×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्षौँदेखि बेवारिसे भक्तपुरको १७ तले भवनको भित्रीकथा, फिनिसिङ नहुनुको कारण यस्तो…(भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

बर्षौँदेखि बेवारिसे भक्तपुरको १७ तले भवनको भित्रीकथा, फिनिसिङ नहुनुको कारण यस्तो…(भिडियोसहित)

काठमाडौं । भक्तपुरको बाटो हुँदै तपाईं आवतजावत गर्नुहुन्छ भने तपाईंले बर्षौंदेखि एउटा फिनिसिङ नभएको तर ठुलो भवनलाई पक्कै ख्याल गर्नुभएको छ होला । भक्तपुरको राधेराधे चोकेमा रहेको यो भवन बर्षौंदेखि किन फिनिसिङ भएन होला ? यति ठुलो भवन बनिसकेपछि बर्षौंदेखि यो भवन किन बेवारिसे बनाइएको होला ? यसका मालिक को होलान् ? करोडौं लगानी गरिएको यो भवन थप केहि लगानी गरेर प्रयोगमा किन नल्याइएको होला ? यदी तपाईंको मनमा पनि यहि प्रश्न उठेको छ भने आज हामी यीनै प्रश्नको जवाफसहित यो भवनको भित्री कथा प्रस्तुत गर्दैछौं ।
वर्षौंदेखि अलपत्र रहेको यो भवन कसको हो  ?
यो भवन शुभश्री डेभलपर प्रालिले बनाएको भवन हो । शुभश्री जगदम्बा डेभलपर प्रालिचाहिं सौरभ ग्रुपको भगीनी संस्था हो । न्यौपाने टावरका मालिक भने विष्णु न्यौपाने हुन् । तपाईंले तिनकुने स्थित कुनैबेलाको जगदम्बा टावर्सलाई अहिले नाम परिवर्तन गरेर न्यौपाने टावर्स बनाएको त थाहा पाउनुभएकै होला । तर खासमा सौरभ समूहले न्यौपाने टावर्स बनाउन खोजेको भवन भने भक्तपुरस्थित यहि भवन थियो । यसको नाम अहिले पनि न्यौपाने टावर्स हो ।  खासमा यो भवन आवासीय अपार्टमेन्ट भनेर निर्माण स्वीकृति लिएको भनिएको थियो । तर, पछी कमर्सियल कम्प्लेक्स बनाउन स्वीकृति लिएको चर्चा पनि बाहिर आयो । कमर्सियल कम्प्लेक्स बनाउँदा विवाद हुने र भूकम्पपछी नागरिक अग्ला घरमा बस्न नरुचाउने देखेपछी यो भवनलाई होटल बनाउने कुरा पनि अघि बढेको थियो ।  यस विषयमा भवनका मालिकले विभिन्न अन्य समूहसँग कुराकानी पनि गरेका थिए । तर, विवादै विवादका बीच यो भवनको निर्माण अघि बढ्न सकेको छैन।
घरजग्गा तथा आवास विकास संघका अध्यक्षसमेत इच्छाराज वाग्लेसँग ५ रोपनी जग्गा किनेर विष्णु न्यौपानेले कम्पनीका नाममा सो भवन निर्माण सुरु गरेका थिए । आवासीय अपार्टमेन्टको लागि भनेर उपत्यका विकास प्राधिकरणबाट निर्माणको स्वीकृति पाएको चर्चा भए पनि सहरी विकास तथा भवन निर्माण विभाग भने अपार्टमेन्ट नभई सो भवनले ‘कमर्शियल कम्प्लेक्स’ बनाउन अनुमति पाएको बताउँछ । यस विषयमा पनि विवाद कायम छ ।
यति ठुलो भवन किन फिनिसीङ भएन त ?
 राधेराधे चोकमा रहेको यो भवनको फिनिसिङ नहुनुको कारण भने यो भवन तोकिएको स्वीकृति विपरित बनेको छ । अर्थात यो भवन स्वीकृति लिएको भन्दा ४ तल्ला बढी बनाइएपछि यो भवनमा लफडा निस्किएको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित भवन निर्माणका लागि शुभश्री जगदम्बा डेभलपरले १३ तल्लाको स्वीकृति पाएको थियो । तर, बनाउने बेलामा यो भवन १७ तल्लाको बनाइयो । स्वीकृति दिएको भन्दा बढी तल्ला बनेको थाहा भएपछि उपत्यका विकास प्राधिकरणले यसमा चासो देखायो । स्वीकृति भन्दा बढी तलाको भवन निर्माण गरिएको भन्दै कम्पनीलाई स्पष्टीकरणसमेत सोधियो । २०६७ मा सो भवनको मापदण्डका विषयमा ठुलै कुरा उठ्यो । चौतर्फी कुरा उठेपछि भवनको मापदण्ड पुग्ने वा नपुग्ने भन्ने विषयमा नगरपालिकाको टोलीले अध्ययन थाल्यो । नगरपालिकाले अध्ययन नसक्दै स्थानीय बासिन्दाले  उक्त स्थानको कित्ता नम्बर २६ र ५० को जग्गा जोडेर स्थानीयलाई बाटो नदिएको भन्दै विरोध गरेर नगरपालिकामा उजुरी दिए । नगरपालिकाले पनि सो भवन निर्माणमा कैफियत देखायो । त्यसपछि सो भवन निर्माणको काम रोकियो।
नगरपालिकाले सो भवन निर्माणमा त्रुटी भेटिएको तर्क गर्यो । १७ तल्ला नै भवन बनिसकेको अवस्थामा १७ तल्लाका लागि ‘फार’ नपुगेको भन्दै नगरपालिकाले कैफियत देखायो । नगरपालिकाको भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार करिब ६ रोपनी ३ आना जग्गा रहेको सो ठाउँमा १७ तल्लाको भवन बनाउन फार ३.० हुनुपर्ने थियो ।  नगरपालिकाले भवन निर्माण मापदण्ड अनुसार फार नपुग्ने भनेपछि फार पुर्याउन कम्पनीले जोडिएको थोरै जग्गा किनेर फार अव पुगेको भन्दै नगरपालिकामा अर्को निवेदन दिएको थियो ।  फार पुग्ने भन्दै अर्को निवेदन दिएपछि यस विषयमा नगरपालिकामा छलफल पनि भएको थियो । तर, उचित निष्कर्ष ननिस्किएपछी यो भवनको थप काम अगाडी बढ्न सकेन ।
नगरपालिकामा छलफल हुने तर निष्कर्ष नआउने, शहरी विभास तथा भवन निर्माण विभाग यस विषयमा विवाद आउने भन्दै अगाडी बढ्न नमान्ने, र उपत्यका विकास प्राधिकरणमा जति धाउँदा पनि काम नहुने भएपछी  अहिले यो भवनका मालिकले विभागबाटै स्वीकृतिको पहल थालेका छन् । तर यस विषयमा निष्कर्ष नै निस्कीसकेको छैन।
भवनका विषयका उठेका विषय कति सत्य, कति झुठ ?
यसो त यो भवनका विषयमा धेरै भ्रमहरु पनि बाहिर आए । कतिपयले यो भवनलाई भारतीय कलाकार गोबिन्दाको लगानीमा बनेको भवन भनेरसमेत चर्चा गरे, जुन सरासर गलत हो । यो भवनमा गोबिन्दाको १ रुपैयाँ पनि लगानी छैन । यो भवन पूर्ण रुपमा सौरभ ग्रुप अन्तर्गतको कम्पनीको लगानी छ र यसका मालिक विष्णु न्यौपाने हुन् । केहि समय अगाडी यो भवन बिक्री भएकोसमेत हल्ला चल्यो । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले समेत फेसबुमा शक्तिशाली मन्त्रीका छोराले २ अर्ब ५० करोडमा उक्त भवन किनेको खबर आएको भनेर लेखेपछि सो भवन बिक्रीको खबर चर्चामा आएको थियो । धेरैले एमाले नेता इश्वर पोखरेलका छोराले यो भवन किनेको भन्ने चर्चा पनि गरे, तर त्यसमा कुनै सत्यता थिएन । र यो भवन अहिले पनि विष्णु न्यौपानेकै कम्पनीको नाममा छ ।
भवन बनाउँदा स्वीकृति हुनुपर्छ र स्वीकृति अनुसार नै भवन निर्माण हुनुपर्छ भन्ने कुरामा दुईमत छैन । तर एउटा व्यवसायीको अरवौं रुपैयाँ परिसकेको यो भवनले केहि न केहि निष्कर्ष पाउनुपर्छ भन्ने कुरामा पनि सम्बन्धित निकाय सचेत हुन जरुरी छ । कसैलाई पनि अफ्ट्यारो नपर्ने, र व्यवसायी पनि निरुत्साहित नहुनेगरी यो भवनका विषयमा आवश्यक निर्णय हुनुपर्छ भन्ने विषयमा पनि सबै निकाय सचेत हुनुपर्ने बेला भएको छ ।  सहरी विकास तथा भवन निर्माण विभाग नगरपालिकालाई देखाउने र नगरपालिका अरु निकायलाई देखाउने गरेर एउटा व्यवसायीको लगानी यसरी फ्रीज हुनु ठिक नहुन सक्छ । (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: