काठमाडौँ । तातो आलु, आलु चप, आलु पराठा, आलु दम, आलु तारेको, भुटेको, उसिनेको, पोलेको, चिप्स चिल्ली, मुस्ताङ आलु, आलु अचार, समोसामा आलु, तरकारीमा आलु, आलुको विविधता यतीमा मात्र सिमित रहेको छैन । हामी सानोहुँदा भारतको बिहार राज्यमा मुख्यमन्त्री रहेका लालु प्रसाद यादवको नाममा उखान नै तयार भएको थियो ‘जबसम्म समोसामा आलु रहन्छ, तबसम्म बिहारमा लालु यादव रहन्छ ।’
यद्यपि हाल उनी मुख्यमन्त्री पदमा छैनन् । यसरी आलु सबैको प्रिय छ । खिरमा आलु, श्राद्धमा पनि आलु ।
कस्तो आलु जस्तो ? ‘आलु जस्तो हुनु’ एक जना आफन्तको दशैँमा टिका लगाउन जाँदा पाएको आशिर्वाद हो । सुरुसुरुमा गाली हो कि आशिर्वाद थाहा भएन, यद्यपि पछी थाहा भयो, आलु सबै तरकारीमा जसरी घुलमिल हुन्छ, त्यसैगरी मिल्न सक्नु भनेको रहेछ । आलु कहाँबाट ? के-कसरी मिलेको छ त ? लाम्चो, डल्लो, थेप्चो, कुहिएको आदि ।
आलु सम्बन्धी अर्काे भनाई एउटा बिग्रेको आलुले अरु सबै आलुलाई बिगार गर्दछ । आलु जसरी नकुहिने हुनु, सबैलाई नबिगार्नु भनेको हो ।
उमेर पुग्दै गएपछी सबैको निशानामा फेरी आलु नै रहन्छ । सुगर (चिनि रोग) लाग्यो, आलु नखाउ । मोटो भयो, आलु नखाउ । मासु खानेहरुले त आलु रुचाउने कुरा पनि रहेन । यसरी बच्चादेखी जवानसम्मलाई तन्दुरुस्त राख्ने आलु एक्कासी कसरी निशानामा पर्यो ? भन्ने कुरा बुझी नसक्नु छ । आफुले रोगलाई भित्र्याउने, दोषचाहिँ आलु माथि लगाउने । बिचारा आलु ‘चु चु चु’ ।
आलु पनि ठाउँ–ठाउँको हुन थालेछ । पाँचखालको आलु, ईलामको आलु, बोडे आलु । हुँदाहुँदा मुस्ताङको पनि आलु । अब यत्रतत्र सर्वत्र सबैतिरको आलु मुस्ताङे आलु भइसकेको छ ।
आलुको महिमा यतिमा मात्र सिमित छैन । आलु भन्ने हाम्रो बच्चाको साथी नै हो । त्यस्तै, सानो हुँदाको प्रिय खेल नै तातो आलु थियो । तर, आलु नराखी भकुन्डोलाई खेलाइन्थ्यो । यसो किन गरेको हो ? हालसम्म पनि थाहा पाउन मुस्किल छ ।
जिन्दगीमा यती धेरै आलु (फेल) भइयो कि मन पर्ने भएर होला परिक्षामा पनि आलु आकारको शुन्य नै आउन थाल्यो । पूजा लगाउँदा कालो ठुलो कराइमा आलु उसीनेर तास्नु, छिल्नुको मज्जा कसलाई नहोला र ? यसो ठुलोबडा छेउमा नभएको मौकामा केटाकेटीले तास्ने, छिल्ने मान्छेले तातो आलु कप्लाएको नदेख्ने वा खाने पनि हामी नै होला ।
त्यसैगरी बढी गफ लगाउने, नभए पनी देखाउनपर्ने जमातलाई त उहिलेबाट ‘आलु खाएर पेडाको धाक’ भन्ने उखान नै छ । अहिले त्यो उखान बदलिएर गुन्द्रुक खाएर चाउचाउको डकारमा परिणत भएको छ । समाजलाई देखाउनु जो छ, नभए पनि त्यस्ता व्यक्तिहरुले समाज भाँड्न काम गर्दछन ।
आलुमा मुल्य अभिवृद्विकर लाग्यो÷हट्यो । आलुमा कर किन ? आयात रोक्न, नेपाली आलुलाई विस्तार गर्न, प्रोत्साहन गर्न, कसले लगायो, किन लगायो, लगाएर के कति कमायो, गुमायो, फेरी किन हटायो नाजवाफ ।
अब आलु कृषि मन्त्रालय अन्तर्गत मात्र नभएर अर्थ मन्त्रालय अन्तर्गत आयो । जीवनमा सबै आलु भएका, खाएका, रोपेका, गोडेका, पकाएका, खनेका, तारेका, सबैहरुलाई हेर्ने हो भने त नेपाल सरकारलाई एउटा आलु मन्त्रालय नै बनाउन सिफारीस गर्नुपर्ने हुन्छ । आलु विद, आलु विज्ञ, आलु विशेषज्ञ, आलु व्यपारी त सुनेकै हो । यदि ती सबै छन भने प्रादेशिक संरचनामा मन्त्री नपुगेको अवस्थामा मन्त्रालय टुक्राएर ‘आलु मन्त्रालय’ बनाइदेउ र संसद, जो मन्त्री बन्न चाहन्छ ‘आलु मन्त्री’ बनाइदेउ ।
त्यसो त कृषी मन्त्रालय फुटाएर पशु (पंछी) मन्त्रालय र पशु (पंछी) मन्त्री लेख्न मिल्छ भने आलु मन्त्रालय लेख्न किन नमिल्ने ? प्रश्न गर्न र सोध्न मन लाग्यो । जिन्दगीमा केही गर्न नसकेर निरास भएकालाई सोध्ने, परार्मश दिने, व्यवसायमा फेल भएकालाई आलु मन्त्रालयमा गएर उर्जावन बन्न प्रेरीत गरिनुपर्दछ ।
कोही परिक्षामा फेल भयो भने फलानोले आलु खायो भन्ने सुनैको हो । मान्छेलाई तरकारीसँग तुलना गरेर आलु, मुला, तोरी आदि भन्ने प्रचलन समाजमा छँदैछ ।
वैदेशिक व्यपार घाटामा पनि आलुको योगदान हैट ! सन २०२२ को तथ्याङ्क अनुसार नेपालले अमेरीकी डलर ५०.७ मिलियन बराबरर्को आलु आयात गरेको छ, जसमा भारतबाट मात्र अमेरीकी डलर ४८.९ मिलियन अमेरीकी डलर र बाँकी बंगलादेश र इन्डोनेशियाबाट मात्र भित्रिएको रहेछ । जबकी निर्यात तर्फबाट १० हजार अमेरीकी डलर मात्र भित्रिएको छ । यसरी कृषि प्रधान मुलुकले संसारको २५औँ बढी आलु आयतकर्ता हुनु आफैँमा अचम्म छ ।
विदेशमा बसेर नेपाल पठाएको, कमाएको पैसा फेरी कसरी विदेश नै भित्रिएको छ भने यो एउटा गतिलो र दैनिक प्रयोग हुने खाद्यवस्तु हो । नेपाली जग्गा जमिन बाझो राख्ने र कौशी खेतीमा अनुदान तथा प्रोत्साहन गर्ने नेपाल सरकारको निति जो छ ! यसरी हेर्दा स्वदेशी आलुलाई बचाउन, फलाउन लाग्नुपर्ने टड्कारो खाँचो छ ।
भोलीदेखि साथीहरुले आलु नै रहेछ भन्न बेर लगाउँदैनन् होला ।आलु फलानो भनेर । शुभ विजया दशमी ।