
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा खाजा खर्चवापत मात्रै दैनिक करीव १ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । प्रधानमन्त्री कार्यालयको खर्च विवरणमा यस्तो विवरण देखिएको हो ।
विवरणअनुसार ओलीले साउन महिनाभरी मात्रै १७ लाख ८० हजार १ सय ३७ रुपैयाँको खाना÷खाजावापत खर्च गरेका छन् । नयाँ आर्थिक वर्ष लागेपछि ओली जम्मा १९ दिनमात्रै बालुवाटार बसेका थिए । उक्त रकमको हिसाव गर्दा दैनिक ९३ हजार ६ सय ९१ रुपैयाँ ४२ पैसा पर्न आउँछ ।
बालुवाटारमा साउनमा सबैभन्दा धेरै अनमोल क्याटरीङ्गबाट खाना/खाजा लगीएको छ । बुधबार भुक्तानीका लागि प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यालयमा पेश भएको विल अनुसार ८ लाख ४ हजार ८ सय ४२ रुपैयाँको खाना तथा खाजा अनमोलबाट लगिएको छ । त्यस्तै सोल्टी होटलबाट ७ लाख २४ हजार २ सय ४७ रुपैयाँको खाजा बालुवाटार लगिएको छ ।
प्रधानमन्त्री निवासमा नै खाना खाजा बनाउने गरी भने जम्मा अढाई लाख रुपैयाँको मात्र खाद्यान्न लगिएको छ । बुद्धनारायण खाद्यान्न सप्लायर्सबाट २ लाख ५१ हजार ४८ रुपैयाँको खाद्यान्न लगिएको विलमा उल्लेख छ ।