×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि बिकास बैंकमा ‘अपहरण काण्ड’ : ब्रान्च मेनेजरले गल्ती स्वीकारे, छोरालाई किर्ते मुद्धा (भिडियोसहित)

PRIME CA

कृषि बिकास बैंकमा ‘अपहरण काण्ड’ : ब्रान्च मेनेजरले गल्ती स्वीकारे, छोरालाई किर्ते मुद्धा (भिडियोसहित)

३ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < ६ मिनेट

काठमाडौँ ।  बैंकले पिरोले, बैंकले धेरै ब्याज लिए, काम गर्नै दिने भएनन् भन्ने गुनासो त पछिल्लो समय तपाईंहरुले सामाजिक संजालहरुमा सुनीनैरहनुभएको छ । यसले नेपाली बैंकिङ क्षेत्रलाई बदनाम त गरेको छ नै, नेपाली अर्थतन्त्रको भयावह तस्विर पनि प्रष्ट पारिदिएको छ बैंकप्रतिका जनगुनासाहरुले । जनताको डिपोजिटका भरमा चलेका बैंकहरु कतै संकटउन्मुख त छैनन् भन्ने प्रश्न टड्कारो उठीरहेका बेला अव त बैंकहरुले गुड फर पेमेन्ट चेक नै नसाटेका घटनाहरु पनि बाहिरिन थालेका छन् । यस्ता घटनाले कतै केहि बैंकहरु पनि सहकारीकै लाइनमा लागेका त होइनन् ? भन्ने प्रश्न उब्जाएको छ ।

खातामा ईस्यू भएको रकम भएको र चेकमा लेखिएको रकम भुक्तानी गर्न सुनिश्चितता प्रदान गर्न भुक्तानी योग्य छ भनि सम्बन्धित बैंकले प्रमाणित गरेको चेकलाई गुड फर पेमेन्ट चेक भनिन्छ । अर्थात बैंकले नै चेकमा काटिएको रकम बराबरको रकम फ्रिज गरी बैंकले गुड फर पेमेन्ट भनी छाप लगाएर चेक उपलब्ध गराउँदछ । यस्तो चेक लिई आउनेलाई बैंकले दिइएको मितिमा भुक्तानी गर्नुपर्दछ ।

अरु चेकमा जस्तो गुड फर पेमेन्ट चेकमा भुक्तानी नहुने डर हुँदैन । किनकि, बैंकले यस्तो चेक जाँच गर्ने क्रममा नै खातामा पैसा भए नभएको, हस्ताक्षर वा मिति मिले नमिलेको, अंक र अक्षरमा फरक परे नपरेको लगायतका विषयमा यकिन गरिसकेको हुन्छ । यसर्थ, गुड फर पेमेन्ट चेकलाई वित्तीय कारोबारमा नगदसरह मान्यता र विश्वास गरिन्छ ।

हुनुपर्नेचाहिं यहि हो । तर बिग्रिएका छाडा सहकारीले पैसा नै नदिएजसरी नेपालको सरकारी बैंक कृषि बिकास बैंकले समेत गुड फर पेमेन्टको चेक नसाट्ने षड्यन्त्र गरेको पाइएपछि यति बेला कृषि बिकास बैंकप्रति जनताको विश्वास घटेको छ । कृषि बिकास बैंकका मेनेजरले गर्न हुने नहुने सबै गरेर गुड फर पेमेन्ट दिएको तर पछि नासाटिए पछि लफडा निस्किएको पाइएको छ । गुड फर पेमेन्टको चेक नसाटेर कृषि बिकास बैंक लगभग सहकारी भयो भन्ने सन्देश त दिईएको छ नै,  कृषि बिकास बैंकका बैंक म्यानेजरमाथि आफ्नै छोरालाई प्रयोग गरेर रकम पचाउन ठगी गरेको र अपहरणजस्तो जघन्य अपराधमा समेत लगाइएको आरोप लागेको छ ।
घटना के हो ?
घटना हो सप्तरीको हो । एक सहकारीका संचालक समेत रहेका काठमाडौं निवासी सूर्यबहादुर घिमिरे‘गुड फर पेमेन्ट’को रकम लिन जाँदा बैंक शाखा प्रमुखबाटै पीडित हुन पुगेका छन् । घिमिरेले सुनाए अनुसार  उनको व्यापार व्यवसाय गर्ने क्रममा सिराहा जिल्ला घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३२ बस्ने ६० वर्षीय महेन्द्र साह रौनियारसँग चिनजान भएको थियो । निजले सिराहा तथा सप्तरीमा उनका साथी रामवचन यादवले जग्गाहरु सस्तोमा पाएको छ, उ सप्तरी जिल्ला बोदेबर्साईन शाखा रहेको कृषि विकास बैंकमा कार्यरत पनि छ, ५० लाख जति लगानी गरीदिनुहोस्, सोको व्याजसमेत दिउँला र लगानी गरिआएको फाइदा दिउँला , तपाईले दिएको रकमको ‘गुड फर पेमेन्ट’को चेक समेत काटी दिन्छन्, एक महिनापछि रकम फिर्ता पाइहाल्नुहुन्छ भनेका थिए । सो कार्यबाट भएको फाइदा पनि पाउनु हुन्छ भन्ने कुरा आएपछि उनले पनि त्यस्तै गरे ।
साथीभाईसँग ऋण सापटी लिई २०७९ साल असोज ४ गतेका दिन ५० लाख रुपैयाँ दिएका थिए उनले । उक्त रकम दिएपश्चात राम वचन यादवले उनलाई निज रामवचन यादवको छोरा सुनिल कुमार यादवको खाता रहेको कृषि विकास बैंकको ‘गुड फर पेमेन्ट’को चेक दिएका थिए । यसरी निजले दिएको समयमा पटक-पटक अब उक्त रकम दिनुहोस् भन्दा हुन्छ–हुन्छ भन्दै आलटालमात्रै गर्न थाले । सापटी लिएका अन्य व्यक्तिहरुले समेत रकम माग्न थालिसके भनी यादवलाई भन्दा पुनः चेक काटी दिए । निजले दिएको चेकमा रकम नभएपछि उनले पहिला चिनेका मानिस महेन्द्र साह रौनियारलाई फोन गरे र उक्त चेकमा रकम नै नभएको र साथीभाइले आफूसँग पैसा माग्न थालिसकेको उनले बताए ।
‘र त्यसपछि मेरो अपहरण भयो’
तर महेन्द्र साह रौनियारले तपाईं यहीं सिराहामा पैसा लिन आउनु भनी बोलाए । उनले पनि पैसा दिन्छन् होला भनेर एकजना साथी चित्रबहादुर पुलामीलाई लिएर माघ १४ गते सिराहा गए । घिमिरेका अनुसार रातको १० बजे सिराहाको लहानमा पुगे उनीहरु । त्यसपश्चात भोलिपल्ट निज राम वचन यादव कार्यरत सप्तरी जिल्ला बोदेबर्साइन शाखा रहेको कृषि विकास बैंकमा पुगी पैसा लिन आएको बताए । तर बैंक मेनेजरले ‘अहिले म अफिसमा बिजी छु, भरे ५ बजे म तपाईं बस्ने होटलमा नै अफिस छुट्टी भएपश्चात् आउँछु’ भने ।
यहाँनेर घटनाले गम्भीर ट्वीष्ट लियो । घिमिरेका अनुसार उनी ५ बजे आएनन् । बरु अबेर राती ८:३० बजेतिर होटलमा रक्सी पिएर आए र झगडा गर्न थाले । दुईजनामात्रै भएको र चिनजानका पनि कोहि नभएकाले उनीहरुसंग भाग्नुको विकल्प भएन । तर भाग्नसमेत मिलेन । ५ वटा मोटरसाइकलमा निज राम वचन यादवका छोरा सुनिलकुमार यादव र भतिजो भन्ने मनोजकुमार यादव, अनिल कुमार यादवसमेत र उनले नचिनेका ९/१० जना मानिसहरु घिमिरे बसेको होटलमै आए । उनी र साथी चित्रबहादुर पुलामीको मोबाईल मनोज कुमार यादव भन्नेले खोसे । मोबाइल खोसेर धम्क्याउँदैउनीहरुले ‘खुरुक्क हामीसँग जान्छस् कि तँलाई यहीं हात खुट्टा भाँची छाड्छौं, ज्यानको माया भए कुनै हल्ला नगरी हामीसँग हिंड’ भन्दै राति १०:३० बजे मोटरसाइकलमा बीचमा राखेर हतियार समेत देखाई अज्ञात स्थलतिर लगे ।
बिरानो ठाउँमा करिव एक घण्टासम्म उनीहरुले मोटरसाइकलमै घुमाए कता–कता । पछि एउटा घरमा पुर्‍याएर भित्र कोठामा लगे । पिडित घिमिरे भन्छन्- त्यो घर सम्भवतः निज राम वचन यादवको हुनुपर्छ । उक्त घरभित्र लगेर पेस्तोल समेत देखाई केही बोल्नसमेत नदिई लेखेर ल्याएको ४ वटा कागजमा र ५/६ वटा खाली कागजमा जबरजस्ती तवरले हस्ताक्षर गराए । ल्याप्चे लगाए । कराएमा यहीं सिध्याइदिन्छौं भनी डरत्रास देखाए । राम वचन यादवसँग कुनै पनि पैसा लिनुपर्ने छैन भनी बोल्न लगाई भिडियोसमेत खिचे ।
घिमिरेका अनुसार भिडियो खिचिसकेपछि सो घरबाट बाहिर निकाली गोरेटो बाटो हुँदै सिराहाको मिर्चैयास्थित न्यू एभरेष्ट होटल नजिक लगेर उनीहरुलाई छाडियो । त्यतिबेलासम्म रातको करिब ३ बजिसकेको थियो । घिमिरेले सोही ठाउँको प्रहरीलाई त्यो सबै घटनाका बारेमा बताए । प्रहरीले घटना भएको स्थानका प्रहरीलाई जाहेरी दिनु भनेपछि म प्रहरीकहाँ जाहेरी दिएर काठमाडौँ फर्किए । तर प्रहरीले उनलाई फोन गरेर अपहरणकारीको तीनपुस्ते लिई आउनु अनिमात्र निवेदन दर्ता हुन्छ भन्यो ।
सो अपहरण तथा जबर्जस्ती कागजमा सही छाप गर्न लगाउने राम वचन यादव, मनोज कुमार यादव, अनिल कुमार यादव, सुनिल कुमार यादव, महेन्द्र साह रौनियार र अन्य नचिनेका ९–१० जना व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा २११ र २१२ बमोजिम कसुर गरेका हुँदा कसुरमा संलग्न निजहरुलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान र छानविनसमेत गरी सोही मुलुकी अपराध संहिता, २०७४ को दफा २१३ बमोजिम हदैसम्मको सजाय गरी उक्त म जाहेरवालालाई जबर्जस्ती थिचाएको कागज र खाली कागजमा सही गराएको कागजहरु समेत सम्पूर्ण झिकाई दाखिला गर्न लगाई मेरो जिउज्यान समेतको शान्ति सुरक्षा समेत गरी पाउँ भनी यो जाहेरी दरखास्त लिई उपस्थित भएको छु भन्ने व्यहोरासमेत लेखेर लगेका थिए उनले । तर पनि प्रहरीले उनको जाहेरी दर्ता गरेन । कसुर गर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन् । घिमिरे भन्छन्- हामीले त गोधुली होटेलको क्यामेराको फुटेजसमेत हेर्न प्रहरीलाई भनेका थियौं । तर हाम्रो कुरै सुनिएन।
प्रहरी के भन्छ ?
पीडित सूर्यबहादुर घिमिरेले प्रहरीले जाहेरी लिन नमानेको विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय लाहानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले कुनै व्यक्तिको नाममा जाहेरी आएको र उनको विषयमा विस्तृत विवरण नआएकाले दर्ता नभएको बताए । उही नामको व्यक्ति धेरै हुने भएकाले उनको बुबा र बाजेको नामसहित भएमा प्रहरीले जाहेरी दर्ता गर्ने उनको भनाइ छ । यता काठमाडौंबाट सिराह बोलाएर पैसा दिनुको साटो होटलबाट अपहरण गरेर खाली कागजमा सही छाप गर्न लगाएको विषयमा इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिए पनि प्रहरीले दर्ता नगरेको पीडित घिमिरेको आरोप छ । आफूलाई लहानको होटल गोधुलीबाट राति १० बजे अपहरण गरिएको र त्यसमा कृषि विकास बैंकको सप्तरीको बोदेबर्साइन शाखाका प्रमुख राम वचन यादव पनि सँगै रहेको उनको भनाइ छ ।
बैंक मेनेजरले स्वीकारे गल्ती !
यता कृषि विकास बैंकका बोदेबर्साइन शाखा प्रमुख राम वचन यादवले भने आफूले पैसा लिएको र चेक पनि दिएको, पैसाको व्यवस्था गर्न आफू तयार रहेको स्वीकारे । यादवले आफूले ‘गुड फर पेमेन्ट’ को रकम दिनुपर्ने, तर गल्ती भएको स्वीकारे । आफ्ना छोराले नक्कली चेक र छाप किर्ते गरी रकम झिकेको र यस विषयमा आफुले मुद्धा हालिसकेको उनको भनाई छ । गल्ती भएको स्वीकार्दै उनले आफ्नै छोराबाट बदमासी भएको स्वीकारेका छन् । अपहरणका विषयमा सोध्दा शाखा म्यानेजर यादवले आफूबाट पनि गल्ती भएको स्वीकार्दै घिमिरेले आफुलाई होटलमा गाली गरेपछि रिसको झोकमा केहि लफडा भएको स्वीकारेका छन् ।
यता कृषि बिकास बैंकले पनि आफ्ना मेनेजरका छोराले बदमासी गरेकोले घटना हुन पुगेको र यस केसउपर थप अनुसन्धान सुरु गरिसकिएको बताएको छ । घटनाबारे थाहा हुने बित्तिकै अनुसन्धानका लागि टोली पठाईसकिएको बैंकका प्रमुख संचालन अधिकृत मिनराज पोखरेलले बताएका छन् । यस विषयमा विभिन्न संचारमाध्यममा समाचार आउन थालेपछि पोखरेलले फोन नै गरेर सो घटनामा मेनेजरका छोराले बदमासी गरेको र यस विषयमा बैंकले अनुसन्धान गरिरहेको बताएका छन् ।
के भन्छ बैंक ?
घटनाको प्रकृति हेर्दा कृषि बिकास बैंकका मेनेजर शरीर बन्धकजस्तो गम्भीर अपराधमा मतियार त बनेका थिएनन् ? भन्ने प्रश्न उब्जाएको छ । घटनाका विषयमा बैंकले त अनुसन्धान थालेको छ, तर अपहरण मुद्धामा अझै पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन । अव अपहरणकारीको ३ पुस्ते विचरा तिनले कहाँबाट ल्याउन् ? प्रश्न गम्भीर छ । घटनामाथि छानविन होस्, दोषीले सजाय पाउन् । यो कानुनी राज्यमा कानुनभन्दा माथि कोहि हुनैसक्दैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: