×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Cinema Watch : अध्ययनको थोरै कमी, तर ‘दिमाग खराब’ बनेछ ‘दामी’ ! ४४० रुपैयाँ तिरेर फिल्म हेर्दा कति पैसा असुली ?

PRIME CA
GLOBAL IME BANK

Cinema Watch : अध्ययनको थोरै कमी, तर ‘दिमाग खराब’ बनेछ ‘दामी’ ! ४४० रुपैयाँ तिरेर फिल्म हेर्दा कति पैसा असुली ?

२४ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । शुक्रबारबाट नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ देशभरका हलमा रिलिज भएको छ । खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, बिजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् भने निश्चल बस्नेतले निर्देशन गरेका हुन् । निर्देशक बस्नेत लुटजस्तो सुपरहिट फिल्म निर्देशन गरेका निर्देशक हुन् ।
कस्तो छ फिल्म ?
निश्चल बस्नेतले मेकिङमा निकै मेहनत गरेको देखिन्छ । फिल्मको सुरुवात देखि नै लयमा बगेको फिल्ममा ठाउँ ठाउँमा रमाइला ट्वीष्टहरु छन् । सबैभन्दा गज्जबको ट्वीष्टसँगै फिल्मको मध्यान्तर हुन्छ । मध्यान्तरमा बल्ल फिल्मको नाम देखाएर नयाँ प्रयोग गरेको फिल्मले ‘इन्टरभल’सम्म आउँदा नै दोश्रो हाफ अझ गज्जबको छ भन्ने अनुभूति दिन्छ । गरिबीले पिरोलेको परिवार, विदेश जान गरेको संघर्ष र नेपाली राजनीतिको विकृतिलाई फिल्मले निकै गज्जबसँग प्रस्तुत गरेको छ । कथामा ट्वीष्ट देखाएर मध्य भएको फिल्ममा दोश्रो हाफमा झन् बढी ट्वीष्ट छन् । फिल्मका ट्वीष्टहरुलाई दर्शकले फिल्मको सबैभन्दा राम्रो पक्षका रुपमा पाउँछन् । ट्वीष्टमाथि ट्वीष्ट देखाएर फिल्मको रमाइलो अन्त्य हुन्छ । समग्रमा फिल्मको समय अवधिभर कतै पनि ‘बोरिङ’ हुँदैन । खगेन्द्र लामिछाने र स्वस्तिमा खड्काले निकै न्याय गरेको फिल्ममा ‘मेयर’ पात्रको छनोट झनै उत्कृष्ट देखिन्छ । प्राय: हिरोलाई साथ दिने पात्रका रुपमा फिल्म खेलिरहने बिजय बरालबाट पनि दर्शकले फरक स्वाद पाउँछन् ।
फिल्ममा खड्किएको सानातिना तिता कुरा
फिल्ममा ठाउँ-ठाउँमा ‘ब्याकग्राउण्ड म्युजिक’ ठुलो हुँदा पात्रले बोलेका डाइलग नसुनिएको वा म्युजिकले मारेको भान हुन्छ । केहि ठाउँमा दर्शकको ताली नसकिंदै ‘पावरफुल डायलग’ सकिन्छ, जसलाई दर्शकले अनुभूत गर्न नै पाउँदैनन् । फिल्म बनाउँदा बैंकिङ प्रक्रिया अलि अध्ययन नगरेकोजस्तो देखिन्छ । बैंकको मान्छेले लिलामीको नोटिस लिएर आउने सिनमा कता-कता फिल्म मेकरले यसको औपचारिकता कस्तो हुन्छ भन्ने तथ्य अध्ययन नगरेको जस्तो देखिन्छ, जसका कारण फिल्म हेर्न पुग्ने बैंकका कर्मचारीले ‘यस्तो त अलि हुँदैन है’ भन्ने ठाउँ छ । बैंकको चिठीसमेत एउटा चुनावी पर्चाजसरी प्रस्तुत गरिन्छ । भलै, यो पाटोलाई आम दर्शकले खास ध्यान नदिने हुँदा फिल्म यो सिनको प्रस्तुतीमासमेत चुकेको आभाष दर्शकलाई हुँदैन ।
‘कसैले सरकारले दिएको कृषि अनुदान दुरुपयोग गरे के हुन्छ ?’ भन्ने विषय फिल्म मेकरले अध्ययन गरेको देखिंदैन । फिल्ममा देखाएजस्तो कृषि अनुदान दुरुपयोग गरेको केसमा सिधै पुलिसले पक्रिएर लैजाँदैन । यो फिल्ममा देखाइएजस्तो सिधै प्रहरीले हेर्ने विषय नै होइन भन्ने कुराको अध्ययन फिल्म मेकरले गरेको देखिँदैन । भलै, यो पनि कानुनी पाटोको कुरा भयो । फिल्म हेर्दा कानुनका जानकारबाहेक अरुलाई ‘यस्तो पनि हुन्छ र ?’ भन्ने फिल हुन फिल्मले दिँदैन ।
फिल्म सकिन्छ । फिल्म सकिएपछि क्रेडिट टाइटल रोल हुँदा दर्शक उठिसकेका हुन्छन्, तर पछि पनि केहि सिनहरु छन्, जुन दर्शक हिंडीसकेपछि मात्र थाहा हुन्छ ।
यद्यपी फिल्मको मेकिङ, फिल्मको लय, प्रस्तुती, कलाकारको अभिनय र फिल्मको इन्टरभल र अन्त्य हुने तरिकाले फिल्म उत्कृष्ट बनेको भान हुन्छ । दर्शकले ‘यहाँनेर मज्जा आएन’ भन्ने ठाउँ खास छैन ।’
तर,
फिल्ममा कानुन के हुन्छ भन्ने हेर्ने भन्दा पनि मनोरन्जन कति भयो भन्ने कुरा हेर्ने हो । यो कुरामाचाहिं फिल्मले दर्शकलाई शतप्रतिशत न्याय गरेको छ । फिल्म कतै ‘बोरिङ’ छैन । पछिल्लोपटक चलेका ५ नेपाली फिल्ममध्ये सबै हेरेको अनुभवले यो पंक्तिकारले भन्न सक्छ- ‘दिमाग खराब समग्रमा फुल मनोरन्जन दिने फिल्म हो । ४४० रुपैयाँ तिरेर क्युएफएक्समा हेर्दा यो फिल्मको पूरा पैसा असुल हुन्छ ।
समग्रमा पैसा असुली : १०० प्रतिशत (मनोरन्जनका हिसाबले)
हामीले दिएको रेटिङ : ४.८ /५
‘डिस्क्लेमर’ : यो पंक्तिकार फिल्म समिक्षक होइन ।
(हरेक शुक्रबार अर्थ सरोकारको सम्पूर्ण टिम नयाँ नेपाली फिल्म हेर्न गईरहेको छ । र आजबाट हामीले ‘सिनेमा वाच’ नामक स्तम्भ सुरु गरेका छौँ । हाम्रो टिममा कोहि फिल्म समिक्षक छैन । त्यसैले यसलाई फिल्मको समिक्षाका रुपमा नलिइदिनुहोला । यो विशुद्ध दर्शक भएर गरिएको टिप्पणी हो ।)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: