काठमाडौँ । पब्लिक लिमिटेड कम्पनी हिमालयन डिस्टिलरीले आफुले उत्पादन गरेको रक्सीको माग बढेपछि सोको उत्पादन अधिकार आफ्नै ग्रुप अन्तर्गतको प्राइभेट कम्पनीलाई दिएर हिमालयन डिस्टिलरीका सेयरधनीहरुलाई घात गरिरहेको खुलासा भएको छ । अर्कोतर्फ आफ्नो कम्पनीमा नाफा कम देखाउनुपरेको खण्डमा हिमालयनको खर्चलाई आफ्नो प्राइभेट कम्पनीको नाममा बिलिङ गर्न लगाई करछली गर्ने प्रयास गरेकोसमेत पाइएको छ । सुरुमा रक्सी उत्पादन गर्न लाग्ने रिसर्च, मार्केटिङ लगायतका काममा हुने ठुलै खर्च हिमालयनका नाममा गर्ने र नाफा कमाउने बेला भएपछी त्यसको अधिकार आफ्नो प्राइभेट कम्पनीलाई दिएर कम्पनीले सेयरधनी डुबाउने र निजी मालिकलाई पोसाउने काम गरेको पाइएको हो । कम्पनीभित्रकै एक उच्च अधिकारीले यस्तो रहस्य खुलाएर विभिन्न निकायमा उजुरबाजुर गरेपछि यस्तो रहस्य बाहिरिएको हो।
सुरुमा रक्सी उत्पादनमा लाग्ने सबै खालका खर्च पब्लिक कम्पनीका नाममा गर्ने र त्यसपछि उत्पादन चलेको खण्डमा त्यसको व्यापारिक अधिकार आफ्नै निजी कम्पनीलाई दिएर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले, ‘घाटा हुने कामजति हिमालयन डीस्टिलरी’ र फाइदा हुन थालेपछि सो काम आफ्नो निजी कम्पनीबाट गरिरहेको खुलासा भएको हो । हिमालय डिस्टिलरी जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीअन्तर्गतको कम्पनी हो । जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीले आन्तरिक मदिराका चर्चित ब्राण्ड रुस्लान भोड्कालगायतका १८ वटा ब्राण्डका मदिरा उत्पादन गर्छ । कम्पनीले उत्पादन गर्ने मदिराको बजार हिस्सा निकै ठूलो छ ।
रिसर्च खर्च सबै पब्लिक कम्पनीमा भिडाएर, ब्राण्ड बलियो बनेपछि आफ्नो, एउटा उदाहरण-गोल्डन ओक
कम्पनीले कुनै पनि रक्सी उत्पादन गर्दा त्यसमा लाग्ने रिसर्ज लगायतका ठुला खर्च पब्लिक कम्पनीमार्फत गर्नेगरेको छ । उदाहरणका लागि हिमालयन डिस्टिलरीले केहि समय अगाडी गोल्डन ओक नामक रक्सीको उत्पादन गर्ने निर्णय गर्यो । सो रक्सी उत्पादन गर्दा लाग्ने रिसर्च, मार्केटिङ लगायतका काममा कम्पनीले ठुलै खर्च व्यहोर्यो । पछि सो रक्सीको माग ह्वात्तै बढ्न थाल्यो । यतिसम्म कि कम्पनीले सो ब्राण्डलाई सबैभन्दा बढी विक्री हुने रक्सी भन्दै आफ्नो वेवसाइटमा प्रचारसमेत गरेको छ । तर जव रक्सीको माग बढ्न थाल्यो, र व्यापार बढ्यो, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले रोलिङ रिभर इन्डस्ट्रिजलाई सो रक्सी उत्पादनको जिम्मा दियो ।
यतिमात्र होइन कम्पनीले आफ्नै ग्रुप अन्तर्गतको अर्को कम्पनी बिजय डीस्टिलरीलाई आउटसोर्स गर्ने जिम्मा दियो । यी सबै कम्पनी जावलाखेल ग्रुपअन्तर्गतकै कम्पनी हुन् । यसो गर्दा सो रक्सीमा हुने ठुलो खर्च पब्लिक कम्पनीमा गराईयो भने, त्यसको मुनाफा आउने बेलामा सो रक्सीको जिम्मा आफ्नै निजी कम्पनीले पायो । यसलाई अझ सहज भाषामा बुझौं । कसैले सानो पसल खोल्यो, त्यसलाई ठुलो बनायो, व्यापार राम्रो हुँदै गर्दासम्मको सबै खर्च पब्लिक कम्पनीमा दिइयो र व्यापार बढ्ने भएपछी त्यहाँ लगाईएका सबै खर्चहरुको हिसाब नगरी सित्तैमा अर्कोले पसल पायो भने के हुन्छ ? हो, यस्तै भएको छ हिमालयन डिस्टीलरीमा पनि ।
कुरा स्पष्ट छ- यस्तो गर्दा हिमालयन डिस्टिलरीको नाफा जति हुनुपर्थ्यो भएन । बरु सो नाफाको हिस्सा रक्सी व्यापारीको प्राइभेट कम्पनीमा गयो । पब्लिक कम्पनीमा सो नाफा भएको भए सेयरधनीहरुलाई त्यसको लाभांश बाँड्नुपर्थ्यो । तर प्राइभेट कम्पनीमा सो रक्सीको उत्पादनको जिम्मा जाँदा नाफाजति प्राइभेट कम्पनीका नाममा बुक हुनेभयो । यसरी हजारौं सेयरधनीहरुलाई ‘वेवाकुफ’ बनाएर जावलाखेल ग्रुपले सेयरधनीमाथि घात गरेको पाइएको छ ।
यो प्रकरणमा अर्को कोण पनि छ.
कर बचाउन निजी कम्पनी घाटामा देखाउनुपर्दा पब्लिक कम्पनीको खर्च पनि प्राइभेट कम्पनीमा
कम्पनीभित्र यो हदसम्मको बदमासी छ कि, जावलाखेल ग्रुप अन्तर्गत कुनै पनि प्राइभेट कम्पनीमा धेरै खर्च देखाएर कम्पनी कम फाइदामा वा घाटामा देखाउनुपरे ग्रुपले पब्लिक कम्पनीका नाममा भएको खर्च पनि आफ्नै प्राइभेट कम्पनीका नाममा बिलिङ गरेर कर बचाउने गरेको छ । उसले यहि रणनीति अनुसार उही उत्पादनको बिज्ञापन गर्दा पनि आधा खर्च हिमालयनका नाममा, आधा खर्च, बिजय डिस्टीलरीका नाममा गर्नेगरी विभिन्न संचारमाध्यमसँग गरेको सम्झौताको प्रमाण अर्थ सरोकारसँग सुरक्षित छ । सो प्रमाणमा कम्पनीले केहि समय अगाडी ९ महिना हिमालयन डिस्टिलरीले उत्पादन गरेको रक्सीको विज्ञापनको बिलिङ आधा हिमालयन दिस्टिलरी र आधा आफ्नो निजी कम्पनी बिजय डिस्टीलरीका नाममा गरेको प्रष्ट देखिन्छ ।
यसो गर्दा हिमालयनको खर्च पनि आफ्नो निजी कम्पनीमा बुक भयो, र कागजी रुपमा घाटा देखिदा ठुलो मात्रामा कर बच्ने भयो । सो ग्रुपको यस्तो हर्कत एकातर्फ पब्लिक कम्पनीको अपारदर्शीता त हुँदै हो, अर्कोतर्फ निजी कम्पनीमा अर्को कम्पनीको खर्च देखाएर गरिएको करछलीको विषय पनि अगाडी आउन सक्छ । यो प्रक्रियाले सो ग्रुपभित्र जुन कम्पनीमा जति नाफा देखाउनुपर्यो, त्यहि अनुसार खर्च बुक गर्ने गरेकोसमेत देखिन्छ । सबै कम्पनी निजी कम्पनी भएको भए यसले तात्वीक केहि असर गर्ने थिएन । तर जनताको लगानी भएको कम्पनीलाई गुमराहमा राखेर सो ग्रुपले आफ्नो निजी कम्पनी पोस्ने र पब्लिक कम्पनीका लगानीकर्ता सोस्ने काम गरिरहेको छ ।
यसअघि धितोपत्र बोर्डले पक्रिएको थियो कम्पनीभित्रको गैरकानुनी हर्कत !
यसो त हिमालयन डिस्टिलरीभित्र पनि अनेक काण्ड छन् । कम्पनीकि पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहले कानून विपरीत सेयर बिक्री गरेको तथ्य बाहिरिएपछि नेपाल धितोपत्र बोर्डले उनीमाथि कारवाही गरेको छ । उनी कम्पनी संचालक बिजयकुमार शाहकी बुहारीसमेत हुन् । उनलाई बोर्डले धितोपत्र सम्बन्धी ऐन-२०६३ को दफा १०१ को ५ र ७ बमोजिम १० बर्षसम्म कुनै पनि पब्लिक कम्पनीको संचालक हुन नपाउनेगरी कारवाही गरेको छ । नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अनुसार कम्पनीको सञ्चालकबाट राजीनामा दिएको १ वर्षसम्म सेयर बिक्री गर्न नपाइने नियम कुल्चेर रहिशाले सञ्चालकबाट राजीनामा दिएको साढे ६ महिनामै ठूलो परिमाणको सेयर बिक्री गरेको पाइएको थियो ।
यी सबै तथ्यको खुलासा स्वयम् कम्पनीभित्रकै एक उच्च तहका कर्मचारीले यस विषयमा विभिन्न निकायमा उजुरी गरेपछि पत्ता लागेको हो । हिमालयनलाई नियमन गर्ने छुट्टै संस्था नभएको नेपाल धितोपत्र बोर्डका कर्मचारीको मिलेमतोमा सबै कुरा गुपचुप राखिएको लगायतका तथ्य राखेर हालिएको सो उजुरीमा माथिका सबै कुरा उल्लेख छन् । यता कम्पनीका कोहि अधिकारी भने यस विषयमा औपचारिक रुपमा बोल्न नै चाहिरहेका छैनन् । कम्पनीका सीइओलाई बहने सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्