×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारका खेलाडी छिर्दा लघुवित्तको सिस्टम बिग्रियो, सडक आन्दोलनले मात्रै समस्या टर्दैन’- नेपाल राष्ट्र बैंक

PRIME CA

‘सेयर बजारका खेलाडी छिर्दा लघुवित्तको सिस्टम बिग्रियो, सडक आन्दोलनले मात्रै समस्या टर्दैन’- नेपाल राष्ट्र बैंक

९ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौँमा आयोजना गरेको ‘सङ्कटमा लघुवित्तः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका लघुवित्तका ऋणीले आफ्ना पीडा पोखे । सिराहाकी पुनमकुमारी महतोले लघुवित्तकै कर्मचारीले मिटरब्याजमा पैसा लगाउने गरेको बताइन् । लघुवित्तका कर्मचारीबाट आजित भएपछि साहु-महाजनबाट चर्को ब्याजमा ऋण लिएर तिरेको उनको भनाई छ ।

‘सानो व्यवसाय शुरु गर्ने भनेर ऋण लिएँ तर मधेश आन्दोलनका बेला व्यापार व्यवसाय ठप्प भयो । नियमित किस्ता तिर्न सकिनँ । लघुवित्तका कर्मचारी घरमै आएर हरेक दिन आधा रातसम्म दुःख दिन थालेपछि साहुसँग चर्को ब्याजमा ऋण लिएर लघुवित्तको ऋण तिरेँ’, उनले भनिन्, ‘लघुवित्तबाट ऋणको साँवा ब्याज तिर्दा भएको सबै सम्पत्ति सकिसक्यो ।’

त्यस्तै, सिराहा देवीपुरका श्यामकुमारी चौधरीले लघुवित्तकै कारण आफ्नो घरखेत र गरगहना सबै बेचेको बताईन् । ‘मैले रू एक लाख ऋण लिँदा रू ८५ हजार मात्रै पाएँ । शुरुमै रू १५ हजार सेवाशुल्क भनेर काट्यो । हरेक महिना रू १० हजारका दरले १३ किस्ता तिरिसक्दा पनि ऋण सकिएन । थप पैसा माग्न थालेपछि मैले खेत बेच्नुपर्यो’–चौधरीले भनिन् ।

रौतहटकी दिलकुमारी कार्कीले मिटरब्याजीबाट लिएको ऋण तिर्नका लागि लघुवित्तबाट ऋण लिएको बताइन् । ‘मिटरब्याजीले खाली चेक मागेर साढे चार लाख ऋण दियो । तर उसले खाली चेकमा रू ११ लाख भरेर असुल्न खोज्यो । मिटरब्याजीको पासोबाट उम्कन लघुवित्तबाट ऋण लिएँ । पछि लघुवित्तका कर्मचारीले पनि मिटरब्याजीजस्तै व्यवहार गर्न थाले’, कार्कीले भनिन्, ‘अहिले छ–सातवटा लघुवित्त कम्पनीको ऋणी छु । लघुवित्त कम्पनीका कर्मचारी बारम्बार घरमा आएर ऋण असुलीका लागि दबाब दिन थालेपछि छोरीले आत्महत्या गरिन् ।’

सिन्धुपाल्चोक घर भएर भक्तपुरमा हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएकी सुनमाया तामाङले समूहमा ऋण लिएर अर्कोले नतिर्दा आपूm समस्यामा परेको बताइकी छिन् । ‘अरुले ऋण नतिरेका कारण मेरो बचत पनि पाइएन । जबरजस्ती ऋण भिराएर असुली गर्न खोज्नु कहाँको न्याय भयो ?’, उनले प्रश्न गरिन् ।

के भन्छन् नियामक र सरोकालवाला ?
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल अहिले लघुवित्त कम्पनीमा देखिएको जरा धेरैवटा समस्याबाट गाँजिएको बताए। ‘लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या भनेको सुदखोर, साहु महाजन, मिटरब्याजीदेखि सहकारीसम्मले जेलिएको समस्या हो । यो एकैचोटि अहिले मात्रै देखिएको होइन’, उनले भने, ‘लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको हो । तर, ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्नु गलत हो ।’

‘अहिले देखिएको समस्याको कारण पहिचानका लागि राष्ट्र बैंकले पहल गर्छ । लघुवित्त नै बन्द गर्नुपर्ने वा ऋण नै नतिर्ने माग लिएर आन्दोलन गरेर समस्या समाधान हुँदैन’, उनले भने, ‘राष्ट्र बैंकले नीतिगतरूपमा समाधान खोज्ने र त्यसका लागि कार्यदलनै गठन गरेर अध्ययनका लागि निर्देशन दिइसकेको छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेपालले लघुवित्त संस्था स्वशासनमा बस्नुपर्ने बताएका छन् । ‘लघुवित्त कम्पनी धेरै व्यावसायिक लाभमा केन्द्रित भए’, उनले भने, ‘केही सेयर खेलाडी लघुवित्तमा लाग्दा त्यसले पनि असर गरेको छ । अहिले बजारमा देखिएको तरलता सङ्कटका कारण पनि लघुवित्तमा समस्या भएको हो ।’

लघुवित्तले प्रवाह गर्ने कर्जाबारे ऋणीलाई पर्याप्त जानकारी दिएर वित्तीय साक्षारता बढाउनुपर्ने, लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार सुधार्नुपर्ने, एउटै व्यक्तिलाई दर्जनौँ संस्थाले सजिलै ऋण दिनेलगायतका कारण समस्या देखिएको पनि कार्यकारी निर्देशक नेपालको भनाइ छ । एकै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य बन्न नपाउने र कर्जा लिन नपाउने गरी राष्ट्र बैंकले चाँडै निर्देशिका जारी गर्ने उनको भनाइ छ ।

लघुवित्तकर्मी भन्छन्- ‘आन्दोलन समस्याको समाधान होइन’
यता लघुवित्त सङ्घ नेपालका अध्यक्ष जगत पोखरेलले कुनै लघुवित्त कम्पनीले ऋणीलाई दुःख दिएको भए त्यसका लागि नियामकीय निकाय राष्ट्र बैंकले कारबाही गर्न सक्ने बताएका छन् । तर, ऋणी आन्दोलित भएर समस्याको समाधान नहुने उनको भनाई छ ।

‘कुनै कम्पनीले बदमासी गरेको भए त्यसका लागि कारबाहीको तरिका छ । कानून आफ्नो हातमा लिएर मात्रै समस्या समाधान हुँदैन’, उनले भने, ‘नेपालमा लघुवित्त कम्पनीले गरेको लगानी मोडलबारे पुनर्विचार गर्नुपर्ने बेला आएको छ ।’ त्यस्तै, उनले लघुवित्त कम्पनीहरूले आफ्ना ऋणीलाई व्यवसाय गर्न ऋण परिचालन गर्ने र उत्पादनमा लगानी गरेर बजारको समेत सुनिश्चितता गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: