Skip to content
LAXMI SUNRISE BANK

‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’

अर्थ सरोकार

काठमाडौं । मुलुकका लागि आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनका लागि नेपाली नियोग तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य विषयक छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवम् पर्यटन प्रवर्द्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए । विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदूतहरुले पनि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल सरकार सुरक्षा परिषद्‍ सल्लाहकार तथा पूर्व परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आफ्नो दायरा विस्तार गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका थिए । त्यस्तै, मुख्य सचिव वैकुण्ठ अर्यालले आर्थिक कुटनीति विस्तारका लागि बहुपक्षीय निकायहरुसँगको सहकार्य आवश्यक रहेको बताए । निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यसैगरी, श्रम सचिव केवल भण्डारीले अब आर्थिक कुटनीतिलाई श्रम कुटनीति भन्नुपर्ने सुझाव दिएका थिए भने अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कुटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताएका थिए ।

त्यस्तै, वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत नेपालको भूमिका बढाउन आवश्यक रहेको बताए । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरुको भूमिका महत्त्वपूर्ण रहने बताए । पर्यटन सचिव भरतमणि सुवेदीले नयाँ खुलेका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरुको भूमिका महत्त्वपूर्ण रहने बताए ।

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूतको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरुले लगानी विस्तार, पर्यटन प्रवर्द्धनका लागि भूमिका खेल्नुपर्ने बताएका थिए । ‘नियोगहरुले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने ‘धेरै उदीयमान र विकसित अर्थतन्त्रहरुमा व्यापार विस्तार, लगानी एवम् पर्यटन प्रवर्द्धनका आधारमा राजदूतहरुको मूल्यांकन हुने गरेको छ ।’

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरुको निरन्तर सहकार्य रहने बताएका थिए ।

सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्याण्डका लागि धनबहादुर वली, यूएईका लागि तेजबहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकबहादुर थापालाई नियूक्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK