×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तको ऋणले खाली हुँदैछन् डडेल्धुराका गाउँ

PRIME CA

लघुवित्तको ऋणले खाली हुँदैछन् डडेल्धुराका गाउँ

२६ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अहिले नेपाली वित्तीय क्षेत्रमा दुई कुरा बढी चर्चामा छन् । पहिलो सहकारीको बचत, दोस्रो लघुवित्तको ऋण । सहकारी भाग्ने, बचत फिर्ता नगर्ने घटना अब नेपाली वित्तीय क्षेत्रका लागि नौलौ रहेन । दिनहूँ सहकारी भागेको खबर सार्वजनिक भईरहेका बेला बचत फिर्ताको माग गर्दै देशभर सहकारीका बचतकर्ताहरु आन्दोलित छन् ।

यहीबेला सहकारीको चर्चाकाबीच लघुवित्त वित्तीय संस्थाको कथा पनि कम छैन । बचत फिर्ता गर्न सहकारीमा बचतकर्ताले ढ्यांग्रो ठटाएजस्तै लघुवित्तले ऋण तिर्न ऋणीका मन र घरमा ढ्यांग्रो ठटाएको छ । र यसैबीच चर्चामा छ ‘डडेल्धुरा’ ।

डडेल्धुराको अमगरगढी नगरपालिका ६ छचोडामा अहिले अधिकांश घरमा ताला देखिन्छन् । जिल्लाभर जम्मा १६ वटा लघुवित्त वित्तीय संस्था छन्, तर १६ वटा लघुवित्तको दबाब र डरले अहिले गाउँ नै खाली हुने पीर बढेको छ ‘छचोडा’मा ।

डडेल्धुराको अमरगढीमा एकै व्यक्तिलाई ५-६ वटा लघुवित्तले ऋण दिएका छन्, त्यो पनि बिना धितोमा । ‘गाउँगाउँमा आयो, महिलाहरुलाई बटुल्यो, समुह बनायो अनि प्रलोभन देखाएर बिना धितो ऋण दिने गर्छन् लघुवित्तहरु’, छचोडाका एक स्थानीयले भने, ‘एकैजनालाई ६ वटा लघुवित्तले ऋण दिएका छन् । पैसा हुँदासम्म त किस्ता तिरे, अब पैसै छैन अनि के गर्ने ? सब घरमा ताला लगाएर भाग्न थाले ।’

हुन त लघुवित्तले पनि ऋणीहरुलाई दिएको दुःख पनि कम भने होइन । ‘बिहान उठ्ने बित्तिकै कराउन आउने, खाने बेला फोन गर्ने, सुत्ने बेला पनि फोन गरीगरी धम्क्याउने गर्छन’, एक स्थानीयले भने, ‘घरमै आएर बेइज्जत गर्न थालेसी को बस्छ सहेर ? मर्न नसकेर धेरै ऋणीहरु गाउँ छोडेर बेपत्ता भएका छन् ।’

छचोडामा लघुवित्तबाट कसैले तामा भाँडा बनाउन, कसैले कुखुरा पालन, कसैले बाख्रा पालन, कतिले होटल व्यवसाय त कतिले कृषिका लागि भन्दै ऋण लिएको देखिन्छ । आफुसँग हुँदासम्म ऋणीहरुले किस्ता र ब्याज समयमै तिरे । तर, पैसा नै नहुँदा तिर्न बाँकी भएको ब्याज पनि लघुवित्त वित्तीय संस्थाहरुले साँवामै जोड्न थाले । यसरी साँवाको ब्याज र ब्याजको पनि स्याज जोड्न थालेपछि साँवा भन्दा ब्याज बढी हुनथाल्यो । एकातिर ऋण तिर्ने आधार नहुनु र अर्कोतिर लघुवित्तले ब्याजको पनि ब्याज लिन थालेपछि छचोडाका दर्जनौ परिवार गाउँ नै छोडेर पलायन भएका छन् ।

यसरी नै लघुवित्तको दबाब र ऋणको बोझ थुप्रिदै जाने हो भने गाउँ नै पुरा खाली हुने छचोडाका स्थानीयहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: