काठमाडौँ । केहि समय अगाडी श्रीमतीको बैंक खाता नम्बर सार्वजनिकसमेत गरेर प्रेम प्रसाद आचार्यले आत्मदाह गरे । सो घटनापछि विश्वभरबाट सो खातामा रकम जम्मा भयो । तर ग्लोबल आईएमई बैंकका कर्मचारीले सो विवरण सार्वजनिक गरिदिए । उनको खातामा जम्मा भएको रकमको विवरण नै फोटो खिचेर बैंकका कर्मचारीले फेसबुकमा सार्वजनिक गरिदिए । यसमा खातावाल नानुका अधिकारीलेसमेत आपत्ति जनाएकी थिईन् ।
यस्तै एटिएम बुथमा पैसा झिक्न आएका दुई ग्राहक नाचेको भिडियो पनि बैंकका कर्मचारीले आउट गरिदिए । यतिसम्मकि बैंककै कर्मचारीले सो भिडियोलिई टिकटक बनाएर हालिदिए । ‘क्यामरा त देख्नै नहुने’ क्याप्सन राखेर बैंकका कर्मचारीले हालेको सो भिडियो टिकटकमा त भाईरल भयो, तर ग्राहकको अनुमति विना त्यसो गर्न गलत थियो ।

केहि समय अगाडी राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले बैंकमा आएको चेकबुकको फोटो खिचेर ‘यस्ता त ग्राहक छन्, केहि जान्दैनन्’ भन्दै फेसबुकमा राखे । सो चेकमा रकम लेखेको मिलेको थिएन । तर सो चेकलाई बैंकका कर्मचारीले फेसबुकमा पोष्ट गरिदिए । ग्राहकका आफन्तले विरोध गरेपछि र बैंकमा खबर गरेपछि उनले सो पोष्ट हटाईदिए ।
यी त उदाहरण मात्र हुन्, यसरी पछिल्लो समय बैंकका कर्मचारीहरुले ग्राहकको संवेदनशीलतामाथि निकै बढी खेल्न थालेका छन् । यतिसम्मकि चिनेकै आधारमा कसैलाई अरुको खातामा भएको रकम देखाईदिने, भनिदिने, सीसीटिभिका फुटेज असम्बन्धित व्यक्तिको ह्वाट्स एपमा पठाईदिनेजस्ता गलत काम बैंकका कर्मचारीहरुले गरिरहेका छन् । यसले एकातर्फ सुरक्षा सम्वेदशीलता बढाएको छ भने अर्कोतर्फ बैंकका कर्मचारीहरुले ग्राहकको गोपनियताको हक भंग हुनेगरी कसुर गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंक यसरी ग्राहकको सूचना बाहिर लिक हुनु कसुरजन्य कार्य भएको बताउँछ । ‘यो त गलत मात्र होइन, धेरै गलत काम हो ।’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन्-‘नानुका अधिकारीको केसमा हामीले ग्लोबल आईएमई बैंकलाई के कसो भएको हो भनेर सोधेका पनि थियौँ । आवश्यक एक्सन पनि लिन्छौँ । यो सार्है गलत कुरा हो ।’ उनका अनुसार सिसिटिभी फुटेज पनि लिक गर्न पाईदैन । ‘अपराधिक क्रियाकलाप भएमा, एटिएम तोडफोड भएमा वा यस्तै कार्य भएमा बैंकले सो फुटेज प्रहरीलाई दिने हो । बैंकका कर्मचारीलाई त सो फुटेज प्रयोगको कुनै अधिकार नै हुँदैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘ग्राहक नाचेको उसको व्यक्तिगत कुरा हो । तलव आएको थियो होला, एटिएमबाट झिक्दा नाच्यो होला, त के गल्ती गर्यो ? तर उसको फुटेज टिकटकमा हाल्ने काम गलत भयो । सम्बन्धित ग्राहकले उजुरी दिए यो केस प्रहरीसम्म पुग्छ ।’


यता कानुन व्यवसायी कृष्ण न्यौपाने पनि ग्राहकको अनुमति बिना यसरी अरुको फुटेज वा विवरण सार्वजनिक गर्नु गोपनियताको हकविरुद्धको कसुर भएको दाबी गर्छन् । ‘यस्तो काम त सिधै कसुरजन्य कार्य हो । संविधानले हरेक नागरिकलाई गोपनियताको हक प्रदान गरेको छ । यसरी बैंकले ग्राहकको विवरण सार्वजनिक गर्नु त झन् हदैसम्मको अपराध हो । सम्बन्धित ग्राहकले मुद्धा दायर गरेमा सम्बन्धित संस्था वा सो कार्यमा संलग्न व्यक्तिलाई कानुनअनुसार कारवाही हुन्छ ।’ न्यौपानेले अर्थ सरोकारसँग भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्