×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुलाई ‘घाँडो’ हुन थाल्यो दशैंमा बाँडेका नयाँ नोट, खुद्रा नोट नलिन बैंकहरुको आन्तरिक सर्कुलर, ‘राख्ने ठाउँ नै छैन…’

PRIME CA

बैंकहरुलाई ‘घाँडो’ हुन थाल्यो दशैंमा बाँडेका नयाँ नोट, खुद्रा नोट नलिन बैंकहरुको आन्तरिक सर्कुलर, ‘राख्ने ठाउँ नै छैन…’

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । कोटेश्वरकी सागर पौडेल नजिकै रहेको एक बैंकमा रकम जम्मा गर्न गइन् । दशैं तिहारमा दक्षिणा बटुल्दासहितको खुद्रा पैसा धेरै भएपछि उनी सो पैसा जम्मा गर्न जाँदा बैंकले सो रकम लिन नै मानेन । ‘बैंकले पैसा नै लिन नमान्ने हुन्छ र ?’ उनी अचम्ममा परिन् । कारण सोध्दा बैंकको साखाले ‘माथिको आदेश’ भन्यो । यहि बेला नगद लिन आएका ग्राहकलाई बैंकले खुद्रा नोट दिईरहेको देखेपछि उनी झन् अचम्ममा परिन् । ‘तपाईंहरुले त दिईरहनुभएको छ त ? तपाईंले नै दिएको पैसा पनि त कतैबाट लिएकै त होला ‘ उनको प्रश्नमा यसलाई पनि साखाले ‘माथिको आदेश’ भनिदियो । त्यसपछि उनले आफ्नो समस्या पोख्न अर्थ सरोकारमा सम्पर्क गरिन् ।
के खुद्रा पैसा लिन नलिन बैंकका साखामा ‘माथिको आदेश’ आएको हो ?
हो । यतिबेला सकेसम्म खुद्रा नोट नलिन केहि बैंकहरुले आन्तरिक सर्कुलर नै गरेका छन् । सकेसम्म खुद्रा नोट नलिन र भएको नोट पनि ग्राहकलाई नै दिन केहि बैंकहरुले आन्तरिक सर्कुलर नै गरेका हुन् । कारण नेपाल राष्ट्र बैंकले खुद्रा नोट राख्न ठाउँ नभएको भन्दै बैंकहरुलाई सकेसम्म खुद्रा नोट नल्याउन भनेको छ । राष्ट्र बैंकले यस्ता नोट नलिएपछि बैंकहरुमा पनि नोट राख्ने ठाउँ नै नभएको स्थिति रहेको बैंकरहरु बताउँछन् । सोहि अनुसार बैंकहरुले खुद्रा नोट सकेसम्म नलिन र भएको पनि नगद लिन आउनेलाई दिन भनी सर्कुलर नै गरेका रहेछन् ।
‘खुद्रा नोट सकेसम्म नलिने नीति हो । लिंदै नलिने भन्ने त होइन, तर सकेसम्म नलिने भन्ने हो ।’ राष्ट्रिय बाणिज्य बैंकका एक साखा प्रबन्धक भन्छन्- ‘यो समस्या अलि अगाडीदेखिकै समस्या हो । दशैंतिहारमा बाँडेका नयाँ नोटले थप समस्या ल्याएको छ । राष्ट्र बैंक नोट राख्ने ठाउँ नै छैन भन्छ, हामीसँग पनि राख्ने ठाउँ नै छैन । कुनै विकल्प नभएपछि सकेसम्म ग्राहकहरुबाट ठुलो परिमाणमा खुद्रा नोट आए नलिने नै भन्ने छ । ग्राहकहरुले झगडा नै गरे भने त्यसलाई लिएर पुन: नगद लिएर आउने ग्राहकलाई पठाउने भन्ने छ । बन्डल नै नयाँ नोट आयो भनेचाहिं अर्को दशैंका लागि भनेर राख्छौँ, होइन भने फिर्ता नै गर्छौँ । ग्राहक कराउन थाल्यो, झगडा गर्न थाल्यो भनेचाहिं लिन्छौँ ।’
सहकारीलाई पैसा जम्मा गर्नै समस्या 
बैंकहरुले सकेसम्म खुद्रा नोट नलिने भएपछि सबैभन्दा बढी समस्या खुद्रा पसल र सहकारीहरु भएका छन् । सहकारीहरुले कलेक्सन गरेर ल्याउने प्राय: पैसा खुद्रा खालको नै हुन्छ । ‘हामीलाई बैंकले ५, १०, २०,५० का खुद्रा नोट सकेसम्म नल्याउन भनेको छ । तर हाम्रो बिजनेश नै खुद्रा पैसामा हुन्छ । हाम्रो कलेक्सन हुने नै त्यस्तै पैसा हो । त्यसैले खुद्रा पैसा नै नल्याए त कसरी चल्नु भनेर आजसम्म कन्भिन्स गराईरहेका छौं । पूरानो र राम्रो क्लाइण्ट भएकाले बैंकले मानिरहनुभएको त छ, तर हामीले दिने पैसा पुन: बैंकहरुले ग्राहकलाई दिईरहनुभएको छ ।’  कोटेश्वरमा रहेका एक सहकारीकर्मी भन्छिन्- ‘यसले प्रणालीमै समस्या आउने देखिएको छ ।’
नीतिमा एकरुपता नहुँदा ग्राहक भड्केको भड्क्यै !
यसो त खुद्रा नोट नलिने कुरामा विभिन्न बैंकका आ-आफ्नै नीति छन् । यस्तो नीतिमा बैंकहरुबीच एकरुपता छैन । कुनै बैंकले खुद्रा नोट लिने र कुनैले नलिने गर्दा ग्राहक भड्किने समस्या रहेकोसमेत बैंकरहरुको गुनासो छ । ‘हामीलाई माथिको आदेश नलिने भन्ने छ । अर्को बैंकले खुद्रा नोट लिँदा हाम्रो ग्राहक भड्केका छन् । यसले पनि हामीलाई समस्यामा पारेको छ ।’ कोटेश्वरका एक बैंकका साखा प्रबन्धक भन्छन्- ‘बैंकले पैसा नलिए कसले लिन्छ ? मेरो खातामा मेरै पैसा राख्न नपाउनु ? बैंकले नलिने भए दशैंमा किन बाँडेको त ? लगायतका प्रश्नले हैरान पारेका छन् । तर पनि हामीसँग खिस्स हाँसेर ग्राहकलाई कन्भिन्स गराउन खोज्नुको कुनै विकल्प छैन ।’
राष्ट्र बैंकको तर्क- ‘नोट नलिनु भनेको होइन, व्यवस्थापन गर्नू भनेको हो’
यता राष्ट्र बैंकका अधिकारी भने नोट नलिनु नभनेको तर व्यवस्थापन गर्नु भनेको तर्क गर्छ । ‘हामीले नोट नै नलिनु भनेको त होइन । तर सकेसम्म त्यस्ता नोटलाई बजारमै पठाएर व्यवस्था गर्नु भनेको हो ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने -‘हामीकहाँ तत्कालका लागि नोट राख्ने ठाउँको अभाव भएकाले सकेसम्म खुद्रा नोट बजारमै पठाउनु र नल्याउनु भनेको साँचो हो । तर कुनै पनि बैंकले खुद्रा नोट नै नलिनु भनेकोचाहिं होइन ।’ यस्तो समस्या यसपाली अलि बढी आएकाले सबैले डिजिटल कारोबारमा जोड दिनुपर्ने उनको तर्क छ । ‘सकेसम्म डिजिटल कारोबार गर्न सबैले बानी बसाल्नुपर्यो । अहिलेको यो समस्यालाई सबै मिलेर समाधान गर्नुको विकल्प छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: