×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको भाषणमा सुनिएका ‘आर्थिक कुरा’ : कतै गम्भीर सत्यको उजागर, कतै निर्लज्ज अफवाहको प्रक्षपोषण (टिप्पणी)

PRIME CA
GLOBAL IME BANK

दुर्गा प्रसाईंको भाषणमा सुनिएका ‘आर्थिक कुरा’ : कतै गम्भीर सत्यको उजागर, कतै निर्लज्ज अफवाहको प्रक्षपोषण (टिप्पणी)

२१ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ । काठमाडौंको बानेश्वरमा दुर्गा प्रसाईं नेतृत्वमा प्रदर्शन भएको छ ।  शनिबार दिउँसो माइतीघर मण्डलामा भेला भएर नाराबाजी गर्दै नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीहरुलाई प्रसाईंले सम्बोधन गरेका थिए ।  आर्थिक अन्याय र बेथितिविरूद्ध आन्दोलन गरेको भन्दै प्रसाईंले राजतन्‍त्र फर्काउनुपर्ने, संघीयता खारेजीको मागसमेत गरेका छन् ।
दुर्गा प्रसाईंले बोलेका केहि कुरा सत्य, केहि अर्धसत्य, केहि पूर्ण असत्य र केहि भ्रामक छन् । केहि उत्तेजक छन् र केहि बैंकिङ सिष्टम र कानुन विरोधी छन् ।
१. उनले भाषणका क्रममा बैंकहरुले कसैको सम्पत्ति लिलामी नगर्न / नगराउन र गराए घर घेरिन्छ भनेका छन् । यदी प्रसाईंले भनेजस्तै कसैले पनि लिलामी नगर्ने नगराउने हो भने बैंकिङ सिष्टममा ठुलो समस्या आउने निश्चित छ । अव उनकै डरले कसैले पनि लिलाम भएका सम्पत्ति किनेनन् भने यसले प्रणालीमा आउने अर्को समस्या झन् ठुलो हुन सक्छ । उनले यो बोलेकै कारण अव सम्पत्ति लिलाम हुन ठिक परेर बसेकाहरु दुर्गा प्रसाईंकै शरणमा जाने भए, र उनका कार्यकर्ता बन्ने भए । आफ्नो सम्पत्ति जोगाउनुपर्ने बाध्यता र आशा जो छ ।
२. भाषणका क्रममा प्रसाईंले २० लाख रुपैयाँ मुनिको ऋण मिनाहा हुनुपर्छ भनिरहेका छन् । यदी उनले भने अनुसार २० लाख रुपैयाँ ऋण मिनाहा हुने हो भने यो देशको समग्र कर्जा सिष्टम नै कोल्याप्स हुनेछ । अर्थात २० लाख रुपैयाँ भन्दा मुनि ऋण हुने सबैको ऋण मिनाहा हुने कुरा लगभग असम्भव छ ।
३. उनले बोलेका केहि कुराहरु तार्किक र ठुलै विश्लेषकले पनि उठाउने गरेका कुरा पनि छन् । जस्तोकि नोट बन्दीको विषय । ठुलै विश्लेषकहरुले पनि नेपालमा ५०० र १०००का नोटमा प्रतिबन्ध लगाउने हो भने देशको आर्थिक सिष्टम राम्रो बन्ने तर्क गर्ने गरेका छन् । यसले घुस खाएर जम्मा भएको रकम प्रणालीमा नबस्ने र यसले देशको अर्थतन्त्र स्वच्छ बनाउने तर्क विश्लेषकहरुको छ । तर उनी जसरी भनिरहेका छन् र मलाई संविधान र कानुन चाहिन्न भनिरहेका छन्,त्यो शैली भने गलत छ ।
४. उनले बैदेशिक रोजगारीमा गएका नेपालीहरुको बाध्यतालाई पनि आफ्नो भाषणमा समेटेका छन्, जुन धेरै हदसम्म सत्य छ । आज पनि लाखौँ नेपाली बैदेशिक रोजगारीका लागि देशबाहिर छन् र यहि कारण नेपालमा हुनुपर्ने युवा जनशक्ति छैन ।
५. यसो त दुर्गा प्रसाईंले केहि गम्भीर प्रकृतिका तर सत्य कुराको उजागरसमेत गरेका छन् । डिपोजिटका नाममा हुने दलालीका बारेमा उनले बोलेका तथ्य तीतै भए पनि सत्य छ । उनले ऋण माग्न जाँदा फलानो ठाउँमा डिपोजिट छ, त्यहाँ भनिदिनुपर्यो भनेर बैंकरले अनुरोध गर्छन् भन्ने तथ्य खुलाएका छन् । जुन सत्य हो ।
६. प्रसाईंले चिनियाँ नाकामा भईरहेका समस्याका बारेमा पनि बोलेका छन् । जुन धेरै हदसम्म सत्य छ । नाकामा सामान समयमा नआउँदा धेरै व्यवसायी पीडामा परेका छन् भन्ने पनि सत्य कुरा हो । जाडोमा आउनुपर्ने सामान गर्मी लागेपछि आउँछ भन्ने उनको भनाईमा धेरै सत्यता छ ।
७. तर, उनले बोलेका कतिपय कुरा भ्रामक छन् । वा उनलाई थाहा नै नभएको विषयमा पनि कसैले भन्न लगाईदिएकै कारण उनी बोलिरहेका छन् । जस्तो कि उनको आन्दोलनकै क्रममा उनलाई कसैले एनआईसी एशिया बैंकका बारेमा अफवाह बोल्न लगाईदियो । यस बिषयमा अलिकति जानकारी नभई उनले प्वाक्क बोलिदिए ।
नेपालमा कुनै पनि बैंकले भारतबाट आयात गरेर गुण्डा पाल्दैनन् । रिकभरीका लागि केहि बैंकले स्थिति अनुसार अलि बढी नै गर्ने गरेको सत्य भए पनि यसरी संख्या नै तोकेर ऋण असुल्न गुण्डा प्रयोग एनआईसी एशियाले गरिरहेको छ र ती गुण्डा भारतबाट आएका हुन् भन्ने कुरामा कुनै पनि सत्यता छैन । यसो त प्रसाईंले बुझेर यो कुरा बोलेका पनि होइनन् । उनलाई कसैले चिट दियो, र उनले त्यहाँ जे लेखेको थियो, त्यहि बोलिदिए ।
८. आफ्नो भाषणका क्रममा प्रसाईंले बैंकरहरुले ऋणीलाई सुत्न बोलाएजस्ता गम्भीर आरोपहरु लगाईरहेका छन् । किस्ता नतिरेका लघुवित्तका ऋणीहरुले बोलेको कुरा कति सत्य हो वा कति झुट हो भन्ने तथ्यतिर नगई उनले हुबहु सोहि भाषा बोलेर यो आरोप फैलाईरहेका छन् । जसले बैंकरहरुको प्रतिष्ठामाथि पनि आँच आउने देखिएको छ ।
९. प्रसाईंले बोलेका सम्पत्ति लिलामीका तथ्यांकहरु मिलेका छैनन् । उनले १८ लाख नेपालीको सम्पत्ति लिलाम हुँदैछ भनेका छन्,जुन लिलाम हुन लागेका सम्पतिको विवरणसँग मिल्दैन । यद्यपी धेरै सम्पति अव लिलाम हुँदैछन् भन्ने उनले बोलेको कुरामा धेरै हदसम्म सत्यता छ ।
१०. उनले केहि सिमित व्यवसायीको हातमा देशको अर्थतन्त्र छ भनेका छन्, जुन धेरै हदसम्म सत्य र धेरैले स्वीकारेको विषय पनि हो ।
दुर्गा प्रसाईंले उठाएका केहि विषय जायज र गम्भीर छन् । तर उनले जसरी यी सब तथ्य प्रस्तुत गरिरहेका छन्,त्यसले उनका सहि माग पनि ओझेलमा पर्ने खतरा बढेको छ । उनले उठाएका व्यवसायीका पीडाभित्र धेरै सत्यता छ, तर यहि कुरा पनि जुन शैलीमा उनी प्रस्तुत गरिरहेका छन्,यसले उनलाई आलोचना गर्ने ठाउँ दिएको छ । र त राप्रपाका अध्यक्ष नै उनलाई बैंक ठग भनिरहेका छन् । उनले बैंकबाट लिएको ऋणको चर्चा चौतर्फी छ र उनले लिएको ऋण जोखिमयुक्त भयो भन्ने चर्चा पनि चौतर्फी छ ।
व्यवसायी दुर्गा प्रसाईंले करिब ५०० करोड रुपैयाँ ऋण लिएका छन् । ग्लोबल आईएमई बैंकको नेतृत्वमा प्रसाईंको झापास्थित बिएन्डसी मेडिकल कलेजमा ऋण लगानी भएको थियो । उनी भनिरहेका छन् मैले तिर्नुपर्ने किस्ता र ब्याज समयमा नै बुझाएको छु, तर बैंकरहरु भानिरहेका छन्, प्रसाईंले तिर्नुपर्ने किस्ता सबै तिरेका छैनन् । उनले बैंकमा ऋण लिँदा कागजपत्रहरु पनि किर्ते गरेको आरोपसमेत उनीमाथि छ । तर उनले उनीमाथि लागेका सबै आरोपहरु गलत भएको दाबी गरिरहेका छन् ।
दुर्गा प्रसाईंले लिएको ऋण झन्डै ५०० करोड छ । कति ऋणको उनले किस्ता तिरेका पनि छन् । तर बैंकहरुले उनका कतिपय ऋणमा जोखिम देखेका छन् । समयमा किस्ता नआएको भन्दै बैंकले फलोअप गरेपछि उनी आफ्नो ब्याज पूँजीकरण हुनुपर्ने भन्दै अदालत गए र अदालतले पनि उनकै पक्षमा आदेश दियो । जसका कारण उनले बैंकलाई तिर्नुपर्ने मोटो रकम पूँजीकरण भएर बसेको छ र बैंकले अव सो ब्याज तत्काल पाउने सम्भावना छैन ।
यसो त प्रसाईंलाई कागज किर्ते गरेर ऋण लिएको आरोपसमेत लाग्ने गरेको छ । यहि कारण बैंकहरुले उनलाई दिएको ऋणमासमेत जोखिम देखिरहेका छन् । तर उनले भने किर्ते गरेर ऋण लिएको विषयमा यस्तो अभिव्यक्ति दिने गरेका छन् ।
प्रसाईं यतिबेला आन्दोलनमा छन् । प्रसाईंले ‘लडाकु जत्था’ नै बनाएर बैंकविरुद्ध उतारेपछि बैंकरहरू त्राहिमाम छन् । उनको ऋण त परको कुरा, बैंकरहरु अन्य ऋणीको ऋण असुल्नसमेत सकिरहेका छैनन् । दुर्गा प्रसाईंले वित्तीय अनुशासन नै खल्बल्याउने गरी अभिव्यक्ति दिँदै हिँडेको भन्दै बैंकरहरू थप सशंकित बनेका हुन् । यस विषयमा नेपाल बैंकर संघले पनि पटक पटक छलफल गर्ने र राज्यलाई गुहार्ने काम गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: