Skip to content
LAXMI SUNRISE BANK

हाकु कालेको नक्कल गर्थे नेपाल एसबिआई बैंक लुटमा संलग्न युवा, यी हुन् ‘लुट प्लान’मा देखिएका ५ ‘फिल्मी सिक्वेन्स’

अर्थ सरोकार

काठमाडौँ । लामो कपाल, मसिनो शरिर, जुँगा पाल्ने सोख । नेपाल एसबिआई बैंक लुट्ने काममा संलग्न (तस्विरमा देखिएका) लुटेराको हुलिया यस्तै छ । नेपाली फिल्म ‘लुट’सँग मिल्दोजुल्दो पात्र बन्न खोजेका उनी स्वयम् पनि हाकुल कालेको फ्यान रहेछन् ।

स्थानीयहरुले उनलाई समातेर प्रहरीको जिम्मा लगाएका छन् । उनलाई समात्दा केहि स्थानीयले यो त ‘हाकु काले’जस्तै रहेछ भन्दा उनले ‘म हाकु कालेको फ्यान हो, त्यस्तै बन्न खोज्छु’ भनेका थिए ।

फिल्मसँगै मेल खाने लुट शैली !
१. उनीहरुले बैंक लुट्ने प्लान केहि समय अघिदेखि नै बनाएको देखिन्छ । बैंक लुट्ने योजना अनुसार उनीहरु पटकपटक सो बैंकको रेक्की गर्न गएको बयान पनि उनीहरुले दिएका छन् ।

बैंकको अगाडीको ढोका बन्द भएको खण्डमा पछाडीपट्टीको ढोका प्रयोग गर्नुपर्छ भन्ने तयारी उनीहरुले पहिला नै गरेको देखिन्छ । यसले लुट योजना लामै समय लगाएर गरेको देखिन्छ । उनले आफ्ना साथीहरुलाई फिल्मी शैलीमा नै योजना बनाएर सुनाएको देखिन्छ ।

२. उनीहरुले गाडी चालकलाई केटी भगाउने हो भनेको दाबी गर्छन् पक्राउ परेका सवारीचालक । लुटका क्रममा प्रयोग गरिएको बीएडी ०३९८ नम्बरको जीपका चालक भवतसिंह थापा आफुलाई बैंक लुट्ने योजनाबारे थाहा नभएको बताउँछन् । यसमा योजना बनाउनेले अरु साथीहरुलाई पनि योजना निकै पछि मात्र सुनाएको हो कि भन्ने ठाउँ छ । यो शैलीलाई पनि धेरैले फिल्मी शैली भनेका छन् ।

३. लुटिएको पैसाले उनीहरुले नजिकै रहेको पसलमा गएर चाउचाउ र रेडबुल किनेको देखिन्छ । उनीहरुलाई स्थानीयले दुई झोला चाउचाउ र रेडबुलसँगै नियन्त्रणमा लिएका थिए । राती जंगल-जंगल भाग्दा भोकाएपछि रेडबुल र चाउचाउ किनेको प्रारम्भिक बयान उनीहरुले दिएका छन् ।

यसअघि राष्ट्रिय बाणिज्य बैंक लुटको केसमा पनि २ करोड लुटेका लुटेराले त्यतिबेला सुरुमा साइकल किनेका थिए । लुटको योजना सफल भईसकेपछि पनि लुटेराहरु किन ससाना कुरामा अड्किन्छन् भन्ने विषय मनोवैज्ञानिक विषयसँग धेरैले जोडेका छन् । धेरै फिल्ममा लुटेराको यस्तै ससाना कुरामा अड्किने मनोविज्ञान देख्न सकिन्छ ।

४. लुटेरामध्ये सबै जेनजी समूहका छन् । एक जना लुटेरा त भर्खर १८ बर्षका छन् । यसले यति सानो उमेरमा उनीहरु कसरी सो संगतमा परे भन्ने विषय पनि सोचनीय बनेको छ । छिट्टै धनी बन्ने वा बैंक लुटेर हिरो बन्ने मनोविज्ञानले काम गरेको हुन सक्ने अड्कल काट्न सक्ने ठाउँ छन् । उनीहरुलाई स्थानीयले पक्राउ गर्दा पनि उनीहरुको अनुहारमा खासै पछुतो वा ग्लानी देखिंदैनथियो । फिल्ममा हिरोले गरेजस्तो कपाल मिलाईरहने, बेला बेला हाँस्ने, घुरेर हेर्ने जस्ता काम लुटेराहरुले स्थानीयबासी बीच गरेको देखिन्छ ।

५. बैंक लुटमा संलग्नहरुले लामै योजना बनाएर बैंक लुटेको अनुमान लगाउने ठाउँ प्रसस्तै दिएका छन् । सुरुमै को गएर गार्डलाई पहिला कब्जा गर्ने, कर्मचारी कहाँ बस्छन् र उनीहरुलाई कहाँ गएर बन्धक बनाउनेसम्मको योजना बनाएको देखिन्छ । उनीहरुले प्रहरीसम्म खबर ढिलो पुगोस् भनेर बैंकका कर्मचारीहरुलाई डोरीले बाँधेको देखिन्छ । हातखुट्टा बाँधिएका कर्मचारीले घिस्रिँदै मोबाइल फोन हात पारेर जानकारी दिएपछि घटना बाहिर आएको थियो । यहाँ पनि फिल्मी शैलीमा लुटेराहरुको लुटको योजना फेल भएको देखिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK