Skip to content
LAXMI SUNRISE BANK

अपडेट: बैंक लुटिएपछि प्रहरीले चलायो ‘सर्च अपरेशन’, २ बोरा पैसा जंगलमा फेला, लुटेरा अझै फरार (फोटो /भिडियो)

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंकबाट लुटिएको पैसामध्ये २ बोरा पैसा जंगलमा भेटिएको छ । मंगलबार बेलुकी सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा कार्यालयबाट लुटिएको ३ करोड ११ लाख रुपैयाँमध्ये २ बोरा पैसा भेटिएको प्रहरीले जनाएको छ ।

बेलुकी ६ः३० बजे बैंक छिरेका लुटेराहरुले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई बन्धक बनाएर बैंक लुटेर भागेका थिए ।

बैंक लुटेर लुटेराहरु भागेको खबर पाएको प्रहरी र स्थानीयले लुटेराहरुलाई पछ्याउने क्रममा बैंकको शाखा कार्यालय नजिकै रहेको जंगलमा दुई बोरा पैसा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बैंक लुटिएलगत्तै प्रहरीले ‘सर्च अपरेशन’ चलाएको थियो । सोही क्रममा प्रहरीले सुरुमा लुटपाटमा प्रयोग भएको गाडीका ड्राइभरलाई पक्राउ गरेको थियो । ड्राइभर पक्राउपछि अन्यको खोजी गर्ने क्रममा जंगलमा फालिएको अवस्थामा दुई बोरा पैसा फेला परेको र सो पैसा बैंकबाट लुटिएकै पैसा भएको प्रहरीले पुष्टी गरेको छ ।

एक बोरा पैसा गाडीमै छोडेर भागेका लुटेराहरुले भाग्ने क्रममा दुई बोरा पैसा पनि छोडेर भागेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि केही पैसा भने लुटेराहरुले लिएरै भागेका छन् ।

घटनामा प्रयोग गरिएको गाडीका ड्राइभर पक्राउ परे पनि घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ड्राइभरले केटी भगाउन भन्दै गाडी भाडामा लिइएको बयान दिएका छन् । उनीमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता लुटेराहरुको आक्रमणबाट बैंकका सुरक्षा गार्ड रुद्र कार्की घाइते भएका छन् । उनको प्राथमिक उपचार गरिएको छ । बैंक प्रवेश गरेका लुटेराहरुलाई रोक्न खोज्दा आफूमाथि खुकुरी प्रहार गरिएको बैंकका गार्ड कार्कीले बताएका छन् ।

त्यस्तै, लुटेराहरुले बैंकका कर्मचारीलाई समेत बन्धक बनाएका थिए । सोही बैंकको माथिल्लो तलामा बस्ने कर्मचारीलाई बाँधेर, मुख थुनिदिएका लुटेराहरुले उनीहरुलाई कोठाभित्र थुनेर बैंक लुटेको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र फरार लुटेराको खोजी गरिरहेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK