काठमाडौं । यहाँ गरिबका छोराछोरीहरुले माष्टर्समा फर्स्ट डिभिजन ल्याउँदा पनि भनसुन विना बैंकमा ट्रेनि असिष्टेन्टको जागिर पाउन गाह्रो छ, भनसुन विना प्रमोसन गाह्रो छ । राम्रो पढ्छु, राम्रो पढे राम्रो जागिर पाइन्छ भनेर दिनरात मेहेनत गरेर राम्रो नम्बर ल्याउनेको नाम हटाएर बैंकको जागिर अर्कै भनसुनवालाले टप्काईदिन्छ धेरै केसमा । तर भनसुन गर्न सक्नेहरुलाई त पढ्नु नै नपर्ने रहेछ । बजारमा नक्कली सर्टिफिकेट किन्यो, जागिर खायो । एउटा गरिब किसानको छोरोले भैंसी बेचेर पढेको डिग्रीका अगाडी एउटा फटाहाले ४० हजारमा किनेको सर्टिफिकेटको भाउ रहेछ बैंकको जागिरमा । सबै बैंकमा यस्तो नभए पनि सिटिजन्स लगायतका केहि बैंकहरुमा हालत यहि छ । हो, अहिले पनि एक दुई होइन दर्जनौं बैंक तथा वित्तीय संस्थाहरुमा नक्कली सर्टिफिकेटधारीहरु जागिर खाईरहेका छन् । र आज हामी सिटिजन्स बैंकभित्रको नक्कली सर्टिफिकेटधारीहरुको मनपरी, तिनलाई जोगाउन बैंकले खेलिरहेको भूमिका र सिटिजन्स बैंकको विवादास्पद विगतका बारेमा खास तथ्य प्रस्तुत गर्दैछु । हाम्रो उद्देश्य फगत यति हो, कम्प्लाइन्सको मामलामा बैंकले कुनै पनि सम्झौता गर्नु हुँदैन, गर्न पाउँदैन । किनकि सिटिजन्स बैंक पब्लिक लिमिटेड कम्पनी हो, जनताको पैसा राख्ने बैंक हो, आम जनताको कम्पनी हो ।
सिटिजन्स बैंक । अझ पूरा नाम त यसको सिटिजन्स बैंक इन्टरनेशनल हो । यो पुछारमा इन्टरनेशनल झुण्ड्याएको बैंकले अहिले नेपाली बैंक र नेपालको इन्टरनेशनल नै बेइज्जत गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नक्कली सर्टिफिकेट बनाएर जागिर खाएको आरोपमा सिटिजन्स बैंकका ७ कर्मचारी पक्राउ परेपछि त यो प्रकरणले सिटिजन्स बैंकको असली अनुहारमात्र बाहिर देखाएको छैन, बरु समग्र नेपाली बैंकिङ क्षेत्रकै धज्जी उडेको छ । अझ बैंकका प्रवक्ताले हामीले ती कर्मचारीहरुलाई जोगाउन खोजेका थियौँ, टियुले सीआईबीलाई खबर गरेपछि सीआईबीले हाम्रा कर्मचारी पक्राउ गरेछ, हामी त सर्प्राइज्ड भयौँ भनेर दिएको अभिव्यक्तिले अहिले उनीभन्दा बढी नेपालका बैंकरहरु सप्राइज्ड भएका छन् । हामी त झनै सर्प्राइज्ड भएका छौँ । खै कुन्नि, अपराधीहरुलाई जोगाउने बैंकको नियत के हो, थाहा छैन । तर सिटिजन्स बैंकले नक्कली सर्टिफिकेटका आधारमा जागिर खाईरहेका आफ्ना बैंकका अन्य कर्मचारीहरुलाई भने जोगाउन खोजेको प्रष्ट छ ।
सुरुमा लागौं यो नक्कली सर्टिफिकेट प्रकरणमा भएको के थियो भन्ने बारे । सिटिजन्स बैंकले प्राप्ति गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंकका कर्मचारीहरुमध्ये केहिले भारतबाट नक्कली सर्टिफिकेट ल्याएर जागिर खाएका थिए । उनीहरुले नामै नसुनेको विश्वविद्यालयबाट सर्टिफिकेट ल्याएको पाइएपछि बैंकले आफ्ना कर्मचारीहरुलाई सोको समकक्षता मगाएको थियो । त्यसपछि सर्टिफिकेट किनेरै काम चलाउने बानी परेका ती कर्मचारीहरुले त्रिभुवन विश्वविद्यालयको समकक्षताको सर्टिफिकेट पनि नक्कली बनाएर बैंकलाई दिए । बैंकलाई फेरि सो समकक्षता सर्टिफिकेटमा पनि शंका लागेपछि त्रिभुवन विश्वविद्यालयलाई सो समकक्षताको सर्टिफिकेट सक्कली हो वा होइन भनी भेरिफाई गरेको थियो । त्रिभुवन विश्वविद्यालयले छानविनका क्रममा सो सर्टिफिकेटहरु नक्कली भएको पाएपछि सीआईबीलाई थप अनुसन्धानका लागि पत्राचार गरेको थियो ।
त्यसपछि सीआईबीले भकाभक बैंकका कर्मचारी समाउन थाल्यो । टियुले नक्कली सर्टिफिकेट बनाउने १० जनालाई सीआईबीमा उजुरी गरेको थियो । तर कति कर्मचारी विदामा थिए भने कति कर्मचारी, साथीलाई समाउन बैंकसम्म नै पुगेको खबरपछि भागेका थिए । भागेका थप १ कर्मचारीलाई पनि प्रहरीले पछि पक्राउ गर्यो । अन्य, अहिलेसम्म फरार छन् । बुटवल शाखाकी मनीषा मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री र प्रतीक्षा रेग्मी तथा काठमाडौंका दीपक विष्ट सुरुमै पक्राउ परे भने दलबहादुर पुनलाई प्रहरीले पछि पक्राउ गर्यो । अरु अझै पनि फरार छन्। यहाँ बुझ्नुपर्ने खास तथ्य के छ भने सिटिजन्स बैंक टियुसँग भेरिफाई गरेर ती कर्मचारीहरुलाई जागिरबाट निकालेर मात्र यो अपराधको कुनै पनि सजाय नदीलाई कर्मचारीहरुलाई उम्काउन चाहान्थ्यो । तर सोचेझैं जिन्दगी रैनछ भन्ने गीतजस्तै सोचेझैं टियु रैनछ । टियुले सीआईबीलाई यस विषयमा पत्राचार गरिदियो । सीआईबीले त्यसपछि भकाभक मान्छे पक्राउ गर्यो । सुरुमा ६ जनालाई पक्राउ गरेपछि प्रहरीले अरुलाई खोज्न पनि विशेष टोली खटायो । अहिले थप १ जना पनि पक्राउ परेका छन् ।
यता सिटिजन्स बैंकका कर्मचारीहरुले आफ्नो प्रमोसनका लागि सर्टिफिकेट नै आफैं बनाउने गरेको रहस्य बाहिरिएको छ । उनीहरुले सुरुमा भारतको सर्टिफिकेट बनाउन भने केहि दलालहरुको सहयोग लिएको तर पछी त्रिभुवन विश्वविद्यालयको समकक्षता भने आफैंले बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसरी सर्टिफिकेट नक्कली बनाएको कुरा उनीहरुले आफ्ना केहि साथीहरुलाई नशाको सुरमा भनेको र एक कान दुई कान हुँदै बैंकमा गाईगुइ सुनिएपछि बैंकले पनि यस विषयमा अनुसन्धान गरेको पाइएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
अर्को खास कुरा त झन् के छ भने सिटिजन्स बैंकमा यसरी नक्कली सर्टिफिकेट देखाएर जागिर खानेहरु अरु पनि छन् । यस विषयमा त्यहाँ काम गर्ने कर्मचारीहरुले विभिन्न निकायमा उजुरी पनि दिएका छन् । तर बैंक अझै ती नक्कली सर्टिफिकेटधारीहरुलाई जोगाउन खोजिरहेको छ । यसबाट बैंकको बदनियत प्रष्ट भएको भन्ने तर्क बैंकरहरु नै गर्न थालेका छन् । सुनकाण्डदेखि सीइओमाथिको अनुशासनको कारवाही प्रकरणसम्म परेर यस अघि नै थुप्रै पटक बदनाम भईसकेको सिटिजन्स बैंक पुन: बदनामीको बाटोमा हिंडिरहेको चर्चा हुन थालेको छ । तर इन्टरनेशनल बैंकलाई राष्ट्र बैंकले नछुने हो कि सबै कुरा साथीभाई हो भनेर मिलेको हो थाहा छैन, राष्ट्र बैंकले बर्षौंदेखि सिटिजन्स बैंकमा हुने मनपरीउपर आम जनतालाई सचेत गराईरहेको छैन ।
प्रसङ्ग निस्किहाल्यो, सिटिजन्स बैंकको सुनकाण्ड के थियो र सीइओले भोगेको अनुशासनको कारवाही के थियो भन्नेतिर पनि छोटकरीमा लागिहालौ । किनकि बैंकभित्र घटेको सुनकाण्डको फेहरिस्त यति लामो छ कि ३ दिन यसरीनै भट्याए पनि सो काण्डको विवरण सकिन्न । बरु बैंकका सीइओले कारवाही भोगेको प्रकरण गम्भीर भए पनि अलि छोटो छ, त्यो प्रष्ट पारिहालौँ ।
सुरुमा बैंकका सीइओ गणेशराज पोखरेलले भोगेको अनुशासनको कारवाहीका बारेमा बुझौँ । उनी बैंकको सीइओ हुनुअगाडी रजिष्टर्ड अडिटर थिए। पोखरेललाई मिति २०७४ साल असार १७ गते बसेको संस्थाको २०८ औं बैठकले गैरकानुनी काम गरेको प्रमाणित भएपछी कारवाही गरेको थियो । नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन तथा लेखा व्यवसायको आचारण, आचारसंहिता विपरित काम गरेको पाइएकाले नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा १४ (५) (ग) बमोजिम ३ महिनासम्म लेखापरिक्षण गर्न नपाउने गरी उनलाई कारवाही गरिएको थियो । आइक्यान लेखाव्यवसायीहरुको नियमनकारी निकाय मात्र होइन जिल्ला अदालतसरहको अधिकार पाएको अर्धन्यायिक निकाय हो । यो कारवाही भएपछि उनले अडिटरको लाइसेन्सनै सस्पेन्ड गर्न माग गर्दै आइक्यानमा निवेदन दिएका थिए । अर्धन्यायिक निकायले गरेको कारवाही नभोगी सीइओ बन्न नमिल्ने कानुनी तर्क आउन थालेपछि उनले हतार हतार आफ्नो लाइसेन्स नै बुझाएर आफु अव अडिटर नरहेको बताएका थिए । उनले किन कारवाही भोगेका थिए वा उनले आचारसंहिताविरुद्ध गरेको काम के थियो, त्यो अर्को कुनै अंकमा विस्तृत विवरण सुनाउला, तर यहाँ हामीले बुझाउन खोजेको तथ्य यति हो कि सकेसम्म गलत गर्नेहरुलाई जोगाउन खोज्ने आसय राखेको बैंकको नेतृत्वका बारेमा किन राष्ट्र बैंकले छड्के आँखाले हेरेन वा हेर्दैन भन्ने तथ्यमात्र हाम्रो सरोकारको विषय हो ।
अव बैंकको सुनकाण्डका बारेमा पनि थोरै कुरा गरिहालौँ । अव एउटा सुन काण्ड भए पो यस्तो भएको थियो भन्नु, सिटिजन्स बैंकका थुप्रै सुनकाण्डहरु सतहमा आएका छन् । जसका कारण अहिले एयरपोर्टमा सुन समातियो भन्दा पनि बैंकका कर्मचारीहरु चनाखो हुने गरेका छन्। यसअघि बैंकको न्यूरोड शाखामा धरौटी राखेको साढे ७ किलो सुन गायब बनाउने कर्मचारीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको थियो । सुन धरौटी राखेभन्दा बढी तौल बताएर ऋण प्रवाहका लागि सिफारिश गर्ने बैंकका वरिष्ठ र कनिष्ठ सुन जाँचकीको संलग्नतासमेत रहेकोसमेत तथ्य त्यतिबेला खुलेको थियो । न्युरोड साखामा मात्र होइन बैंकका अन्य शाखामा पनि यस्तो घटना घटेको थियो । बैंकको कुपण्डोल साखाबाट पनि सुन हराएको थियो । अव यात्रा धेरै काण्ड घट्दा त सकेसम्म यो कुरा बाहिर नआओस भन्ने चाहाने बैंकले नक्कली सर्टिफिकेट केसमा कर्मचारी सकेसम्म नफसुन् भनेर सोच्नु असामान्य थिएन ।
तर फेरी पनि बैंक त पब्लिक कम्पनी हो । बैंकको हरेक सूचना र घटनामाथि पारदर्शीता हुनुपर्छ । बैंक नेतृत्वसँग नैतिक बल हुनुपर्छ । जनताले पैसा राख्ने ठाउँ सुरक्षित हुनुपर्छ । जनताको डिपोजिट प्रयोग हुने हुनाले नक्कली सुन राखेर वा थोरै सुन राखेर कर्जा प्रवाह हुनु अपराध मात्र होइन महाअपराध हो । नक्कली सर्टिफिकेटका आधारमा जागिर खानेहरुलाई जोगाउन खोजेका थियौं भन्ने बैंकका जिम्मेवार अधिकारीको भनाई लाखौँ डिपोजिटकर्ता र आम सेयरधनीमाथिको अपमान हो । हामीले भन्न खोजेको पनि यति हो ।
सिटिजन्स बैंक कुनै मानेमा पनि बदनाम हुनु हुँदैन । किनकि यो हामी सबैको बैंक हो । बैंकका सीइओ गणेशराज पोखरेल विवादमा तानिनु हुँदैन, किनकि उनी फगत उनी होइनन, जनताले लगानी गरेको बैंकका हाकिम हुन् । बैंकका प्रवक्ताले गलत गर्नेलाई जोगाउन खोजेका थियौं भनेर बोल्नु फिटिक्कै हुँदैनथियो, किनकि सो बैंक उनको प्राइभेट कम्पनी होइन, जनताको बैंक हो ।
सिटिजन्स बैंकमा घटेको नक्कली सर्टिफिकेटको फलोअप जरुर गर्नेछौँ हामी । नक्कली सर्टिफिकेटको खबर ब्रेक गरेका हामीलाई त्यहाँका कर्मचारीहरुले बैंकका अरु इस्युहरुमा किन नबोलेको भनेर खबर पठाईरहनुभएको छ । बैंकभित्रको अडिट प्रकरण, हेड अफिसको भवन बनाउँदा सम्झौता भन्दा करोडौं रकम बढी दिएको प्रकरण, सो विषय इन्टरनल अडिटले पत्ता लगाएपछि तत्कालीन समयमा इन्टरनल अडिट विभाग नै खारेज गरिदिएको प्रकरण, हाकिमका आफन्तले तत्कालीन एनआईबीएलमा इन्ट्रन गरेका व्यक्तिलाई अफिसरको अनुभव देखाएर हायर गरेको प्रकरण, बैंकमा सुन हराउँदा पनि सो प्रकरणलाई प्रहरीकाहन लैजानुको सट्टा ब्रान्च मेनेजरका आफन्तलाई ऋण दिएर सो केस सेटल गरेको प्रकरण, सुनकाण्डमा बैंकका कर्मचारी दोषी देखिएपछि तीनै कमर्चारीले प्रमोसन पाएर बैंक छोडेको प्रकरणसम्मका सूचनाहरु बैंकबाट प्राप्त भएका छन् र हामी ती सूचनाको आधिकारिकता बैंकसँग नै पुष्टी गर्दैछौँ । राम्रो कुराचाहिं के हो भने बैंकका प्रवक्ता नारायण राज अधिकारीले नै हामीलाई यी तमाम केसमा बैंकको प्रष्ट धारणा राखेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनको धारणा र घटनाको बेलीविस्तारसहित अर्थ सरोकार डटकममा हामी प्रकाशन गर्नेनै छौँ । हामी फेरी पनि प्रष्ट पार्छौँ, सिटिजन्स बैंक, जनताको बैंक हो, र जनताको सम्पत्तिमाथि मनपरी गर्ने छुट कसैलाई छैन । हाम्रो उद्देश्य पनि बस् यति हो । (भिडियो)