×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकको मर्जरको चर्चा र यथार्थ, बैंकबाटै चुहिएको थियो सूचना, थप नालीबेली…(भिडियोसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्था मर्जरमा जानु ठुलो कुरा होइन र रहेन । यी बैंकहरु पनि मर्जरमा जालान् र ? भन्ने सोचिएका बैंकहरु पनि एक आपसमा गाभिए । भलै मर्जरमा गएका धेरै बैंकहरुमा स्टाफ एडजष्टमेन्टको लफडा सकिएको छैन ।र पनि बैंकहरु एक आपसमा मर्जरमा गई नै रहेका छन् । अझ कमजोर भनिएका बैंकहरु त लगभग सकिए भन्दा पनि हुन्छ नेपालमा । बैंकहरुमध्येकै कमजोर सनराइज बैंक पनि लक्ष्मी बैंकसँग मर्जरमा जाने भएपछि कुनै बेला कमजोर भनिएका र मानिएका सेन्चुरी कमर्सियल बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डु मेगा बैंक लगायतका बैंकहरु अरु बैंकसँग मर्जरमा गईसकेका छन् भने बाँकी रहेको कमजोर मध्येको एक सनराइज बैंक पनि मर्जरमा जाने तयारीमा छ ।

तर अव बलियोले कमजोरलाई प्राप्ति गर्ने मात्र होइन, राम्रा राम्रा बैंकहरु पनि मर्जरमा गएर अझ राम्रो बैंक बनाउने विषयले बैंकिङ क्षेत्रमा प्रवेश मात्र गरेको छैन, बरु बैंकरहरु यस विषयमा गम्भीर कसरथमा लागेका छन् । भलै यो मर्जरको सूचना होइन, तर सत्यचाहिं के हो भने, एनसीसीसँग गाभिएर बनेको कुमारी बैंक, सिभिल बैंक प्राप्तिपछिको हिमालयन बैंक, र मेगा प्राप्तिपछिको मेगा इन्भेष्टमेन्ट बैंक पनि फेरी मर्जरमा नजालान् भन्न सकिन्न । आखिर व्यापार सम्भावनाको खेल न हो ।

र यस्तै सम्भावनाका बीच सिद्धार्थ बैंक पनि मर्जरमा जाने हल्ला चल्यो केहि दिनअघि । हल्ला चल्यो भन्दा पनि चलाइयो । कहाँबाट चलाइयो भन्दा, कुरा स्पष्ट छ, सिध्द्धार्थको बोर्डका केहि संचालकहरुबाटै चलाइयो । यसरीसम्म चलाइयो कि सिद्धार्थका कतिपय कर्मचारीहरु त बिहिबार वा शुक्रबार हाम्रो बैंक अर्को कुनै एक बैंकसँग मर्जरमा जाने तयारी भईसक्योसम्म भन्दै थिए । हल्ला यसरी चलाइयो कि सिद्धार्थ बैंक कुनै एक बैंकसँग मर्जरमा जान लागेको चर्चा सेयर ब्रोकर हाउसहरुसम्म पुग्यो, सिद्धार्थका कर्मचारी तहसम्म पुग्यो । संचालकबाट नै सूचना चुहिएपछि, अझ भनौं भएको भन्दा बढाई चढाई गरेर सूचना चुहिएपछि सेयर बजारमा यो कम्पनीको सेयर बजार नै प्रभावित हुनेगरी किनबेच भयो ।

चौतर्फी चलेको हल्ला नेप्सेसम्म पुग्यो । नेप्सेसम्म हल्ला पुगेपछि नेप्सेले यस विषयमा सिद्धार्थ बैंकलाई कुरो के हो भनेर सोध्यो । त्यसपछि सिद्धार्थ बैंकले नेप्सेलाई सम्बोधन गर्दै यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीच मर्जर एक्वीजिसन सम्बन्धि फैलाइएको समाचारतर्फ बैंकको ध्यानकार्षण भएको र त्यस्ता समाचारमा कुनै पनि आधिकारिकता नरहेको भन्ने जवाफ पठायो ।  नेप्सेले स्पष्टीकरण सोध्यो, सिद्धार्थले जवाफ पठायो, त्यहि जवाफ नेप्सेले आफ्नो वेवसाइटमा हाल्यो र त्यसपछि लगानीकर्ताले पनि ए होइन रहेछ, हल्लामात्र चलेको रहेछ भन्ने ठाने । तर सिद्धार्थ बैंकको बिज्ञप्तिबाजी र सिद्धार्थको मर्जरको हल्लापछाडीको यथार्थ केहि फरक छ ।

सुरुमा लागौं सिद्धार्थ बैंकको विज्ञप्तितर्फ । सिद्धार्थ बैंकले आफ्नो बैंक र कुनै एक बैंक तथा वित्तीय संस्थाबीच हुन लागेको मर्जरसम्बन्धि  फैलाइएको समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । तर सत्य कुराचाहिं के हो भने सिद्धार्थले नेप्सेलाई लेखेर पठाएझैं सिद्धार्थको मार्जरका विषयमा कुनै पनि समाचार संचारमाध्यममा प्रकाशन / प्रशारण भएकै थिएन । बरु सिद्धार्थका केहि संचालकले चुहाएको सूचना सेयर खेलाडीहरुले भेरिफाई गर्न नेप्सेका उच्च अधिकारीलाई फोन गरेपछि नेप्सेले सिद्धार्थ बैंकमा यस विषयमा सोधनी गरेको थियो ।

लगानीकर्ताले नबुझेको अर्को कुरा के हो भने, सिद्धार्थ बैंकले नेप्सेलाई पठाएको स्पष्टीकरणमा पनि उसले हाम्रो कुनै पनि बैंक तथा वित्तिय संस्थामा मर्जर तथा प्राप्तिको औपचारिक कुराकानी भएको छैन भनेर भनेको छैन । बरु  उसले उसको भाषामा  बाहिर आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको र ती समाचारमा आधिकारिकता नभएको बताएको छ । एक त समाचार त्यसरी प्रकाशित भएकै थिएन । र अर्को कुरा चर्चा र चुहाइएका सूचनामा आधिकारिकता हुने कुरै भएन । बैंकले हाम्रो कुनै पनि बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको कुरै भएको छैन भनेको भए बैंक मर्जरमा जाने भनेर चलेको हल्लालाई गलत नै भन्न सकिन्थ्यो । तर बैंक स्वयमले पनि हाम्रो बैंक मर्जर तथा प्राप्तिमा जाने भनी आएका समाचारमा आधिकारिकता नभएको मात्र उल्लेख गरेको छ । यसको अर्थ यसरी लगाए पनि त हुन्छ नि, बाहिर आएका कुरा आधिकारिक होइनन्, बरु आधिकारिक कुराचाहिं आउन बाँकी नै छ ।

तपाईं फेरी भन्नुहोला यो कहाँको लजिक हो ! हो, यो लजिक हाम्रो होइन, सिद्धार्थ बैंक मर्जरमा जाने गरी भएका छलफलको सूचना चुहाउने संचालकले बैंकको विज्ञप्ति आएपछि खेलाडीलाई दिएको तर्क हो । यसको अर्थ सिद्धार्थ कुनै बैंकसँग मर्जरमा जाने फाइनल नभएको पक्कै हो, यो यति सहज तरिकाले फाइनल हुने कुरा पनि होइन, अझ अव विज्ञप्ति नै जारी गरिसकेपछि त लाज छोप्न पनि केहि समय कुर्नु पर्ने नै भयो, तर बैंकका संचालकले अनौपचारिक नै सहि, मर्जरका विषयमा छलफल अघि बढाएकै हुन् । किनकि हावा नचली कसैले चलाईदिएकै भरमा पात हल्लिने अलिअलि मात्र हो, यसरी हावा हुण्डरी नै आएजसरी पात हल्लिन भने राम्रै हावा चल्नुपर्छ । र सिद्धार्थ बैंकको केसमा पनि यस्तै भएको हो ।

के सिद्धार्थले मर्जरको तयारी गरेको हो त ? सिद्धार्थले मर्जरको तयारी गरेको भन्दा पनि मर्जरका विषयमा छलफल सुरु गरेको पक्कै हो । अव त्यस्ता छलफललाई संस्थागत गरियो, गरिएन फरक कुरा भयो, तर सिद्धार्थले राम्रो पार्टनर खोजेको पक्कै हो । यस विषयमा बैंकले केहि राम्रा बैंकसँग छलफल गरेको पनि पक्कै हो । तर आफ्नै संचालकले सूचना चुहाएपछि अहिले बैंक यस विषयमा अलि हच्किएको पनि पक्कै हो । सूचना चुहावटपछि कसले सेयर किने र कसले सेयर बेचे भन्ने अनुसन्धान हुने हो भने सिद्धार्थ बैंकका संचालकले कसरी सूचना चुहाएका रहेछन् भन्ने पक्कै थाहा हुन्छ।

अनि मर्जरको छलफल भएको रहेछ त किन नेप्सेमा होइन भनेर चिठी पठाएको त भन्ने प्रश्न लगानीकर्ताको हुन सक्छ । त्यस्ता लगानीकर्ताले सिद्धार्थ बिंकको पत्र फेरी पढून्, जहाँ यस सम्बन्धमा छलफल अघि बढाइएको छैन भन्ने आँट सिद्धार्थ बैंकले गर्न सकेन । बरु उसले बाहिर फैलाइएका समाचारहरु आधिकारिक होइनन् भन्ने उल्लेख गरेको छ । हो नि, बैंकले पठाएको आधिकारिक प्रेस रिलिजबाहेक मर्जरसम्बन्धि आउने सूचना आधिकारिक हुने कुरै भएन । अव आधिकारिक सूचना त मर्जरको सम्झौतापछि बैंकले पठाउने हो, त्यो बजारका ट्रेडरलाई के काम ?

अझ कुरा बैंकको विज्ञाप्तिको मात्र होइन, कुरा सूचना चुहावटको हो । नेप्सेलाई जानकारी नै दिनुपर्ने गरी कसले मर्जरको सूचना चुहायो त, यसतर्फ धितोपत्र बोर्ड चनाखो हुन जरुरी छ । सिद्धार्थ मर्जरमा जान लाग्यो भनेर बाहिर सूचना ल्याउने को हो त ? होइन, सूचना यसरी बाहिर ल्याउने सिद्धार्थका मान्छे होइनन् भने को हो त ? यदी मर्जरको छलफल नै भएको थिएन भने मर्जर हुने पक्कापक्कीजस्तै भयो भनेर हल्ला कहाँबाट फ़िजाइयो, यसतर्फ पनि त बोर्डले ध्यानाकर्षण गरेर यस विषयमा छानविन गर्नुपर्छ नि, होइन र ? किनकि मर्जरको चर्चापछि भएको सेयर कारोबारले प्रष्ट पार्छ, सिद्धार्थ मर्जरमा जान लागेको सूचना केहि ठुला लगानीकर्तासम्म पनि पुगेको थियो ।

मर्जरका औपचारिक, अनौपचारिक छलफल हुनु अन्यथा होइन । छलफल नगरी मर्जर गर्ने कुरा सम्भव पनि छैन । छलफलले सहि निष्कर्ष नै निकाल्छ भन्ने पनि होइन । छलफल गरेर अन्तिम समयमा छलफल बिग्रिएका घटना मर्जरको केसमा थुप्रै छन् । कुनै बेला कुमारी बैंकले मेगा गाभ्ने लगभग पक्का भएपछि पुन: सो छलफल बिग्रिएको थियो । नबिलले एनसीसी बैंकलाई लिने कुरा पनि लामो छालफल पछि बिग्रिएको थियो । अझ छलफलको मात्र के कुरा भो र, सम्झौता नै गरेका कतिपय मर्जर पनि भाँडिएका छन् । तर हाम्रो छलफल भयो भनेर सूचना लिक गर्नुचाहिं गलत हो, र सिद्धार्थको केसमा पनि गलत भयो ।  
अव समग्रमा सिद्धार्थ मर्जरमा जाने सम्भावना छ त ? वा मर्जरका लागि बैंकले छलफल सुरु गरेको हो त ? हो । यसमा त कुनै शंका नै छैन कि सिद्धार्थ बैंक मर्जरमा जाने सम्भावना अथाह छ । सिद्धार्थ बैंकका साहुहरुले छलफललाई संस्थागत गरे कि गरेनन्, त्यो भोलिका दिनमा थाहा होला, तर मर्जरका लागि कुरा भएकै हो । छलफल अघि बढेकै हो । तर निष्कर्षसम्म छालफल नपुग्दै बाहिर सूचना लिक भयो, जुन अलिअलि होइन सार्है गलत भयो ।

यसो त सिद्धार्थ बैंकमात्र होइन, बजारमा राम्रा भनिएका अन्य बैंक पनि मर्जरको तयारीमा छन् । केहिले छलफल अगाडी बढाएका छन्, केहि निषकर्ष नजिक पुग्न खोजिरहेका छन्, केहि बैंकले राम्रा पार्टनर हेरिरहेका छन् । छलफल त ‘वाह ! यसो पो बिग मर्जर’ भन्ने गरी नै केहि बैंक मर्जरको तयारीमा छन् र यसका लागि व्यापक छलफल भईरहेको छ । कुरा यति हो, सिद्धार्थमा जसरी उनीहरुको सूचना लिक भएको छैन ।

सेयर लगानीकर्ताहरु हल्लाको पछि लाग्नु हुँदैन । सोचेर, बुझेर मात्र सेयरमा लगानी गर्नुपर्छ । तर त्यो भन्दा ठुलो अपराध विभिन्न कम्पनीहरुबाट यस्ता सूचना लिक गरेर र लिक  भईसकेपछि भएको के हो भनेर स्पष्ट पार्नुभन्दा त्यसको खण्डन गरेर अनि फेरी अन्तिममा मर्जरमै गएर लगानीकर्तालाई गुमराहमा राखेर गरिरहेका छन् । यसतर्फ नियामक धितोपत्र बोर्ड, फ्रन्ट लाइन रेगुलेटर नेप्से लगायतका संस्थाहरु सजग बन्न जरुरी छ । र अन्तिममा, सेयर बजार जोखिमको क्षेत्र हो, यसमा लगानी गर्नुपूर्व सोचविचार गरेर मात्रै गर्नुपर्छ । कसैको हल्लाका पछि त झन् लाग्नै हुँदैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: