×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईईको परिक्षामा जताततै ‘नक्कली परिक्षार्थी’, एउटा विषयको परिक्षा दिँदा ३० हजारसम्म असुली ! (भिडियोसहित)

PRIME CA
GLOBAL IME BANK

एसईईको परिक्षामा जताततै ‘नक्कली परिक्षार्थी’, एउटा विषयको परिक्षा दिँदा ३० हजारसम्म असुली ! (भिडियोसहित)

२४ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौं । केहि दिन अघि ससुराको परिक्षा दिईरहेका ज्वाईंलाई प्रहरीले पक्राउ गर्यो । त्यसको भोलिपल्ट छोरालाई चिट चोराईरहेको भन्दै एक अभिभावकलाई प्रहरीले पक्राउ गर्यो । यसपटकमात्र होइन गत साल पनि यस्ता छिटपुट घटना बाहिर आउंथे । यी त सामान्य घटना हुन्, नेपालमा एसईई होस् वा अन्य कुनै परिक्षा, नक्कली परीक्षार्थीहरुको ठुलो जालो छ । बिषय गनेर, गाह्रो सजिलो के छ भनेर, कसले कसको परिक्षा कतिमा दिने हो खुलेआम डिल हुन्छ यहाँ । ढिलै भए पनि मोरङ प्रहरीले यसरी नक्कली परीक्षार्थी बनेर अरुको परिक्षा दिने ठुलै हुललाई पक्राउ गरेको छ । बिहीबारमात्रै यसरी अरुको परिक्षा दिने झन्डै २०० विद्यार्थी मोरङ प्रहरीले पक्राउ गरेपछि नक्कली परिक्षाका नाममा हुने ठुलो लेनदेनको खुलासा भएको छ ।
मोरङका तीनवटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने दुई सय  बढी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालका अनुसार बुधबार दुई यस्ता नक्कली परीक्षार्थी समातिएका थिए । ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेपछि नक्कली परिक्षाको यस्तो जालोको तथ्य बाहिरिएको हो ।
उनीहरुको बयान, र अन्य गोप्य सूचनाका आधारमा प्रहरीले बिहीबार एक सय ९९ जनालाई पक्राउ गरेको हो । उनका अनुसार जिल्लाको ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट मात्रै ५२ जनालाई नियन्त्रणमा लिईएको छ भने केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १ सय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहरैंचाको जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो । अचम्मको कुरा त के छ भने मोरङमा रहेको सार्वजनिक माविमा एसईईको परिक्षा दिईरहेका २ सय ९८ जनामध्ये १ सय २७ जना परीक्षार्थी नक्कली थिए ।  ग्रामथान गाँउपालिकास्थित सरस्वती माविमा परिक्षा दिईरहेका २ सय ९२ जनामध्ये ५३ जना विद्यार्थी नक्कली थिए । सुन्दरहरैंचा नगरपालिकाको जनता माविमा परिक्षा दिईरहेका ३ सय ११ जना मध्ये २० जना नक्कली परिक्षार्थी पक्राउ गरिएको छ ।
यसरी नक्कली परिक्षा दिने काम नयाँ भने होइन । यसअघि पनि थुप्रैले यसरी नक्कली परिक्षा दिएर लाखौँ रुपैयाँ कमाईसके, विज्ञान ब नजान्नेले विज्ञानमा ८७ अंक ल्याएका उदाहरणहरु यस अघि पनि देखिएका थिए । सुन्दा केहिलाई अपत्यारिलो लाग्न सक्छ, तर यसरी नक्काली परिक्षा दिन सार्है सजिलो छ । फर्म एउटाको भरिन्छ, प्रवेश पत्रमा फोटो अर्कैको हालिन्छ । जो परिक्षा दिने हो, प्रवेश पत्रमा उसैको फोटो आएपछि परीक्षार्थीबारे प्रश्न गर्ने कुरै भएन । यसो त परिक्षा दिईरहेकामध्ये अधिकांस नक्कली हुन्छन् र छन् भन्ने कुरा धेरैलाई थाहा भएर पनि थाहा नभएजसरी गरिदिन्थे धेरै । जसका कारण यो धन्दा बर्षौंदेखि खुलेआम चलिरहेको थियो मोरङमा । तर यसपाली प्रहरीको जालमा परे उनीहरु । गोप्य सूचनाका आधारमा परिक्षा केन्द्रमा गएर प्रहरीले ती नक्कली परीक्षार्थीहरुसँग सोधपुछ गर्यो । तर धेरैले त आफ्नो जन्ममितिसमेत भन्न सकेनन् । त्यसपछि त माकुरी जालमा परेरै छोड्यो ।
अंग्रेजी, गणित र विज्ञानको परिक्षाको रेट प्रति परिक्षा १५ देखि २० हजार, अंग्रेजीमात्रै दिएको सरदर ७००० विज्ञानको १० हजार र गणितको १२ हजार रुपैयाँ मोरङतिर चलेको रेट हो । गर्लग्रेण्ड वा श्रीमतीको परिक्षा दिएको फ्री हुने भईगो । अलि भीआईपी, पैसावाल वा तिनका आफन्तको परिक्षा दिएको २५ हजार रुपैयाँदेखि ३० हजार रुपियाँसम्मको लेनदेन सामान्य यो यता । पैसा दिने, लिने, बीचमा मिलाईदिनेलाई सबैले सबैलाई चिन्छन् । जान्ने मान्छेले विहानै परिक्षा दिन्छन्, परिक्षा सकेपछि दिउँसो पैसा लिन्छन् । उही मान्छे फरक फरक मान्छेका फरक फरक परिक्षा दिनेदेखि उही मान्छेलाई पूरै परिक्षा दिने ठेक्कासमेत दिईएको हुने रहेछ यता । अनि पढेर पास गर्छु भन्नेलाई तनाव, पैसाका भरमा सर्टिफिकेट लिन खोज्नेहरुलाई मोज चलि नै रहेको थियो ।
सलाम ! मोरङ प्रहरीलाई, यो आँटका लागि । सलाम प्रहरीलाई यो साहसका लागि । नक्कली परीक्षार्थीहरु कोहि नेताका आफन्त, कोहि जनप्रतिनिधिका आफन्त, कोहि भीआईपीका मान्छे छन् भन्ने थाहा पाउँदा पाउँदै पनि कानुन भनेको कानुन हो भनेर कानुनी फन्दामा ती गैरकानुनी काम गर्नेहरुलाई पक्राउ गरेकोमा प्रहरीलाई विशेष बधाई ।  र मोरङप्रहरीबाट देशभरका अन्य सुरक्षा निकायले पनि सिकुन, तपाईंको वरपर पनि अनुसन्धान हुन जरुरी छ । किनकि मोरङ  मात्र होइन, देशभरका विभिन्न परिक्षा हलहरुमा सय होइन, हजार, हजार होइन हजारौं नक्कली परीक्षार्थीहरुले नक्कली परिक्षा दिईरहेका छन् । बर्षौंदेखि चल्दै आएको, तर कसैले बोल्ने र अनुसन्धान गर्ने आँट नगरेको यो विषय अव सोचनीय विषय बनेको छ । सम्बन्धित सबैले ध्यान दिउन् ।
यसो त एसईईमा मात्र होइन, प्लस टुमा, ब्याचलरमा, माष्टर्समा वा अन्य पेशागत पढाईमा पनि यस्ता नक्कली परीक्षार्थीहरुको बिगबिगी छ । आफु नपढ्यो, अरुलाई पैसा दिएर परिक्षा दिन लगायो, अनि पास भएको सर्टिफिकेट लियो । कतिको मोज आज उत्रिएको छ, कतिको केहि दिन अझै उत्रिएला । तर यसरी अरुको परिक्षा दिने नक्कलीहरुको मुखुण्डो उत्रिनुपर्नेजति उत्रिएको छैन । किनकि अहिलेसम्म त मात्र २०० समातिएका छन्, नेपालभर परिक्षा दिने यस्ता नक्कली परीक्षार्थीहरुको अनुमानित संख्या हजार होइन, हजारौंमा छ ।
यो देशमा यस्ता विद्यार्थी धेरै छन्, जसले परिक्षा पास गर्नका लागि दिनरात मेहेनत गरेका छन् । आफ्नो करियर बनाउनलाई दिनरात पढेका छन् । तर दिनरात पढेकाहरुको मेहेनतका अगाडी पैसाले सढेका ती लट्ठकहरुको बिगबिगी हुँदा यो देशको शिक्षा बागमतीमा मिसिएको ढलझैं फोहोर भएको छ । नेता नै आफ्नो परिक्षा अरुलाई दिन लगाउने यो देशमा थिति बस्नेछ भन्ने आश त राखिहाल्नु ठिक नहोला, तर ढिलो हुनु अगावै फलामे  ढोका भनिएको एसईई र यस्ता परिक्षामा नक्कली धन्दा चलाउने नक्कलेहरुको फण्डाफोर गर्न आवश्यक छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: