×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पीओएसमार्फत भएको नयाँ शैलीको ठगीमा नेपाल एसबिआई बैंकको डेढ करोड कसरी डुब्यो ? यस्तो छ घटनाको नालीबेली

अर्थ सरोकार

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार

PRIME CA

पीओएसमार्फत भएको नयाँ शैलीको ठगीमा नेपाल एसबिआई बैंकको डेढ करोड कसरी डुब्यो ? यस्तो छ घटनाको नालीबेली

काठमाडौँ । हुन त बैंकमा ठगहरुले अनेक खालका ठगी गर्छन् । अझ भनौँ, ठगहरुको निशानामा नै छन् बैंकहरु । भीआईपी ठगहरुले पोलिसीमै खेलेर, कागजपत्र नै नक्कली बनाएर, बैंक व्यवस्थापन वा सञ्चालक समितिलाई नै गुमराहमा राखेर वा उनीहरुसँग मिलेमतो गरेर ठग्छन् । कुमारी बैंकको १९ करोड किर्ते प्रकरण, सप्तकोशी डेभलोपमेन्ट बैंकको रकम अपचलन प्रकरण त्यसका केहि उदाहरणहरु हुन् । कतिपय केसमा बैंकका कर्मचारी नै ठग बनेर रकम ठग्छन् । एभरेष्ट बैंकमा ग्राहकको रकम चोरी प्रकरण, सिन्धु बिकास बैंकमा ग्राहकको रकम अपचलन, प्रकरण यसका पछिल्ला उदाहरणहरु हुन् । प्रविधिको प्रयोग गरेर बैंकमा हुने ठगी पनि पछिल्लो समय बढेको छ । अझ प्रविधि प्रयोग गरेर हुने नौला खालका ठगी बैंकले रकम डुबाएपछि मात्र थाहा पाउँछ । यसको पछिल्लो उदाहरण हो, नेपाल एसबिआई बैंकमा भएको डेढ करोडको ठगी काण्ड । म्यानुअल पोइण्ट अफ सेल्स अर्थात पिओएस मेसिनबाट भएको यस्तै एक ठगी घटनामा नेपाल एसबिआई बैंकले डेढ करोड रुपैयाँ बढी गुमाएको छ । बैंकले आफु ठगिएको भन्दै सीआईबी गुहारेपछि एक करोड ५८ लाख रुपैयाँको यो ठगीको केसमा अनुसन्धान अघि बढेको छ ।  सिआइबीका अनुसार ठमेलमा व्यवसाय गर्ने ड्रागन इन्भेस्टमेन्ट प्रालिका सञ्चालक किसनराज सिंहलाई यस प्रकरणमा पक्राउ गरिएको छ भने थप अनुसन्धान अघि बढेको छ ।
के हो म्यानुअल पीओएस ? 
सुरुमा बुझौं, म्यानुअल पीओएस भनेको के हो भन्ने तथ्य । म्यानुअल पीओएस भुक्तानीको एउटा माध्यम हो । यसबाट भुक्तानी गर्दा  भौतिक रूपमा एटिएम कार्ड आवश्यक पर्दैन । ग्राहकले आफ्नो कार्ड नम्बर, कार्ड म्याद सकिने मिति र कोड नम्बर राखेर भुक्तानी गर्न मिल्छ । तपाईं डलर कार्ड प्रयोग गर्नुहुन्छ भने र कतै डलरको भुक्तानी गर्नुहुन्छ भने जसरी कार्डको प्रयोग नै विना तपाईंले कार्डको विवरण राखेर अनलाइनमा केहि कुरा खरिद गर्न सक्नुहुन्छ, त्यस्तै म्यानुअल पीओएस मेशिनबाट पनि विना कार्ड कार्डको विवरण राखेर किनमेल गर्न मिल्छ ।  तर पीओएस मेशिन राख्दा बैंक र मेशिन राख्नेबीच सम्झौता भएको हुन्छ र यस्तो कारोबार गर्दा ग्राहकको पासपोर्टलगायत पहिचान खुल्ने विवरण अनिवार्य राख्नुपर्छ भनिएको हुन्छ ।
बैंकहरुले पनि अन्तर्राष्ट्रिय भिसा तथा मास्टर कार्ड कारोबार गर्न सम्झौता गरेका हुन्छन् र सो कारोबारका लागि बैंकहरुले नोस्ट्रो खाता खोल्नुपर्छ । नोस्ट्रो खाता भनेको कुनै पनि बैंक तथा वित्तीय संस्थाले ती कम्पनीको नेटवर्कमा आबद्ध हुन खोलेको खाता हो । नेपाल एसबिआई बैंकले अमेरिकास्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा यस्तो खाता खोलेको छ । यसको अर्थ पीओएस मेशिन संचालक र बैंक बीच कारोबारको सम्झौता हुन्छ भने नेपालका बैंक र माष्टर र भिसा कार्डबीच पनि सम्झौता हुन्छ । केहि परिआएको खण्डका लागि कारोबार सेटल गर्न बैंकहरुले विदेशी बैंकमा खाता खोल्नुपर्छ ।
कसरी ठगियो नेपाल एसबिआई बैंकको डेढ करोड बढी रकम ?
अव यो ठगी केस के हो भन्ने तथ्य बुझौँ । यो केसमा सिंहको ठमेलस्थित पसलबाट थान्का र मुर्ति किन्दा पर्यटकहरुले म्यानुअल पीओएस मार्फत भुक्तानी त दिए, तर भुक्तानीका क्रममा प्रयोग भएको कार्ड नम्बर, कार्डको कोड र कार्डको एक्स्पायरी लगायतका विवरण ती खरिदकर्ताको नभई अरु नै कसैको थियो । अर्थात, ती विवरण चोरीका विवरणहरु थिए ।
अव यो केस कसरी सतहमा आईपुग्यो भन्ने तथ्य बुझौँ । केहि समय अगाडी भिसा र माष्टर कार्डले नेपाल एसबिआई बैंकलाई युरोपियन ग्राहकहरुले आफ्नो खाताबाट रकम चोरी भएको भन्दै सम्बन्धित बैंकमा उजुरी गरेको जानकारी पठायो । मास्टर कार्डका ७० तथा भिसा कार्डका २४ ग्राहकले सम्बन्धित आफ्ना बैंकमा रकम चोरी भएको उजुरी गरेकाले अनुसन्धानका लागि बैंकले त्यसरी भुक्तानी गर्ने व्यक्तिको पासपोर्ट, सिसिक्यामेरा फुटेजलगायत नियमअनुसारको विस्तृत विवरण उपलब्ध गराउन माग गर्यो । भिसा कार्डले यस्तो जानकारी पठाएपछि नेपाल एसबिआई बैंकले सम्बन्धित पीओएस मेशिन संचालकसँग सो विवरण माग्यो, तर पाएन । ग्राहकबाट सो विवरण नपाएपछि बैंकले भिसा र माष्टर कार्डलाई मागिएको विवरण उपबल्ध गराउन सकेन । नेपाल एसबिआई बैंकले भिसा र मास्टर कार्डले मागेको विवरण बुझाउन नसकेपछि नियमअनुसार नेपाल एसबिआई बैंकको नोस्ट्रो एकाउन्टबाट एक लाख १५ हजार डलर डेबिट गरिदियो र कार्डधनीको रकम चोरिएको ग्राहकको खाता भएका युरोपियन बैंकलाई भुक्तानी गरिदियो । यसरी जसको पैसा चोरिएको थियो, सो खातावालाहरुले आफ्नो चोरिएको रकम फिर्ता पाए । तर यसमा नेपाल एसबिआई बैंकको रकम दिनुपर्ने भयो । र बैंकलाई डेढ करोड बढी घाटा भयो।
आफूलाई कार्डमार्फत भुक्तानी दिने व्यक्तिको विस्तृत विवरण खुलाउन नसक्दा बैंकले सीआईबीलाई दिएको जाहेरीअनुसार सिंह पक्राउ परेका हुन् ।  सिंहको कम्पनी र नेपाल एसबिआई बैंकबीच भएको  सम्झौता अनुसार विस्तृत विवरण नराखी नराखी भुक्तानी लिएको र सोहि कारण आफ्नो बैंकलाई घाटा भएको भन्दै एसबिआई बैंकले सिआइबी गुहारेको हो । आफ्नो खाताबाट रकम डेबिट भएपछि नेपाल एसबिआई बैंकले ठमेलमा व्यवसाय गर्ने सिंहको ड्रागन इन्भेस्टमेन्ट प्रालिलाई सो रकम मागेको थियो । तर सिंहले रकम नदिएपछि गत ७ असारमा नेपाल एसबिआई बैंकले सो रकम मागदाबीसहित सिंहविरुद्ध सीआईबीमा उजुरी दर्ता गरायो । त्यसपछि २७ भदौमा सिंहलाई सीआईबीले पक्राउ गर्यो । पक्राउ परेका सिंह ठमेलमा थान्का र मूर्तिलगायतको व्यापार गर्दछन् । यसरी व्यापार गर्दा उनले १५ दिनमै  गत १० एक लाख १५ हजार चार सय १६ अमेरिकी डलरबराबरको भुक्तानी म्यानुअल पिओएस मेसिनबाट लिएको पाइएको छ । यसलाई प्रहरीले शंकाश्पद कारोबार भनेको छ ।
के भन्छन् आरोपित सिंह ?
सिंहले भने यसबारे आफूलाई बैंकले ढिलो गरी मात्र जानकारी गराएकाले पैसा फिर्ता गर्न नसकेको बताएका छन् । सिंहले आफ्नो पसलमा दैनिकजसो विदेशीहरु आउने र म्यानुअल पिओएसमार्फत भुक्तानी दिने गरेको बयान दिएका छन् । तर सीआईबीले उनले गरेको कारोबारलाई पनि शंकास्पद भनेको छ । म्यानुअल पिओएसमार्फत कारोबार हुनुभन्दा ११ दिनअघि मात्र सिंहले नेपाल एसबिआई बैंकको ठमेल शाखाबाट सो मेसिन लिएको देखिन्छ भने पछि कारोबार नै बन्द गरेको देखिन्छ । उनको यो कार्यले यो प्रकरणमा उनको पनि संलग्नता रहेको आशंकामा सीआईबीले थप अनुसन्धान गरिरहेको छ ।
अझ सजिलोसँग बुझ्दा एउटा समूहले सयौं ग्राहकहरुको एटिएम विवरण पायो । सो विवरणको दुरुपयोग गरी नेपाली पसलमा म्यानुअल पिओएस मेसिनमार्फत ती ग्राहकको रकम भुक्तानी भयो । युरोपमा रहेका व्यक्तिहरुको कार्ड कसरी सो ठग समूहमा गयो र यसमा स्वयम् सिंहको संलग्नता के हो भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।  विगतमा यसरी नै नक्कली एटिएममार्फत चिनियाँहरुले नेपाली बैंकको रकम चोरेका थिए । तर म्यानुअल पीओएसमार्फत चोरी भएको यो नयाँ घटना हो ।
रहस्यको गर्भभित्र एउटा अर्को ‘लजिक’
अव यो घटनामा ती ठग समूहको हातमा अरुको विवरण पर्यो वा नेपाली पसलहरुले नियमअनुसार राख्नुपर्ने आफ्नो पासपोर्ट नराखेको र पसलमा सीसीटिभी पनि नभएकोले सो रकम फिर्ता पाइन्छ भनेर चोरीको उजुरी गरेका हुन् भन्ने तथ्य रहस्यकै गर्भ भित्र छ । तर व्यवसायीहरुले  यस्तो पनि हुन सक्ने भन्दै तर्क गरिरहेका छन् । सिंह अहिले प्रहरी हिरासतमा छन्।  उनको बयान लिने काम भईरहेको छ । अनुसन्धान सकी प्रहरीले निज सिंहलाई अदालतमा बुझाउनेछ । त्यसपछि अदालतले आदेश दिएबमोजिम हुनेछ ।  तर, नियम अनुसार सिंहले खरिदकर्ताको पासपोर्ट र सीसीटिभी फुटेज नराखेकाले उनी दोषी प्रमाणित हुने सम्भावना बढी देखिने जानकारहरुको तर्क छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: