×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलनरत व्यवसायी दुर्गा प्रसाईंका कुरा कति सत्य कति भ्रम ?, आत्तिए बैंकर, उठ्न छोड्यो ऋण…(भिडियोसहित)

PRIME CA

आन्दोलनरत व्यवसायी दुर्गा प्रसाईंका कुरा कति सत्य कति भ्रम ?, आत्तिए बैंकर, उठ्न छोड्यो ऋण…(भिडियोसहित)

२३ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौं । यतिबेला यो देशको आर्थिक क्षेत्रमा सबैभन्दा बढी चर्चा कोहिको छ भने, त्यो दुर्गा प्रसाईंको छ । कुनै बेला दुई ठुला नेता प्रचण्ड र केपी ओलीलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं अहिले लघुवित्त, सहकारी र बैंकले २० लाख रुपैयाँभन्दा तलको ऋण मिनाहा हुनुपर्छ भनेर आन्दोलन गरिरहेकाले चर्चामा छन् । विवादको कति पनि प्रवाह नगर्ने प्रसाईले घरमा दुई नेतालाई मार्सी चामलको भात खुवाएपछि कतिले उनको नाम नै मार्सी राखिदिए । तर यसबाट उनी रिसाएनन् बरु मार्सी नामको बियर बनाएर बजार पठाउने प्रयास गरे । यीनका नाममा बैंकको अरवौं ऋण छ ।

आर्थिक व्यवहारका हिसाबले झन्डै ५०० करोड रुपैयाँको ऋण छ उनको । उनले नै आफ्नो २००० करोड सम्पत्ति छ भनिरहेका छन् । दुवै छोराछोरी डाक्टर छन्, पैतृक सम्पति पुग्दो छ, राजनीतिक पहुँच नेपालमा मात्र होइन विदेशमा पनि छ । झापामा जन्मिएका र आफ्नो बाल्यकाल झापा र काठमाडौँ गरेर बिताएका उनको काठमाडौँ र झापा दुवै ठाउँमा घर छन् । र यीनै दुर्गा प्रसाईंको अभिव्यक्ति, आन्दोलन र अभियान अहिले धेरैका लागि टाउको दुखाई बनेको छ । यसमा राप्रपाको राजनीतिक टाउको दुखाई फरक छ, जसका बारेमा कुरा गर्ने प्लेटफर्म यो नहुन सक्छ, तर नेपालका बैंक तथा वित्तीय संस्था, सहकारी, र लघुवित्त भने उनको अभियानका कारण तनावमा छन् ।

उनको ऋण र ऋण ऋण मिनाहा हुनुपर्छ भन्ने आन्दोलनका कारण बैंकर तनाव छन् । उनको आन्दोलनका कारण असुरक्षाको महसुस भएको भन्दै अहिले ७७ वटै जिल्लामा गृहले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सुरक्षा दिनु भनेर सर्कुलर नै जारी गरेको छ । दुर्गा प्रसाईंको बोलीले अराजकता बढायो भन्ने बहस शहरका होटल होटलमा, विभिन्न संघमा, र यतिसम्मकि राष्ट्र बैंकमासमेत भईरहेको छ । तर प्रसाईं अविराम आफ्नो अभियानमा लागि रहेका छन् । विभिन्न अन्तर्वार्ताका क्रममा वा आफ्नो अभियानको कार्यक्रमको भाषणमा उनले गरेका भाषण केहि सत्य छन्, केहि अर्धसत्य छन्, केहि भ्रामक छन् र केहि कपोकल्पित पनि छन् । तर उनी यसरी भाषण दिन्छन् कि सुन्नेले उनको कुरा सबै ठिक छ भनेर पत्याईदिन्छन् ।

 दुर्गा प्रसाईंको अभिव्यक्ति, आन्दोलन र अभियानले धेरैको टाउको दुखाएको छ । र उनका कारण सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था र ती निकट संघको दुखेको छ । प्रसाईंले बोलिरहेका अभिव्यक्तिले अहिले यसै पनि गाह्रो स्थितिमा ऋणीहरु थप किस्ता तिर्न चाहिरहेका छैनन् भन्ने बुझाई छ बैंकरहरुको । प्रसाईंकै अभिव्यक्तिका कारण बैंकरहरु असुरक्षित भए भन्ने रिपोर्ट छ बैंकरहरुलाई र गृह मन्त्रालयले यहि कारण देशभर सर्कुलर नै जारी गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिनु भनेको छ । उनका भाषणले अहिले व्यवसायीक रुपमा समस्यामा परेका धेरै ऋणीहरु, ओहो, ऋण मिनाहा पो भईहाल्छ कि वा उनको आन्दोलन सफल भए बैंकले केहि सहुलियत दिन्छ कि भन्ने आशमा छन् । तर स्वयम् उनका भाषणले समग्र बैंकिङ प्रणालीमै समस्या ल्याएको तर्क बैंकरहरुको छ ।

नेपालमा कुनै पनि बैंकले भारतबाट आयात गरेर गुण्डा पाल्दैनन् । रिकभरीका लागि केहि बैंकले स्थिति अनुसार अलि बढी नै गर्ने गरेको सत्य भए पनि यसरी संख्या नै तोकेर ऋण असुल्न गुण्डा प्रयोग एनआईसी एशियाले गरिरहेको छ र ती गुण्डा भारतबाट आएका हुन् भन्ने कुरामा कुनै पनि सत्यता छैन । यसो त प्रसाईंले बुझेर यो कुरा बोलेका पनि होइनन् । उनलाई कसैले चिट दियो, र उनले त्यहाँ जे लेखेको थियो, त्यहि बोलिदिए ।

आफ्नो भाषणका क्रममा प्रसाईंले बैंकरहरुले ऋणीलाई सुत्न बोलाएजस्ता गम्भीर आरोपहरु लगाईरहेका छन् । किस्ता नतिरेका लघुवित्तका ऋणीहरुले बोलेको कुरा कति सत्य हो वा कति झुट हो भन्ने तथ्यतिर नगई उनले हुबहु सोहि भाषा बोलेर यो आरोप फैलाईरहेका छन् । जसले बैंकरहरुको प्रतिष्ठामाथि पनि आंच आउने देखिएको छ ।

दुर्गा प्रसाईंले उठाएका केहि विषय जायज र गम्भीर छन् । तर उनले जसरी यी सब तथ्य प्रस्तुत गरिरहेका छन्,त्यसले उनका सहि माग पनि ओझेलमा पर्ने खतरा बढेको छ । उनले उठाएका व्यवसायीका पीडाभित्र धेरै सत्यता छ, तर यहि कुरा पनि जुन शैलीमा उनी प्रस्तुत गरिरहेका छन्,यसले उनलाई आलोचना गर्ने ठाउँ दिएको छ । र त राप्रपाका अध्यक्ष नै उनलाई बैंक ठग भनिरहेका छन् । उनले बैंकबाट लिएको ऋणको चर्चा चौतर्फी छ र उनले लिएको ऋण जोखिमयुक्त भयो भन्ने चर्चा पनि चौतर्फी छ ।व्यवसायी दुर्गा प्रसाईंले करिब ५०० करोड रुपैयाँ ऋण लिएका छन् । ग्लोबल आईएमई बैंकको नेतृत्वमा प्रसाईंको झापास्थित बिएन्डसी मेडिकल कलेजमा ऋण लगानी भएको थियो । उनी भनिरहेका छन् मैले तिर्नुपर्ने किस्ता र ब्याज समयमा नै बुझाएको छु, तर बैंकरहरु भानिरहेका छन्, प्रसाईंले तिर्नुपर्ने किस्ता सबै तिरेका छैनन् । उनले बैंकमा ऋण लिँदा कागजपत्रहरु पनि किर्ते गरेको आरोपसमेत उनीमाथि छ । तर उनले उनीमाथि लागेका सबै आरोपहरु गलत भएको दाबी गरिरहेका छन् ।

दुर्गा प्रसाईंले लिएको ऋण झन्डै ५०० करोड छ । कति ऋणको उनले किस्ता तिरेका पनि छन् । तर बैंकहरुले उनका कतिपय ऋणमा जोखिम देखेका छन् । समयमा किस्ता नआएको भन्दै बैंकले फलोअप गरेपछि उनी आफ्नो ब्याज पूँजीकरण हुनुपर्ने भन्दै अदालत गए र अदालतले पनि उनकै पक्षमा आदेश दियो । जसका कारण उनले बैंकलाई तिर्नुपर्ने मोटो रकम पूँजीकरण भएर बसेको छ र बैंकले अव सो ब्याज तत्काल पाउने सम्भावना छैन । यसो त प्रसाईंलाई कागज किर्ते गरेर ऋण लिएको आरोपसमेत लाग्ने गरेको छ । यहि कारण बैंकहरुले उनलाई दिएको ऋणमासमेत जोखिम देखिरहेका छन् ।

प्रसाईं यतिबेला आन्दोलनमा छन् । प्रसाईंले ‘लडाकु जत्था’ नै बनाएर बैंकविरुद्ध उतारेपछि बैंकरहरू त्राहिमाम छन् । उनको ऋण त परको कुरा, बैंकरहरु अन्य ऋणीको ऋण असुल्नसमेत सकिरहेका छैनन् । दुर्गा प्रसाईंले वित्तीय अनुशासन नै खल्बल्याउने गरी अभिव्यक्ति दिँदै हिँडेको भन्दै बैंकरहरू थप सशंकित बनेका हुन् । यस विषयमा नेपाल बैंकर संघले पनि पटक पटक छलफल गर्ने र राज्यलाई गुहार्ने काम गरिरहेको छ ।

हो यतिबेला व्यवसायीलाई समस्या छ । व्यापार नभएपछि व्यापारीहरु समस्यामा छन् । तर सो समस्याको समाधान ऋण तिर्दैनौं भनेर गरिएको आन्दोलनले दिंदैन । ऋण लिएपछि बैंकलाई ऋण तिर्नुपर्छ । ती व्यवसायीले पनि बुझेका छन् कि जसरी उधारो लगेपछि सामान लैजानेले पैसा तिर्नुपर्छ त्यसरी नै ऋण लिएपछि बैंकलाई ऋण तिर्नुपर्छ । तर ब्यापार नभएका बेला बैंकको किचकिच सुन्नुभन्दा दुर्गा प्रसाईंको आन्दोलनमा गएर नाच्नु ठिक मानिरहेका छन् धेरै व्यवसायीहरुले । राज्यले यसको भने निकास दिनैपर्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: