काठमाडौँ । समस्याग्रस्त हुने अवस्थामा पुग्दासमेत नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकले कुनै ‘एक्सन’ नलिँदा बचतकर्ताको निक्षेप जोखिममा परेको छ । वित्तीय अवस्था झन्झन् बिग्रिँदै गएपछि बैंक दोस्रो पटक समस्याग्रस्त हुने अवस्थामा पुगेको हो ।
नारायणी डेभलपमेन्ट बैंकलाई कमसल धितो राखेर ऋण प्रवाह गरेको र ठूलो ऋण डुबेको पाइएपछि राष्ट्र बैंकले २०७० चैत २६ गते समस्याग्रस्त घोषणा गरिसकेको थियो ।
समस्याग्रस्त घोषणा भएर फेरि सञ्चालनमा आएको बैंकको खराब कर्जा ४७.५५ प्रतिशत पुगेको छ । बैंकमा हाल ५० करोड ३३ लाख रुपैयाँ निक्षेप छ । तर, वित्तीय अवस्था बिग्रिँदै जानू र संस्थागत सुशासन साह्रै कमजोर हुँदा पनि राष्ट्र बैंकले ‘एक्सन’ नलिँदा बैंक र बैंकमा निक्षेप राखेका निक्षेपकर्ताको पैसा जोखिममा परेको छ ।
यसो त बैंकले प्रवाह गरेको कुल कर्जा लगानीको आधा रकम उठाउन सकेको छैन । बैंकले हालसम्म ३६ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसमध्येको झण्डै आधा (४७.५५ प्रतिशत) ऋण असुली हुन सकेको छैन । त्यसमा पनि केही ठूला ऋण नउठ्ने पक्का देखिएको र धितो लिलामीबाट पनि असुली नहुने अवस्था रहेको बैंककै कर्मचारीले बताएका छन् ।
यता राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकको प्राथमिक पुँजीकोषमा १५ लाख रुपैयाँ मात्रै बचत छ । त्यस्तै, यस अवधिमा बैंकको पुँजीकोष पर्याप्तता अनुपात ०.३२ प्रतिशत रहेको छ । यता बैंकको प्राथमिक पुँजीकोष ०.६४ प्रतिशतमा आएको छ । यसरी बैंकको समग्र वित्तीय अवस्था हेर्दा बैंक नाजुक अवस्थामा पुगेको र समयमा राष्ट्र बैंकले ‘एक्सन’ नलिए बचतकर्ताको निक्षेप जोखिममा पर्ने र फिर्ता हुन पनि लामो समय लाग्नसक्ने जानकारहरुले दाबी गरेका छन् ।