काठमाडौँ । सिटिजन्स बैंकको सिस्टम ह्याक गरी ३ करोड ३९ लाख ५० हजार ३७२ रुपैयाँ चोरी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सो बैंकबाट आफ्नो खातामा रहेको रकम नै चोरी भएको भन्दै एफवान सफ्ट नामक कम्पनीले दिएको जाहेरीका आधारमा विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा २४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको साइबर ब्यूरोका एसपी दीपक राज अवस्थीले पुष्टी गरे ।
ठगीमा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिएको छ भने बाँकी १५ जनालाई फरार प्रतिवादी बनाइएको छ । पक्राउ परेका प्रतिवादीहरूमा ललितपुर घर भएका त्रिगुण रत्न बज्राचार्य, सिराहाका राहुल ठाकुर, पुरुषोत्तम शाह, सप्तरी घर भएका कृष्ण रमण राउत, सप्तरीका संजिव कुमार शर्मा, उदयपुरका कमल थापा मगर, दीपक थापा मगर, धरान घर भएका सन्देश राई र सुनसरीका सागर कुमार शाह छन् । तर, पक्राउ परेकाहरुमध्ये सबैजसोले आफुहरुले अनलाइन जागिरको लोभमा काम गरेको र बैंक खाताबाट रकम चोरिएकोबारे अनविज्ञ रहेको दाबी गरेका छन् ।
रकम चोर्ने अझै अज्ञात, ‘सोझासाझा खातावाल’को टाउकोमा करोडौंको मुद्धा !
सिटिजन्स बैंकको खाताबाट रकम चोर्नेहरु भने अझै अज्ञात छन् । उनीहरु कहाँ छन् ?, को हुन् ? र कसरी बैंकको खाताबाट करोडौं रुपैयाँ चोरी भयो भन्ने विषयमा प्रहरी नै अनविज्ञ रहेको पाइएको छ । तर पैसा चोर्ने मुख्य चोरहरुले प्रयोग गरेका विभिन्न खाताका खातावालहरु भने प्रहरी फन्दामा परेका छन् । पक्राउ परेकाहरुमध्ये अधिकांशले आफ्नो खाता साथीभाइलाई प्रयोग गर्न दिएको देखिएको छ भने, केहिले अनलाइन जागिरको लोभमा परेर कारोबार गरेको देखिएको छ । पक्राउ परेका सबैजसोले आफुहरुलाई रकम चोरी भएको विषयमा केहि पनि थाहा नभएको बयान दिएका छन् ।
पक्राउ परेकाहरुमध्ये प्रतिवादी राहुल ठाकुरले पुरुषोतम शाह नाम गरेका साथीले विदेशबाट बुवाले पैसा पठाउनुहुन्छ, मेरो नागरिकता छैन, आमा पनि घरमा हुनुहुन्न भनेर बैंक खाता विवरण मागेको, र सोहि अनुसार दिएकोबाहेक आफ्नो केहि पनि गल्ती नभएको बयान दिएका छन् । उनका अनुसार आफ्नो साथीले बुवाले विदेशबाट पैसा पठाउने भनेपछि उनले आफ्नो बैंक खाता प्रयोग गर्न र आफ्ना साथीले दिएको मोबाइल नम्बरमा आफ्नो मोबाइल बैंकिङसमेत सेट गरीदिएका थिए । सो खातामा असी लाख पैतालिस हजार रुपैयाँ डिपोजिट भई, पुन रकमान्तर भएको देखिएको छ । अर्थात ह्याकरले सो खातामार्फत लाखौँको कारोबार गरेका छन् । तर यसको सामान्य जानकारीसमेत नभएको ठाकुरले बयानमा भनेका छन् ।
यता पुरुषोतम शाहले पनि आफुलाई अर्को एक साथीले फसाएको भनी बयान दिएका छन् । आफ्नो बाल्यकाल देखिको साथी अविनाश रौनियारले अव म सेयर कारोबार गर्छु, तर नागरिकता नभएकोले खाता खोल्न मिलेको छैन भन्दै कसैको नागरिकता मागेको, आफुलाई गाँजा खुवाएर नागरिकता दिन वा कसैको मिलाईदिन भन्दै फकाएको र साथीको कुरा मानी आफुले सोहि अनुसार दिएको बयान दिएका छन् । उनले रकम चोरीमा आफ्नो कुनै पनि संलग्नता नरहेको र यस विषयमा आफुलाई केहि पनि थाहा नभएको, मात्र आफुले अरुको बैंक खाता विवरण दिनु गल्ती भएको बयान दिएका छन् ।
यस्तै प्रतिवादीहरु त्रिगुण रत्न बज्राचार्य, कृष्ण रमण राउत, र संजिव कुमार शर्माले आफुले टेलिग्राम, व्हाट्सएप लगायतमा घरमा बसीबसी पैसा कमाउने भन्दै आएको लिंकमा क्लिक गरेको, सो लिंकमा क्लिक गर्दा आफुहरुलाई एउटा टेलिग्राम ग्रुपमा पुर्याईएको, र सो ग्रुपमा कुराकानी हुँदै गर्दा आफुले बैंक खाता दिएको, सो खातामा रकम पनि आएको, आएको रकममध्ये आफुलाई केहि रकम तलव भनी दिएर अरु रकम अन्य बैंकखातामा रकमान्तर गर्न लगाएको बयान दिएका छन् । उनीहरुले आफ्नो खातामा आएको पैसा अर्को खातामा पठाउने जागिर भनेर आफुहरुलाई फसाएको, तर बैंकको खाताबाट पैसा चोरी भईरहेको विषय भने आफुलाई थाहा नभएको बयान दिएका छन् ।
यसरी पक्राउ परेकाहरु सबैजसो सोझासाझा नै छन् भने केहि साथीहरुको करकापमा परी बैंक खाता अरुलाई चलाउन दिएकाहरु छन् । तर प्रहरीले उनीहरुबाट नै बैंक खाताबाट हराएको रकम असुल गर्नुपर्ने रायसहित काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । जवकि, पक्राउ परेकाहरुमध्ये अधिकांसले आफ्नो बैंक खातामार्फत कारोबार भएको भनिएको रकम जिन्दगीभर एक पटक एकै ठाउँमा देखेकासमेत छैनन् ।
लामो समय बैंकले लुकाएको थियो घटना
यो घटना सिटिजन्स बैंकले लामो समयसम्म लुकाएको थियो । आफ्नो बैंकमा रहेको बैंक खाताबाट करोडौं रुपैयाँ हराउँदासमेत थाहा नपाएको बैंकले घटना बाहिरिने डरले यो केस गुपचुप राखेको थियो । यतिसम्मकि अर्थ सरोकारले यस विषयमा समाचार प्रकाशन गरेपछि सिटिजन्स बैंकका सीइओ गणेश पोखरेलले सो समाचार झुटो भएको भन्दै भिडियो अभिव्यक्ति नै दिएका थिए । तर, अहिले आएर घटनाबारे थाहासमेत नभएकाहरुलाई प्रतिवादी बनाएर करोडौं असुल गर्नुपर्ने रायसहित मुद्धा दर्ता भएको छ भने सो चोरी प्रकरणमा संलग्न मुख्य अभियुक्तहरु भने अझै अज्ञात छन् ।