Skip to content
LAXMI SUNRISE BANK

‘सिटिजन्स बैंकमा हद भो बेथिति, राष्ट्र बैंकले अव सोच्ने कि !’

अर्थ सरोकार

काठमाडौँ । नेपालमा एउटा बैंक छ, जसको नाम हो- सिटिजन्स बैंक इन्टरनेशनल । सुकुम्बासी बस्तीमा खानसमेत नपुग्ने काकाको नाम धनबहादुर भनेजस्तो, चोरी केसमा ४ पटक चारखालको जेल परेकी काकीको नाम मनमाया भनेजस्तो, नेपालका बाणिज्य बैंकमध्ये सबैभन्दा बढी घोटाला हुने बैंक, कहिले सुन काण्ड कहिले, बैंकबाटै रकम हराएको काण्ड, एक महिनामा एक काण्ड गर्नैपर्ने नीति लिएजस्तो, बेथितिको चंगुलमा परेको बैंक सिटिजन्स बैंकले आफुलाई इन्टरनेशनलचाहिँ भन्न छोडेको छैन । तर, अव प्रश्न उठाउने बेला भएको छ । जनताको पैसा राख्ने ठाउँमा किन यतिसम्म मनपरी ? बैंकभित्र अनेक अपराध हुँदा पनि किन अपराध छेक्ने ढाल मात्र बन्छ व्यवस्थापन ? अनि एउटा पब्लिक कम्पनी किन आफ्ना निक्षेपकर्तामाथि यति भद्दा मजाक गर्छ, प्रश्न उठाउने बेला भएको छ ।

सुरु गरौँ, बैंकको पछिल्लो काण्डबाट । बैंकमा जनताले राखेको पैसालाई, पैसा राख्नेलाई थाहा नै नदिई सिटिजन्स बैंकका कर्मचारी ऋणको नक्कली फाइल बनाएछन् । पैसा निकालेछन्, आफैंले चलाएछन् । यसरी अपचलन गर्नेलाई बैंकले सिधै खोरमा जाक्नुपर्ने हो, तर बैंक त पैसा तिर, जग्गा लेउ, नत्र प्रहरीमा जाहेरी दिन्छु भनेर उल्टै बार्गेनिङ्ग पो गर्न थालेछ । अझ बैंकका हाकिमहरु त अनुसन्धान गरेर, दोषी भए कारवाही अनि निर्दोष भए सफाइ दिन अदालत हुँदा हुँदै अनुसन्धान नै नगरी २०/२० लाख रुपैयाँ उठाएर प्रहरीमा जाहेरी नदिने सर्त पो राख्न तिर लागेछन् । अनि यस्तो बैंकमा जनताको पैसा सुरक्षित हुन्छ भनेर हामीले पत्याईदिनुपर्ने है !

सिटिजन्स बैंकमा पैसा हराउनु, र हर्क साम्पाङ्गको स्ट्याटस आउनु, संख्याका हिसाबले उस्तै उस्तै हुने बेला भइसक्यो । सिटिजन्स बैंकमा ठूला काण्ड मात्रै वर्षका दुई तिन वटा आउन थालिसके । भित्र भित्रै सेटल गराउने काण्ड त कति हो कति । कहिले बैंक खाताबाट नै पैसा हराउने यो बैंकमा कहिले सुन काण्ड घट्छ, कहिले कर्मचारी नै नक्कली कागजात देखाएर जागिर खाईरहेका हुन्छन्, कहिले कर्मचारीहरु दिउँसै काम छोडेर फेसबुकमा रास्वपालाई गाली गरिरहेका हुन्छन् । तर अहँ, सबैलाई सकेसम्म भित्रभित्रै कुरा मिलाएर सो कल्ड सफाइ दिइन्छ ।

यसअघि सिटिजन्स बैंकमा कर्मचारीहरुले नक्कली सर्टिफिकेट देखाएर जागिर खाएको प्रकरण बाहिर आयो । केहिलाई प्रहरीमा केस गरेजस्तो गरे पनि थप नक्कली सर्टिफिकेटधारीलाई कारवाही गरिएन । अहिले पनि थुप्रै नक्कली सर्टिफिकेटधारीहरु सिटिजन्स बैंकमा काम गर्छन् । कहिलेकाहीं त यस्तो लाग्छ, विहारतिर गएर सर्टिफिकेट बनाएर जागिर खाने बैंक भएर पो यो बैंकको नाम पछाडी इन्टरनेशनल राखिएको हो कि ! यस्तो बदमासी गर्नेलाई कारवाही नगर्दा त्यहाँ राम्रा काम गर्ने कर्मचारीहरुलाई मार परेको छ, तर कुरो कसले बुझ्ने ?

बैंकको बेथिति हेर्ने एउटा राष्ट्र बैंक हो, एउटा इन्टरनल अडिट हो, एउटा एक्सटरनल अडिट हो । राष्ट्र बैंकले किन सिटिजन्सको बेथिति खासै हेर्दैन भन्ने कुरा रहस्यमयी छ । त्यहि भएर पो सिटिजन्सलाई राष्ट्र बैंकले नचलाएको हो कि । दर्जनौं फाइलमा एभरग्रिनिङ्ग गरिएको छ, तर कोहि बोल्दैन । कानुन मिचेर संचालक नियुक्त गरिएका छन्, यसो तपाईं बाहिरिदिनुस न प्लीज लाजै भो भन्ने शैलीमा अनुरोध गरेको बाहेक राष्ट्र बैंकले खास कारवाही गरेको देखिंदैन । प्रक्रिया नै नपुर्याई अडिटर नियुक्त गरिएका छन्, अनि तिनै अडिटरलाई हाम्रा कमजोरी पत्ता लगाईदिने जिम्मा छ है भनेर जिम्मा दिईएको छ । गलत भएको कुरालाई गलत लेखे त ती अडिटरको अर्को बर्ष काम चैट भईहाल्यो, अनि कसले बोल्ने ? यो हामीले लाएको आरोप होइन दर्शकवृन्द, स्वयम् राष्ट्र बैंकले नै यी सब बेथिति अत्ति भयो भनेर इन्टरनल अडिटको जिम्मा बाहिरका सिएलाई नदिनु भनेको हो । 

भर्खर लभ परेकी कलेज पढ्ने केटीको मुड के फेरिन्छ र ? त्यो भन्दा बढी त सिटिजन्स बैंकमा संचालक फेरिन्छन् । एउटा कता कताको पावर लगाएर बैंक छिर्छ, अनि त्यो गैरकानुनी भन्ने तथ्य बाहिर आएपछि उ निस्किन्छ । उ निस्किएपछि फेरी अर्को चोरबाटो बाट अर्कोले गैरकानुनी नियुक्ति खान्छ । फेरी उजुरी राष्ट्र बैंक जान्छ, फेरी उ पनि निकालिन्छ । यस्तो सिलसिला त कति हो कति सिटिजन्स बैंकमा । तर यतिसम्म हुँदा पनि खासै ठुलो कारवाही बहने हुँदैन सिटिजन्स बैंकलाई ।

सिटिजन्स बैंकमा सीइओ गणेश राज पोखरेलको नियुक्ति नै गैरकानुनी थियो । नियम मिचेर अनुशासनहीन काम गरेपछि अहिलेका सीइओ गणेश राज पोखरेललाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले अनुशासनको कारवाही गरको थियो । तर उनै पोखरेल बैंकमा सीइओ भए । अझ अचम्मको कुरा त के छ भने आइक्यानबाट अनुशासनको कारवाही भोगेका उनै पोखरेलले आइक्यानका पूर्व अध्यक्षलाई नै आफ्नो विभागलाई निस्क्रिस्य बनाएर इन्टरनल अडिट गर्ने जिम्मा दिए । पछि राष्ट्र बैंकले त्यसलाई गलत भनेर सच्याउन भनेपछि सिटिजन्स बैंकले आइक्यानका पूर्व अध्यक्षको फर्मलाई बैंकको इन्टरनल अडिटरको जिम्माबाट हटाउन बाध्य भयो । 

यस्ता केस त कति हो कति सिटिजन्स बैंकमा । तर कारवाही कसले गर्ने ? काँग्रेसी बल छ, एमालेका नेतालाई आफ्नो बनाइएकै छ । यो दमका बीचमा कसैले केहि बोल्यो भने, त्यसो होइन, सिटिजन्स बैंक त दामी बैंक हो भनेर लेख्न/बोल्न पकेटका मिडियालाई बजेट छुट्याईएकै छ । राष्ट्र बैंकलाई टेरेजस्तो गर्ने, नटेर्ने, नीति नियम, थिति कानुन केहि नहेर्ने, सिटिजन्स बैंकको मुख्य गुदी लाइन यहि नै देखिन्छ अहिलेसम्म । तर, यो बेथिति कहिलेसम्म ? जनताको पैसामा यस्तो भद्दा मजाक कहिलेसम्म ? 

अवको दुई तिहाईको सरकारले यस विषयमा पनि ख्याल गरोस् । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK