×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमोडिटी बजारका नाममा अर्बौं ठगी, ४७ विरुद्ध मुद्धा दायर, प्रहरीको प्रतिवेदन भन्छ- ‘मिलेमतोमै फसाईन्छ लगानीकर्ता’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

कमोडिटी बजारका नाममा अर्बौं ठगी, ४७ विरुद्ध मुद्धा दायर, प्रहरीको प्रतिवेदन भन्छ- ‘मिलेमतोमै फसाईन्छ लगानीकर्ता’

काठमाडौँ । सेयर बजारबारे तालिम दिने भन्दै एक ट्रेनिङ सेन्टरले मान्छे जम्मा पार्थ्यो । सेयर बजारबारे तालिम लिन गएकाहरुलाई सो तालिम केन्द्रले सेयर बजारका कुराहरु सिकाउंदै, सेयर बजारभन्दा बढी फाइदा कमोडिटी बजारमा हुन्छ भन्दै सेयर लगानीकर्ताहरुलाई त्यतै पैसा लगाउन सुझाउँथ्यो । हो क्यार भन्दै धेरैले त्यतै पैसा लगाउँथे । तर नेपालमा पूर्ण रुपमा बर्जित यो व्यवसायको लाइसेन्स धितोपत्र बोर्डले कसैलाई पनि दिएको थिएन र छैन । यसरी कमोडिटी बजारमा लगानी गरेका थुप्रैले यो बजारमा गैरकानुनी दलालहरुमार्फत लगानी गरे । अधिकांसको पैसा डुब्यो । किनकि यो व्यवसाय थिएन, बरु दलालहरुले नेपाली फसाएर चलाईरहेको गैरकानुनी धन्दा थियो । प्रहरीका अनुसार यो धन्दा धितोपत्र बोर्डको अनुमितविना ०६४ देखि नै चल्दै आएका थियो । जब पीडित ठगिएको निष्कर्षमा पुगे, त्यसपछि मात्रै प्रहरीमा उजुरी पर्‍यो । प्रहरीका अनुसार कमोडीटी बजारका नाममा   मुलुकभरबाट १२ हजार दुई सय ५९ व्यक्तिलाई ठगिएको छ भने ६८ जनाले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले मेक्स र एचसिसीले १० करोड ७४ लाख १६ हजार पाँच सय ७० रुपैयाँ ठगी गरेको मागदाबी गरेका छन् ।
ठगीमा पर्नेहरुको संख्या ठुलो भएपछी ठगिएकाहरु प्रहरीकहाँ पुगे । प्रहरीले यस विषयमा अनुसन्धान गर्यो । बुझ्दै जाँदा यो त नेपालमा पूर्ण रुपमा गैरकानुनी धन्दा रहेको तथ्य खुलेपछि प्रहरीले कमोडिटी मार्केट अर्थात वस्तु विनियम बजारका नाममा धन्दा चलाउनेहरुलाई पक्राउ गरी थप अनुसन्धान थाल्यो । बल्ल तथ्य खुल्यो कि, यो व्यवसायका नाममा त  तीन अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी भईसकेको रहेछ । र त नेपालमा बर्जित गरिएको कमोडीटी मार्केटका नाममा गैरकानुनी धन्दा चलाएर ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न अभियुक्तहरुलाई पक्राउ गरेको छ र उनीहरुविरुद्धको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार यस्तो गैरकानुनी धन्दा चलाएको अभियोगमा पक्राउ परेका ५१ मध्ये  ४७ विरुद्ध मुद्दा दर्ता भएको छ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले केहि दिनअघि जिल्ला अदालत काठमाडौंमा अभियोग दर्ता गराएको थियो । अदालतमा अभियोगपत्र पेश भएपछी अदालतले ती अभियुक्तहरुसंग बयान लिने काम गरिरहेको छ ।  कमोडिटी मार्केटका नाममा भएको ठगी अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले डिएसपी भरतबहादुर शाहको नेतृत्वमा अनुसन्धान समिति बनाएको थियो ।
को-को पक्राउ परे ?
प्रहरीले कमोडिटी ठगी अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका– ४ पानधारेका ४१ वर्षीय सुनील श्रेष्ठ, खोटाङ बुइपा– २ की ४५ वर्षीया कञ्चन भनिने कमला श्रेष्ठ, कञ्चनपुर भीमदत्त नगरपालिका– ७ का ३७ वर्षीय नरेन्द्रप्रसाद भट्ट र भारतीय नागरिक ४३ वर्षीय जितेश सुरेन्द्र भनिने जितेश सुरेन्द्रनलाई २० पुसमा विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सुनील र कमला मनी स्पेल इन्भेस्टमेन्ट प्रालिका सञ्चालक तथा सेयरहोल्डर हुन् । नरेन्द्र मर्कन्टायल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) नेपाल र हिमालयन क्लियरिङ कर्पोरेसन (एचसिसी)का कर्मचारी हुन् । त्यस्तै, सुरेन्द्रन मेक्स र एचसिसीका प्रमुख कार्यकारी अधिकृत हुन् । यस्तै प्रहरीले बालकृष्ण उपाध्याय, दीपेन्द्रकुमार खतिवडा, नरेन्द्रबहादुर थापा, हिमाली चन्द राणा, कमलेशकुमार रतेरिया, माधवप्रसाद कोइराला र विवेक नेपालविरुद्ध पनि अदालतमा अभियोगपत्र पेस गरेको छ । उनीहरू मेक्सका सेयरहोल्डर हुन् । त्यस्तै, एचसिसीका सञ्चालक तथा सेयरहोल्डर उर्मिला श्रेष्ठ र टेकराज भट्टविरुद्ध पनि अभियोगपत्र पेस भएको छ र उनीहरुविरुद्ध बयान सुरु भएको छ ।
यस्तै मेक्सका अन्य कर्मचारीहरु रोशन कुइँकेल, अमित प्याकुरेल, श्यामकाजी घिमिरे, विधता पुरी, राजेन्द्र नेपाल, गीता खतिवडा, विवेक रिसाल, मोहम्मद अब्दुल करिम फैसल, लक्ष्मण प्रसाद, सिकन्दर आलम, अब्दुल पुलिकल, बिजेश रामनाथ, मोहम्मद रफी कुथारतोडीविरुद्ध पनि अदालतमा ठगी अभियोगमा मुद्धा दायर भएको छ भने ब्रोकर कम्पनी विजय कमोडिटीका सेयरहोल्डर, कमलबहादुर कार्की, सिर्जना तिवारी, जेडी इन्भेस्टमेन्टका सेयरहोल्डर राजीवप्रसाद शर्मा, सुलभ नेपाल, ज्योति खड्का, इजोन कमोडिटीका सञ्चालक राजेन्द्ररत्न तुलाधर, आनन्द देवकोटा, इम्पेरियम फाइनान्स एकेडेमीका सञ्चालक तेजस्वी शर्मा, उत्सव न्यौपाने र सूर्य कुमार पनि सोही ठगी धन्दामा संलग्न रहेको अनुसन्धान प्रतिवेदनमा देखिएबमोजिम अभियोगपत्र अदालतमा पेश गरिएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार कमोडिटी मार्केटका मुख्य योजनाकार सुरेन्द्रनले मात्रै एचसिसी र मेक्सबाट कमसिन बापत १५ करोड ५० लाख ८२ हजार ७७ रुपैयाँ प्राप्त गरेका थिए भने उनले कम्पनीले नाफा गरेको कुल मुनाफको १० प्रतिशत आफैँ लिँदै आएका थिए । उनले यो रकम हुण्डी र क्रिप्टोमा लगानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । यस्तो धन्दाबाट आउने कमिसनबापत प्राप्त गरेको रकम एचसिसीले ३० करोड ५० लाख १३ हजार चार सय ५२ रुपैयाँ असुलेको पाइएको छ । सबै गरेर मेक्स नेपाल र एचसिसीले १२ हजार दुई सय ५९ ग्राहकबाट तीन अर्ब ३५ लाख ५५ हजार एक सय ४४ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
आखिर, के हो त विनिमय बजारका नाममा गरिने ठगी धन्दा ? 
कमोडिटी कारोबार वस्तु विनिमयको मूल्यलाई आधार मानेर गरिने ‘भर्चुअल’ कारोबार हो ।यर कारोबारमा कम्पनीको मूल्य निर्धारण भएजस्तै यो बजारमा   सुन, चाँदी, पित्तल, फलाम लगायतका वस्तुको मूल्य व्यक्तिले निर्धारण गर्छ र सोही आधारमा खरिद–बिक्रीका लागि बोलकबोल हुन्छ । नेपालमा बर्जित भए पनि यो व्यवसाय गर्न
कम्पनीले विशेष किसिमको ‘मेक्स नेपाल’ नामको एप्लिकेसन बनाएको थियो । सोही एप्लिकेसनमा वस्तुको मूल्य निर्धारण गरी बोलकबोल लगाइन्थ्यो । रकम एप्लिकेसनमार्फत खातामा जम्मा गर्न लगाइन्थ्यो । सुरु कारोबार गर्नेलाई जिताउने र जव ओहो जितियो भनेर थप पैसा गरी सबै पैसा उसले सो कारोबारमा लगाउँथ्यो,  त्यसपछि एप्सको सर्भर नै डाउन गराई, वस्तुको निर्धारित मूल्य नाटकीय ढंगले घटाएर लगानी गर्नेलाई घाटा लगाउने काम हुन्थ्यो । यसरी घाटामा बेचिएका सामाग्री तथा बसु सस्तोमा कम्पनी आफैंले खरिद गर्थ्यो र  र पुनः सर्भर डाउन गरी वस्तुको मूल्य फेरि बढाईदिन्थ्यो । सस्तो भाऊ महँगोमा बिक्रीमा राखिएको देखेर फेरी सोझाहरु फस्थ्ये । पैसा हाल्नेहरुले हारिरहन्थे । कम्पनीले जितिरहन्थ्यो ।
प्रहरीको प्रतिवेदन भन्छ- ‘अरवौंको कारोबार देखियो’ !
०६४ साल देखि नै यो ठगीधन्दा चल्दै आएको भए पनि  प्रहरीले पछिल्लो समयको मात्र तथ्यांक संकलन गर्न सफल भएको छ । प्रहरीको प्रतिवेदन अनुसार यो धन्दाका नाममा ६ अर्ब ३८ करोड ५० लाख ५४ हजार तीन सय ४५ को कारोबार गरेको देखिन्छ । प्रहरीको प्रतिवेदन अनुसार ग्राहकले विभिन्न मितिमा तीन अर्ब ३८ करोड १४ लाख ९९ हजार एक सय ४७ रुपैयाँ रकम झिकेको देखिन्छ भने ३ अर्ब ३५ लाख ५५ हजार एक सय ४७ रुपैयाँ जम्मा गरेको पाइएको छ । यस्तो कारोबार चलाएर एचसिसीले एक अर्ब ५५ करोड आठ लाख २० हजार सात सय ७८ रुपैयाँ नाफा भएको भन्दै आपसमा बाँडेको प्रतिवेदानमा उल्लेख छ भने अर्काे एक अर्ब १४ करोड ७७ लाख २० हजार नौ सय १७ रुपैयाँ भने कमिसनबापत मेक्स नेपाल र ब्रोकर कम्पनीले लिएको देखिएको उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: