Skip to content
LAXMI SUNRISE BANK

प्रश्न उठेपछि नेपाल बैंकको सीइओ छनोट समितिमा ३ जनाको आवेदनबारे छेडियो बहस, सत्तारुढ दलकै ‘एसम्यान’ सीइओ बन्ने

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंकको सीइओ बन्न १९ जनाले आवेदन दिएकोमा ३ जनाको आवेदनबारे नेपाल बैंकको सिइओ छनोट समितिमा बहस छेडिएको छ । कुनै बैंकको बहालवाला हाकिम, सो बैंक नछोडी अर्को बैंकमा सीइओ बन्ने निवेदन दिने, र अझ विदा पनि नबसी भोलिपल्टबाटै कार्यरत बैंकमै हाजिरी गर्नु नैतिक काम भयो र ? भन्ने प्रश्न उठेपछि त्यसरी आवेदन दिएकाहरुबारे बहस छेडिएको हो ।

‘अरुले त खासै बोलेको देखिएन, तर अर्थ सरोकारको समाचार लिंकहरु छनोट समितिकै सदस्यहरुलाई प्राप्त भएपछि यस विषयमा अनौपचारिक छलफल भएको छ ।’ छनोट समितिका एक सदस्यले अर्थ सरोकारसँग भने, ‘कृषि बिकास बैंकका दुई जना र राष्ट्रिय बाणिज्य बैंकका एक जनाको आवेदनको विषयमा प्रश्न उठेको छ, जसमा दुईखाले तर्क आएका छन् । एउटा तर्फ कानुनी रुपमा सो आवेदन ठिक भएकाले नैतिक कुरा हेर्ने, वा नैतिकता मापन गर्ने काम छनोट समितिको अधिकार पर्दैन भन्ने कुरा आएको छ भने अर्कोतर्फ उठेको सवाल जाहेज नै हो, हामीले नजिर बनाउन सक्दा त्यसले समग्र बजारलाई राम्रै गर्छ भन्ने पनि छ । तर यो छलफल नितान्त अनौपचारिक हो ।’

उनका अनुसार यसरी दुई बैंकमा काम गरिरहेकाहरुबाट आएको आवेदनमध्ये अन्तिममा सीइओ नियुक्त हुने सम्भावना भएका व्यक्ति कम भएकाले यसतर्फ धेरै नसोचौँ भन्ने समितिका सदस्यहरुको तर्क छ। ‘कागजात हेर्दा, र कानुनी रुपमा विवाद नआओस् भनेर अन्तिम सिफारिसमा तीन जनामध्ये कसैको नाम राख्ने कि भन्ने छ, तर हामीले देखेको सीइओ बन्ने मान्छे अर्कै हो कि भन्ने कुरामा हामीले अलि ध्यान दिईरहेका छौँ ।’ कुटनीतिक रुपमा बोल्न खोजेजसरी तर सबै कुरा नै भनेजसरी ती सदस्यले भने ।

उनका अनुसार सत्तारुढ दलकै एसम्यान नेपाल बैंकको सीइओ बन्ने सम्भावना बढी छ । ‘औपचारिकताका जति गफ गरेपनि सत्य के हो भने, अन्तिममा सत्तारुढ दलकै एसम्यान नेपाल बैंकको सीइओ बन्ने हुन् । तपाईंहरुले चर्चा गरिरहनुभएकामध्ये सबैजसो एमालेका मान्छे हुन् भन्ने हाम्रो बुझाई छ । त्यसैले यसपटक ‘माथिबाटै आए अनुसारको नाम फाइनल हुने हुनाले नेपाल बैंकको नियुक्तिमा कुनै प्रश्न उठ्ने सम्भावना निकै कम छ ।’ ती सदस्यले भने । यद्यपी सबैभन्दा बढी प्रश्न उठेकामध्ये दुई जनाको नामका लागि राजनीतिक व्यक्तिहरुबाट सबैभन्दा बढीपटक फोन आएको उनको दाबी छ । यतिसम्मकि एमालेसँग आस्था राख्नेले नेपाल बैंकमा हामीलाई भाग लगाउनुपर्यो भनेर एमालेमा पनि लविङ गरेको र सीइओ नियुक्त भए आफु कांग्रेस बन्न तयार भएको भन्दै सत्तारुढ दलमा पनि लविङ गरेकोसमेत पाइएको उनको भनाई छ ।

‘तर राजनीतिक रुपमा नियुक्ति गरेजसरी नियुक्ति गर्ने हो भने त यसरी आवेदन मागेको के काम भयो र ?’ हाम्रो प्रश्नमा हाँस्दै ती सदस्यले भने, ‘तपाईंले नबुझेजसरी प्रश्न गर्नुभयो, तर म बुझ्ने भएरै जवाफ दिन्छु । सरकारी बैंकमा हुने यहि हो । बाणिज्य बैंकमा भएको त्यहि थियो, अस्ती कृषि बिकास बैंकमा पनि भएको यहि थियो, नेपाल बैंकमा पनि हुने यहि हो । छनोट समितिमा हामी छौँ, यो प्रक्रियामा माथिबाट कुराहरु, सिफारिसहरु आउने क्रम जारी छ ।’

सीइओ छनोट समितिका ती सदस्यका अनुसार विभु प्रसाद अर्याल, रामदेव यादव, अशोक कुमार पौडेल, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबु तिवारी, रमेश प्रसाद जोशी, शंकर केसी, सुरेन्द्र भुषण श्रेष्ठ, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यसहित सुवेदीले पनि सीइओ बन्न पाउँ भनी निवेदन दिएका छन् । यीमध्ये ३ कट्टर एमाले, २ कट्टर समाजवादी, ४ कट्टर काँग्रेस, एक जना पार्टी नखुलेका र बाँकी मिल्दा जुनसुकै पार्टीको हो भन्न सक्ने खालका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK