×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकमा अर्को डरलाग्दो घोटाला, बैंककै कर्मचारीले करोडौं रुपैयाँ चोरे… (भिडियो ब्रिफिङ)

PRIME CA

एभरेष्ट बैंकमा अर्को डरलाग्दो घोटाला, बैंककै कर्मचारीले करोडौं रुपैयाँ चोरे… (भिडियो ब्रिफिङ)

५ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौं । एभरेष्ट बैंक । हो, यो त्यहि एभरेष्ट बैंक हो, जुन बैंकको इटहरी साखाबाट ग्राहकको पैसा बैंकका साखा प्रबन्धकले नै चोरेका थिए । सो तथ्य बाहिरिएपछि केस प्रहरीसम्म पुग्यो । प्रहरीले पनि अनुसन्धानका लागि भन्दै बैंकका ६ कर्मचारीलाई पक्राउ गर्यो । अहिले यो मुद्धा पूरापूर नसकिए पनि सो बदमासीका माष्टर माइन्ड निरज प्रधान जेल चलान भएका छन् भने अन्य आरोपित सामान्य तारेखमा रिहा भएका छन् । यो प्रकरणमा बैंकको पैसा बैंककै कर्मचारीको ग्राण्ड डिजाइनमा चोरी भएको थियो । यो घटना सार्वजनिक भएपछि एभरेष्ट बैंकमा पैसा सुरक्षित छ त ? भन्ने बहस पनि सुरु भएको थियो । बैंक एकाध घटनालाई लिएर बैंकको सुरक्षामाथि प्रश्न गर्नु हुँदैन भन्ने तर्क गर्दै थियो, तर यता बचतकर्ता भने बारम्बार एभरेष्टको सुरक्षामाथि प्रश्न गर्दै थिए । ठिक यहि समयमा इटहरीका कर्मचारीले ग्राहकको पैसा चोरेभन्दा डरलाग्दो घटना सार्वजनिक भएको छ।
इटहरीको सो प्रकरण पनि बैंकले सुरुमा लुकाउन खोजेको थियो । तर घटना मिडियासम्म आईपुगेपछि बैंकले यस विषयमा छानविन गरेर प्रहरीमा उजुरी दिएको थियो । अनुसन्धानका लागि भन्दै प्रहरीले आफुले किटानी गरेभन्दा बढी कर्मचारी पक्राउ गरेको घटनाबाट सिकेर होला सायद, बैंकले बैंकभित्रका अन्य घोटाला र प्रहरीसम्म उजुरी गर्नुपर्ने केसलाई सामसुम गरिरहेको पाइएको छ । यतिसम्मकि बैंकको करोडौँ रुपैयाँ अपचलन हुँदा पनि बैंकले घटनालाई सामसुम पार्ने र प्रहरीलाई खबर नगर्ने गरेको पाइएको छ । यस्तै प्रहरीलाई नबुझाईएको प्रकरणमध्येको एक हो- ‘एभरेष्ट बैंकमा एकै कर्मचारीले गरेको झन्डै २ करोड बढीको घोटाला प्रकरण।’
अव बुझौँ यस प्रकरणमा खास भएको के हो भन्ने तथ्य । 
यो घटना एलसीसँग सम्बन्धित छ । एलसी खोल्दा ग्राहकले केहि मार्जिन रकम डिपोजिट गर्नुपर्छ । एलसीको प्रक्रिया नभएसम्म सो रकम बैंकले राख्छ । पछि सामानहरु आईसकेपछि सो मार्जिन रकम ग्राहकले फिर्ता पाउँछन् । एभरेष्ट बैंकका एलसी विभागका रविन महर्जन ग्राहकले राखेको सोहि रकम दुरुपयोग गर्थे । बैंकमा एलसीसँग सम्बन्धित बढी काम हुने हुनाले सो खालको डिपोजिटमा बैंकसँग १५-२० करोड रुपैयाँ हुन्थ्यो । यसरी बैंकमा रहेको रकम महर्जनले ५-१०-१५ लाख गरी पटक पटक गरेर निकाले ।
बैंकमा राखिएको सो रकम महर्जनले बैंककै सिष्टम प्रयोग गरेर पटक-पटक निकालेको देखिन्छ । कहिले आफ्ना बाबुको नाम त कहिले आफ्न्नी आमाको नाममा पैसा झिकिएको छ । भेरिफायरले सहजै भेरिफाईसमेत गरेका छन् । यसरी पटक-पटक पैसा निकालेर बिगत २ बर्षमा महर्जनले २ करोड भन्दा बढी रकम दुरुपयोग गरे । बैंकले आफ्नो एकाउन्ट ‘रिकन्साइइल’ नगरेको करिव १० बर्ष भईसकेको थियो । बैंकको यहि कमजोरीको फाइदा उठाउँदै महर्जनले पटक पटक बैंकको पैसा अनाधिकृत रुपमा आफ्ना आफन्तका नाममा सारे र आफु प्रयोग गरे ।
उनले गरेको बदमासीको गाईगुइ बैंकमा सुरु भईसकेको थियो । त्यसपछि उनको सरुवा करिव ४ महिना अघि बेसीशहर शाखामा भयो । तर महर्जनले शाखामा पनि यस्तो गलत काम गर्न छोडेनन् । तर सानो ब्रान्च, थोरै पैसा हुने भएकाले पैसा दुरुपयोग भएको तथ्य अडिटले समात्यो । बैंकको लेखापरीक्षणका क्रममा उनले गरेको बदमासी समातिएपछि बैंकलाई यस विषयमा रिपोर्ट भयो ।
त्यसपछि बैंकका तर्फबाट आशुतोष शर्माले यो केसको छानविन गरे । छानविनका क्रममा महर्जनले गलत काम गरेको तथ्य पत्ता लाग्यो । तर बैंकको बदनाम हुने र केहि उपल्लो तहका कर्मचारी पनि समातिने डरले बैंकले यो केस सामसुम पार्यो । अहिले पनि प्रहरीमा उजुरी नगरी बैंकले यो केस भित्रभित्रै सामसुम पार्न खोजिरहेको छ । यतिसम्मकि बैंकले यो हदसम्मको बदमासी गर्ने कर्मचारीलाई कुनै पनि कानुनी कारवाही नगरी वा कानुनको दायरामा नल्याई त्यतिकै छोडिदियो ।
यता बैंकले पनि बैंकमा आफ्नै कर्मचारीबाट करोडौं रुपैयाँ अपचलन भएको तथ्य स्वीकारेको छ । बैंकका गुनासो सुनुवाई इकाईका प्रमुखसमेत रहेका आशुतोष शर्माले बैंकभित्र रविन महर्जनले २ करोड रुपैयाँ अपचलन गरेको स्वीकारेका छन् भने बैंकको नियमानुसार उनलाई कारवाही हुनेसमेत दाबी गरेका छन् । उनले रविन महर्जनले बैंकमा रहेको रकम अन्यत्र ट्रान्सफर गरेको, तर सो रकम रिकभर गरिसकेकोले यो घटना ठुलो नभएको बताएका छन् । तर रविन महर्जनले जे गरे, त्यो त ‘अपराध’ हो ।  होइन र ? हाम्रो प्रश्नमा बैंक महर्जनले जे गरे त्यसमा उनलाई सजाय भएको र आवश्यक परे थप सजाया पनि हुनसक्ने बताउँछ ।
बैंकको पैसा दुरुपयोग गरिएको तथ्यले बैंकको कम्प्लाइन्स निकै कमजोर छ भन्ने प्रमाणित त भएको छ नै, एउता होइन, दुईवटा होइन यस्ता घटना पटक पटक हुँदा बैंकको अपरेशन कतिसम्म जोखिमपूर्ण रहेछ भन्ने तथ्य पनि बाहिरिएको छ । तर बैंक बैंकिङमा यस्ता छिटपुट घटना हुने र यस्ता घटनामा संग्लनहरुलाई कारवाही हुने बताउँछन् । तर बैंककै अन्य कर्मचारीहरु भनिरहेका छन्- ‘इटहरीको केसमा पनि निरज प्रधानले गरेको गल्तीमा अन्य केहि पनि केहि समयका लागि हिरासत बस्नुपर्यो । यो घटनामा पनि आसुतोष शर्मा हिरासत बस्ने डरले यो केस प्रहरीसम्म नै पुगेन । तर शर्माले अर्थ सरोकारसँग कुराकानी गर्दै यस विषयमा उनले कानुन विभागसँग राय लिएको र सोहि अनुसार अगाडी बढेको दाबी गरेका छन् । यता, यस विषयमा प्रहरी भने जाहेरी आएको खण्डमा कारवाही हुने बताउँछ । हालसम्म एभरेष्ट बैंकको यो केसबारे प्रहरीको कुनै इकाईमा पनि जानकारी नआएको र जानकारी आएको खण्डमा कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीको भनाई छ ।
यसो त एभरेष्टमा घटेको अर्को डरलाग्दो केसले पनि बैंक कति सिष्टममा छ भन्ने तथ्य देखाउँछ । घटना हो, नागरिकता दुरुपयोग प्रकरण ।बैंकको पुलचोकस्थित साखाकि एक कर्मचारीले केहि समय अगाडी ग्राहकको नागरिकता दुरुपयोग गरी नक्कली डिम्याट खाता खोली गैरकानुनी कारोबार गरेको रहस्य बाहिरिएको थियो । बैंकका २ दर्जन बढी ग्राहकको नागरिकता दुरुपयोग गरी ती कर्मचारीले ग्राहकहरुको संवेदनशील डकुमेन्टहरुको दुरुपयोग गरेको केस बाहिरिएको थियो । बैंकले त्यतिबेला नै ती कर्मचारीलाई प्रहरीको जिम्मा लगाउनुपर्ने थियो । तर पावरका भरमा ती कर्मचारीहरुलाई ती डिम्याट खाता बन्द गर्ने सर्तमा छोडियो । अहिले पनि ती कर्मचारी बैंकको अर्को एक शाखामा कार्यरत छिन् । उनले त्यहाँ पनि बदमासी नगर्लिन् भन्न सकिने अवस्था नरहँदा नरहँदै बैंकले हदैसम्मको बदमासी गरिरहेको र ग्राहकका गोप्य कागजातको दुरुपयोग गर्नेहरुलाई संरक्षण गरेर ग्राहकमाथि नै अन्याय गरेक पाइएको छ ।  तर बैंक आफ्नी कर्मचारीले नागरिकता दुरुपयोग गरेको स्वीकार्छ तर यो केस प्रहरीसम्म पुर्याउनुपर्ने केस नभएको, नीज कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने केस पनि नरहेको तर गल्ती गरेकाले ती कर्मचारीलाई घटुवा गरेर बैंकमा राखेको तर्क गर्छ । यसले पनि बैंक कुन हदसम्म गलत गर्नेलाई संरक्षण गरिरहेको छ भन्ने पुष्टी गर्छ ।
यी घटना र घटनाक्रमले एभरेष्ट बैंक झुरै बैंक हो भन्न खोजिएको होइन । तर एभरेष्ट बैंकमा जे जे घटना घटे, ती गम्भीर छन् भन्न खोजेकोचाहिं पक्कै हो । बैंक भनेको कसैको बाउको विर्ता होइन, बरु जनताको लगानी भएको पब्लिक लिमिटेड कम्पनी हो। एभरेष्ट बैंकमा केहि बिग्रिनु भनेको जनताको लगानी र विश्वासमाथिको संकट पनि हो । त्यसैले सम्बन्धित बैंक, नियामक निकाय नेपाल राष्ट्र बैंक यस विषयमा सचेत हुन जरुरी छ । (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: