×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिके श्रेष्ठ अर्थात बैंकिङ क्षेत्रका ‘बा’, जसको ‘महामन्त्र’ले अहिले पनि बैंकका अध्यक्ष र सीइओहरुलाई झस्काईरहन्छ…

PRIME CA

बिके श्रेष्ठ अर्थात बैंकिङ क्षेत्रका ‘बा’, जसको ‘महामन्त्र’ले अहिले पनि बैंकका अध्यक्ष र सीइओहरुलाई झस्काईरहन्छ…

अर्थ सरोकार

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार

काठमाडौँ । उमेरले ९ दशक पार गरिसकेको थियो । अझ ठ्याक्कै भन्दा, ९४ बर्षमा दौडिरहेका थिए बिके श्रेष्ठ । बिके श्रेष्ठ अर्थात बिष्णुकृष्ण श्रेष्ठ । उमेर पाको भए पनि अझै आँटिला थिए श्रेष्ठ । ज्यानमा जोश सेलाउँदै गएको भए पनि मनमा जोश उत्तिकै थियो । गत असोज ३० गतेको बैंकको २९औं वार्षिक साधारण सभाले अध्यक्ष चयन गरेपछि उनले भनेका थिए- ‘यो मेरो अन्तिम कार्यकाल हुनेछ ।’ २६ बर्षसम्म आफैँ अध्यक्ष भएर बैंक चलाएका श्रेष्ठको मनमा अझै जोश भए पनि शरिर गलेको थियो । लामो समयदेखि ज्यानमा सन्चो थिएन । ज्यानमा सन्चो नभएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उनको उपचार भईरहेको थियो ।
प्राय: भारतमै बस्ने उनी दशैँका बेला नेपालमै थिए । तर शरीरमा बल हराउँदै थियो । बुढ्यौली उमेर भए पनि यसपाली पनि उनको हातबाट आशिर्वाद थाप्ने धोको थियो उनका छोरानातीहरुलाई । स्वर्गीय श्रेष्ठका २ छोरी र एक छोरा छन् ।  तर ठिक दशैँको नवमीको दिन उनले प्राण त्यागे । र दशैँको विहानीसँगै अस्तायो बैंकिङ क्षेत्रको एउटा धरोहर ।
बिके श्रेष्ठ अर्थात बैंकिङ क्षेत्रका ‘बा’,  जसले २६ बर्षसम्म एभरेष्ट बैंक आफैँले सम्हाले
उमेरले बुढो भएर पनि होला, धेरैले उनलाई ‘बा’ भन्थ्ये । एभरेष्ट बैंकको कार्यक्रममा पनि उनलाई धेरैले बा भनेरै सम्बोधन गर्थ्ये । आफैंले स्थापना गरेको बैंक भएर होला सायद, उनले एभरेष्टको अध्यक्षमा सधैँ आफैंलाई उभ्याईरहे । केहि बर्षअघिदेखि मात्र नेपाली सीइओ बैंकमा नियुक्त गरेका उनी भन्थे- ‘नेपाली सीइओमाथि विश्वास छ । अव ढुक्क छु ।’ यो २६ बर्षको इतिहासमा एभरेष्ट बैंकले धेरै उतारचढाव सहनुपर्यो । बिके श्रेष्ठलाई माया गर्ने र गाली गर्नेहरु उत्तिकै थिए । तर श्रेष्ठको बानी थियो- कहिल्यै पछि नहट्ने । एभरेष्ट बैंकमा पनि श्रेष्ठले जे भन्थे, त्यहि भएरै छाड्थ्यो ।
विदेशी पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेन्चरको रुपमा भित्र्याउन सफल उनी पहिलो व्यक्ति थिए । उनकै पहलमा भारतको पंजाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकमा सेयर हालेको थियो । अहिले पनि  बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ ।
श्रेष्ठको परिवार भारतमा पनि व्यवसाय गर्थ्यो । उनले भारतमा पनि बैंक तथा वित्तीय संस्थामै बढी लगानी गरेका थिए । भारतमा सिकेका र बुझेका कुराहरुलाई नेपालमा लागु गरेर उनले नेपालमै बैंक खोले र चलाए । अहिले पनि एभरेष्ट बैंकमा सबैभन्दा ठुलो लगानी श्रेष्ठको परिवारको छ । आफुलेजस्तो आफ्नो व्यवसाय अरु कसैले हेर्दैन भन्ने मान्यथा राख्ने उनले यहि कारणले पनि एभरेष्ट बैंकको अध्यक्ष पद आफैँ सम्हाले । यसपटकको कार्यकाल अन्तिम रहेको र त्यसपछि आफु बैंकको अध्यक्ष पदबाट बिदा हुने सोच बनाएका थिए उनले । तर, उनको त्यो अन्तिम इक्षा पूरा हुन पाएन । उनको कार्यकाल बाँकी रहँदै उनको ‘महाप्रस्थान’ भयो ।
एभरेष्ट बैंकले पाशुपत क्षेत्रमा कम दाउराले शब जलाउने प्रविधि जोडेको छ । त्यहि प्रविधि वुडन क्रिमेटरीबाट उनको अन्त्यष्टि गरियो । यो वुडन क्रिमेटरी शव जलाउन १०० केजी दाउराले पुग्ने र त्यसक्रममा निस्कने धुवालाई प्रदूषणरहित बनाएर वातावरणमा छोड्ने प्रविधि हो । श्रेष्ठले आफु जीवित हुँदै, आफ्नो निधनपछि आफ्नो अन्त्याष्टि सोहि ठाउँमा गर्ने इक्षा व्यक्त गरेका थिए ।
ललितपुरमा जन्म, अमेरिकामा पढाई, भारतमा सिकाई, नेपालमा लगानी
श्रेष्ठ ललितपुरमा जन्मिएका हुन् । त्यसपछि उनी पढाईको सिलसिलामा अमेरिका हानिए । उनले अमेरिकाबाट नै एमबिए गरेका हुन् । उनले लामो समय भारतमा व्यवसाय गरे । यसो त उनको परिवार पनि भारतमै व्यवसाय गर्थ्यो ।   उनी  वि श्वस्तरीय होमियोपेथी सम्बन्धि औषधि उत्पादक कम्पनी एसबिएल प्रालि भारतका समेत अध्यक्ष थिए।
२०७५ सालमा बैंकर्स संघको साधारणसभामा श्रेष्ठको सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले उनलाई बैंकिङ क्षेत्रको गुरुका रुपमा सम्बोधन गरेका थिए । खतिवडा गभर्नर हुँदा पनि श्रेष्ठ एभरेष्ट बैंकको अध्यक्ष नै थिए र खतिवडा अर्थमन्त्री हुँदा पनि श्रेष्ठ एभरेष्ट बैंकको अध्यक्ष नै थिए । सोहि कार्यक्रममा उनले ‘बैंकहरु घाटा भएर डुब्दैनन्। खराब कर्जा बढ्यो भनेचाहिं डुब्छ’ भनेर सिकाएका थिए । उनले सिकाएको यहि मन्त्रका कारण अहिले पनि बैंकरका अध्यक्ष र सीइओहरु बेलाबेला आफ्नो बैंकको खराब कर्जा देखेर झस्किने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: