काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार कम्पनीको खुद नाफा १४.२० प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशतले बढेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशतले घटेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी ५.४९ प्रतिशतले घटेको छ । कुल आम्दानी घटेकै कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफामा दबाब पुगेको हो ।
यस अवधिमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ । १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।