Skip to content
LAXMI SUNRISE BANK

९ बुँदामा नेपाल एसबिआई लुट प्रकरणको अपडेट: स्थानीयले ढुंगा हानेपछि पैसा छर्दै भागे लुटेरा, ‘पेस्तोल देखाएर लुटे’

अर्थ सरोकार

काठमाडौँ । सिन्धुलीस्थित नेपाल एसबिआई बैंक लुटमा संलग्न लुटेराहरुले प्रयोग गरेको गाडीका ड्राइभर पक्राउ परेका छन् । बैंकको सिन्धुलीस्थित घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा लुटमा प्रयोग भएको गाडीका ड्राइभरलाई प्रहरीले पक्राउ गरेको हो ।

लुट प्रकरणमा संलग्न ड्राइभर पक्राउ परेसँगै प्रहरीले घटनाको अनुसन्धान सुक्ष्म ढंगबाट अघि बढाएको छ । यद्यपि उक्त प्रकरणमा संलग्न मुख्य व्यक्तिको हालसम्म पनि पहिचान हुन सकेको छैन ।

पक्राउ परेका ड्राइभरका अनुसार उक्त गाडी लुटेराहरुले केटी भगाउनका लागि भन्दै बुक गरेका थिए । हाल ड्राइभरसँगै बैंकका कर्मचारीलाई समेत राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीयबासीले अर्थ सरोकारकर्मीलाई घटनाबारे बुँदागत रुपमा बुझाएका छन् ।

के-के भएको थियो ?
१. ११–१२ जनाको समूह गाडी नै रिजर्भ गरेर बैंक लुट्न आएका थिए । ड्राइभरले दिएको प्रारम्भिक बयान अनुसार उनीहरु बनेपाबाट आएका थिए ।

२. ड्राइभरले केटी भगाएर ल्याउने भन्दै सो गाडी रिजर्भ गरेका थिए ।

३. उनीहरुमध्ये सुरुमा ४ जना बैंक रहेको घरको पछाडीपट्टीको गेटबाट छिरी सुरुमा गार्डलाई आक्रमण गरेका थिए । रोक्न खोज्दा गार्डको हात नै काटिएको छ । त्यसपछि उनीहरुले अरु कर्मचारीलाई समातेर बाँधी, पेस्तोल देखाएर बैंकको चाबी मागेका थिए । बैंकका स्टाफहरु सोहि बैंक रहेकै घरमा बस्ने गरेका थिए ।

४. बैंक लुटेर लुटेराहरु भागेपछि कर्मचारीहरुले गुहार मागेका थिए । स्थानीयले थाहा पाएको सुइको पाएपछि लुटेराहरु सकेको पैसा बोकेर गाडी छोडेर भागेका थिए । गाडीमा उनीहरुले एक बोरा पैसा छोडेका छन् ।

५. पैसासहित भागिरहेकाहरुलाई देखेपछि स्थानीयले ढुंगालेसमेत हानेका थिए । सो क्रममा उनीहरुले केहि बोरा पैसा जंगलमै छाडेका छन् । स्थानीयबासीको सहयोगमा सो रकम बटुलेर प्रहरीलाई बुझाईसकिएको छ ।

६. हालसम्म लुटेराहरु पक्राउ परिसकेका छैनन् । प्रहरीले विशेष सर्च अपरेशन चलाईरहेको छ । जिल्लाबाट प्रहरीको थप टोली घटनास्थल पुगेको छ ।

७. अहिले सबै कर्मचारीहरु प्रहरीसँगै छन् । उनीहरु सुरक्षित छन् । सुरक्षा गार्ड रुद्र कार्कीको प्राथमिक उपचार भईसकेको छ । उनी पनि आराम गरिरहेका छन् ।

८. प्रहरीले अहिले घटनाबारे सवारीचालकसँग सोधपुछ गरिरहेको छ ।

९. घटनाबारे बैंकको केन्द्रीय कार्यालयमा जानकारी पुगिसकेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले पनि चासो राखेको छ भने बैंकले पाएको सूचना राष्ट्र बैंकका अधिकारीहरुलाई दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK