काठमाडौँ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल सेयर बजारप्रति पोजेटिभ हुँदा लगानीकर्ता मालामाल भएका छन् ।
राष्ट्र बैंकका गभर्नर डा. पौडेलले शुक्रबार मात्रै आगामी आर्थिक वर्ष २०८२ ८३ को मौद्रिक नीति सार्वजनिक गरेको थिए । जुन मौद्रिक नीति उद्योगी/व्यवसायीप्रति उदार हुनुका साथै सेयर बजारप्रति लचिलो रहेका लगानीकर्ताकले बताएका छन् ।
मौद्रिक नीतिमार्फत गभर्नर पौडेलले लगानीकर्ताले गरेको अपेक्षा अनुसार व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको १५ करोडका ‘क्याप’ हटाएर २५ करोड पुर्याएका थिए । सँगै मौद्रिक नीति सेयर बजारप्रति सकारात्मक रहेको सन्देश पनि दिएका थिए । राष्ट्र बैंकको मौद्रिक नीतिप्रति लगानीकर्ता सकारात्मक हुँदा आइतबार सेयर बजारमा राम्रो माहोल बनेको छ ।
आइतबार सेयर बजार मापक नेप्से परिसूचक २९.०० अंकले बढेर २७६०.८० बिन्दुमा पुगेर बन्द भएको छ । आइतबारको बजारमा बैंकिङ सेक्टरमा राम्रो ‘मुभ’ आयो । आइतबार सेयर बजारमा एनआईसी एशिया बैंक, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता मालामाल भएका छन् । समग्रमा बजार राम्रो अंकले बढ्दा लगानीकर्ता उत्साहितसँगै मालामाल भएका छन् ।
तर, बजार मिठो अंकले बढ्दा पनि सेयर बजारमा गभर्नर डा. विश्वनाथ पौडेलको लगानी भने घटेको छ । गभर्नर पौडेलको सानिमा माई हाइड्रोपावरमा लगानी छ । उनको सानिमा माई हाइड्रोमा ९२ हजार ५ सय ७९ कित्ता सेयर छ । आजै (आइतबार) मात्र उक्त कम्पनीको सेयर मूल्य १.५४ प्रतिशत अर्थात ९ रुपैयाँ १४ पैसाले घटेर प्रतिकित्ता ५ सय ८४ रुपैयाँ कायम भएको छ ।