×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वविद्यालयमा लाईब्रेरी शुल्क महंगो भएको भन्दै विद्यार्थी आक्रोशित, पुस्तकालय भन्छ- ‘डाटा राख्न मूल्य तोकेका हौँ’

PRIME CA

विश्वविद्यालयमा लाईब्रेरी शुल्क महंगो भएको भन्दै विद्यार्थी आक्रोशित, पुस्तकालय भन्छ- ‘डाटा राख्न मूल्य तोकेका हौँ’

५ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् । विश्वविद्यालयको पुस्तकालयमा बसेर अध्ययन गर्दा तिर्नुपर्ने शुल्क अव्यवहारिक भएको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

त्रिविको केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्नका लागि शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

त्रिविको पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क अव्यवहारिक र महँगो भएको विद्यार्थी विद्यार्थी रामहरि लामिछानेले बताएका छन् । ‘पुस्तकालयमा स्वतःस्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्छ । पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा छैन ।’, उनले भने, ‘पुस्तकालयमा विद्यार्थी अध्ययन गर्न नै जान्छन् । सबै विद्यार्थीसँग पैसा हुन्छ भन्ने पनि छैन । अव्यवहारिक रुपमा यति चर्को शुल्क तोकिँदा विद्यार्थीलाई मर्का पर्छ ।’

त्यस्तै, अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि शुल्क लिने गरेको गुनासो गरेका छन् । ‘कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आएका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शुल्क तिर्न गाह्रो हुन्छ ।’, रिजालले भने, ‘पुस्तकालयमा बसेर पढ्न शुल्क तोक्ने निर्णय व्यवहारिक छैन, सच्याउनुपर्छ ।’

‘पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क लिने नियम वैज्ञानिक छैन ।’, अर्का विद्यार्थी अशोक कार्कीले भने, ‘जागिर खाइसकेका, लोकसेवा लगायतको परीक्षा दिनका लागि मात्रै एक महिना÷ डेढ महिना आउने गरेका विद्यार्थीले ६ महिनाको शुल्क तिर्नुपर्ने नियम कसरी वैज्ञानिक भयो ?’ त्यस्तै, उनले केन्द्रीय पुस्तकालयमा बसेर अध्ययन गर्न चर्को शुल्क तिर्नुपरेपछि विद्यार्थीको संख्या घटेको पनि बताएका छन् ।

यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताएका छन् । ‘केन्द्रिय पुस्तकालयको नियमित सुविधा लिन चाहने विश्वविद्यालयको विद्यार्थी नभएको मान्छेले कम्तीमा एउटा नियममा बसेर हामीले अपनत्व महशुस गराउन खोजेका हौं ।’, उनले भने, ‘शुल्क त्यति धेरै महँगो पनि होइन । एउटा रेकर्डको लागि पनि हो । पाँच/सात सय रुपैयाँ महँगों नहोला ।’

त्यस्तै, पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्नका लागि शुल्क तोकिएको केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले बताएका छन् । ‘विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको हो ।’, उनले भने, ‘ विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरुलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाउने गरेका हौँ ।’ त्यस्तै, पछिल्ला दिन पुस्तकालयमा विद्यार्थीबीच द्वन्द र झैझगडा नै हुन थालेपछि शुल्क निर्धारण गरिएको सुवेदीको भनाई रहेको छ ।

पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गरीएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: