×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरभाडा नतिरी भाग्नेहरु बढे, तनावमा घरभेटी, डेरामा बस्नेको पीडा झन् उदेकलाग्दो ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

घरभाडा नतिरी भाग्नेहरु बढे, तनावमा घरभेटी, डेरामा बस्नेको पीडा झन् उदेकलाग्दो ! (भिडियोसहित)

Artha Sarokar

१० चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

काठमाडौँ। काठमाडौँ लगायतका शहरहरुमा सपनाको खोजीमा भौतारिनेहरुको जमात ठुलो छ । छोराछोरीलाई राम्रो स्कुल पढाउन, कमाईको मेलो गर्न, सानै भए पनि व्यापार गर्न, काम खोज्न, पाएको सानोतिनो काम गर्न, समग्रमा भविष्य राम्रो बनाउन देशभरका मान्छेहरु काठमाडौँमा थुप्रिएका छन् । घरैघरको शहर भए पनि यहि घरैघरको शहरमा आफ्नो नामको एउटा घर बनाउने धेरैका लागि आज पनि सपना छ । सो सपना पूरा नहुन्जेलसम्म घर भाडामा बस्नु सबैको बाध्यता हो । सकेसम्म कसलाई रहर हुँदैन र, काठमाडौँमा आफ्नै घरमा बस्न ? तर नसकेरै भाडामा बसेकाहरुको पिरलोको कथा अर्कै छ ।
यसको अर्थ आज हामीले प्रस्तुत गरेको तथ्य सबै घरभेटी यस्तै हुन्छन् भनेकोचाहिं होइन । तर काठमाडौँमा डेरा बस्ने र घरभेटीहरुको कथा भने धेरथोर उस्तै छ । यसै त भाडा महँगो छ काठमाडौँमा । कोठा खोज्न जाँदा घरभेटीहरु सकेसम्म पूरै फ्ल्याट नै लिनु भन्छन् । २ वटा जति कोठा खाली छ ? भनेर सोध्दा घरभेटीले फ्ल्याट भए मात्र छ भनिदिन्छन् । अव फ्ल्याट नै लिने हैसियत भएको भए त २ कोठामा खुम्चेर बस्न कसलाई पो रहर हुन्थ्यो होला र ? त्यसमाथि एउटा सिंगो ज्यानलाई वा दुई जनालाई पूरै फ्ल्याट के काम ? अव फ्ल्याट नपाएपछि फेरी १-२ कोठा खोज्न हिड्नुपरिहाल्यो । बल्ल बल्ल कोठा त भेटिन्छ, तर जागिर खान जाँदा बरु अन्तर्वार्तामा बोसले कम प्रश्न सोध्छ घरभेटीले त्यहाँभन्दा बढी प्रश्न गर्छन् । कतिजना बस्ने ? घर कहाँ हो ? के गर्छौसम्म त ठिकै हो, राती कति बजे आउने गर्या छौ ? चुरोट खाने गर्या छ कि छैन ? दारुको लत छ कि छैन ? गर्लफ्रेन्ड छ कि छैन ? के के हो के के ! के गर्नु कोठामा बस्नु परेपछि बेलीविस्तार लगाउनु परिहाल्यो ।
बल्ल-बल्ल कोठा पाइन्छ, त्यो पनि जागिरको आधाउधी पैसा कोठामै जानेगरी महँगो । जागिर नभएकालाई यसै पनि तनाव भईहाल्यो । अझ कोठामा बसेको भोलिपल्टदेखि सुरु हुन्छ, घरभेटीको किचकिच । कोठामा कोहि साथी आईहाल्यो भने भित्र बस्नेलाई थाहा हुन्न, घरभेटीलाई थाहा भईहाल्छ । महिनाभरि कुन दिन कुन साथी कोठामा आयो, कति समय को आएर कोठामा कति बेर बस्यो सबै थाहा हुन्छ घरभेटीलाई । पानी सकियो भन्दा होस् नै सकियो भनेजसरी भन्नुपर्ने, पानी दिनुपर्यो भन्दा किड्नी नै मागेजसरी भन्नुपर्ने, अरु के के हो के के । अनि भाडा ठ्याक्कै १ गते चाहिने । ३-४ गते भए पछी घरभेटीले सके ठाडै भन्ने, नसके के छ भाई हालचाल भनेर जिस्काउने, त्यतिन्जेलसम्म पनि पैसा नआए दुई चार दिनपछी भाई पैसाको खाँचो थियो भन्ने, गरिहाल्ने भए ।
घरभेटीका पिडा झन् फरक 
 यो त भाडामा बस्नेहरुको कुरा भयो, काठमाडौँमा घरभेटी भएर बस्न पनि सजिलो छैन । १-२ जना बस्ने भनेर कोठा लिने तर कोठामा दैनिक ४-५ जना बस्ने, पैसा तिरेर बस्या त हो नि, सित्तै बस्या हो र ? भनेर जे पनि गरिदिने, महिनौंसम्म घरभाडा नै नतिर्ने, अनि कोठामा फर्केर नआउने । भाडा लिन बाँकी हुन्छ ३० हजार, कोठामा समान हुन्छ मुस्किलले १० हजारको । पैसा तिरेको छ भन्दैमा जथाभावी गर्ने, पानीको धारै खोलेर छोडिदिने, ख्याल नगर्ने लगायतका समस्यामा घरभेटीहरु छन् । कतिपय केस काठमाडौँ महानगरपालिकामा उजुरीकै रुपमा पनि गएका छन् ।
काठमाडौँ महानगरपालिकाकि उपप्रमुख सुनिता डङ्गोलका अनुसार महानगरमा दैनिकजसो आउने उजुरीहरुमध्ये  हरेक दिन कोठा खाली गरिदिनुपर्यो भन्दै आउने उजुरी बढी छ । कतिले महिनौंसम्म भाडा नतिरेर भागेका, अझ सहकारी बसेको घरको सहकारी नै भागेका, सटर बन्द गरेर पसले नै भागेका लगायतका उजुरी आउने क्रम थप बढेको छ । यसरी आउने उजुरीहरुमध्ये कति व्यक्तिगत रुपमा भाडा नदिएर मान्छे भागेका भन्ने छन् भने धेरैचाहिं संस्थागत रुपमा भाडा नदिएर भागेका उदाहरण छन् ।
अझ व्यक्तिगत रुपमा बस्नेसँग त घरबहाल सम्झौता गरिएकै हुँदैन । अव कोठामा केहि हजारको मात्र सामान छोडेर ढोकामा ताला लगाएर भागेकाहरुलाई कहाँ खोज्ने ? कसरी खोज्ने ? भन्न जाउँ त कहाँ जाउँ ? के देखाएर जाउँ ? भाडामा बस्ने कुनै सम्झौतापत्र नै नभएपछि घरभेटीहरु पीरमा छन् । अझ संस्थागत रुपमा भाडामा बस्नेहरु पनि भागीसकेपछी कहाँ खोज्न जाने, के गर्ने बडो समस्या हुन्छ । सामान फ़ालिदिउ अर्काकोस सम्पत्ति फाल्न मिलेन, नफालौं, भाडा आएको छैन । के गर्ने गर्ने !
अझ ७-८ महिना पछि बल्ल बल्ल झुल्केको उसैको कुरा ठुलो हुन्छ । ७ महिना भागिसकेको उ तपाईंको भाडा खाएर भाग्छु र म ? भनेर उल्टै थर्काउँछ । अलिकति ठुला कुरा गर्यो भने भाडा सम्झौता अनुसार गरौँ भन्छ । अव धेरैको समस्या भनेको भाडा हुन्छ ३० हजार, सम्झौता हुन्छ ५ हजार । घरबहाल कर कम तिर्ने बाहानामा गरिएको यस्तो सम्झौताले उल्टै घरभेटीको टाउको दुख्ने नै भयो । अव लिउँ ५ हजार के लिउँ, नलिउँ, उसले निहुँ खोज्न थालिसक्यो । अनि फेरी मिल्नुपर्ने बाध्यता भयो । अनि त के गर्नु, गर्नु भएन र ?
घरभेटी पनि उस्तै, लिएको घरभाडाको कर त पूरै तिर्नु नि । सरकारलाई कर तिर्ने बेलामा कम भाडा भएको सम्झौतामा हस्ताक्षर ठोकिदिने, अनि अहिले कानुनी झमेला परेपछि रुवाबासी गरेर हुन्छ र ? अझ तिर्नुपर्ने त घरभेटीले हो कर, घरभेटीले तिर्नुपर्ने करसमेत भाडामा बस्नेलाई तिराउने अनि अहिले सम्झौताको कालो मुख हेरेर आफैं कालो मुख पार्नुपर्दा समस्या त हुने नै भयो नि । पूरै भाडाको कर  तिर्नेगरी सम्झौता गरेको भए त यस्तो समस्या आउँदा पनि आफु माथि पारिन्थ्यो नि । खोइ कुरा बुझेको ?
यस किसिमको समस्या समाधानका लागि कामपाले पछिल्लो समय निर्देशिका नै जारी गरेर घरधनी र भाडामा बस्नेबीच लिखितरूपमा नै सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने जनाएको छ । त्यसका लागि यसअघि भाडामा लगाउँदै आएकाहरूले पनि लिखितरूपमा पुनः सम्झौता गरी वडा कार्यालयमा दिनुपर्ने छ र नयाँले पनि गर्नुपर्ने छ । कामपाले अत्यधिकरूपमा बहालसम्बन्धी उजुरी बढेको र कर असुल गर्नसमेत समस्या भएको भन्दै गत फागुन ३ गते ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिकाअनुसार अबै घरधनीले घरभाडामा दिँदा अनिवार्यरूपमा सम्झौता गरी वडा कार्यालयमा लिखितरूपमा जानकारी दिनुपर्ने छ । सम्झौता गरेको पत्र वडा कार्यालयमा दिनका लागि कामपाले निर्देशिका जारीसँगै एक महिनाअघि ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ ।
अव बुझौं ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ मा के छ ?
कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कशप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र त्यसको एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा, एकप्रति घरघनीले र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने व्यवस्था छ ।
सम्झौतामा घरबहालमा दिँदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ । मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख गरेर बहाल रकम बुझाउने समय वडा कार्यालयमा बुझाउनुपर्ने छ । निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यसैगरी, बहालमा बस्नेले घर छोड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्नेछ भने त्यसको जानकारी वडा कार्यालयमा गराउनुपर्ने छ । भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि बहाल नतिरे सम्झौता स्वतः भङ्ग भएर घर खालीसमेत गराउनुपर्ने व्यवस्था छ । पछिल्लो समय कामपाले निर्देशिका जारी गर्दै सम्बन्धित वडामा घर भाडामा लगाउने घरधनीले भाडामा बस्नेको विवरणसहित आउनुपर्ने जनाए पनि सोअनुरूप आउनेको सङ्ख्या थोरै रहेको जनाएको छ ।
सत्य यहि हो, अहिले धेरै व्यापार व्यवसायहरु घरभेटीको भाडासमेत तिर्न सक्ने अवस्थामा छैनन् । दिनमा ५०० को व्यापार छैन, महिनाको ५० हजारदेखि ५ लाखसम्मको भाडा कसरी तिर्नु ? अझ आर्थिक मन्दी लागेका बेला यो समस्या झन् बिकराल भएको छ । भाडा तिर्नुपर्नेले व्यापार नभएर तिरेका छैनन्, भाडा उठाउनुपर्नेले पनि त्यहि पैसाले घरको किस्ता तिर्नुपर्यो, घरखर्च चलाउनुपर्यो, समस्या नै छ । अझ कति घरभेटीहरुको त घर बहाल बाहेक अन्य कुनै आय स्रोत नै हुन्न । ती घरभेटीहरुलाई पनि मर्का नै छ ।  तर यति हुँदै गर्दा, दुखद पक्ष यहि हो कि, घरभेटीहरुले घरभाडा नपाउने समस्या दिनदिनै बढीरहेको छ । घरभाडा नतिरी भाग्नेहरुको संख्या बढी छ । व्यक्तिगत रुपमा पनि विद्यार्थी, वा कम आय स्रोत भएकाहरु घरभेटीको पैसा नतिरी भागेको पनि सत्य हो ।
अरुको ऋण नतिरी त मरियो भने पनि स्वर्ग गइन्न भनेर त साश्त्रमै लेखिएको छ । घरभेटीको भाडा तिर्नुपर्ने त झन् दायित्व नै हो । भाडा तिर्नुपर्नेले सकेसम्म समयमा नै तिरौं, अलि समय लागे पनि घरभेटीसँग निहुँ नखोजौं । घरभेटीले पनि अहिलेको मन्दीको समस्या बुझौँ । यो गाह्रो अवस्थामा सबै रहे सबैलाई फाइदा हो । एकले अर्कोलाई सहयोग गरौँ, सबै बचौं, सबै बचाऔँ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी