×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

प्रधानमन्त्री प्रचण्डले भने- ‘ब्याजदर घटेको छ, अझै घट्छ’

BIZBAZAR

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार आएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महंगी र ब्याजदरमा आएको सुधारले अर्थतन्त्र सुधारको स्पष्ट संकेत गर्ने बताएका हुन् ।

संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, रुस-युक्रेन युद्ध र विश्व अर्थतन्त्रको शिथिलताजस्ता बाह्य कारण र आन्तरिक संरचनागत समस्याका कारण संकटग्रस्त अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई समाधान गर्न सरकारद्वारा चालिएका कदमबाट केही क्षेत्रमा सकारात्मक नतिजा देखा परेको दाबी गरेका छन् । तर पनि अर्थतन्त्रका संरचनागत र प्रणालीगत कमजोरी र नीतिगत त्रुटी सच्याउनुपर्ने देखिएको प्रधानमन्त्रीको भनाई रहेको छ ।

त्यस्तै, शोधनान्तर समस्यालाई दीगो रूपमा समाधान गर्न आन्तरिक उत्पादन वृद्धिको विकल्प नरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । त्यसका लागि पनि अल्पकालीन र मध्यकालीन कदम चाल्ने तरखरमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘कृषि, पशुपन्छीपालन र वनजन्य उत्पादन सम्बन्धि हालका कार्यक्रमको पुर्नसंरचना र नयाँ कार्यक्रम कार्यान्वयन गरिँदैछ ।’, उनले भने, ‘लघु, साना, मझौला र ठूला उद्योगहरूको पूर्ण क्षमतामा सञ्चालन, लागत न्यूनीकरण र बजारीकरणमा सहयोग गरी औद्योगिक उत्पादन वृद्धिलाई प्रोत्साहन दिइँदैछ । पर्यटकको संख्या, बसाइ र खर्च बढाउन विशेष कार्यक्रम ल्याइँदैछ ।’

गत आर्थिक वर्षमा झण्डै ३ खर्ब रुपैयाँ बराबरको शोधनान्तर घाटा र पुँजीगत खर्चमा न्यूनताले वित्तीय प्रणालीमा तरलता अभाव, उच्च ब्याजदर र कर्जा अभाव जस्ता समस्या जन्माएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘अब शोधनान्तर सकारात्मक भएसँगै तरलता र ब्याजदरमा पनि क्रमिक सुधार हुँदैछ ।’, उनले भने, ‘सहकारी संस्थाहरूका विकृति र विसंगतिको दीर्घकालीन समाधानका लागि तत्काल उच्चस्तरीय अध्ययन समिति गठन गरिँदै छ । समग्र लघुवित्त क्षेत्रमा नियामकीय सुधारका लागि नेपाल राष्ट्र बैंकले चाल्ने आवश्यक कदममा सरकारले आवश्यक सहयोग गर्दैछ ।’

त्यस्तै, उनले लक्ष्यभन्दा माथि पुगेको मुद्रास्फीति दर घटाउन सरकारले यसबीचमा चालेका कदमहरुका कारण आगामी दिनमा मूल्यवृद्धिको ठूलो चाप भोग्न नपर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal