×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘माननीय गगन थापाज्यू, तपाईं नेता हो कि चन्दादता व्यापारीको कामदार ?’

PRIME CA

‘माननीय गगन थापाज्यू, तपाईं नेता हो कि चन्दादता व्यापारीको कामदार ?’

३० मंसिर २०८०, शनिबार

पढ्न लाग्ने समय: < ४ मिनेट

ए माननीय गगन थापा ज्यू,

तपाईंले नयाँ स्टक एक्सचेन्जका बारेमा दिनुभएको अभिव्यक्ति सुनेँ । लाज पनि लजाउनेगरी तपाईंले दिनुभएको अभिव्यक्तिपछि तपाईंलाई केहि कुरा लेख्न मन लाग्यो ।  तपाईं आम जनता र लगानीकर्ताको नेता हो कि कुनै एउटा चन्दादाता व्यापारिक समुहको कामदार ? तपाईंलाई फण्डिङ गरेको ग्रुपले पाएको वा तपाईंले ल्याएको अर्को कुनै अमुक अध्यक्षले दिएको स्टक एक्सचेञ्ज मात्र शुद्ध हुने हो ? वा नयाँ स्टक एक्सचेञ्ज नै ठिक छैन, कहिले आउनै नहुने हो ? कहिलेसम्म झुक्काउने र अल्मल्याउने हो हामी आम लगानीकर्तालाई ? तपाईं खासमा चाहिँ कसको खेताला हो ? जनताको कि सधैँ सबै क्षेत्र कब्जा गरेका नेपालका ६ जना व्यापारीको ? ती छ जना व्यापारिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउने सुनिश्चितता नहुन्जेल भ्रष्टाचार हुने हो ? तपाईंले केका लागि, कसको वकालत गर्दै हुनुहुन्छ ? कहिलेसम्म रोकेर राख्ने हो नयाँ स्टक एक्सचेन्ज ? अझै, पटकपटक यस्तै काइते विरोधका कारण १७ बर्ष हुन लाग्यो त नौटंकी गर्दै बिरोध गर्दै बसेको, अव कहिलेसम्म हो यसरी बस्ने ? यसपाली त जोसुकैले पाओस्, खुला प्रतिस्पर्धाको आधारमा आउन लागेको तथा पूँजीबजार विकास र बिस्तारको निम्ति अपरिहार्य भैसकेको नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको प्रकृया नरोकौं । अन्यथा यो पूँजी बजारलाई अर्को १७ वर्ष ढुङ्गे युगमै धकेल्ने प्रयास हुनेछ ।  

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स कसैलाई मन लाग्यो भन्दैमा सुटुक्क त्यसै दिने हो र ? प्रचलित कार्यविधि, नियम, कानुन, खरिद ऐनमा नै टेकेर, प्रतिस्पर्धाको आधारमा, महिनाअघि सार्वजनिक खुला सूचना निकालेर, मूल्यांकन गरेरै दिने होला नि, होइन र ? 

तपाईं पनि माननीय मन्त्री भैसकेको मान्छे, के तपाईं पनि लाइसेन्स दिँदा मन परेको मान्छेलाई टिका लगाएर दिने गर्नुहुन्थ्यो ? कसको हण्डि खाएर सिङ्गो पुँजीबजारको विकास र विस्तारलाई रोक्न खोज्दै हुनुहुन्छ ? धितोपत्र बोर्डले कहाँ, कुन कुरामा कमजोरी गर्यो ? तथ्यमा बोल्नुस्, गलत भए कारबाही गर्नुस्, होलसेल र झेली राजनीतिक कुरा गरेर पूँजीबजारको विकास र बिस्तारको कामलाई अवरोध गर्ने काम नगर्नुस् ।

नेपालमा हालसम्म यतिका धेरै बैंक खुले, रि–इन्स्योरेन्स खुले, इन्फ्रास्ट्रक्चर बैंक खुले, इन्स्योरेन्सहरु खुले कुन ? कस्तो प्रतिस्पर्धा र प्रपोजल चित्त बुझाएर खुले भन्नुहोस् त ? तपाईँजस्तो नेताका प्रत्येक पाइलै पछिको विरोधले कहिले यो देश अघि बढ्ला र खै ? तपाईं पुराना बूढा नेता भन्दा कमजोर बुझाई र अध्ययन भएको ‘स्टन्ट मास्टर’ जस्तो खेताला नेताको रुपमा प्रकट भएको देख्दा सारै दुखी छौँ, बजारको विकास र बिस्तार चाहने हामी लगानीकर्ताहरू ।

राजनीति गरेर त्यसै पनि तपाईंहरुले देशलाई खोक्रो बनाइसक्नु भइसक्यो । अब तपाईँका चन्दादाता र हण्डि दाताको भजन गाउँदै आम लगानीकर्ताको माग रहेको नयाँ स्टक एक्सचेञ्जलाई रोक्नु भनेको तपाईं पनि तपाईंको मालिकले पाउने ग्यारेन्टी नभएसम्म रोक्ने पक्षमा हुनुहुन्छ हैन त ? हामीलाई भनिदिनु होला कसले पाउँदा ? कसले दिँदा ? कहिले दिँदा ? कुन देशको ऐन कानुन अनुसार दिँदा तपाईंलाई चित्त बुझ्ने हो ? हरेक कुराको विरोध गरेर विकास र बिस्तार को अवरोध गर्ने तपाईँजस्ता ‘स्टन्टबाज’ र खेताला नेताहरु यो देशका असली शत्रु हुन । 

करिब १६ बर्ष पहिले धितोपत्र बोर्डले अध्ययन गरेर सरकारले निर्णय गरिसकेको नेप्सेको पुन संरचना गर्ने र नयाँ स्टक एक्सचेञ्ज ल्याउने भन्ने कुरा आजसम्म किन अघि बढ्न सकेन ? यो भन्दा पहिला ३ वटै अध्यक्षको पालामा नयाँ स्टक एक्स्चेन्जको औचित्य छ भनी गरेका प्रयास किन विफल भए ? गगन थापा ज्यूले चाहिँ अध्ययन गर्नु भयो त ? त्यसबेलामा पुँजी बजार विकास विरोधीहरूले भ्रष्टाचार हुनसक्छ, कमिसन खान सक्छन् भनेका कारण न त नयाँ स्टक एक्सचेञ्ज आयो, न त नेप्सेको पुनर्संरचना नै भयो । नयाँ स्टक एक्सचेञ्ज सम्बन्धी कार्यविधि बनेर सबै कानुनी प्रकृयाहरू पुरा गर्दै प्रकृयाको अन्तिम चरणमा पुग्न लागेको सन्दर्भमा नेपालको पुँजीबजारको विकास र विस्तारलाई अवरोध गर्ने काम कसैको उक्साहटमा कुनै पनि तप्काबाट हुनुहुन्न ।

सडक नबनाउँ, पुल नबनाउँ, स्कुल नबनाउँ, अस्पताल नबनाउँ, घर नबनाउँ किनकी त्यहाँ पनि भ्रष्टाचार होला । जे कुरामा पनि शंका मात्र गरेर त जीवन चल्ला र ? देश यसरी बन्ला र ? हो, खाएको प्रमाण भए ल्याउँ, अनि कारबाही गर तर शंकाकै आधारमा उजुरी र विरोध गरेर देशको विकासलाई रोक्नेहरु शत्रु हुन जनताका ।

नेप्सेलाई कब्जा गरेर बजारमा चलखेल गरी लुट्न पल्केका, आफुले लाइसेन्स पाए ठिक नत्र कसैले पाउनुहुन्न भन्ने सोच भएका र बजारलाई सधैँ गिजोलेर विकास र बिस्तार हुन नदिने केही मुठ्ठीभर समुहको खेताला बन्न सुहाउँछ माननीय गगनज्यू तपाईँजस्ता युवा नेतालाई ? 

दुई दशक पहिले अरुण थर्ड हाइड्रो भारतले बनाए देश बर्बाद हुन्छ भन्दै राजनीतिको रोटी सेक्ने कम्युनिष्ट नेताहरुले करिब २ दशक देशलाई २१ घण्टा सम्म लोडसेडिङको अन्धकारमा राखेर राजननीति गरेपछि फेरि अहिले भारतलाई नै दिएर अरुण थर्ड बनाउँदै गरेको कुरा हाम्रो दिमागमा ताजा नै छ । खोई, अहिले त्यही अरुण थर्ड भारतको कम्पनीले बनाउँदा देश सकिएन त, होइन र नेता ज्यू ? सकारात्मक र कन्ट्रक्टिब राजनकी विग्रह गर्नुस्,  विग्रह, डिस्ट्रक्टिब र विरोधको लागि विरोधको राजनीति नगरौँ ।

हिजोका दिनमा तपाईं लगायतले एउटा सन्की पात्रलाई अनशन बस्न उक्साएर स्वदेशका सम्पूर्ण मेडिकल क्षेत्र ध्वस्त बनाएर, नेपाली विद्यार्थीहरू छिमेकी राष्ट्रका विश्वविद्यालयमा पढ्न बाध्य पार्नुभयो । अव नेपालको पूँजी बजारलाई अरु १० वर्ष पछिको हालतमा पुर्याएर सबै लगानीकर्ताको मर्ममा घात गर्दै हुनुहुन्छ । सरकारलाई फेरि पनि अनुरोध गर्छौँ, हामी गलत भए प्रमाणसहित कारबाही जोसुकैलाई गर तर नयाँ स्टक एक्सचेञ्जलाई रोकेर सिङ्गो पूँजीबजारलाई अन्तराष्ट्रिय स्तरको बनाउने अवसरलाई खेर जान नदेउ । 

हरेक कुराको विरोध गर्ने चोरहरुले देशलाई सधैँ गिजोलेर राजनीतिको रोटि सेक्ने प्रथाको अन्त्य गर्न पनि सबै लगानीकर्ताहरू सचेत हुन आवश्यक छ । जसले पाओस्, जसको पालामा आओस्, जसले दियोस्, तर प्रतिष्पर्धाबाट विद्यमान नियम कानुन र कार्यविधि अनुसार खुला प्रतिस्पर्धाबाट नयाँ स्टक एक्सचेञ्ज तत्काल आउनैपर्छ । 

कुरो बुझौँ, पूँजीबजारको अन्तराष्ट्रिय स्तरको विकास र विस्तार यही थोत्रो नेप्सेको भाँडोबाट सम्भव छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: