×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पैसा मात्र होइन ग्राहकको डकुमेन्ट पनि दुरुपयोग हुन्छ एभरेष्ट बैंकमा’, आन्तरिक सर्कुलर नै छ्यापछ्याप्ती !

अर्थ सरोकार

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार

PRIME CA

‘पैसा मात्र होइन ग्राहकको डकुमेन्ट पनि दुरुपयोग हुन्छ एभरेष्ट बैंकमा’, आन्तरिक सर्कुलर नै छ्यापछ्याप्ती !

काठमाडौँ । ग्राहकको खातामा रहेको रकम चोरेर करोडौं हिनामिना भएको एभरेष्ट बैंकमा ग्राहकका डकुमेन्टसमेत असुरक्षित रहेको खुलासा भएको छ । बैंकका कर्मचारी निरज प्रधानले बैंकमा रहेका निष्क्रिय खाताबाट रकम चोरेको भन्दै प्रहरीले नीजलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका बेला बैंकभित्र यसअघि पनि ग्राहकका नागरिकता लगायतका डकुमेन्टहरु दुरुपयोग भएको, ग्राहकका डकुमेन्ट दुरुपयोग भएको प्रमाणित हुँदा पनि यसरी दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही नगरेको तथ्य फेला परेको छ । यति मात्र होइन, बैंकले आफ्ना कर्मचारीलाई पठाउने आन्तरिक सर्कुलरहरु पनि बैंकका उच्च अधिकारीहरुले नै असम्बन्धित मान्छेलाई पठाउने गरेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । यसले बैंकको सुरक्षामाथि थप प्रश्न चिन्ह उठाएको छ ।
यसरी भएको थियो ग्राहकको डकुमेन्टको दुरुपयोग 
कुरा केहि समय अघिको हो । बैंकमा कार्यरत एक महिला कर्मचारीले बैंकका ग्राहकको नागरिकता दुरुपयोग गरेर ग्राहकलाई जानकारी नै नदिई २४ वटा डिम्याट खाता खोलेको, ती सबैबाट आईपीओ भरेको र ती सबै डिम्याट बैंककि एक कर्मचारीले नै प्रयोग गर्ने गरेको पाइएको थियो । पछि जव एक ग्राहकले आफ्नो नाममा डिम्याट खाता आफ्नो नागरिकताको दुरुपयोग गरी खोलेको भन्दै बैंकमा मौखिक उजुरी दिए, तव बैंकले यस विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा बैंकले आफ्नी कर्मचारीले  गलत काम गरेको स्वीकार्दै सो खाताहरु तत्काल बन्द गर्न निर्देशन दिएको थियो । त्यसपछि ती महिला कर्मचारीले ती सबै खाता बन्द गरेकी थिइन् । विना जानकारी अरुको खाता दुरुपयोग गरेर डिम्याट खाता खोलेको प्रमाणित हुँदा पनि उनलाई कारवाही भने भएन । बरु उल्टै ग्राहकलाई आर्थिक हानी केहि पनि नभएकोले ‘एक पटकलाई छोडीदिउँ’ भनेर बैंकले ती कर्मचारीलाई जोगाएको थियो । यसरी खाता दुरुपयोग गर्ने ती कर्मचारी हाल काठमाडौँस्थित एक साखामै कार्यरत छिन् ।
सो प्रकरणमा ती महिला कर्मचारीलाई बैंकले कारवाही गर्नुको सट्टा उल्टै जोगाएपछि गलत काम गर्दा पनि एभरेष्टमा कारवाही नहुने रहेछ भनेर कर्मचारीहरुलाई गलत काम गर्न प्रेरित गरेको स्वयम् बैंकका कर्मचारीहरुको दाबी छ । ‘हाम्रो बैंकमा ग्राहकको खातामात्र होइन, ग्राहकका डकुमेन्टसमेत दुरुपयोग भएका छन् । तर यसरी ग्राहकका नागरिकता दुरुपयोग गरेर, अर्काको नाममा डिम्याट खाता खोलेर बैंककि कर्मचारीले चलाउँदा पनि बैंकले कारवाही गरेन ।’ अर्थ सरोकारको सम्पर्कमा आएका एभरेष्ट बैंकका एक कर्मचारी भन्छन्- ‘ती कर्मचारीलाई तत्काल कारवाही हुनुपर्थ्यो । तर ग्राहकलाई आर्थिक हानी नभएको भन्दै उनलाई छुट दिइयो । उनी अहिले पनि बैंकमै काम गर्छिन् । एक पटक गलत गर्दा कारवाही नपाएकी उनले फेरी पनि ग्राहकको डकुमेन्ट दुरुपयोग गरेकी छैनन् भन्ने कसरी पत्याउने ? यसरी बैंकमा नागरिकता दुरुपयोग भएको कुरा बैंकमा धेरैलाई थाहा छ । सायद, अहिले बैंकको खाताबाट पैसा चोर्ने निरज प्रधान पनि यहि कारण हौसिए कि, के थाहा ? यस्तो गम्भीर कुरालाई बैंकले वास्ता नगर्दा हामी स्वयम् कर्मचारी पनि बैंक सुरक्षित छ भन्न सकिने अवस्थामा छैनौँ ।’
त्यतिबेला सेयर बजारको चर्चा चौतर्फी भईरहेका बेला ती कर्मचारीले बैंकका ग्राहकहरुको डकुमेन्ट दुरुपयोग गरेर डिम्याट खाता खोल्ने, मेरो सेयर खोल्ने र आईपीओ भर्ने काम गरको पत्ता लाग्दा पनि बैंकले ती कर्मचारीलाई छुट दिएका कारण एभरेष्टमा पावर भए जस्तोसुकै गल्तीमा पनि माफी पाइने रहेछ भन्ने सन्देश कर्मचारीमा गएको ती कर्मचारीको गुनासो छ ।
बैंकका इन्टरनल सर्कुलर पनि छ्यापछ्याप्ती, आन्तरिक मेमोसमेत असम्बन्धित मान्छेको ह्वाट्सएपमा !
बैंकको सुरक्षा प्रणाली यतिसम्म कमजोर देखिएको छ कि, बैंकले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक सर्कुलर पनि असम्बन्धित व्यक्तिहरुको हातमा पुग्ने गरेको छ । आफ्नो साथी एभरेष्ट बैंकमा काम गर्ने र एभरेष्ट बैंकमा पैसा चोरीको प्रकरणपछि निकै कडा सर्कुलर आएको भन्दै बैंकमा काम नै नगरेका व्यक्तिले सो सर्कुलर अर्थ सरोकारलाई पठाएका छन् । सो सर्कुलरमा बैंक व्यवस्थापनले विभिन्नखाले निर्देशन दिएको छ । यो सर्कुलर बैंकका कर्मचारीबाहेक अन्त कतै जानु नपर्ने हो । तर बैंककै उच्च अधिकारीबाट नै यो सर्कुलर असम्बन्धित मान्छेलाई जाने गरेको पाइएको छ ।
बैंकको आन्तरिक डकुमेन्ट नै यसरी बाहिर छ्याप्छ्याप्ती पठाउने बैंकमा ग्राहकका अन्य विवरण सुरक्षित हुन्छन् भन्ने कुरामा शंका गर्ने ठाउँ प्रसस्तै छ । तर बैंक हदैसम्म असुरक्षित रहेको सन्देश आम जनतामा गएपछि बैंकले आइतबार एक विज्ञप्ति नै सार्वजनिक गरेर बैंकमा ग्राहकका विवरण सुरक्षित रहने दाबी गरेको थियो ।
तर बैंकले सो दाबी गरेकै भोलिपल्ट विहान असम्बन्धित व्यक्तिको हातमा बैंकका आन्तरिक सर्कुलर, मेमो र अन्य डकुमेन्टहरु पुगेको भेटिएको छ ।
विवरण दुरुपयोगको निरन्तर चर्चा, तर बोल्दैन बैंक !
यसो त एभरेष्ट बैंकमा रहेका ग्राहकको विवरण सजिलै असम्बन्धित व्यक्तिको हातमा पुग्ने गरेको चर्चा नयाँ होइन । यसअघि पनि विभिन्न पत्रपत्रिकामा एभरेष्ट बैंकमा रहेको सांसद, मन्त्री तथा अन्यको खाता विवरण असम्बन्धित व्यक्तिकहाँ पुग्नेगरेको खबर बाहिर आएको थियो । तर बैंकले यस विषयमा चुइक्क पनि बोलेन । यति गम्भीर प्रश्न उठेपछि पनि बैंक नबोल्नुलाई अर्थपूर्ण रुपमा त्यतिबेला नै हेरिएको थियो ।
पछिल्लो समय बैंकका आन्तरिक डकुमेन्टहरु नै असम्बन्धित व्यक्तिको हातमा पुगेको बारे पनि बैंक बोल्न मानिरहेको छैन । सकेसम्म बोल्न नपरोस् भनेर बैंकले सूचना अधिकारीको मोबाइल नम्बरसमेत बैंकको वेवसाइटमा राखेको छैन । बैंकले बैंकका सूचना अधिकारीको रुपमा केशब राज पौडेललाई तोकेको छ । तर वेवसाइटमा उनको ल्याण्डल्याइन नम्बरमात्र दिइएको छ, जुन हत्तपत्त उठ्दैन । उनको मोबाइल नम्बर माग्दा बैंकका अन्य अधिकारीहरु पनि दिंदैनन् । एकातर्फ बैंकका आन्तरिक सर्कुलर नै बाहिरिनु, अर्कोतर्फ बैंकभित्र गलत गर्नेलाई पनि बैंकले सकेसम्म जोगाउन खोज्नु अनि सूचनाको हकलाई समेत बर्जित गर्न खोजेर बैंकका सूचना अधिकारी सम्पर्कमै नआउनुले बैंकभित्र कुन हदसम्मको लापरवाही हुन्छ भन्ने तथ्यलाई पनि पुष्टी गरेको छ ।
अपडेट:
केशब पौडेलको फोन नम्बर नभेटेपछि हामीले पौडेललाई फोन नम्बर उपलब्ध गराईदिन मेल गरेका थियौँ । त्यसपछि अर्थ सरोकारको सम्पर्कमा आएका पौडेलले नक्कली डिम्याट खाताबारे आफुलाई थाहा नभएको र यस विषयमा बुझ्ने बताएका छन् । ‘तपाईंले जानकारी दिनुभयो, धन्यवाद । मलाई यस विषयमा जानकारी छैन । के भएको रहेछ म बुझेर खबर गर्छु । तर गलत गर्नेलाई छोडेर अरुलाई गलत काम गर्न हौसाउने हाम्रो नियत होइन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘जहाँसम्म ग्राहकका डकुमेन्टहरु दुरुपयोग भएका छन् भन्ने छ, यसको हामी छानविन गर्छौँ । मेमो र आन्तरिक सर्कुलर नै बाहिरिए भन्ने कुरामा चाहिं के भन्न सकिन्छ र, यति धेरै स्टाफ छन्, जसले जे पनि गरिदिन सक्ने भयो ।’   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: