काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारलाई प्रदान गरिएको सन् २०२५ को युनेस्को एसिया-प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गतको ‘अवार्ड अफ मेरिट’ औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासका अनुसार बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा ज्येष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा स्थानीय समुदाय, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक), सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता थियो ।
राजदूतावासका अनुसार ज्येष्ठ वर्ण महाविहारको संरक्षण कार्य २०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको करिब १३ करोड ७८ लाख रुपैयाँ अनुदानमा सम्पन्न गरिएको हो । परियोजनामा प्राविधिक परामर्शदाताका रूपमा भारतको इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको थियो। पुनर्निर्माण सम्पन्न भएपछि यसको उद्घाटन २०८० चैत ९ गते तत्कालीन सहरी विकास मन्त्री धनबहादुर बुढा र नेपालका लागि तत्कालीन भारतीय राजदूत नवीन श्रीवास्तवले गरेका थिए ।
युनेस्कोले यस परियोजनालाई समुदाय–केन्द्रित संरक्षण अभ्यास, ऐतिहासिक नेवारी काष्ठकला तथा परम्परागत वास्तुकलाको संरक्षणसँग आधुनिक भूकम्पीय सुरक्षालाई सफलतापूर्वक समन्वय गरेको भन्दै सम्मान प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ । संरक्षण कार्यका क्रममा नेवार बौद्ध समुदायका धार्मिक अनुष्ठान र सांस्कृतिक गतिविधि अवरोधबिनै सञ्चालन हुने व्यवस्था मिलाइएको पनि जनाइएको छ ।
भारतीय राजदूतावासका अनुसार भारत सरकारले गोरखा भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि एक अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएको थियो । यसअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय र एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था तथा १७ सांस्कृतिक सम्पदा स्थलको पुनर्निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । थप विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदा पुनर्निर्माणका परियोजनाहरू विभिन्न चरणमा रहेका छन् ।
सांस्कृतिक सम्पदा संरक्षण अन्तर्गत भारत सरकारले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ र गोरखामा गरी ३० वटा परियोजनामा सहयोग गर्दै आएको छ । तीमध्ये सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी घर, ज्येष्ठ वर्ण महाविहार, जंगम मठ र तार्के घ्याङ गुम्बालगायतका सम्पदा पुनर्स्थापना परियोजना उल्लेखनीय रहेका छन् ।
समारोहमा बोल्दै नियोग उपप्रमुख डा. राकेश पाण्डेले ज्येष्ठ वर्ण महाविहार परियोजनाको सफलताले नेपाल-भारतबिचको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाएको बताए । उनले साझा सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्स्थापनामा नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको सहयोगले दुई देशबिचको विकास साझेदारीलाई थप मजबुत बनाएको बताए । उनले ललितपुरका अन्य सांस्कृतिक सम्पदाको पुनर्स्थापनामा समेत सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै युनेस्कोलाई पुरस्कारका लागि धन्यवाद दिए ।
ज्येष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिले समयमै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै पुनर्स्थापित महाविहार समुदायको उत्थानशीलता र नेपाल-भारत मित्रताको प्रतीक बनेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्