×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंककि कर्मचारी पक्राउको नालीबेली : बैंक भन्छ -‘एकै दिन ७५ लाखको शंकास्पद कारोबार’* !

GLOBAL IME BANK

कुमारी बैंककि कर्मचारी पक्राउको नालीबेली : बैंक भन्छ -‘एकै दिन ७५ लाखको शंकास्पद कारोबार’* !

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकको कुमारीपाटी शाखामा अपरेशन इन्चार्जको रुपमा काम गरिरहेकी तृप्ति राणाको कार्यालयमै आएर प्रहरीले ‘केहि कुरा बुझ्नुछ, हामीसँग हिँड्नुहोस्’ भनेर आफ्नो परिचय दिए । कार्यालयमा प्रहरी आएपछि उनले विषय सोधिन् । प्रहरीले ‘सामान्य कुरा हो, अफिसमै गएर कुरा गरौँला’ भनेपछि राणा प्रहरीसँग आफ्नै गाडीमा थापाथलीसम्म आइन् । थापाथली कटेपछि प्रहरीले उनको हातमा पक्राउ पूर्जी थमायो । कसुर- हुण्डी कारोबारको कसुर थियो । प्रहरीले पक्राउ गरेपछि मात्र उनलाई थाहा भयो, हुण्डी कारोबारमा उनको संलग्नता भेटिएको भन्दै यस विषयमा अनुसन्धान गर्न बैंकले नै फाइल प्रहरीलाई पठाएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको रहेछ ।
भएको के हो ?
यो घटना विवरण बुझ्न केहि समय अघि तृप्तिविरुद्ध बैंकमा परेको एउटा ‘ठाडो उजुरी’सम्म पुग्नुपर्छ । सो उजुरीमा तृप्ति हुण्डी कारोबारमा संलग्न हुने गरेको दाबी थियो । विभिन्न रेमिट्यान्स कम्पनीले राणाको खातामा पैसा पठाउने गरेको, अत्यन्त संवेदनशील सूचनासहितको उजुरी परेपछि बैंकले सो विषयमा आन्तरिक अनुसन्धान सुरु गर्यो ।
यसअघि पनि विभिन्न कर्मचारीले ऋण लिँदा ऋणीसँग रकम लिने गरेको, ऋणीको ऋण आफैँ चलाउने गरेको लगायतका विषयमा विभिन्न कर्मचारीको नाम नै किटेर उजुरी परेका थिए । ती उजुरीउपर छानविन गर्दा उजुरीमा दाबी गरिएजस्तै कर्मचारीको खातामा ‘शंकास्पद कारोबार’ देखेपछि केहि कर्मचारीहरुलाई बैंकले ‘जागिरमुक्त’समेत गरेको थियो । पटक पटक बैंकमा कसैले पठाईरहने उजुरीमा ‘दम’ हुने गरेको रेकर्डका कारण पनि राणाको केसमा पनि उजुरीउपर छानविन सुरु भयो ।
‘नभन्दै तृप्तिको खातामा अस्वाभाविक कारोबार देखियो । यतिसम्मकि कुनै एक दिन त बुटवल र बीरगंजमा रहेका रेमिट्यान्सका शाखाबाट उनको खातामा एक पटक ४५ लाख र एक पटक ३० लाख गरेर कुल ७५ लाख रुपैयाँको कारोबारसमेत देखियो ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘१०-१० लाख रुपैयाँ त थुप्रै पटक उनको खातामा थुप्रैपटक कारोबार भएको देखियो । यस विषयमा राणाजीलाई बैंकले स्पष्टिकरणसमेत सोधेको थियो । तर चित्तबुझ्दो जवाफ नआएपछि केस प्रहरीकहाँ पुगेको हो ।’
यसै पनि युनियनकि नेता भएकोले राणामाथि अनुसन्धान गर्न सहज भएन । एक बर्ष अघितिर युनियनमा साधारण सदस्य रहेकी तृप्ति एकातिर एकैपटक उपाध्यक्ष हुँदै हाल कार्यवहाक अध्यक्ष थिइन् । पूरै कर्मचारीको नेता भएका कारण पनि बैंकमा उनी ‘पावरफुल’ थिइन् । त्यसपछि बैंकले कानुनी सल्लाहकारहरुसँग परामर्श लिएर यो विषय प्रहरीमा पठाउनेगरी प्रतिवेदन तयार गर्यो । सोहि प्रतिवेदन प्रहरीमा पुगेपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । थप अनुसन्धानका लागि प्रहरीले पक्राउको अनुमति माग्न अदालत पुग्यो । अदालतले पक्राउ अनुमति दिएपछि प्रहरी पक्राउ पूर्जी बोकेर बैंकको शाखामा पुगेको थियो । अहिले प्रहरीले अनुसन्धानका लागि ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।
कर्मचारी युनियनको आपत्ति भनेर विज्ञप्ति, विज्ञप्तिपछि अध्यक्षले भने, ‘विज्ञप्तिमा मेरो असहमति’
बैंकले आफैं कर्मचारीविरुद्ध प्रहरीमा फाइल पठाएपछि रानालाई झुटो मुद्धा लगाएर फसाउन खोजेको भन्दै कर्मचारी युनियन आपत्ति जनाएको भन्दै विभिन्न मिडियामा विज्ञप्ति पठाइएको थियो । राणा पक्राउ परेपछि युनियनको कमाण्ड कुमार खतिवडाले सम्हाल्न थालेका छन् । युनियनको आधिकारित भनिएको सो विज्ञप्तिमा  राणाविरुद्ध झुटा मुद्धा लगाइएको आरोप लगाइएको छ भने सो मुद्धा तत्काल फिर्ता लिनसमेत माग गरिएको छ। तर, सो विज्ञप्ति अर्थ सरोकारले प्रकाशन गरेपछि अध्यक्ष कुमार खतिवडाले सो विज्ञप्ति युनियनको लेटरहेड दुरुपयोग गरी बनाइएको र आफ्नो त्यसमा कुनै पनि सहमति नरहेको भन्दै यस विषयमा छानविन गर्न मानव संसाधन विभागमा पत्र पठाएका छन्। यसले युनियन नै यो विषयमा दुई चिरा रहेको प्रष्ट हुन्छ ।
यस विषयमा युनियनको आधिकारिक धारणा लिन हामीले युनियनको कमाण्ड लिएका कुमार खतिवडालाई फोन गरेका थियौँ । उनले हाम्रो फोन काटेपछि हामीले उनलाई एसएमएसमार्फत हाम्रो परिचय दिँदै सम्पर्कमा आउन आग्रह गरेका थियौँ । खतिवडाले ‘कल ब्याक गर्छु’ भने पनि भोलिपल्टसम्म कल ब्याक गरेनन् ।
के भन्छन् सीइओ खनाल ?
यस विषयमा हामीले बैंकका सीइओ रामचन्द्र खनाललाईसमेत सोधेका थियौँ । अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ खनालले प्रहरीले अनुसन्धान गरिरहेकाले तृप्ति राणाका विषयमा आफुले बोल्न नमिल्ने दाबी गरे । ‘प्रहरीले अनुसन्धान गरिरहेको छ । विचाराधीन मुद्धा भएकाले यस विषयमा म बोल्न मिल्दैन ।’
‘तर तपाईंले झुटा मुद्धा लगाएर राणाजीलाई फसाउन खोजेको भन्ने आरोप युनियनको छ नि, युनियनमा भएकै कारण उनीहरुको फाइल खोलियो भन्ने आरोप पनि छ नि ?’ हाम्रो प्रश्नमा खनालले भने, ‘गलत त जसले गरेको भए पनि अनुसन्धान हुनुपर्छ नि, होइन र ? मेरै विरुद्ध उजुरी परे, मेरा विरुद्ध पनि त अनुसन्धान हुन्छ । दोषी ठहर भए कारवाही हुन्छ । उजुरी परेका सबै दोषी ठहर भएका पनि छैन । तृप्तिजीको पनि अनुसन्धान जारी रहेको केस न हो । प्रहरीले अनुसन्धान नै गर्नु हुँदैन भन्ने त होइन होला ।’
खनालले केस प्रहरीमा पुगेकाले त्यसको छिनोफानो पनि कानुनी रुपमै हुने बताए । ‘केस प्रहरीमा पुगेको छ । प्रहरीले मुद्धा चलाउला । मुद्धा नचल्नुपरने भए छोडिदेला । तृप्तिजी निर्दोष भए उहाँले सफाई पाउनुहोला । यसमा कसैले फसाउने भन्ने हुँदैन । आफ्नै बैंकको इज्जत जोखिममा राखेर कसैले आफ्नै कर्मचारीलाई फसाउन खोज्छ र ?’ उनले नियोजित रुपमा बैंकले कसैलाई फसाउन खोजेको विषय झुटो भएको दाबी गरे । ‘बैंकको काम कसैलाई फसाउने होइन नि । बैंकले आफ्नो काम गर्ने हो । अरु केहि होइन ।’
राणा पक्राउपछि तातेको राजनीति र हुण्डीको विषय !
राणाका आफन्त विदेशमा भएकाले त्यसकै कारोबार हुन सक्ने अनुमान युनियनमा आवद्ध कर्मचारीहरुले गरेका छन् । ‘राणा परिवारकी छोरी हुन् । केहि करोडको कारोबार हुनु के ठुलो कुरा भयो र ?’ कसैको यस्तो तर्क आउँदा कुमारी बैंकभित्रकै केहि कर्मचारीको तर्क छ -‘ ५०-६० हजारको तलव खानेको खातामा करोड बढी कारोबार कसरी हुन्छ र ? विषय गम्भीर हुनुपर्छ।’
यसो त राणा पक्राउ परेपछि यो विषयले राजनीतिक वृतमा पनि ठाउँ पाएको छ । राणा एक भण्डारी थरका ‘बिग प्रोफाइल’ नेताका आफन्त भएकाले उनी राणालाई छुटाउन र सकेसम्म यो केसमा मुद्धा नचलाउन लागि परेको चर्चा पनि बैंकभित्र छ । सँगै रजौरे थरका एक प्रहरी अधिकारी पनि बैंकले नचलाउनुपर्ने केस चलाएको भन्दै उनी दोषी नभएको भन्दै लविङ गरेको चर्चा पनि बैंकमा छ ।
यद्यपी काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी घटनाको निष्पक्ष छानविन भईरहेको बताउँछन् । उनका अनुसार ५ दिन अनुसन्धानका लागि अदालतबाट म्याद थप भई थप अनुसन्धान चलिरहेको छ । रानाविरुद्ध मुद्धा चले उनलाई बैंकले निलम्बन गर्न सक्छ ।
*युनियनको विज्ञप्ति प्रकाशनपछि युनियनका अध्यक्ष कुमार खतिवडाले सो विज्ञप्ति संस्थाको लेटरहेड दुरुपयोग गरी आएको र त्यसमा आफ्नो असहमति भएको जानकारी बैंकलाई दिएपछि हेडलाइन र समाचारका केहि भाग संसोधन गरिएको छ- सम्पादक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: