×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीमा जान बिना धितो ऋण ! कुन बैंकले कहिले दिन्छ ? ब्याज कति ? पूरा विवरण… (भिडियो ब्रिफिङ)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वैदेशिक रोजगारीमा जान बिना धितो ऋण ! कुन बैंकले कहिले दिन्छ ? ब्याज कति ? पूरा विवरण… (भिडियो ब्रिफिङ)

१७ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणका क्रममा वैदेशिक रोजगारीका लागि विदेश जानेहरुलाई विना धितो ऋण दिनेगरी व्यवस्था मिलाइने बताएपछि वैदेशिक रोजगारीमा जान चाहनेहरू उत्साहित त भएका छन् नै, उनीहरुले यस्तो ऋण कसरी लिने, कहाँबाट लिने, कतिसम्म ऋण पाइन्छ लगायतका प्रश्नको जवाफ खोजिरहेका छन् । बजेट भाषणमा भएको यही व्यवस्थाबारे अर्थ सरोकारले समाचार प्रकाशन/प्रशारण गरेपछि धेरै दर्शकले हाम्रो कार्यालयमै फोन गरेर यस विषयमा जिज्ञासा राखेका छन् । र आज हामी बजेटमा भएको यस्तो व्यवस्था के हो ? भन्ने विषयमा खास जानकारी गराउँदैछौँ ।

पहिलो कुरा त अर्थमन्त्रीले घोषणा गरेको यो कार्यक्रम नयाँ भने होइन । यस अघि पनि तत्कालीन प्रदेश २ सरकार र विभिन्न बैंकहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई बिना धितो ऋण दिने सुविधा ल्याएका थिए । २०७६ सालमै तत्कालीन प्रदेश नंं २ अर्थात हालको मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाएका थिए । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता भएपछि थुप्रै युवाहरुले विदेश जान बिना धितो ऋण पाएका थिए । तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको विशेष पहलमा बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ भएको थियो । त्यतिबेला प्रभु बैंकले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराएको थियो ।

यसो त त्यसअघि नेपाल एसबिआई बैंकले पनि यसरी विदेश जानेहरुलाई विना धितो ऋण उपलब्ध गराएको थियो । २०७६ सालमै तत्कालीन प्रदेश नम्बर २ सरकारको पहलमा नेपाल एसबिआई बैंकले विभिन्न जिल्लामा यो सुविधा दिएको थियो ।

यसअघि ग्लोबल आईएमई बैंकले पनि यसरी वैदेशिक रोजगारीका लागि विना धितो ऋण दिने व्यवस्था गरेको थियो । र अहिले अर्थमन्त्री वर्षमान पुनले पनि सोही कार्यक्रम बजेटमार्फत ल्याएका हुन् । बजेटमा कार्यक्रम नै घोषणा गरेपछि अव विभिन्न बैंकहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई विना धितो ऋण दिनेगरी योजना ल्याउनेछन् । बैंकहरुको योजना आएपछि वैदेशिक रोजगारीमा जानेहरुले निश्चित रकम बिना धितो ऋण पाउनेछन् ।

यस्तो ऋण दिने बैंकबाट ऋण कसरी लिन सकिन्छ ?
विगतको अभ्यास हेर्दा सुरुमा बैंकहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिको नाममा बचत खाता खोलिदिने र राहदानी लिई श्रम सम्झौताको कागजात बैंकमा बुझाएपछि बैंकले कर्जा उपलब्ध गराउने गरेको थियो । र, यसपालि पनि यस्तै हुनेछ । अव बजेटको व्यवस्थालाई आत्मसाथ गर्दै वा यसमा बिजनेश देखेका बैंकहरुले विदेश जाँदा विना धितो ऋण दिने व्यवस्थासहितको योजना ल्याएपछि ऋण लिन चाहनेले सुरुमा सो बैंकमा बचत खाता खोल्नुपर्नेछ । सो खाता खोलिसकेपछि पासपोर्ट, श्रम सम्झौताको कागजात, र जुन देशमा, जुन कम्पनीमा काम गर्ने हो, सो कम्पनीले नेपालमा खोलिएको सोही बैंक खातामा रकम जम्मा गर्ने, वा सोही बैंक खातामा रकम आउनेगरी रेमिट्यान्स गर्ने ग्यारेन्टीसहितको पत्र बैंकलाई बुझाउनुपर्नेछ । यो पत्र सम्बन्धित कम्पनीबाट ल्याइदिने काम म्यानपावर कम्पनीले गर्न सक्छन् वा सम्भव भए विदेशमा रहेका सम्बन्धित कम्पनीबाट नै यो पत्र प्राप्त गर्न सकिन्छ । यति भएपछि चाहिएको ऋणको रकम, आफ्नो पासपोर्टको कपि, श्रम सम्झौताको कागज र रेमिट्यान्समार्फत नेपालको बैंक खातामा नै रकम जम्मा हुने सुनिश्चितताको पत्र बैंकलाई दिएपछि बैंकले सो कागजात अध्ययन गरी बढीमा ५ दिनभित्र ऋणीलाई ऋण दिन सक्छ ।

यसरी ऋण लिँदा विदेशमा काम गरी आएको तलब भने सिधै नेपालमा ऋण दिने सोहि बैंकको खाता जम्मा हुनुपर्छ । सोही तलबबाट बैंकले आफूले पाउनुपर्ने किस्ताको रकम काट्छ र बाँकी रकम नेपालको सोही खाताबाट निकाली कारोबार गर्न सकिन्छ । यसले विदेशमा कमाएको रकम वैधानिक स्रोतबाट रकम भित्रन्छ । यही कुरालाई प्रोत्साहन गर्न पनि बजेटमा नै व्यवस्था गरेर यस्तो कार्यक्रम ल्याइएको हो ।

बैंकहरुले स्पष्ट स्किम ल्याएर यस्तो ऋणको योजना ल्याउन सक्नेछन् । विगतमा विभिन्न बैंकहरुले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गरेको थियो । बैंकको आधार दरमा निश्चित प्रिमियम जोडी हुन आउने ब्याज बैंकले लिनेछ । यसअघि ग्लोबल आईएमई बैंकले यस्तो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा दिएको थियो ।

यस्तो ऋण लिने व्यक्ति २१ बर्ष पुगेको हुनुपर्छ र नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान सबै किसिमले योग्य हुनुपर्छ । विगतको अभ्यास हेर्दा यस्तो ऋण मलेसिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध हुने गरेको थियो । विगतमा यस्तो ऋणको अवधि कुल १८ महिनाको हुने गरेको थियो ।

धेरैको प्रश्न छ, यस्तो ऋण अहिले कुन बैंकबाट पाइन्छ होला । तर बजेटमा घोषणा भएको भोलिपल्टैबाट यस्तो ऋण पाइने भने होइन । अव विभिन्न बैंकहरुले यस्तो ऋणको योजना ल्याउनेछन् । सोही योजना ल्याउने बाटो सरकारले खोलिदिएको हो । बैंकहरुले ल्याएको योजना अनुसार यस्तो ऋण लिन सकिन्छ ।

अव यसलाई समग्रमा बुझौं
सामान्यतया बुझ्दा बैंकहरुले यस्तो स्किम ल्याएपछि २१ वर्ष पुगेको नेपाली नागरिकले विभिन्न मुलुकमा जानका लागि विना धितो ऋण लिन पाउनेछन् । त्यसका लागि बैंकमा खाता खोल्नुपर्नेछ भने त्यसपछि पासपोर्टको कपि, श्रम सम्झौताको पत्र र विदेशमा कमाएको रकम नेपालकै सोही बैंक खातामा जम्मा हुने गरी रेमिट्यान्सको सम्झौता वा सुनिश्चितता पत्र आवश्यक हुन्छ । ती कागज हेरेर बैंकले ५० हजार रुपैयाँ देखि डेढ लाख रुपैयाँसम्म ऋण दिन्छन् । जव विदेशमा काम गरेपछि तपाईंको तलब सो बैंकमा जम्मा हुन्छ, अनि बैंकले आफ्नो ब्याज र किस्ता रकम काट्छ र बाँकी रकम तपाईंले चलाउन सक्नुहुन्छ । सामान्यतया यस्तो ऋणको अवधि डेढ वर्षको मात्र हुन्छ । यद्यपि बैंकहरुले कसरी यो कर्जाको स्किम ल्याउँछन् त्यो भने हेर्न बाँकी नै छ ।

बैंकहरुले यस्तो स्किम अव कहिले ल्याउलान् त ? वा, कुन कुन बैंकहरुले यस्तो स्किम ल्याउँछन् त ? यसको जानकारीका लागि तपाईंले अर्थ सरोकारको मोबाइल एप डाउनलोड गर्न सक्नुहुन्छ । वा अर्थ सरोकारमा रहेको बैंकको ऋण र ब्याजका विषयमा जानकारी दिने पोर्टल बैंकरदाई डट अर्थ सरोकार डटकम लग अन गर्न सक्नुहुनेछ । बैंकहरुले स्किम ल्याउनेबित्तिकै यसको जानकारी अर्थ सरोकारमा आई नै हाल्छ । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: