×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विश्वभर बैंक ढल्न थाले, नेपालका बैंक सुरक्षित छन् ? डुबिहाले कुन बैंक पहिला डुब्ला ? (भिडियोसहित)

काठमाडौं । आर्थिक मन्दीले आज विश्व त्राहिमाम छ । बिकसित भनिएका राष्ट्रहरुमा नै बैंक ढल्न थालेका छन्, व्यवसायी गल्न थालेका छन्, कर्मचारी कटौतीका अभियान नै चल्न थालेका छन्, महंगीको पीडा र जागिर गएको पीरले नागरिक बैचनले जल्न थालेका छन् । पछिल्लो छोटो समयभित्र देखिएको बैंक बन्दको त्रास, र बैंक बन्द हुँदैगर्दा समग्र प्रणालीप्रतिको जनताको अविश्वासले अव के हुन्छ भन्ने प्रश्नको सटिक उत्तर भेटिरहेको छैन ।
अमेरिकाजस्तो देशको १६औँ ठुलो बैंक सिलिकन भ्याली बैंक बन्द भएको खबरले विश्व अर्थतन्त्रमा जति सन्नाटा छाएको छ, त्यो भन्दा बढी त्यहि घटनालाई पछ्उँयाउँदै सिग्नेचर बैंक बन्द भएको घटनाले थप त्रास निम्त्याएको छ । अमेरिकामा मात्र होइन, स्वीजरल्याण्डको क्रेडिट स्वीस बैंक संकटमा छ यतिबेला  । यो बैंक अहिले बच्न अनेकखालका संघर्ष गरिरहेको छ । यूएसबी बैंकले समस्याग्रस्त क्रेडिट सुइस प्राप्ति गर्न छलफल गरिरहेको छ भने बैंकले ब्यापक कर्मचारी कटौती गर्न खोजिरहेको छ ।
स्वीजरल्याण्डमा मात्र होइन, अन्य थुप्रै देशमा बैंक बन्द हुने त्रास बढेको छ । कतिपय देशमा स्टक बजारमा बैंकको सेयरले नकारात्मक सर्किट हानेपछि ती बैंकका कारोबार बन्द गरिएका घटना, दिन दुईगुणा, रात चौगुणा आईरहेका छन् । क्रिप्टोमा गरिएको लगानी, बैंकप्रतिको अविश्वास र मन्दीको व्यापक असरले बैंकहरु भकाभक बन्द भईरहेका छन् ।
अझ अन्तराष्ट्रिय अनुसन्धानले सार्वजनिक गरेका केहि तथ्य र तथ्यांक झन् डरलाग्दा छन् । सोसल साइन्स ई-रिसर्च नेटवर्कमा पोस्ट गरिएको एक अनुसन्धानले अमेरिकामा थप १८६ बैंक डुब्ने खतरामा रहेको देखाएको छ । अनुसन्धान प्रतिवेदनमा भनिएको छ- ‘ब्याजदरमा भएको बृद्धि र ठूलो परिमाणमा रहेको असुरक्षित निक्षेपका कारण थुप्रै बैंकहरुको संकटमा छन् ।’  पछिल्लो १ दशकमा मात्रै १०० भन्दा बढी बैंकहरु टाँट पल्टेको नमिठो इतिहासका साक्षी अमेरिकी नागरिकले यतिबेला डुब्ने जोखिम कम हुन्छ भनेर साना बैंकबाट पैसा निकालेर ठुला बैंकमा राख्न थालेका छन् । नागरिकमा आएको यो अविश्वासको खाडलभित्र परेर कति बैंक सिद्धिने हुन्, थाहा छैन ।
अव लागौं हाम्रै देश नेपालतर्फ । अमेरिकामा भकाभक बैंक डुब्न थालेपछि नेपाली निक्षेपकर्ता पनि आत्तिएका छन् । विश्वभर आएको आर्थिक मन्दीले नेपाललाई कहाँ अछुतो राख्ला र ? अमेरिकाजस्तो सिष्टम भएको देशमा त बैंकहरु भकाभक डुबिरहेका छन् भने, एनपीएलको डाटासमेत खेलेर अगतिलो चीजलाई गतिलो भनेर देखाउने परिपाटी भएको हाम्रो देशका बैंकहरु नडुब्लान् भनेर कसरी भन्न सकिएला र ? आज जनजनको प्रश्न यहि छ ।
खोलामा डुब्न लागेको मान्छेले परालको त्यान्द्रोमा पनि समाएर बच्ने आशा गर्छ । तर अमेरिकामा बैंक डुबेको खबर सेलाउन नपाउँदै, अमेरिकामा अर्को बैंक सिग्नेचर बैंक डुबेको खबर आएकै दिन नेपाल राष्ट्र बैंकले ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली-२०७९’ जारी गरेपछि नेपाली जनतामा पनि त्रास बढेको छ । अन्तिम ऋणदाता सुविधा अर्थात कुनै बैंक डुब्न लाग्यो भने त्यसलाई जोगाउन केन्द्रीय बैंकले गर्ने आर्थिक सहयोगको नियमावली किन यहि बेला आयो ? प्रश्न स्वाभाविक, र गम्भीर पनि छ ।
यहि बेला देशभर लघुवित्त वित्तीय संस्थाहरुका कार्यालयमा ताला लागेका छन् । यहि बेला बैंकको २० लाख भन्दा कम ऋण मिनाहा हुनुपर्छ भनेर आन्दोलन चलिरहेको छ यो देशमा । अनि यहि बेला बैंकरहरुका टाउका फुटाइएका छन्, अरवौं ऋण नतिरेकाहरुबाट बैंकविरुद्ध बोल्ने भीड जुटाईएका छन्, रिकभरी सून्यप्राय छ । यहि बेला दिनहुँ भागेका सहकारीले निक्षेपकर्ताको विश्वास बर्बाद बनाएको छ, बैंक विरुद्ध चलेका आन्दोलनमा निरिह बनेको सरकारले रमिता हेरिरहँदा जनतामा झन् ठुलो त्रास बढेको छ यतिबेला ।
गृह मन्त्रालय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीलाई सुरक्षा देउ भनेर सर्कुलर गर्छ । फिल्डमा प्रहरी कार्यालयका हाकिमहरु सर्कुलर हेरेर हाँस्छन् र कानमा तेल हालेर बस्छन् । परिणाम देशभर, बैंकका कर्मचारीहरुमाथि हातपात हुँदा, प्रहरी कार्यालयले थाहासम्म पाएको छैन । डिपोजिटरसमेत बैंक जान समस्या हुनेगरी चुनावको बहानामा व्यवसायीले नो डिपोजिट अभियान चलाएका छन्, ठाउँ-ठाउँमा बैंकका लोगो जलाएका छन् । व्यवसायी ऋण तिर्न नसकेर तनावमा छन्, बैंकहरु ऋण उठाउन नसकेर चिन्तामा छन् । यस्तो हरिबिजोग समयमा कतै नेपाली बैंकहरु पनि हरिकंगाल हुने त होइनन् भन्ने त्रास बढ्नु खास अन्यथा हुँदै होइन ।
फेरी इतिहासले पनि नेपाली बैंकहरुमाथि विश्वास गरेका जनतालाई बेला बेला गिज्याएको तथ्य कसैबाट लुकेको छैन । सप्तकोशी डेभलपमेन्ट बैंकमा सीइओले नै जनताको निक्षेप हजम गरिदिए, सिन्धु बिकास बैंकमा डिपोजिट गरेको पैसा नै हरायो, देशभर फर्जी कागजकै भरमा अरवौंको कर्जा प्रवाह भएको छ । बिगतमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नेपाल बिकास बैंक जस्ता बैंक जसरी ढले, गोर्खाज बिकास बैंक लगायत दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु जसरी समस्यामा परे,  आज पनि दर्जनौं बैंकहरुमा अरवौंको ऋण उठ्नै नसक्नेगरी फसेको छ, यी दृष्टान्तहरुले पक्कै बोलिरहेका छन्, नेपालको स्थिति पनि सहज छैन । केहि नहुन्जेलसम्म केहि नभएको जस्तो देखिएको मात्र हो ।
त्यसो भए के नेपालका बैंक डुब्ने अवस्थामा नै छन् त ?
होइन । यसरी नै विश्लेषण गर्नु भने गलत हुन सक्छ । नेपालमा बैंकहरुका जुन खालका पूँजी कोष छन्, जस्तो तरलता र जोखिम भारित सम्पाती छन्, त्यसले नेपालका बैंकहरु डुब्ने नै अवस्थामा छैनन् । अमेरिकाकै बैंकको तुलना गर्ने हो भने सिलिकन भ्याली बैंक डुब्नुको कारण भनेको उसले आइटी कम्पनीमा अर्थात अदृश्य सम्पातीमा बढी लगानी गरेको थियो । अझ सहज भाषामा भन्दा उसले क्रिप्टोमा बढी लगानी गर्यो, र डुब्यो । नेपाली बैंकहरुका परिदृश्य केहि फरक छन् । नेपालमा एकाध छोडेर राम्रै धितो राखेर ऋण प्रवाह भएका छन् । त्यसैले नेपालमा बैंक अमेरिकामा सिलिकन भ्याली दुबेजस्तै गर्ल्यामगुर्लुम ढल्छ भन्ने स्थिति छैन ।
अन्तर्राष्ट्रिय मान्यता र नियामकीय प्रावधान अनुसार ५ प्रतिशतसम्मको खराब ऋणलाई अन्यथा मानिंदैन । नेपालमा खराब कर्जाको देखिएको तथ्यांक मात्र २ प्रतिशतको छ ।  नेपाल राष्ट्र बैंकको ऋणमाथि सुपरिवेक्षण कडा छ । कुनै ऋणीले ३ महिनासम्म तिर्न सकेन भने बैंकले २५ प्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्छ भने ६ महिना नाघे ५० र वर्ष दिन नाघे शत् प्रतिशत गर्नुपर्छ। धितो लिलाम गरेर भए पनि बैंकहरु ऋण उठाउँछन् ।
नेपाली बैंकमा भएको तरल सम्पतिको परिमाणले पनि नेपाली बैंक तरलताका कारणले डुब्ने सम्भावना रहँदैन भन्न सकिने अवस्था छ । त्यसैले पनि राष्ट्र बैंकले केहि समय अगाडी नै जारी गर्छु भनेर घोषणा गरेको विनियमावली गलत समय र सन्दर्भ चलेका बेला भूकम्प आएजसरी आएकै कारण नेपालका बैंकहरु डुब्न आँटेका त होइनन् भन्नु सरासर गलत हुन सक्छ ।
तर के नेपालका बैंक पूर्ण रुपमा सुरक्षित छन् त ?
यो प्रश्नको उत्तर भने कठिन छ । नेपालका बैंकका ब्यालेन्स सिट नै शंकाको घेरामा छन् भन्ने पटक पटक सुनिने विश्लेषणमा केहि सत्यता पक्कै छ । उठ्दै नउठ्ने ऋणलाई पनि एनपीएलमा गणना नगरिएका थुप्रै उदाहरणहरु छन् नेपालमा । फेक धितो राखेर कर्जा दिएका उदाहरण त कति हो कति । ओभरभ्यालुएसनको झन् कुरै नगरौं । पछिल्लो समय कामना सेवा बिकास बैंक र समृद्धि फाइनान्समा देखिएका ओभरभ्यालुएसनका घटनाप्रति राष्ट्र बैंक गम्भीर नभए त्यसको परिणाम नमज्जाको आउने प्रष्ट छ । आज पनि ठुलो परिमाणको ऋण उठ्न नसक्नेगरी फसेको छ । कागज मिलाएर केहि करोडको सम्पति उपर अरवौंको कर्जा प्रवाह भएको छ । बैंकहरुमा कर्मचारी र स्वयम् सीइओका बदमासी एक एक गरी बाहिर निस्कनु नेपाली बैंकहरुमा देखिएको बेथितिको निर्लज्ज उदाहरण हो ।
त्यसैले कुनैबेला नेपाल बिकास बैंक ढलेजस्तै, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ढलेजस्तै सप्तकोशी, सिन्धु लगायतका केहि बैंक नढल्लान् भन्न सकिन्न । ओभरभ्यालुएसनले थिलोथिलो बनाएको समृद्धि फाइनान्स वा फेक कोल्याट्रलले हरि बिजोग बनाएका कुनै बैंक ढल्दै ढल्दैनन् भन्न सकिने अवस्था छैन । इतिहास साक्षी छ, थुप्रै फाइनान्सहरु, बैंकहरु नेपालमा पनि डुबेका छन् । अमेरिकामा जस्तो नेपालमा क्रिप्टोमा लगानी छैन भनिएकै कारण नेपालका बैंक पूर्ण रुपमा सुरक्षित छन् भनिहाल्नचाहिं नमिल्न सक्छ ।
समग्रमा भन्दा अमेरिकाकै स्टाइलमा नेपाली बैंकहरु डुब्दैनन् । तर नेपाली कारणले नै बैंकहरु डुब्न सक्छन् है भन्ने कुरा भने नकार्न सकिन्न । नेपाल राष्ट्र बैंकले यस विषयमा पक्कै सोचेको होला । यो जटिल अवस्थामा राष्ट्र बैंक, हामी ग्राहक र बैंकहरु पनि गम्भीर हुन जरुरी छ । ऋणीहरुले ऋण तिर्दिन भन्नु पनि बैंक डुबाउंछु, डिपोजिटरलाई लुट्छु भने सरह हो । बैंकहरुले पनि अव जागिर खाने मात्र होइन, देश बचाउने बेला हो भनेर सोच्नुपर्ने भएको छ । सरकारले पनि गभर्नरसँग निहुँ खोजेर होइन हातेमालो गर्न आवश्यक छ । केन्द्रीय बैंकले पनि सरकारसँग इगो साँधेर होइन, बैंकहरुलाई ठिक ठाउँमा राखेर जनताको डिपोजिटको सुरक्षा गर्न आवश्यक छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: