काठमाडौँ । बैंक मर्जरका कारण अहिले बैंकभित्र अनेक समस्या देखिएका छन् । सिनर्जी आउनुपर्ने ठाउँमा ‘नेगेटिभ इनर्जी’ छ। मर्जर भएकामध्ये कुमारी-एननसीसीमा कर्मचारीहरुको लफडा सकिएको छैन । नबिलले नेपाल बंगलादेश बैंक प्राप्ति गरेपछि त एक साखामा कर्मचारीहरुको भुत्लाभुत्ली नै भयो । लक्ष्मी र सनराइज, हिमालयन र सिभिल भित्र पनि यस्ता अनेक झमेला आईलागेका छन् यतिबेला । समग्रमा भन्दा मर्जरका कारण मर्जरमा गएका बैंकका कर्मचारी खुसी छैनन् । मर्जरपछी बैंक झन् बलियो हुनुपर्नेमा सबैजसो बैंकमा केहि न केहि आईलागेको छ । यी त देखिएका तथ्य भए । अक्सर बाहिर नआएका बैंक मर्जरको अर्को एउटा बेथिति बाहिर आएको छ, जसका कारण बैंकलाई घर भाडामा दिनेहरु तनावमा छन् ।
२३ बर्ष बसेर जव बैंक अफ काठमाण्डु घर बिगारेर हिंड्यो…
तत्कालीन बैंक अफ काठमाडौँलाई घर भाडामा दिएका व्यक्ति अहिले बैंकले घरको मर्मतसम्भार नगरी हिडीदिएपछी पीडामा छन् । सन् २००० देखि सन् २०२३ सम्म आफ्नो घरमा बसेको बैंक, ग्लोबल आईएमई बैंकसँग मर्जरमा जाँदै गर्दा घरलाई लठीबद्र बनाएर बैंक हिंडेपछि अहिले सो घरका प्रोपर्टी मेनेजर कानुनी लडाईमा छन् । तत्कालीन बैंक अफ काठमाडौँले घर बहालको सम्झौता गर्दा घर छोड्ने बेलामा प्रयोगका लागि योग्य बनाउँछु भनी सम्झौता गरेको छ । तर बैंकले छोड्ने बेलामा उही हरि बहादुरले ‘कुन पैसा ?’ भनेको शैलीमा ‘कुन सम्झौता?’ भनेजसरी घरलाई उल्टै क्षति पुर्याएर हिंडेको घरबहालका सम्झौताका घरभेटी पक्ष बताउँछन् ।

बैंकले झन्डै २३ बर्ष सो घर प्रयोग गर्यो । आफुलाई चाहिँदा घरको गर्नसम्मको प्रयोग गर्यो । तर घरको मर्मत सम्भार गर्नुपर्ने ठाउँमा यो घरभेटीको घर त हो नि भन्ने शैलीमा घरका भित्ता तथा पर्खालहरु भत्किंदा पनि मर्मत गर्न खोजेन । घरका सिलिङ चुहिन थाले, तर त्यसको पनि मर्मत भएन । घरभेटीले उल्टै पटक पटक सो घर मर्मत गर्नुपर्यो भन्दै बैंकलाई ताकेता गरेका थिए । तर बैंकले टेर्दै टेरेन । २००२ देखि भाडामा बसेको बैंकले सन् २००७ मा सो सम्झौता नवीकरण गरेको थियो । पछी २०१९ मा घर बहाल सम्झौताको म्याद सकिएपछी पुन: बैंकले १ बर्षकालागि सम्झौता गर्न खोजेको थियो । तर एक बर्षका लागि घरबहाल सम्झौता गर्न घरभेटीले नमानेपछि बैंकले ५ बर्षकै लागि सम्झौता गरेको थियो । तर अहिले बैंक मर्जरमा गयो, सो साखा खारेज भयो, अनि बैंक हिंड्यो । आर्थिक मन्दीका बीच घर लठिबद्र पारेर छोडीदिएपछी अहिले न घरभाडामा लिन कोहि आउँछन्, न बैंक आफुले गरेको क्षतिको मर्मत गर्न तयार भयो ।
‘अहिले बैंकले आफ्ना सामानहरु पनि पूर्ण रुपमा व्यवस्थापन नगरेको, बैंकले बैंक प्रयोजनका लागि तयार गरेका संरचनाहरु पनि नहटाएको, र घरको साँचो पनि बैंकले नै राखेको आरोप घरधनी पक्षको छ । स्थिति यस्तोसम्म छ, न बैंकले आफ्नो घरमा चर्केका भित्ताको मर्मत गरिदिन्छ, न चुहिएको ठाउँ टालीदिन्छ ।’ घरधनी पक्षका प्रतिनिधि भन्छन्- ‘बरु आफ्नै घर खोल्न पनि बैंकका कर्मचारी गुहार्नुपर्छ । आफुले आफ्नै घर प्रयोग गर्न नपाएपछि र बैंकले आफ्नो घरको गर्नुपर्ने मर्मत सम्भार नगरिदिएको भन्दै अहिले बैंकका विरुद्ध घरधनीले मुद्धा मामिलानै गर्नुपरेको छ ।’ अहिले यो केस सिडीओसम्म पुगेको छ ।

प्रदेश प्रमुखको बाङ्गो जवाफ !
न सम्झौता अनुसार घर मर्मत गरिदिन्छ बैंकले, न सामान हटाउँछ, न घरको चाबी दिन्छ, न भनेको समयमा घरको ढोका खोलिदिन्छ । बैंक गर्छ त केवल दादागिरी गर्छ । अझ बैंकका प्रदेश प्रमुख पुकार सुवेदीको फुर्ती बेग्लै छ । यो हाम्रो आन्तरिक विषय हो, तपाईंहरुलाई एक्स्प्लेन गरिरहनुपर्दैन, हामी त कर्पोरेट संस्था हो भनेर उनले हामीलाई बैंकको धारणा दिन मानेनन् । प्रदेश प्रमुखलाई कुरा लुकाउन खोजे झन् बिग्रिन्छ भन्ने थाहा नभएर हो वा, ग्लोबल आईएमई बैंक, तीनको नीजी संस्था होइन, बरु पब्लिक लिमिटेड कम्पनी हो भन्ने बिर्सेर हो, उनले बाङ्गो जवाफ दिएर यो केसबाट बैंक उम्कन सक्दैन र मिल्दैन भन्ने बिर्सेर हो, बैंकका प्रदेश प्रमुख उल्टै ठुला कुरा गर्छन् ।
जिम्मेवार मिडियाकर्मीले हामीकहाँ गुनासो आयो भएको के हो भनेर प्रश्न गर्दा त प्रदेश प्रमुखले यस्ता बाङ्गो उत्तर दिन्छन् भने यीनले घरधनीलाई कति पीडीत बनाएका होलान् भन्ने अनुमान गर्न सकिन्छ ।