×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : एभरेष्ट बैंकको स्वीकारोक्ति-‘बैंकको २ करोड बढी रकम अपचलन भएकै हो, संलग्न कर्मचारीलाई कार्वाही गर्दैछौँ’

PRIME CA

फलोअप : एभरेष्ट बैंकको स्वीकारोक्ति-‘बैंकको २ करोड बढी रकम अपचलन भएकै हो, संलग्न कर्मचारीलाई कार्वाही गर्दैछौँ’

२ भाद्र २०८०, शनिबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । एभरेष्ट बैंकमा एलसी विभागमा कार्यरत कर्मचारीले बैंकको २ करोड रुपैयाँ अपचलन गरेको विषयमा धारणा लिन अर्थ सरोकारले पटक-पटक फोन गर्दा पनि यस विषयमा धारणा दिनका लागि सम्पर्कमा नआएका बैंकका उच्च अधिकारी अन्तत: सो समाचार प्रकाशन भएपछि सम्पर्कमा आएका छन् । अर्थ सरोकारको सम्पर्कमा आएका बैंकका गुनासो सुनुवाई इकाईका प्रमुखसमेत रहेका आशुतोष शर्माले बैंकभित्र रविन महर्जनले २ करोड रुपैयाँ अपचलन गरेको स्वीकारेका छन् भने बैंकको नियमानुसार उनलाई कारवाही हुनेसमेत दाबी गरेका छौँ । तर बैंकले महर्जनलाई कर्मचारी विनियामावाली अनुसार कारवाही गरेर प्रहरीसम्म नपुर्याई यो केस सामसुम पार्न खोजेको छ ।

सुरुमा बुझौं, भएको के थियो भन्ने विषय :

यो घटना एलसीसँग सम्बन्धित छ । एलसी खोल्दा ग्राहकले केहि मार्जिन रकम डिपोजिट गर्नुपर्छ । एलसीको प्रक्रिया नभएसम्म सो रकम बैंकले राख्छ । पछि सामानहरु आईसकेपछि सो मार्जिन रकम ग्राहकले फिर्ता पाउँछन् । एभरेष्ट बैंकका एलसी विभागका रविन महर्जन ग्राहकले राखेको सोहि रकम दुरुपयोग गर्थे । बैंकमा एलसीसँग सम्बन्धित बढी काम हुने हुनाले सो खालको डिपोजिटमा बैंकसँग १५-२० करोड रुपैयाँ हुन्थ्यो । यसरी बैंकमा रहेको रकम महर्जनले ५-१०-१५ लाख गरी पटक पटक गरेर निकाले ।

बैंकमा राखिएको सो रकम महर्जनले बैंककै सिष्टम प्रयोग गरेर पटक-पटक निकालेको देखिन्छ । कहिले आफ्ना बाबुको नाम त कहिले आफ्न्नी आमाको नाममा पैसा झिकिएको छ । भेरिफायरले सहजै भेरिफाईसमेत गरेका छन् । यसरी पटक-पटक पैसा निकालेर बिगत २ बर्षमा महर्जनले २ करोड भन्दा बढी रकम दुरुपयोग गरे । बैंकले आफ्नो एकाउन्ट ‘रिकन्साइइल’ नगरेको करिव १० बर्ष भईसकेको थियो । बैंकको यहि कमजोरीको फाइदा उठाउँदै महर्जनले पटक पटक बैंकको पैसा अनाधिकृत रुपमा आफ्ना आफन्तका नाममा सारे र आफु प्रयोग गरे ।

उनले गरेको बदमासीको गाईगुइ बैंकमा सुरु भईसकेको थियो । त्यसपछि उनको सरुवा करिव ४ महिना अघि बेसीशहर शाखामा भयो । तर महर्जनले शाखामा पनि यस्तो गलत काम गर्न छोडेनन् । तर सानो ब्रान्च, थोरै पैसा हुने भएकाले पैसा दुरुपयोग भएको तथ्य अडिटले समात्यो । बैंकको लेखापरीक्षणका क्रममा उनले गरेको बदमासी समातिएपछि बैंकलाई यस विषयमा रिपोर्ट भयो ।

त्यसपछि बैंकका तर्फबाट आशुतोष शर्माले यो केसको छानविन गरे । छानविनका क्रममा महर्जनले गलत काम गरेको तथ्य पत्ता लाग्यो । तर बैंकको बदनाम हुने र केहि उपल्लो तहका कर्मचारी पनि समातिने डरले बैंकले यो केस सामसुम पार्यो । अहिले पनि प्रहरीमा उजुरी नगरी बैंकले यो केस भित्रभित्रै सामसुम पार्न खोजिरहेको छ ।

यसै विषयमा हामीले बैंकका गुनासो सुनुवाई इकाईका प्रमुख र यो केसको अनुसन्धानमा समेत संलग्न समेत रहेका आसुतोष शर्मासँग कुराकानी गरेका छौँ ।

१. रविन महर्जनले बैंकको करोडौँ रुपैयाँ हिनामिना गरेका छन् । यस विषयमा अर्थ सरोकारले खबर सम्प्रेषण पनि गरेको छ । तपाईंको यसमा राय के छ ?
तपाईंलाई तपाईंको स्रोतले दिएको जानकारी सहि हो । रविन महर्जनले बैंकमा रहेको रकम अन्यत्र ट्रान्सफर गरेका हुन् । तर हामीले सो रकम ‘रिकभर’ गरिसकेका छौँ । अडिटका क्रममा केस पत्ता लागेपछि हामीले सम्बन्धित कर्मचारीलाई कारवाही प्रक्रिया अघि बढाएर सबै पैसा रिकभर गरिसकेका छौँ ।

२. बैंकभित्र यस्तो बदमासी हुँदा पनि प्रहरीलाई किन खबर गर्नुभएन ?

रकम रिकभर भईसकेकाले बैंकलाई केहि पनि घाटा छैन । निक्षेपकर्तालाई त घाटा हुने विषय नै होइन यो । त्यसैले प्रहरीमा जाने भन्नेतिर लागिएन ।

३. तर रविन महर्जनले जे गरे, त्यो त ‘अपराध’ होइन र ?
हामीले उनले जे गल्ती गरे, त्यसको सजाय उनलाई दिएका पनि छौँ र आवश्यक परे अरु दिने पनि छौँ । हाम्रो कर्मचारी विनियमावली अनुसार उनलाई हुनुपर्ने कारवाही प्रक्रिया अघि बढिसकेको छ । उनले पैसा पनि फिर्ता गरिसकेका छन् । त्यसैले उनले जे गरे, त्यसको सजाय पनि उनले पाउने प्रक्रियामा नै रहेकोले यो केस त्यति ठुलो केस हो जस्तो लाग्दैन ।

४. तर बैंकको पैसा दुरुपयोग गरिएको छ, यो त बैंकको कम्प्लाइन्स निकै कमजोर छ भन्ने प्रमाणित भएन र ? त्यसमाथि अस्ती भर्खर पनि ग्राहकको पैसा चोरिएको केस बाहिर आएको थियो । के भन्नुहुन्छ ?
तपाईंले ग्राहकको पैसा चोरिएको केस भनेर इटहरीवाला केस भन्नुभयो । त्यो फरक केस हो, यो फरक केस हो । त्यो केसमा ग्राहकको रकम नै हराएको थियो, यो केसमा बैंकमा हुनुपर्ने रकम मात्र दुरुपयोग भएको हो । बैंकिङमा यस्ता छिटपुट घटना हुन्छन् । हामीले उनलाई कारवाही कति गर्यौँ, कति अझै गर्छौँ । कुरा यति हो ।

५. तर तपाईंको रिपोर्टिङ लेयरमा रहेकै कर्मचारीबाट यस्तो अपराध भएको छ, तपाईंले आफु पनि फस्ने डरले वा पक्राउ पर्ने डरले प्रहरीलाई खबर नगरेको जस्तो देखिएन र ?
म कानुनको विज्ञ त होइन, तर यस प्रकरणमा पनि हामीले बैंकको कानुन विभागसँग राय लिएका थियौँ । र सोहि राय अनुसार गर्यौँ ।

६. तपाईंको कानुन विभाग भनेको त तपाईंका अन्डरका कर्मचारी प्रमुख भएको विभाग हो नि, तपाईं पनि पर्ने गरी राय त के लिनुभोला र ? वा तपाईं पनि पर्ने गरी विभागले राय किन दियो होला र ?
होइन, होइन । विभागको मात्र होइन, हामीले बाहिरका एक्स्पर्टहरुको पनि राय लिएर नै अघि बढेका छौं ।

७. अव के हुन्छ यो केसमा ?
कारवाही गर्नुपर्ने कर्मचारीलाई कारवाही हुन्छ । केहि भएको छ, हुनुपर्नेजति फेरी हुन्छ ।

८. यति धेरै सम्पर्क गर्यौँ तपाईंले यस विषयमा फोन गर्दा किन उठाउनु भएन ?
म आँखा पाकेका कारण घरमा आराम गरिरहेको थिएँ, बिदामा थिएँ । तपाईंलाई एसएमएस गरेको थिएँ, बिरामी छु अफिस पुगेर भेटौंला भनेर । त्यसैले सम्पर्क नभएको हो, रेस्पोन्स नगरेको होइन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: