काठमाडौँ । जिम्बु थकालीमा भेज खानामा कुखुराको हड्डी भेटिएको छ । ग्राहकले मगाएको भेज खानामा कुखुराको हड्डी भेटिएपछि ती ग्राहकले सो भिडियो सामाजिक संजालमा पोष्ट गरेका थिए । भिडियोमा थकालीका वेटरले गल्ती स्वीकार गरी माफी मागेको प्रष्ट देख्न सकिन्छ ।
थकालीका कर्मचारीले पनि झुक्किएर भेज खानामा कुखुराको हड्डी भेटिएको स्वीकार गरेका छन् । भेज खानामा कुखुराको हड्डी भेटिएको भिडियोबारे जिज्ञासा राख्न हामीले थकालीमा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले एक पटक त्यस्तो भएको र सामाजिक संजालमा सोहि भिडियो भाइरल भएको स्वीकार गरेका हुन् ।
यता सो भिडियो भाइरल भएपछि र यस विषयमा अर्थ सरोकारले छोटो भिडियो समाचार प्रशारण गरेपछि सम्पर्कमा आएका सो थकालीका मेनेजर बताउने एक व्यक्तिले बुझ्दै नबुझी सो भिडियो बाहिर आएको दाबी गरेका छन् । अर्थ सरोकारमा ९८२३४६६*** नम्बरबाट कल गर्दै ती व्यक्तिले आफ्नो ब्राण्डमा सो भिडियोले असर गरेको दाबी गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । ‘तपाईंसँग भेटेरै कसरी कुरा गर्नुपर्छ गरौँला’ भन्दै उनले धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।
केहि समय अगाडी ३५ रुपैयाँ पर्ने पानीलाई १०० रुपैयाँ लिएपछि सोहि जिम्बु थकालीले ३ लाख जारिवाना तिरेको थियो । ग्राहकसँग गैरकानुनी रुपमा पैसा असुल गरेको दाबी गर्दै उजुरी परेपछि जिम्बु थकालीमा बाणिज्य विभागले छापा हानेको थियो । छापा हान्दा उजुरीको व्यहोरा पुष्टी भएपछि सो थकालीलाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । अहिले सोहि थकालीमा कुखुराको मासुको हड्डी भेज खानामा परेको भेटिएको हो ।