×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीडीसी डुबाउने झाको फेरि महाप्रबन्धकमा फर्कन दौडधुप, आरोपको चाङ्ग, अख्तियारदेखि सीआईबीसम्म उजुरी !

GLOBAL IME BANK

डीडीसी डुबाउने झाको फेरि महाप्रबन्धकमा फर्कन दौडधुप, आरोपको चाङ्ग, अख्तियारदेखि सीआईबीसम्म उजुरी !

४ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) अनियमितता, बेथिति र भ्रष्टाचारका कारण थिलथिलो बन्दै गएको छ । नेपालका ४६ संस्थानमध्ये दुग्धजन्य पदार्थको संकलन र बिक्री वितरण गर्ने सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थान वित्तीय कारोबारमा धराशायी बन्दैछ ।

मुलुकको अर्थतन्त्रमा करिब ९ प्रतिशत योगदान दिएको दुग्ध व्यवसायमा करिव ३० लाख किसान र १८ हजार दुग्ध व्यवसायी संलग्न छन् । दुग्ध व्यवसायमा आबद्ध किसानलाई डीडीसीले एक अर्ब ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको तथ्यांक छ । संस्थानको घाटा ४२ करोडभन्दा बढी छ । स्रोत साधन र अधिकारसम्पन्न संस्थान कर्मचारी र संचालकहरुकै कारण अव्यवस्थित बन्दै गएको हो । 

संजीव झा संस्थानको महाप्रबन्धक रहँदा अनियमितता र भ्रष्टाचार मौलाउँदा टाट पल्टिएको र झा पुनः महाप्रबन्धक बन्न दौडधुपमै रहेको कर्मचारीहरु बताउने गर्छन् । दुई वर्ष महाप्रबन्धक रहँदा झाले संस्थानलाई ओरालो गतिमा लगेको आरोप छ । संस्थानलाई धराशायी बनाउन क्रियाशील रहेका उनी शक्ति केन्द्रलाई आर्थिक प्रलोभनमा पारेर पुन महाप्रबन्धक पद हत्याउने प्रयासमा रहेको संस्थानकै कर्मचारीहरु बताउने गर्छन् । झा महाप्रबन्धक भएको कार्यकाल गत चैत १२ गते पुरा भएको हो । 

शैक्षिक योग्यतासम्बन्धी प्रश्न उठेका झाको अदालत, अख्तियार र सिआइबीका उजुरी छ । उनको उजुरी छानविनकै क्रममा छ । उपभोक्ता हित संरक्षण समितिले कृषि तथा पशुपंक्षी मन्त्रालयको २०७८/७९ को खुला प्रतिस्पर्धाबाट विज्ञापनमा सहभागी हुँदा पेस गरेका कागजात झुठो भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो ।

महाप्रबन्धकमा नियुक्ति लिँदा अस्तित्वमा नै नभएको संस्थाको किर्ते अनुभव पेश गरेको आरोप लागेका झाको योग्यता र अनुभव सम्बन्धी मुद्दाको अझै अन्तिम किनारा लागेको छैन । उनीविरुद्ध सरकारी निकायमा उजुरीका चाङ छन् । हाल डीडीसीमा आठौं तहमा कार्यरत कर्मचारी झा, संस्थानमा कार्यरत निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक तथा डिडिसीका पदेन सदस्य राजेन्द्र प्रसाद यादवमाथि सीआईबीमा ठगी, विश्वासघात तथा आपराधिक लाभ (एक्सटन) सम्बन्धी कसुर समेत दर्ता भएको छ । संस्थान र किसानलाई ठगी, बेथिति र विश्वासघात गरेको आरोप उनीहरुमाथि लाग्दै आएको छ ।

स्रोतका अनुसार झाले संस्थानको महाप्रबन्धक रहँदा दुग्ध किसानको नागरिकता जम्मा गरी आफ्नो कीर्ते दस्तखत गरि बैंक खाता खोलेर रकम जम्मा गर्न लगाउने गरेको दाबी छ । झाले दुग्ध संकलन केन्द्रहरुका कर्मचारीहरुलाई प्रभावमा पारी दूधको गुणस्तर छैन, कम फ्याट छ, दूधको मात्रा कम छ, मिसावट छ भनेर किसानलाई झुक्याई थोरै मूल्य दिई ठगेको आरोप खेप्दै आएका थिए । डीडीसीलाई कमजोर बनाउने झाको डिजाइन सफल बनाउन सक्रिय कर्मचारीको नाममा समेत ९० लाखसम्मको बेरुजु रहेको समाचार स्रोतको दावी छ । 

महालेखा परीक्षकको प्रतिवेदनले पनि करिव ८२ करोड बेरुजु देखाएको छ । संस्थानका केही कर्मचारीको सहयोगमा सरकारी छाप र दस्तखत कीर्ते गरेर झाले ठूलो रकम अपचलन गरेको आरोप छ ।  झालाई सञ्चालक सदस्य राजेन्द्र प्रसाद यादव समेतको साथ सहयोग रहेको कर्मचारीहरु बताउने गर्छन् । 

झा महाप्रबन्धक हुँदा सर्लाहीको बलारामा मापदण्ड विपरीत दुई देशीय बोर्डर लाइनमा पाँच सय मिटर समेत नपुग्ने ठाउँमा दूध चिस्यान केन्द्र खोली बोर्डर पारीको गुणस्तरहीन दुध ल्याई चितवनको चनौली र माडी दुग्ध चिस्यान केन्द्रमार्फत काठमाडौं भित्र्याइ गुणस्तरहीन दूध बिक्रीवितरण गरी संस्थान र उपभोक्ता ठगी गरेको आरोप छ । किसान, दुग्ध सहकारी संस्था, पशु फर्म र डेरीहरुलाई दिनुपर्ने भुक्तानीमा आफ्नो निजी मोबाइल एप प्रयोग गरी जसले छिटो र बढी कमिसन दिन्छ त्यही संस्था र फर्महरुलाई विभेदपूर्ण ढंगबाट भुक्तानी दिएको आरोप झालाई छ ।

संस्थानको खातामा रहेको पैसा अइपीएस कनेक्टमार्फत करोडौँ भुक्तानी गर्ने गरेको आरोप झालाई लाग्ने गरेको छ । उनले संस्थानका पार्टपूर्जाहरुलाई स्तरोन्नति गर्न भनेर सहुलियत कर्जाको रुपमा दिइएको १५ करोड रकमसमेत संस्थाको स्तरोन्नति नगरी आफ्नै तजबिजले कर्मचारीको सेवा सुविधा र भरणपोषणमा खर्च देखाई रकम हिनामिना गरेको आरोप छ ।

आठौं तहका कर्मचारी झाले शक्ति केन्द्रमा धाएर महाप्रबन्धक हात पारेका थिए । जिम्मेवारी लिइसकेका उनी आठौं तहमा भए पनि जागिर खान पाउँ भनेर निवेदन दिने, कार्यालयमा आउँदै नआएको समयको हाजिर एकै दिन जनाउनेदेखि पुनः महाप्रबन्धकको खुला प्रतिस्पर्धामा सहभागी भएर फेरी संस्थानलाई डुबाउने सपना बोकेर बिभिन्न शक्ति केन्द्र धाइरहेको भन्दै कर्मचारीहरु आक्रोशित छन् । आठौं तहको जागिर जोगाउन झाले संस्थानमा मिति २०८१ बैशाख २९ गते कार्यालयमा आएर २०८० साल चैत्र २१ गतेसम्मको हाजिरी रजिस्टरमा एकमुष्ट हाजिर गरेको स्रोतको दाबी छ । दूधको भुक्तानी नपाउँदा किसान र दुग्ध व्यवसायीको मारमा छन् । दुग्ध किसान भुक्तानी नपाएका कारण देशभर विरोधमा छन् । महाप्रबन्धकको जिम्मेवारीमा रहँदा झाले डीडीसीमा अनियमितता र भ्रष्टाचार गरेको भन्दै युवा संगठनले कार्यकक्षमै पसेर उनलाई मोसो दलेको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: