×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अटेरी’ आजियाटाः लेखासमितिको प्रश्नमा अझै जवाफ दिएन…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘अटेरी’ आजियाटाः लेखासमितिको प्रश्नमा अझै जवाफ दिएन…

Artha Sarokar

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । एनसेलको सेयर खरिद बिक्रीबारे लेखासमितिले सोधेको प्रश्नको मलेसियन कम्पनी आजियाटाले अझै जवाफ पेश गरेको छैन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत सेयर बिक्रीप्रति आशंका व्यक्त गर्दै सोधेको ९ प्रश्नको जवाफ आजियाटाले नदिएको हो । 

समितिले एनसेलमा रहेको आजियाटा समूहको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा प्रश्न गरेको थियो । समितिले आफ्ना प्रारम्भिक जिज्ञासा भन्दै नौ बुँदामा नियामक निकायसँग जवाफ माग गरेको छ । एनसेलको सेयर खरिद बिक्री सम्बन्धी आधिकारिकता, सेयर खरिद बिक्री गर्दा नेपालको कानुनी व्यवस्था परिपालन भए/नभएको भन्दै समितिले पत्रमार्फत प्रश्न गरेको हो ।

समितिले ‘एनसेलको सेयर बिक्रीले नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के हुन् ? त्यहाँको धारणा के हो ?’ भन्दै आजियाटासँग जवाफ मागेको थियो । आजियाटाले सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पूरा नगरेको समितिको ठहर छ । गत हप्ता मात्रै एनसेलमा रहेको आफ्नो स्वामित्वको सेयर सस्तोमै सल्टाएर मलेसियाको टेलिकम कम्पनी आजियाटा नेपालबाट बाहिरिएको थियो । 

आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको थियो । आजियाटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको एनसेलको सेयर ५ करोड अमेरिकी डलरमा बेचेको हो । नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाको भनाइ थियो । तर अर्थविद्हरुले आजियाटाको यस कदमलाई पूँजीगत लाभकर छल्ने कपट भएको बताएका छन् । यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेयर खरिदबिक्री सम्बन्धी जानकारी माग गरेको थियो । जसको जवाफ आजियटाले अझै दिएको छैन ।

यस्ता छन् सार्वजनिक लेखा समितिले नियामक निकायलाई सोधेका नौ प्रश्न:
१. आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत (सम्पूर्ण सेयर) स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको विज्ञप्ति जारी भएको देखिन्छ । त्यसको आधिकारिकता के हो ?
२. एनसेलको विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिद बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो ?
३. सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पूरा भएको छ वा छैन ? परिपालना नभएको अवस्थामा कानुनबमोजिम के कारबाही हुन्छ ?
४. यसअघि भएको कारोबारभन्दा निकै कम मूल्यमा सेयर कारोबार हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको छ ?
५. आजियाटाले दोहोरो कर, नियमनमा अनिश्चितता र नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको जिकिर गरेको छ । एनसेलको सेयर बिक्रीले नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के हुन् ? त्यहाँको धारणा के हो ?
६. नेपालबाहिर यसरी स्वामित्व हक हस्तान्तरण हुँदा कम्पनीले सरकारलाई तिर्नुपर्ने कर के हुन्छ ? करदाता (ठूला करदाता भएकाले)ले सेयर बिक्रीसहित यति रकम तिर्छु भनी स्वघोषणा गरेको छ वा छैन ? यस्तोमा आन्तरिक राजस्व विभागले ‘जियोपार्डी एसेसमेन्ट’ गर्ने गरेको छ वा छैन ?
७. पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवाप्रदायक कम्पनी दुई वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सेयर कारोबार गर्न धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्छ । तर, एनसेल बोर्डमा सूचीकृत भएको देखिँदैन । उसको सेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको देखिन्छ, यस सम्बन्धमा सम्बन्धित निकायको भनाइ के छ ?
८. नेपालको कर प्रणाली छलेर भएको सेयर खरिद बिक्री नियमनकारी संस्थाहरूलाई जानकारी नै नदिई भएको सुनिन आएको छ । यो खरिद बिक्री प्रक्रिया र पारदर्शितामाथि नियमनकारी निकायको के भनाइ छ ?
९. ६ वर्षपछि सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै त्यसलाई असर पर्न सक्ने गरी भएको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने/नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के छ ? नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा कारोबारको वैधानिकता के हुन्छ ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी