×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरका बादशाह ‘निर्मल बा’को बजार भोगाई-१ : ‘४५ बर्षको कमाई ४५ दिनमै झण्डै सकियो, ऋणले पिरोल्यो, ऋणबाटै उठेँ’

अर्थ सरोकार

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार

PRIME CA

सेयरका बादशाह ‘निर्मल बा’को बजार भोगाई-१ : ‘४५ बर्षको कमाई ४५ दिनमै झण्डै सकियो, ऋणले पिरोल्यो, ऋणबाटै उठेँ’

जीवनजस्तै रहेछ सेयर बजार पनि, कहिले उकाली, कहिले ओराली । कहिले गज्जबको खुसी दिने थलो, कहिले सार्है नमिठो पीडा दिने ठाउँ । कहिले विरक्तलाग्दो रातमा ऐठन भएझैँ दु:ख, कहिले सुमधुर संगीतसँगै निदरीले बोलाएझैँ सुखानुभूति । मैले पनि सेयर बजारमा त्यस्ता धेरै सुखदु:ख भोगेँ । अहिले सेयर बजारको आफ्नो यात्रा फर्केर हेर्दा लाग्छ, मैले त्यस्ता गरुङ्गा चुनौतीका पर्खालहरु कसरी भात्काएँ होला, सम्पति सखाप हुँदाको दु:खमा आफुले आफुलाई कसरी सम्हालेँ होला, चौतर्फी प्रहार हुँदा कसरी सम्हालिएँ होला,  बैंकको ऋणले थिचिँदा कसरी आफुलाई जोगाएँ होला ।
बजारमा आफ्नो ‘पोर्टफोलियो’बारे सोचिदिने, अरु कोहि नहुने रहेछ, म पनि एक्लो थिएँ । म त अझ हिसाबकिताब पनि खासै राख्दैनथेँ । ऋण कसरी लिने भन्ने पनि थाहा थिएन । यस्ता दिन भोगेर आएको मैले, बीचमा धेरै हण्डर भोगेको छु । धेरै ठक्कर खाएको छु, बजारले दिने असीम सुखानुभूति पनि लिएको छु । बजारमा सिद्धिसकेको मान्छे, बजारबाटै पुन: अर्वपति भएको छु । सेयर बजारमा हालेको केहि करोड रुपैयाँ पनि डुबेपछि लगभग सक्किएको स्थितिमा पुगेको मैले, यहि बजारबाट पुन: १० अर्व बढी रुपैयाँ कमाएँ । कुनैबेला यहि बजारमा लाग्न मैले ३०० करोड रुपैयाँसम्म बैंकबाट ऋण लिएँ । १ त्रैमासमा १० करोड, अर्थात ९० दिनमा १० करोड हाराहारी त म बैंकलाई ब्याज मात्र बुझाउँथेँ । यो रकम भनेको औसत नेपालीले हेर्दा धेरैका लागि सपनाको ऋण हो ।  बैंकमा मैले बुझाउनुपर्ने ब्याजमात्र दिनकै १ लाख ११ हजार बढी थियो । तर यति हुँदा पनि, आजसम्म इमान बेचेको छैन, आजसम्म बैंकमा डिफल्टर भएको छैन । सत्यका लागि थुप्रैपटक लडेको छु, तर असत्यको बाटो कहिल्यै रोजेको छैन । यहि कारण भगवानले हेरिदिईरहनुभएको छ, म आज पनि खुसीसाथ बाँचेको छु ।
कुनै बेला एनसीसी बैंकको १ करोड कित्ता सेयर त होल्ड नै गर्छु भनेर लागिपरेको थिएँ । प्राइम बैंकको ५० लाख कित्ता हाराहारी सेयर मेरै नाममा थियो । दिनमै करोडौँ कमाएको अनुभव मात्र होइन, दिनमै करोडौँ गुमाएको अनुभव पनि छ मसँग । सेयर बजारबाट कसरी अर्वपति भएँ भन्ने आफैँलाई थाहा छैन । तर जति कमाएँ, सो रकम सेयरबाटै कमाएँ भन्नेचाहिँ थाहा छ । म सेयर बजारकै लागि जन्मिएको रहेछु भन्ने लाग्छ अहिले पनि । आज पनि सेयर कारोबार गर्छु । सायद भोगाईका अनिगिन्ती अनुभवले होला, आजकल मन आत्तिदैन, बढे पनि बढ्यो ठिकै छ, घट्यो भने पनि ‘अहिले पो घट्यो पछि बढिहाल्छ नि’ भन्ने लाग्छ ।
अहिले फर्केर हेर्दा खुसी पनि लाग्छ, अहँ म कहिल्यै हारिन । हरेक समस्यासँग लडेँ, हरेक दु:खसँग लडेँ, हरेक गार्हा समयमा आफुलाई सम्हाल्दै लडेँ । र आज आफुले गरेको त्यहि संघर्षप्रति गर्व छ ।  गर्व छ, आफु नथाकी जीवनलाई अघि बढाएकोमा । गर्व छ, सेयर बजारमा लगभग सिद्धिसकेको आफुलाई फेरी उठाएर आजको दिनसम्म आईपुगेकोमा । थाहा छैन, मेरो भोगाईबाट कसले के सिक्न सक्छ, तर यतिचाहिं जरुर भन्न सक्छु, धैर्यता राखे, सेयर बजारमा तपाईं एक न एक दिन जरुर जित्नुहुनेछ ।
‘सेयर बजारको बादशाह भन्दा गर्व लाग्छ’
मलाई अझै याद छ, मसँगको पहिलो औपचारिक सम्बादमा सुरजले मलाई सेयर बजारका बादशाह भनेर सम्बोधन गरेको । मलाई धेरैअघि धेरै जनाले दिएको उपनाम हो यो । मलाई किन बादशाह भनियो होला, बादशाहले गरेजस्तै हो त मेरो काम ? बादशाहले मैले भोगेजस्तो दु:ख पनि भोग्छ होला ? कहिलेकाहिँ यस्तो नलाग्ने होइन, तर मलाई दिईएको यो उपनामप्रति म गर्व गर्छु । मैले कसैलाई मलाई सेयर बजारको बादशाह भनिदेउ भनेर आजसम्म भनेको छैन, र होइन । ठ्याक्कै मलाई कसले पहिलोपटक बादशाह भन्यो भन्ने त थाहा छैन, सेयर बजारको बादशाह भनेर मलाई नै किन भनियो भन्ने पनि थाहा छैन, तर निकै अघि देखि विभिन्न पत्रपत्रिकाले मलाई सेयर बजारको बादशाह भनेर लेखिरहे । विभिन्न अवसरमा, भेटघाटका बेलामा पनि, कतिपय समारोहमा ठुला राजनीतिक दलका नेताहरुले पनि मलाई सेयर बजारको बादशाह भनिरहे । एउटाले भन्यो, अर्कोले भन्यो, एउटाले लेख्यो, अर्कोले फेरि लेख्यो, फेरी अर्कोले भन्यो, फेरि अर्कोले लेख्यो गर्दागर्दै मलाई आजसम्म पनि सेयर बजारको बादशाह भन्छन् धेरैले । आफुलाईचाहिँ आफु सेयर बजारको बादशाह हुँ भन्ने त कहिले लागेन, तर सबैले तपाईं सेयर बजारको बादशाह हुनुहुन्छ भन्दा मैले माया गर्ने मान्छेहरु कमाएको रहेछु भन्नेचाहिँ लाग्छ । सायद मैले जीवनमा पैसा भन्दा बढी माया नै कमाएको छु, भगवानको आशिर्वाद कमाएको छु, सेयर लगानीकर्ताहरुको साथ कमाएको छु ।
सेयर बजार प्रवेश गर्दा ‘पहिलो गाँसमै ढुंगा’
२०५५ सालतिरको कुरा हो, त्यतिबेला मलाई सेयर बजारबारे खास जानकारी थिएन । यस विषयमा खास अध्ययन गरेको थिईन । अहिलेको जस्तो सिक्ने वातावरण पनि थिएन त्यतिबेला । कसैको भोगाईबाट सिक्ने, बुझ्ने भन्ने त झन् छँदै थिएन । चलचित्रको वितरण, निर्माण गर्ने म सेयर बजारमा निकै नयाँ थिएँ । जीवनमा किन हो किन, आँटेको काम फत्ते पारेरै छोड्छु भन्ने आत्मविश्वास छ । २०५५ सालमा मलाई त्यहि आत्मविश्वासले बजार प्रवेश गरायो । तर म सार्है गलत समयमा सेयर बजारमा प्रवेश गरेको रहेछु । ४५ बर्षको उमेरमा कुन्नि के आत्मविश्वास थियो, म सेयरबाटै कमाउँछु भनेर लागेको थिएँ । तर मेरो प्रवेश गलत समयमा हुँदा मैले ठुलो घाटा व्यहोर्नुपर्यो ।
म त्यतिबेला पनि थोरबहुत पैसा भएकै मान्छे थिएँ । व्यापारिक पृष्ठभूमि भएकोले मसँग नहुँदा पनि केहि करोड पैसा थियो । तर सेयर बजारमा लागेर आफ्नो सम्पतिलाई दोब्बर-तेब्बर बनाउँछु भनेर लागेको मैले सुरुवाती समयमा नै ठुलो हण्डर व्यहोर्नुपर्यो । बजारबाट कमाउँछु भनेर सेयर बजारमा प्रवेश त गरेँ, तर सबै सेयर महँगोमा किन्न पुगेछु । मलाई अझै पनि याद छ, व्यापार गरेर जम्मा गरेको २-४ करोड रुपैयाँ सबै सेयरमा हालिदिएँको थिएँ मैले । अझै सम्झन्छु प्रति कित्ता १५५० रुपैयाँमा बैंक अफ काठमान्डु, प्रतिकित्ता ८०० रुपैयाँमा तत्कालीन एनआईसी, प्रतिकित्ता ३१००मा नेपाल बंगलादेश बैंक, प्रतिकित्ता २९००मा एनआईबीएल, प्रतिकित्ता २२००मा नेपाल एसबिआई लगायतका सेयर किनेको थिएँ मैले । तर, मैले ४५ बर्ष लगाएर कमाएको केहि करोड रुपैयाँ सिद्धिन ४५ दिन पनि लागेन ।
२०५७-५८ सालतिरको कुरा हो, बजार निकै रफतारमा घट्न थालेको थियो । न निस्कन सकिने अवस्था थियो, न ननिस्केर सुख थियो बजारबाट । मलाई कहिलेकाहीँ लाग्छ -‘अहिलेको पुस्ता भाग्यमानी छ । सेयर बजारबारे सिक्ने ठाउँहरु छन्, सिकाउने अनेक गुरुहरु छन् । मिडिया छ, सोसल मिडियाहरु छन्, बजारमा के भईरहेको छ भन्ने थाहा हुन्छ ।’ तर त्यतिबेलाको स्थिति अहिलेकोजस्तो सहज थिएन । हामी बजारका सिमित लगानीकर्ताहरु ठुलै घाटामा थियौँ । घाटामा थियौँ पनि के भन्नु, घाटा खाँदै थियौँ । असारमा बाढी आएर खेत बगाएजसरी हाम्रो पैसा बग्दैथियो,  बगाउँदै थियो ‘बियरिस’को बाढीले ।
म अझै सम्झन्छु, त्यतिबेला जसजसले सेयर बजारमा घाटा खाए, अधिकांश यो बजारबाट पलायन भए । करोडौँ पैसा गुमेपछि यो बजारबाट पैसा फिर्ता आउन सक्दैन भन्ने निष्कर्ष रह्यो धेरैको त्यतिबेला । अहिले पनि एउटा बुलपछाडी धेरै मान्छेहरु, धेरै सेयर लगानीकर्ताहरु बजारबाट पलायन भएको देख्छु । तर पलायन भएर वा बजारबाट भागेर कमाइन्न । मैले पनि बजारमै संघर्ष गरेर कमाएको हुँ ।
बजारमा म प्रवेश गर्दा नै भएभरपो पैसाले सेयर किनेको थिएँ, तर सबै महँगो मूल्यमा परेछ । बजार तल झर्दै गर्दा अव त झर्दैन होला भनेर झन् झन् सेयर किन्दै गएँ । उतिबेला ‘स्टप लस’ भन्ने त दिमागमै थिएन । ‘किनेको सेयर त नाफामै बेच्ने हो’ भन्ने थियो । आज पनि धेरैमा यो भ्रम रहेको पाउँछु । यस्तो भ्रमले मलाई पनि एकपटक नमिठोसँग सिध्याएको हो । तर म उतिबेला पनि अलि फरक सोच्थेँ । आफु बजारमा प्रवेश गर्नु र बजारले बियरिस लय समात्नु एकैपटकजस्तो परेछ त्यतिबेला । कमाएको पैसा आज पनि घट्ने, भोलि पनि घट्ने, पर्सि पनि घट्ने हुन् थाल्यो । तर पनि मैले हार खाईन । आफूले सेयर बजारमा गुमाएको पैसा जसरी पनि बजारबाटै फिर्ता गरेरै छाड्छुु भन्ने अडान लिएँ आफैँसँग । के गरेर हुन्छ, कसलाई सोधेर हुन्छ, जसरी पनि यो बजारबाट उक्सन्छु र कमाउँछु भन्ने अठोट थियो ।
अहिले धेरै लगानीकर्ताहरु बजार घटेर बिरक्तिएको देख्छु । लगानीकर्ताहरुले आधा पैसा घटिसक्यो भनेर चिन्ता लिएको देख्छु । मेरो सुरुवाती अनुभव झन् कहालीलाग्दो थियो । मलाई अझै पनि सम्झना छ,  तत्कालीन एनआइसी बैंकको सेयर मैले ८ सय रुपैयाँ प्रति कित्तामा किनेको थिएँ । तर बजार निकै तल घटेका बेला ऋण तिर्नुपर्ने भएपछि र ऋण तिर्न अरु केहि उपाय नलागेपछि मैले सो सेयर प्रतिकित्ता १ सय ९५ रुपैयाँमा बेच्नुपरेको थियो ।  बैंक फ काठमाण्डूूको प्रतिकित्ता १५ सय रुपैयाँमा किनेको सेयर २ सय २० रुपैयाँमा बेच्न बाध्य भएको थिएँ म । सेयरको भाउ सोत्तर भएझैँ तल आईरहेको थियो । किनेको भाउ त अहिलेभन्दा कतिलाई पत्यार पनि लाग्दैन होला, ‘ब्लु चिप’ भनेर ३६०० रुपैयाँ प्रतिकित्ता हालेर किनेको नेपाल बंगलादेश बैंकको सेयर घटेर ४ सयमा आयो । नबिल बैंकको सेयर ४ सय ६५ मा आईपुग्यो,  स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ९ सय ९० रुपैयाँमा आयो ।
बजारमा सिक्दै गर्दा, सुरुवाती लगानी गर्दा बढी लोभ गरेर ऋणमा पैसा चलाउनुहुन्न भनेर ज्ञान दिने गुरुहरु अहिले धेरै हुनुहुन्छ । तर, त्यतिबेला मलाई यस्तो जानकारी दिने कोहि थिएन । मैले नजानेरै लागेको सेयर बजारमा ऋणमै लगानी गरेको थिएँ । बजार घटिरह्यो, मैले ऋण थपिईनै रहेको थिएँ । तर, बजारले माथि जाने संकेत नै नदिएपछि मलाई सो ऋणले पिरोल्न थाल्यो । ऋणले भन्दा बढी बैंकले पिरोल्न थाल्यो । बजार माथि हुँदा, घरमै आएर ऋण दिने बैंकहरु बजार घट्न थालेपछि ऋण तिर्न ताकेता गर्न थाले । भएको सेयर बेच्नुबाहेक मसँग कुनै उपाय थिएन ।
बजार निकै तल आईपुग्यो । तर, भएको ऋण तिर्न सबै सेयर बेचियो । निकै महँगोमा किनेको सेयर निकै सस्तोमा बेच्नुपर्दा भएको आफ्नो सम्पत्ति पनि धेरै सकिएको थियो । तर, बजार निकै तल आएकोले अव यो बेला सेयर किन्न सके मैले यहि ठाउँबाट कामाउँछु भन्ने आत्मविश्वास थियो मलाई । कतिपयले त ‘ निर्मल प्रधान सेयर बजारमा सिद्धियो, अव उठ्न सक्दैन’ पनि भन्थे । झट्ट हेर्दा स्थिति भयावह पनि थियो । धेरै साथीहरु सेयर बजारबाट पलायन हुनुभएको थियो ।
तर धैर्यता राख्नुपर्छ, आँट्नु मात्र पर्छ, भगवानले पुर्याउनुहुन्छ भन्ने सुनेको थिएँ मैले । म यसै पनि भगवानलाई मान्ने मान्छे, यो दु:खको दिन, यो पीडाको समय, एक न एक दिन जरुर जानेछ भन्ने आत्मविश्वास थियो मलाई । धेरै लगानीकर्ताहरु बजार घटेका बेला सेयर किन्ने आँट गर्दैनन् । तर मलाई त्यतिबेला पनि अव ऋण नै गरेर सेयर किन्ने समय आएको भान भएको थियो । मैले हजार बढी हालेको सेयरको भाउ अहिले सय हाराहारीमा छ र यो भाउ बीचतिरमात्र पुग्यो भने पनि मलाई फाइदा हुन्छ भन्ने मेरो ठाडो हिसाबकिताब थियो ।
२ करोड ऋण थपेर उठेको ‘म’ !
अफ्ट्यारो समयमा थोरैले मात्र साथ दिन्छन् । अफ्ट्यारो समयमा साथ देऊ भन्न पनि कतिपयलाई गाह्रो हुन्छ । मैले पनि सबैलाई त हारगुहार गर्न सकिन, तर मेरा केहि नजिकका साथीभाई र आफन्त छन्, जसले मलाई निकै गाह्रो समयमा साथ थिएका छन् । विनोद चौधरी र सत्यन्द्रप्यारा श्रेष्ठ मलाई अफ्ट्यारो समयमा साथ दिनेहरुमध्ये हुनुहुन्छ । मलाई गाह्रो परेका बेला निकै ठुलो गुण लगाउनुभएको छ उहाँहरुले।
बिनोद चौधरीको आफ्नै बैंक भएकाले मैले चौधरीजीसँग ऋण उपलब्ध गराईदिन आग्रह गरेँ । उहाँले मलाई ‘कति ऋण चाहियो ?’ भएर सोध्नुयो । मैले ठमेलमा रहेको निश्चल चलचित्र भवन रहेको एक रोपनी जग्गा छ, तर सो जग्गा राखेर २५ लाख ऋण लिईसकेको छु, अव मलाई २ करोड रुपियाँ ऋण दिलाईदिनुपर्यो भनेर अनुरोध गरेँ । उहाँले हुन्छ भन्नुभयो । र, सत्यन्द्र प्यारा श्रेष्ठलाई भनिदिनुभयो । म अझै पनि सम्झन्छु, बिनोद चौधरीले सत्यन्द्रप्यारा श्रेष्ठको घरमा गएर, ‘निर्मल प्रधान मेरो परिवारभित्रको मान्छे हो, उहनालाई ऋण दिनुपर्यो’ नभनेको भए मलाई उक्सिन सार्है गाह्रो पर्थ्यो । त्यतिबेला पनि मेरो जग्गाको मोल राम्रै थियो । सत्यन्द्रप्यारा श्रेष्ठले ‘हुन्छ’ भनेपछि मेरो सो जग्गा र जग्गामा रहेको चलचित्र भवनको ‘रिभ्यालुएसन’ गरियो र मलाई बैंकले ऋण दिने भयो । मैले भनेजति नै २ करोड रुपैयाँ ऋण पाउने भएँ मैले । ब्याज ९ प्रतिशत हुने भयो । ऋण पाएकै दिन, ‘अव म माथि उठ्छु’ भन्ने कताकता भान भईसकेको थियो ।
मैले भनेको जति ऋण पाएपछि म मेरा गुरु जीवन बस्नेतलाई भेट्न गएँ । ‘जीवन गुरु’ सेयर बजारको विज्ञ मात्र होइन, बजार ज्ञानको खानी पनि हो । फलानो सेयरको भविष्य के हुन्छ, फलानो कम्पनी कस्तो छ भन्ने कुरा उहाँले सहजै बताईदिनुहुन्थ्यो । यस अघि सार्है डुबिसकेको अनुभव बोकेर मैले उहाँसँग कुन सेयरमा लगानी गर्ने भनेर सल्लाह मागेँ । उहाँले त्यतिबेला मलाई एभरेष्ट बैंकको सेयर किन्न सुझाव दिनुभयो । एभरेष्टको भविष्य सार्है राम्रो छ भनेर गुरुले मलाई बैंकबारे सुझाउनुभयो । एभरेष्टमै डुबेको अनुभव भएकोले त्यहि सेयर किन्नु र भन्ने मनमा कतै न कतै थियो । तर जीवन गुरुले मलाई एभरेष्ट बैंकको सेयर कुनै संकोच नगरी किन्न सुझाव दिनुभयो ।
एभरेष्ट बैंकले नै उकास्यो !
सेयर बजारबारे निकै बुझ्ने गुरुले नै भनेपछि मैले पनि एभरेष्ट बैंककै सेयर किन्न थालेँ । मैले गुरुकै सल्लाहमा त्यतिबेला एभरेष्ट बैंक र एनबी बैंकको २ लाख कित्ता सेयर खरिद गरेँ । मैले सो सेयर किन्न थाल्दा एभरेष्टको सेयर भाउ प्रति कित्ता ३ सय रुपैयाँ मात्र थियो । बजारमा एभरेष्टको भाउ जति जति बढे पनि म सेयर उठाउँदै थिएँ । बेलाबेला जीवन गुरुसँग सल्लाह मागिरहन्थेँ, उहाँले पनि पनि कुनै धक नमानी मलाई सल्लाह दिईनैरहनुभयो । त्यतिबेला नविल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि सार्है राम्रा बैंकका रुपमा परिचित थिए । मैले एभरेष्ट बैंकको सेयर किनेको देखेर कतिपय साथीभैईहरुले नविल र स्ट्याण्डर्ड चार्टर्डजस्ता राम्रा बैंक छोडेर किन एभरेष्ट बैंक किनेको भनेर प्रश्न गर्थ्य । म पनि हाँसेर जवाफ दिन्थेँ- ‘मलाई सगरमाथा मनपर्छ, त्यसैले एभरेष्ट बैंकको सेयर किनिरहेको छु ।’
म एकोहोरो सेयर किन्नमा लगिरहेँ । जहाँजहाँबाट पैसा आउन सम्भव छ, त्यहाँ, त्यहाँबाट पैसा ल्याएर सेयर किनिरहेँ । मेरा सारा सम्पत्ति धितोमा राखेर ऋण निकालेँ । सो पैसाबाट सेयर किनिरहेँ । त्यतिबेलाको नीति अनुसार ९० प्रतिशतसम्म सेयर कर्जा पाइन्थ्यो । बैंकहरुलाई १० प्रतिशत मात्र मार्जिन राखेर सेयर धितोमा कर्जा प्रवाह गर्न आग्रह  गर्ने मान्छे पनि मै थिएँ । धेरै बैंक त्यतिबेला पनि सेयर धितोकर्जा राखेर ऋण दिन आनाकानी गर्थे । तर पनि मेरो पोर्टफोलियो, म प्रतिको विश्वास र मैले बैंकलाई कहिले पनि घात नगरेको रेकर्डका कारण बैंकहरुले मलाई पत्याईरहे । र सिलसिला आज पनि जारी छ । आज पनि कतै, कुनै बैंकमा डिफल्टर भएको छैन । मैले भएको सेयर पनि धितो राखेर, पैसा निकाली थप सेयर किनिरहेँ ।
साथीहरुलाई सेयर किन्न लगाएँ, घाटा भए जति आफुलाई नाफामा भागको सर्त !
मैले त्यतिबेला म मात्र होइन, अरुले पनि कमाउन् भनेर धेरैलाई एभरेष्ट बैंकको सेयर किन्न सुझाव दिएको थिएँ । मेरो गुरुबाट म जसरी ‘कन्भिन्स्ड’ भएको थिएँ, त्यो फरक खालको आभास थियो। यो सेयरको नाशा फरक हुने रहेछ । नशा बसेपछि कहाँबाट पैसा ल्याउँ र सेयर किनौँ हुँदो रहेछ । मलाई पनि त्यस्तै भयो । आफुसँग भएको सबै पैसाको सेयर किनेँ । ऋण गरेँ, ऋण गरेको पैसा पनि सबै सेयर किनेँ । तर अहँ, त्यति हुँदा पनि म रोकिन । मैले मेरा केहि साथीहरुलाई एभरेष्ट बैंकको सेयर प्रति कित्ता १ हजार पुुगेन भने अपुुग रकम म दिन्छुु, तर १ हजार भन्दा माथि पुुग्यो भने त्यसको नाफा मलाई चाहिन्छ भनेर सम्झौता नै गरेको थिएँ । त्यतिबेला एभरेष्ट बैंकको सेयरको भाउ प्रतिकित्ता ७५० रुपैयाँ थियो । कतिपयसँग त मैले लिखित नै सम्झौता गरेको थिएँ । एभरेष्ट बैंकको सेयर भाउ मैले भनेअनुसार नै माथि जान थालेपछि साथीहरु पनि आश्चर्यमा पर्नुभएको थियो । अझ मैले सोचेभन्दा माथि भाउ पुगेपछि साथीहरु पनि निकै खुसी हुनुभएको थियो । ७५० रुपियाँमा किनेको सेयर ६ महिनाको अवधिमै प्रति कित्ता १ हजार २ सयको उचाईमा पुग्यो।
केहि साथीहरु अव त सेयर बेच्ने बेला भयो भन्न थाले । तर एभरेष्टले अझै राम्रो गर्छ भन्ने निश्चित थियो मेरो मनमा । र त साथीहरुले सेयर बेचौँ भनेपछि मैले दुई विकल्प दिएँ साथीहरुलाई । पहिलो विकल्प ‘तिमीहरु आफुसँग भएको सेयर मलाई १२००मा बेच, अनि लिखित सम्झौता अनुसार १ हजारभन्दा माथिको प्रति कित्ता २ सय रुपैयाँ नाफा पनि मलाई देउ’, दोश्रो विकल्प -‘सेयर नबेच, सेयर राखिराख र आगामी नाफा आफु नै लिऊ ।’ यति भनेपछि कसैले सेयर बिक्री गरेनन् । नाफा बाँड्ने त कुरै भएन । उनीहरुलाई पहिलो विकल्पभन्दा दोश्रो विकल्प नै ठिक हो भन्ने अवस्था थियो । मेरो आत्मविश्वास देखेर उनीहरु छक्कसमेत परेका थिए ।
सेयर किन्दा आज पनि धेरैले भाउको मात्र हिसाब गरेको देखेको छु । तर बैंकको सेयर किन्ने भनेको बैंकले दिने रिटर्नका लागि मुख्य हो । यो विषय इन्भेष्टरले बुझ्नुपर्छ । मैले २ लाख कित्ता भन्दा बढी सेयर खरिद नगरेको भए पनि बोनस सेयरका कारण मसँग भएको एभरेष्ट बैंकको सेयर संख्या बढ्दै गयो । केहि समयपछि त मैले लिएको २ लाख कित्ता सेयर बढेर १० लाख कित्ता पुग्यो । एभरेष्टको सेयर निर्मल प्रधानले राम्रो उठाएको छ भन्ने चर्चा हुन्थ्यो त्यतिबेला पनि सेयर बजारमा । निर्मल प्रधानले बेचेको छैन भनेपछि अरुले पनि सेयर बेचेनन् । मैले किनाएका साथीहरुले त मेरो सर्त सुनेरै बेचेनन् । हेर्दाहेर्दै एभरेष्टको सेयर भाउ १२ सयबाट पनि बढेर १७ सय पुग्यो । तीन सय हाराहारीमा किनेको सेयर १७ सय पुग्दा कतिधेरै कमाई भयो होला । १२००मा नै किनेकाहरुले पनि सेयरको भाउ १७ सय पुग्दा राम्रो कमाई गरे ।
एभरेष्टको गति यतिमै रोकिएन । बजारले बुलिस लय समात्दै गर्दा त बजारमा सेयरको भाउ यसरी बढ्न थाल्यो कि के भन्ने । हामी हरेक दिन नयाँ करोडपति भएझैं हुन्थ्यौँ । मैले ३ सय रुपैयाँ प्रति कित्तामा किनेको एभरेष्ट बैंकको सेयरको भाउ ३ हजारसम्म पुग्यो । १५ सय रुपयाँमा किनेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरको भाउ ९ हजार हाराहारी पुग्यो । १ सय रुपैयाँको एनसीसी बैंकको सेयर बढेर ६ सयमा पुुग्यो ।  हेर्दाहेर्दै धेरै साथीहरु लखपति, धेरै साथीहरुको एभरेष्ट बैंककै सेयरबाट करोडपति भएँ । म पनि निकै डुबेको मान्छे, एभरेष्ट बैंककै सेयरबाट उक्सिएँ ।
‘धैर्यता चाहिन्छ’
आज फर्केर हेर्दा लाग्छ- ‘ओहो ! म त झण्डै सिद्धिएको मान्छे पो थिएँ । तर, म जहाँ झण्डै सिद्धिएको थिएँ, त्यहीं आफ्नो भविष्य खोजेँ । आज पनि घाटा भयो भनेर तनाव लिईरहेकाहरुलाई मेरो सुझाव छ- सेयर बजारमा चाहिने भनेको धैर्यता हो । धैर्यता राख्न सके, यो बजारले रिटर्न दिन्छ, दिन्छ । हामी नेपाली त यसै पनि भगवान पशुपतिनाथको कृपा भएको मान्छे, हामीलाई भगवानको पनि साथ हुन्छ । मलाई पनि भगवानले साथ दिनुभयो ।  साथीभाईको शुुभेच्छा रहिरह्यो, बैंक तथा फाइनान्स कम्पनीले पनि सहयोग गरे।  सार्है विरक्तको समय पार गरेर मैले सफलता पाएँ । अहिले पनि साथीभाईहरु बेलाबेला आत्तिएको देख्छु । यो सेयर बजार आत्तिनेहरुका लागि हुँदै होइन । आत्तिएर कतै पुगिन्न । सेयर बजारबाट भागेर पनि कतै पुगिन्न । धैर्यता राखे, बजारबारे सिकेर लगानी गरे यहि बजारले तपाईंहामीलाई रिटर्न दिन्छ । आखिर संघर्ष गर्नेले नै त हो जित्ने ।  जीवनमा पनि, सेयर बजार पनि त्यस्तै संघर्ष र संघर्षपछिको सुखको अनुभूति रहेछ ।
(अर्थ सरोकारले आयोजना गरेका विभिन्न कार्यक्रममा निर्मल प्रधानले राखेका भोगाई, निर्मल प्रधानको अंग्रेजी ब्लग  र अर्थ सरोकारकसँग गरेको कुराकानीमा आधारित)
बाँकी अर्को अंकमा…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: