काठमाडौँ । ह्याकरले सहजै पहूँच पुर्याउनेगरी ४० हजार बढी गोप्य डाटा सार्वजनिक गरेको नेपाल बैंकले ‘ठगीबाट जोगिनू’ भन्दै पोष्ट गरेको छ । बैंकले आफ्नो फेसबुक पेजमा ‘इन्टरनेट ठगीबाट सचेत रहनुहोस्’ भन्दै पोष्ट गरेको हो ।
बैंकले उक्त पोष्टमा आफ्नो ओटिपी, पिन, सिभीभी वा अन्य कुनै पनि गोप्य जानकारी कसैसँग साझा नगर्नुस् भन्दै सचेत गराएको छ ।
तर, केही दिनअघि मात्र ४० हजार बढी नागरिकको गोप्य विवरण वेबसाइटमा छरपस्ट पारेको बैंकले यसरी ठगीबाट जागिनू भन्दै सचेतना पोष्ट गर्नुलाई धेरैले ‘नौटंकी पोष्ट’ भनेका छन् । ‘ह्याकरलाई सजिलो बनाउनेगरी गोप्य विवरण सार्वजनिक गरेर अहिले ठगीबाट जोगिनू भन्दै सन्देशमूलक पोष्ट सार्वजनिक गर्नू नौटंकी नै हो ।’, बैंकका एक ग्राहकले भने ।
बैंकले बैंकले जागिरका लागि आवेदन दिएका झण्डै ४९ हजार आवेदकको संवेदनशील व्यक्तिगत विवरण वेबसाइटमा छरपस्ट पारेपछि सोही विवरण प्रयोग गरेर बैंक खाता नै ‘ह्याक’ हुने खतरा बढेको हो ।
बैंकले आफ्नो वेबसाइटमा सन् २०२१ देखि आवेदन दिएका आवेदकहरुको सूची सार्वजनिक गरेको छ । जहाँ गोप्य राख्नुपर्ने आवेदकको मोबाइल नम्बर, जन्म मिति, बाबु, आमा र बाजेको नाम लगायतका विवरण पनि सबैले सहजै देख्न मिल्नेगरि राखिएको थियो । यसरी बैंकले सार्वजनिक गरेका विवरण प्रयोग गरेर ह्याकरले सहजै बैंक खाता ह्याक गर्न सक्ने विज्ञहरु बताउँछन् ।
बैंकले यसरी गोप्य विवरण सार्वजनिक गर्नू ‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५’ विपरीत त छँदैछ, यसले हजारौँ ग्राहकको बैंक खाता समेत जोखिममा पारेको छ ।