । अफिस गयो, हाजिर गर्यो, केहि समय काम गर्यो, अरु दिन हल्लियो, हाजिर गर्यो, आयो । तर काम गर्छु, करियर बनाउँछु भन्नेहरुलाई यो स्थिति भयावहझैं हुन्छ । अहिले नेपाल टेलिकमका अधिकांश कार्यालयमा स्थिति त्यस्तै छ । समयमै अफिस पुगेपनि धेरैसँग दिनभर गर्ने काम छैन । यहि कारण अहिले धेरै कर्मचारीको दैनिकी भनेको आनन्दले अफिस गयो, हाजिर लगायो, बस्योजस्तै भएको छ । केहि बाठा कर्मचारी सेयर बजारतिर लागेका छन् । र त टेलिकमभित्र आजकल आफ्नो कम्पनीको भन्दा सेयर बजारको गफ बढी हुन्छ । भएको थोरै काम सकिएपछि महिला कर्मचारीहरु पनि आ-आफ्नै गफमा व्यस्त हुन्छन् । सबैको उही भनाई छ -‘दिनभर काम गर्न काम नै छैन के गर्ने । भएको थोरै काम पनि बाँडफाँट भएको छ ।’

कुनै विभागमा कामको खातै खात, कुनै विभागमा कर्मचारीलाई काम नै छैन !
यसो त टेलिकमको सबै विभागमा यस्तो होइन । तर धेरैजसो विभागमा यस्तो भएकोचाहिं हो । धेरै विभागमा काम भन्दा बढी कर्मचारी छन् । ‘कतिपय कार्यालयका कर्मचारीलाई जाडोमा एकछिन भए पनि घाम तापौं भन्ने कत्रो रहर हुन्छ । तर हाम्रा लागि घाम ताप्नु त बाध्यताजस्तै भएको छ । दिनभरीको जागिर, तर २-३ घण्टामा काम सकिहाल्छ । अनि के गरेर बस्नु ?’ टेलिकमका एक कर्मचारीले अर्थ सरोकारसँग भने- ‘काम नै नभएपछि अहिले सेयर बजारतिर लागिएको छ, थोरबहुत बिजी हुने बहाना मिलेको छ ।’ उनका अनुसार अफिसमा काम नभएपछि र सोहि कारण सेयर बजारतिर बढी लागेपछि अहिले आफ्नो काम के हो भन्ने विषयसमेत धेरैले बिर्सिसकेका छन् । ‘अरु संस्थामा काम गर्ने कर्मचारीलाई कामको बोझ सम्झिँदा अफिस नै नजाउँ-नजाउँ हुन्छ होला तर हामीलाई त कामै नभएर पिर छ । के गर्ने ? यस्तै छ अवस्था, गर्नु के गर्नु ? भन्नु कसलाई भन्नु ?’ काम नै धेरै नभएपछि धेरै कर्मचारीहरु अहिले निकै फुर्सदिला बनेका छन् । कार्यालय जाँदा कर्मचारीहरु खास भेटिन्नन् । यस्तो अवस्थाले राम्रो काम गर्ने कर्मचारीलाई सार्है ठुलो तनाव भएको छ ।

किन भयो यस्तो ?
यस्तो स्थिति आउनुमा प्रविधि मुख्य कारण हो । कुनै बेला म्यानुअल काम गर्नका लागि धेरै कर्मचारी चाहिन्थे । संस्थामा सोहि अनुसारको कर्मचारीको दरबन्दी थियो । विस्तारै प्रविधिले त्यस्ता कमहरु ‘रिप्लेस’ गर्दै गयो । पहिला ३-४ कर्मचारी चाहिने काम अहिले सिष्टमले ५ मिनेटमा सकिदिन्छ । सरकारी जागिर र त्यसमा पनि स्थायी जागिर भएकाले उनीहरुलाई जागिर बाट निकाल्ने कुरा भएन । सरकारी जागिर, काम भएन भनेर निस्किने कुरा पनि भएन । यहि कारण अहिले धेरै कर्मचारीहरु टेलिकमभित्र बेरोजगारजस्तै बनेका छन् । आफुले कुनैबेला दिनभर गर्ने काम अहिले सिष्टमले १०-१५ मिनेटमा सक्ने भएपछि ती कर्मचारीहरुको व्यस्तता निकै कम भएर अन्तत: यस्तो हरिबिजोग अवस्था आएको हो । अझ पछिल्लो समय टेलिकमको जागिरमा प्रवेश गरेको नयाँ पीढीका कर्मचारीले त पुरानाले ३ दिनमा सक्ने काम आधा दिनमै सकिदिन्छन् । काम नभएपछि टेलिकमभित्र विभिन्नखाले विकृति बढेको छ । एकअर्काको कुरा काट्नेहरु बढेका छन् । चियाको खपत बढेको छ ।

‘भीआरएस दिए घर जान्छौँ’- कर्मचारी, ‘भीआरएसको एजेन्डा बोर्डमा विचाराधीन छ’- संचालक
यसो त काम नै नभएपछि धेरै कर्मचारीहरु भीआरएस पाए घर जाने सुरमा समेत छन् । काम नै नभई जागिर पकाउनुपरेको भन्दै धेरै कर्मचारीहरुले ‘कि काम देऊ, कि भीआरएस दिएर घर पठाऊ’ भन्ने आवाज उठाईरहेका छन् । यो आवाज बढी नै उठेपछि अहिले भीआरएस दिने एजेन्डा बोर्डसम्म पनि पुगेको छ । ‘टेलिकममा कर्मचारी धेरै भए भन्दा पनि नयाँ तरिकाले काम गर्ने, टेक्नोलोजी बुझेका कर्मचारीहरु कम भएका हुन् ।’ टेलिकमका एक संचालकले अर्थ सरोकारसँग भने – ‘पूराना कर्मचारीलाई यसअघि पनि एक पटक बुद्धी सरको पालामा भीआरएस आएको हो । फेरी पनि भीआरएस ल्याउने तयारी छ । अहिले यो एजेण्डा बोर्डमा विचाराधीन छ । कसलाई कसरी भीआरएस दिने वा कति लटमा भीआरएस दिने भन्ने विषयमा छलफल भईरहेको छ ।’

उनका अनुसार कर्मचारी योग्य नभएको भन्दा पनि कर्मचारीले गर्ने काम आउटडेटेड भएर यस्तो समस्या आएको हो ।’ यसो त टेलिकममा पूराना कर्मचारीहरु हटाउने चिन्ता बोर्डलाई पनि छ । तर नयाँ प्राविधिक जनशक्तिको भने अझै अपुग छ । यसका लागि टेलिकमले पटक पटक विज्ञापन पनि गर्ने गरेको छ ।

‘आवश्यक भन्दा धेरै कर्मचारी हुँदा एक त काम भएन, अर्कोतर्फ बार्षिक बोनसमा पनि काम गर्छु भन्ने कर्मचारीलाई घाटा भएको छ ।’ टेलिकमका एक उच्च तहका कर्मचारीले भने अहिले टेलिकममा काम गर्छु भन्नेलाई काम छैन । अनावश्यक कर्मचारीको बोझ संस्थामा छ । यसले बार्षिक बोनसको भागमा पनि असर गरेको छ । काम नगरी तलव पकाउनेहरुलाई प्रोत्साहन गरेको छ भने काम गर्छु भन्नेहरुलाई निरुत्साहित गरेको छ । अझ समस्या त, काम नहुँदा टेलिकमभित्र भ्रष्टाचार गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: